गायत्री परिरोशनीगुट उद्योग
स्वतन्त्र गुटभित्र मात्रै छिर्नुभयो भने सबै पार्टीका, सबै जातिका, सबै साथीका, सबै छातीका ब्रोहरू मात्र होइन, ड्याड अनि ममहरूलाई पनि देख्न सकिन्छ । सबैको मन बिसाउने चौतारी हो स्वतन्त्र गुट ।

गायत्री परिरोशनी :
जेसुकैको होस्, उद्योग स्थापना हुनु भनेको राम्रो कुरा हो । उद्योग फस्टाउँदा यसै पनि उत्तम हुन्छ, अझ त्यसमा गुट उद्योगको मार्केट विस्तार हुँदा त झन् खाने कुरादेखि लाउने कुरा सबैमा चुनावको वासना हरर्र आउँछ । सबैलाई सोचेअनुसारको राजनीतिक प्रतिफलले हँसाउँछ । यो मौसम चुनावको हो । चुनाव भनेको सबैले खोजेको कुरा, सबैले रोजेको कुरा फटाफट पाइने समय हो । जसलाई जताबाट जे मिल्छ त्यतैतिर हाम फाल्ने उत्तम अवसर हो । मौकामा चौका हान्नुपर्छ भन्नेले चुनावको बेलामा त झन् चौका मात्र होइन छक्का पनि हान्नुपर्छ । जताबाट, जसरी, जति मिल्छ त्यति नै ठोक्नुपर्छ । जसले जे दिन्छ, हड्डी र छालाले धानुन्जेल बोक्नुपर्छ । केही भएन भने सित्तैँमा पाइने अमृतजल सकुन्जेल धोक्नुपर्छ ।
जे कुराको पनि विकास हुन बेला आउनुपर्छ, समय आउनुपर्छ भन्थे बूढापाकाले । हो रहेछ साँच्चै, अहिले झ्याप्पै गुटको विकास भएको देख्दा त तीन छक्क परिन्छ क्या । केही समय पहिलाको स्थानीय चुनावमा अलि अलि टुसाहरू पलाएको गुटको अहिले त जताततै वनमाराको घारी जस्तै भइसक्यो बा ! घाम हेर्दा पनि गुट, रूख हेर्दा पनि गुट, हलो हेर्दा पनि गुट, छाता हेर्दा पनि गुट यत्ति मात्र होइन हजुर जसलाई जताबाट जसरी हेर्दा पनि भित्र पुगेपछि गुट । पूर्वका गुट, पश्चिमका गुट, हनुमानका गुट, युवाका गुट, बुढाका गुट, केटाकेटीका गुट, प्रेमी-प्रेमिकाका गुट, पतिपत्नीका गुट, सालाभेनाका गुट ! कति धेरै हुन् क्या गुटका जुटहरू । यति धेरै गुट बनाउन कसले छुट दिएको होला ? आपूmलाई त मनभित्र-भित्रै कस्तो हुटहुट भइराछ भन्या ।
उद्योग, कलकारखाना खोलेर देशको आर्थिक विकास गर्नुपर्छ भन्थे । अब त सोचे जस्तै प्रगतिको छलाङ मारिने भो । यति धेरै कसैले सोच्दै नसोचेका, खोज्दै नखोजेका गुटका उद्योगहरू, बिना लगानीमै खुलेपछि मुलुकमा विकास भन्ने कुरो त कति-कति । सबैले यस उद्योगमा जागिर पाएर बेरोजगारीको त चिलिमच्वाँट नै हुने भो । अबको बजेटमा बेरोजगार भत्ता काट्नुपर्छ है हामीले पनि सम्झिराखौँ । अँ साच्ची, अन्य कुराको प्रगति, समय क्रमको आधुनिकतासँगै यस उद्योगमा पनि आमूल परिवर्तन भएको छ ।
चुनावरुपी सेयर बजारमा नेता अनि कार्यकर्ताको मूल्य अनि प्रतिष्ठामा रातो बत्ती बल्यो भने दिनमा चौगुना र रातमा सय गुना सप्रिन्छ गुट उद्योग । एनी हाऊ, चुनावको टिकट कमाऊ यस उद्योगको प्रमुख विशेषता हो । मिलेसम्म परिवारका सबै जनाले टिकट कमाउनुपर्छ, त्यसको लागि दर्जनौँ गुटको सिङ समाउनुपर्छ । आपूm भनेको आफू हो साथी, छोरा, बुहारी, श्रीमतीको विश्वास नगर्नुस्, एकलोक जाने उमेरमा पनि आफ्नै लागि चुनावको टिकट कमाउनुहोस्….दुई पालि मर्ने होइन, चुनावको टिकट हातमै लिएर मरौँला नि कसो ?
गुट उद्योग खोल्न कुनै सीमा हुँदैन । यति किलोमिटरभित्र यति वटा मात्र खोल्न पाउने भन्ने नियम छैन । यसको छुट्टै ट्रेडमार्क पनि छैन । जसले जति बेला मन लाग्छ तुरून्तै खोल्न पाइन्छ । छाड्न मन लागे तत्काल छोड्न पाइन्छ । जिरो लगानीमा खुल्ने यस उद्योगको प्रतिफल त कति कति, गनीसाध्य, भनीसाध्य छैन ।
यस उद्योगको विकास पनि जादुको छडीसरह हुन्छ । चुनावअघिसम्म यस उद्योगका घोषणापत्ररुपी उत्पादनमा मुलुकको प्रगति नै प्रगति, समृद्धि नै समृद्धि । बेरोजगारीको अन्त्य, मुलुक स्विजरल्यान्डभन्दा अझै उत्तम ल्यान्ड, धनी र गरिब सबै बराबर । देशको प्रतिव्यक्ति आय बिस हजार अमेरिकी डलर । आर्थिक वृद्धि दर दुई अङ्कको । खुसी नेपाली, सुखी नेपाली, सबैभन्दा उत्तम नेपाली । विश्वमै नभएका नयाँ-नयाँ प्रगति, उन्नति ।
गुट उद्योगको उत्पादन प्रचुर मात्रामा हुने भनेको नै चुनाव हुनुभन्दा अगाडि हो । यसको मौसम नै चुनावी मौसम हो । चुनावको जितपछाडि त यस उद्योगको उत्पादन मात्र होइन, नाम समेत कहाँ पुग्छ थाहा पाउन पुरातत्व विभागतिरै जानुपर्छ । आजको माहोल हेर्दा गुटहरूमा पनि स्वतन्त्र गुट उद्योगले निकै बजार तताएको छ । नामै काफी छ क्या । पाटी स्वतन्त्र, दल स्वतन्त्र, गुट स्वतन्त्र । स्वतन्त्र गुटभित्र मात्रै छिर्नुभयो भने सबै पार्टीका, सबै जातिका, सबै साथीका, सबै छातीका ब्रोहरू मात्र होइन, ड्याड अनि ममहरूलाई पनि देख्न सकिन्छ । सबैको मन बिसाउने चौतारी हो स्वतन्त्र गुट ।
कति शक्तिशाली छन् बाबै गुट उद्योग । पार्टीभित्र बार्गेनिङ गर्न, मन्त्री हुन, राम्रो मन्त्रालय पार्न, समानुपातिकमा टिकट झार्न यी र यस्ता सबै काममा काम लाग्छ यो उद्योग । कस-कसले कस्ता- कस्ता कच्चा पदार्थ ल्याएर स्थापना गर्न सक्छन्, फल पनि उस्तै-उस्तै प्रकारको पाइन्छ । कर्म गर फलको आशा नगर भन्थे, यहाँ भने गुट उद्योगको स्थापना गर तर भोटको भर नगर भन्दा राम्रो होला । चुनावको बेलालाई अमृत बेला मान्नुपर्छ गुट उद्योग दर्ता गर्ने । नयाँ मात्र होइन हजुर पाँचसात वटा दर्ता गरिसकेकाहरूले पनि फेरि नयाँ दर्ता गर्न आएको आयै छन् । मर्ने बेलामा हरियो काँक्रो होइन अब हार्ने बेलामा गुट उद्योगको चटारो भन्नुपर्ला ।
पाठक महोदय, चुनावी माहोल हजुर हाम्रो घर आँगनमा मात्र होइन, मन, मुटु र मस्तिष्कमा भित्रिइसकेको छ । गुट उद्योगका मात्र नभई, चुनावी उद्योगका सबै उद्यमीहरूलाई विजयी अनि उच्च सफलताको कामना ।
०००
असार २२, २०८१ मा विमोचित ‘रुद्रघण्टी’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest






































