गायत्री परिरोशनीअनिवार्य दायित्वमा -विशेष ध्यानाकर्षण !
यसमा पुष्ट्याइँ गर्ने हतियारको रुपमा एक महिनाको बिल भनिएकोले हामी समस्त सरोकारवालाहरूको जाडो महिनामा आएको कार्यालयको बील र हाम्रो घरमा आएको बिजुलीको बिललाई समेत आधार मागेर बजेट मागेका छौँ ।

गायत्री परिराेशनी :
आरदणीय, माननीय, छाननीय, हाननीय सबैमा मेट्रिक टनको प्रणाम । यो समय भनेको नयाँ आर्थिक वर्षको लागि कार्यक्रम तथा बजेट तयारीमा ध्यान दिनुपर्ने समय हो । आवश्यकता अनुसार बोल्नुपर्ने, ढोग्नुपर्ने, ढाँट्नुपर्ने, काट्नुपर्ने, छाँट्नुपर्ने भएकोले सोही पोजिसनमा बस्नुहुनको लागि तन, मन र धन सहितको अनुरोध गरिएको छ । दायाँबाँया, एताउता, तलमाथि कतै नहेरीकन हामी सबै सरोकारवालाहरू अनिवार्य दायित्वको बजेट माग्नलाई पुष्ट्याइँ गर्ने हातहतियारका साथ तयारीमा जुटेका छौँ । यही तयारीमा लाग्नाले अन्य रमाइलो गर्ने, माग्ने, फाल्ने, भाग्ने काममा वञ्चित भएका छौँ ।
सस्तो भन्ने कुराको मूल्य नै निकै बढिरहेको हुनाले यो आर्थिक वर्षमा पनि तलब भन्ने कुरो नबढाउँदा नै राम्रो हुन्छ भन्ने हाम्रो एकमुष्ट बुझाई रहेको छ । स्वीकृत दरबन्दी अनुसारको तलब/भत्ता भनिएकोले स्वीकृत दरबन्दी नै थप्ने जाँगर हामीमा नभएकोले यसमा एकै मतमा तथास्तु भनिदिएका छौँ । पानीको कुरा गर्दा भने हामी सबैको गम्भीर ध्यानाकर्षण भएको कुराको चुरो फुकाउनै पर्ने भो । पानीको ब्रेक डाउनमा जारको पानी, ट्याङ्करको पानी, मिनरल पानी मात्र भनिएकोमा सोर्है आना अन्याय भएको छ । यहाँ सबैभन्दा महत्वपूर्ण पानीको -बोतल भित्रको रातो पानी, कालो पानी, सेतो पानी, हरियो पानी, निलो पानी, कोल्ड डिङ्क्स, सफ्ट डिङ्क्स, हट डिङ्क्स लगायत सबै दारु पानीलाई ब्रेक डाउनमा छुटाउनु भनेको त सोह्र दुना बत्तीस आनाकै अन्याय भएको छ ।
अँ साँच्ची बोतल भित्रको पानी कति धेरै शक्तिशाली हुन्छ भन्ने कुरा थाहा पाएर पनि नपाए झैँ गर्नु सबैको लागि हानिकारक छ । त्यसैले यसमा गम्भीर ध्यानाकर्षण गराउने जमर्को गरेका छौँ । यसका साथै अनिवार्य दायित्व भित्र यी सबै खाले पानीलाई हामीले ब्रेक डाउन गरेर आवश्यक बजेट मागेका छौँ । अन्य पानीको माग अनुसारको आपूर्ति नभए तापनि हाम्रो धेरै गुनासो आउने छैन तर बोतल भित्रको पानीको बजेट माग अनुसारकै दिनुहुन हार्दिक अपिल गर्दछौँ । यदि नआएको खण्डमा तपाइँहरूको पनि पैसा झर्ने पानीको धारो, सुन फल्ने ट्वाइलेटको धारो बन्द हुन सक्ने चेतावनी दिएका छौँ । यही क्रमले निरन्तरता पाउँदै गर्दा भ्रष्टाचार जस्तो सबैभन्दा उत्तम आचारमा कमि भयो भनेता पनि हामी जवाफदेही हुने छैनौँ ।
हामी सबैलाई अर्को मर्का परेको कुरोे इन्धन भएको जानकारी गराएका छौँ । यो इन्धन भन्ने कुरो दौडने धन हो । दौडने धन आफू मात्र दौडेर भएन । आफू- आफ्ना र आफन्तीका सबैलाई समय अनुसार दौडाउन पर्ने हुनाले माफ गर्नुहोला यहाँहरूले भन्नुभएको जस्तो पाममा इन्ट्री भएका सवारी साधनलाई मात्र भन्ने सवालमा हामी सबैको एकमुष्ट विरोध गरेका छौँ । त्यसैले यो जल्दोबल्दो अनि फुल्दोफल्दो समस्याको समाधान गर्नको लागि कार्यालय परिसर वरपर चल्ने सबै कालो प्लेट, रातो प्लेट, सेतो प्लेट, निलो प्लेट, पहेँलो प्लेटका सबै सवारी साधनहरूको इन्ट्री गरेका छौँ । त्यसले पनि वर्तमान इन्धनको विकराल समस्याको सहजता हुँदैन कि भन्ने पिरले सार्वजनिक अड्डाको दाँयाबाँया रहेर कार्यालयको शोभा बढाइरहेका, वर्षौँदेखि चल्न नसकेका सवारी साधनहरूको पनि सङ्ख्या जोडेर इन्धन मागेका छौँ । हामी विस्वस्त छौँ, हाम्रो इन्धनको मागलाई यहाँहरूले पूरा गरिदिनुहुनेछ । यदि नगरेर हाम्रा सवारी साधन गुड्न पाएनन् भने हजुुरहरू मात्र गुड्ने सडकलाई नेपाल बन्द र चक्का जामको आन्दोलन गर्नको लागि पेन डाउन गर्नेछौँ ।
अँ साँच्ची अर्को कुरा पनि भन्छौ भनेको धन्नै बिर्सेको । यहाँहरूले अनिवार्य दायित्वभित्र कार्यालयको दायित्वलाई मात्र बुझ्नुभयो जस्तो छ । हामी समस्त सरोकारवालाहरूको पारिवारिक दायित्व, सामाजिक दायित्व, पेशागत दायित्व र अन्य बहुआयामिक दायित्वलाई भुसुक्कै बिर्सनुभएकोले सम्झाउने जमर्को गरेका छौँ । घरकी श्रीमती र छोराछोरीले यो पटकको बजेटमा जसरी भए पनि दुई पटक विदेश भ्रमण जानुपर्छ है भनेका छन् । यसको लागि बेलैमा बजेट माग्नुहोला भन्दैछन् एकातिर भने अर्कोतिर डेटिङ र सेटिङमा सँगै हिँड्ने गल्स फ्रेण्डहरूले यो वर्ष युरोप भ्रमण गर्ने चाँजोपाँजो मिलाउनु पर्छ है स्मार्ट ड्याडी भनेका छन् । आखिर यी र यी सबै हामी सरोकारवालाहरूको अनिवार्य दायित्वमा पर्ने होइनन् र ? यसमा अझ दायाँबायाँ छिमेकीले हाकीम साब यस्तो पाराले भएन है, दुइपाङ्ग्रेमा लुखुरलुखुर । यो वर्षको बजेटले एउटा चार पाङ्ग्रे किन्नुहोस् अनि हामीलाई पनि लिफ्ट दिनुहोस् भन्दैछन् । आखिर यी र यस्तै खाले सबै कुराको बजेट पनि अनिवार्य दायित्वमा राखेर बजेट विनियोजन गरियोस् भन्ने हाम्रो हार्दिक अपिल रहेको छ । सँगीसाथीसँग गुड फ्राइ डे, मन मिल्नेसँग हाइकिङ् डे, लामो विदाको बेला साइक्लिङ् डे को लागि चाहिने खर्चलाई पनि अनिवार्य दायित्व भित्र नै राखेर बजेट विनियोजन गर्दा केही फरक पर्ने छैन । यदि परिहालेको खण्डमा पनि परेको काण्ड हामीले नै बेहोर्ने छौँ ।
अब आयो बिजुलीको कुरो । यसमा पनि हामीलाई सुविधाको विषयमा अलिकति दुविधा नै भएको छ । यसमा पुष्ट्याइँ गर्ने हतियारको रुपमा एक महिनाको बिल भनिएकोले हामी समस्त सरोकारवालाहरूको जाडो महिनामा आएको कार्यालयको बील र हाम्रो घरमा आएको बिजुलीको बिललाई समेत आधार मागेर बजेट मागेका छौँ । जाडो महिनामा अफिसमा गएर काम गर्दा अफिसमा बिजुलीको पावर नपुगेर समस्या भएको हुँदा, घरमा बसेर पनि अफिसकै काम गर्नुपर्ने भएकोले घरमा प्रयोग हुने ग्याँस, इन्डक्सन, ए.सी., टि.भी., हिटर, रेफ्रिजेरेटर लगायत विद्युत खपत भएको सङ्लो बिललाई मात्र आधार मानेर बजेट माग गरेका छाैँ ।
अन्य खानेकुरा माछामासु, फलफूल, तरकारी लगायतका ग्रोसरी आइटमलाई अनिवार्य दायित्वमा मिलाउन नसकिएकोमा हामी सरोकारवालाहरूको व्यावसायिक ज्ञानको कमजोरी हो भन्ने हामीलाई लागेको छ । यस किसिमको कमीकमजोरीलाई आत्म आलोचना गर्दै अर्को आर्थिक वर्षसम्मका हाम्रा सबै किसिमका बहु-आयामिक दायित्वलाई अनिवार्य दायित्वभित्र राखेर बजेट माग गर्न सक्ने क्षमतामा पारङ्गत हुनेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । हामी सबैको जय होस् ।
०००
स्याङ्जा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































