साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राई माइला

आफ्नै भाइ मार्न बन्दुक बोकाएर देशभक्तिको भद्दा गीत गाइरहेछन् शासकहरू, लाखौँ राई माइलाहरूलाई गाउँ छोड्न बाध्य पारेर गाउँलेको छातीमा फाली चलाइरहेछन् शासकहरू ।

Nepal Telecom ad

भरत गुरागाइँ बर्बरिक :

चैतमा सल्किएको डढेलोजस्तै
तीनधारे पँधेरोबाट
एकाबिहानै फैलिएको हल्ला
गाउँभरि छ्यापछ्याप्ती भएपछि
अन्तत: मान्नैपर्ने भयो–
राई माइलाले गाउँ छाडेछ ।

दमने लेक मुन्तिर कछाड
कछाडको कान्छो वीरेको माइलो छोरो
कहाँ एउटा व्यक्ति मात्र हो र !
ऊ त सिङ्गै गाउँ हो
गाउँलेहरूको भरोसा हो ।

जब रनबन थर्किनेगरी
माइलाले बजाएको
मुरलीको तिरिरी आवाज
पर-परसम्म सुन्थे खेतालाहरू
त्यही आवाजमा हराउँदै
खेतको मेलो सक्थे,
बाह्रबीसे मेलामा चण्डी पूर्णिमाको दिन
साकेला नाचेर उत्सव सफल पार्न
उही राई माइला नै चाहिन्थ्यो,
बर्खा झेल्ने घुम बनाउन
भोर्लाको पात टिप्न नसक्नेहरूको
प्रिय साथी थियो माइला
बिहानै…सखारै…
ढिकीको भक्रङ-भक्रङ आवाजमा मिसिएर
माइलाकै गीत गुन्जिन्थ्यो,
आपतविपतमा होस् या
मरिमराउ पर्दा होस्
घट्टसम्म अन्न पुर्‍याउन होस् या
बाख्रापाठालाई सेउला झार्न होस्
राई माइला नै चाहिन्थ्यो ।

राई माइला गाउँको बिहान थियो
रातको टुकी थियो राई माइला ।

स्कुल जाने बच्चाहरूलाई
तुइन चढाइदिन्थ्यो राई माइला
रोपाइँमा बाउसे गाउँथ्यो राई माइला
युवाहरूको बलियो काँध थियो राई माइला
बृद्धहरूको आँसु पुछ्ने रुमाल थियो राई माइला ।

… अनि राई माइलाले गाउँ छोड्दा
को भक्कानिँदैन हौ !

उहिलेदेखि अहिलेसम्म
राई माइलाहरु बेच्ने देश हो यो,
मानव तस्करीको कानुन बनाएर
स्याल दरबारका शासकहरू
युवा तन्नेरीहरूलाई
नुनको भारी बोकाइरहेछन्
तातो बालुवामा उभ्याइरहेछन्
कोइला खानीको सुरुङमा छिराइरहेछन्
आफ्नै भाइ मार्न बन्दुक बोकाएर
देशभक्तिको भद्दा गीत गाइरहेछन् शासकहरू,
लाखौँ राई माइलाहरूलाई
गाउँ छोड्न बाध्य पारेर
गाउँलेको छातीमा
फाली चलाइरहेछन् शासकहरू ।

जिउँदाको जन्ती
मर्दाको मलामी थियो राई माइला,
झरीको ओत
मङ्सिरको खलो थियो राई माइला
काली खोलाको साँघु
प्रेमको प्रतीक थियो राई माइला ।

दुई बर्षे काखे बच्चालाई
सकिनसकी दूध चुसाइरहेकी
खिनौटी माइलीलाई चटक्कै छोडेर
झिसमिसे भन्दा अघि नै
राई माइलाले गाउँ छोडेछ ।

खकने झोलामा
एकजोर फेर्ने कपडा बोकेर
खोलाको गड्तिरै गड्तिर
राई माइला ओरालो झर्दैथियो भन्ने सुनेपछि
गाउँलेहरू आँसुको दहमा त्यसै डुबेका हुन् र !

म तपाईंलाई एउटा प्रश्न सोद्धैछु-
मनभरि सपना र भक्कानोभरि वेदना बोकेर
गाउँ छोडेका लाखौँ राई माइलाहरू
गाउँ फर्किए भने के हुन्छ होला ?

अहिले त स्वीकार्नै पर्छ
राई माइलाले गाउँ छोडेछ ।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
सपना

सपना

भरत गुरागाइँ बर्बरिक
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x