साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौन लायो !

आफ्नै घरमा फोहोर फाल्ने डस्टविन छ, फोहोर लिन पनि घरकै गेटभित्र नै गाडी आउँछ तर यो आधुनिक मन फोहोर जति सकिनसकी आफैले बोकेर नजिकैकै खोलामा फाल्न मन लाउँछ । मन नै त हो साथी ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

मेरी आमालाई म जन्माउनको लागि सुत्केरी व्यथा लायो । आमालाई व्यथाले चाप्न लागेपछि बाबालाई चिन्ता लायो । नजिकैको तल्लो घरमा हुनुहुन्थ्यो सुडेनी रमा अन्टी उहाँलाई एकविहान हुननपाउँदै सेवा गर्न जानको लागि झन्जट आइलायो । यो लाउने काम पनि अचम्मको हुन्छ । बेला न कुबेला जतिबेला पनि, बिनासित्तैमा लाउँछ बाई । अब हामीहरु यिनै तिता टर्रा ढर्राका मिठा लाउने र आउने कुरातिर नै कुलेनाम ठोकौँ ल ।

निकै नजिक दुई कोसको दुरीमा गाउँमा स्कुल थियो । चार वर्ष नपुग्दै घरकाले स्कुल जा भनेर छिनेर बारी पटुवाले बाँधेको चप्पल र ठाउँ ठाउँमा टालेको जाँघे लगाएर पाँच किलो आँटा किनेर ल्याएको नयाँ सेतो बोराको टिलिक्क टल्कने ब्यागमा एउटा सानो कापी राखिदिएर पठाउँथे, तर जाँगर लाग्थेन र झ्याउ लायो । स्कुलमा नै नपुगी दिनभरी पढेर फर्कँदा बाटोमा अरुको बारीमा फलेका अम्बा, सुन्तला, आँप, निबुवा देखेपछि यी निर्दोष आँखालाई पनि चोरेर खान मन लायो ।

मनै त हो, लागेपछाडि के गर्ने ? जे त होला भनि यसो अम्बाको हाँगो तान्न मात्र के लागेको थिएँ, माथिबाट घरधनीले चोर भन्दै ढुङ्गाले हान्दा धन्न आँखा बचाइयो तर टाउकोमा लायो । हप्ताको एक दिन तारिख थाँम्दै स्कुल पढ्न थालियो, वार्षिक परिक्षामा एउटा, दुइटा विषय मात्र होइन हजुर सात वटै विषय लायो । लाउने काम साँच्चै मापाको नै हुनेरहेछ । जति धोए पनि, जति पखाले पनि कहिँ कतैबाट टुप्लुक्कै आइहाल्ने, लाइहाल्ने ।

दिनहरु बित्दै जाँदा, उमेर चढ्दै जाँदा यो सानो लुरे ज्यान पनि ह्वात्तै लायो । बाह्र नपुग्दै बाइसको जस्तो पो देखिन थालियो त । ज्यान मात्र होइन हजुर मन पनि सबैको भन्दा बढ्तै लायो । बाबुको ज्वाडी कोटबाट पैसा चोरी चोरी चुरोट खान मन लायो । साथीहरुसँग यस्सो बाटो छलेर राम्रा – राम्री नानी र बाबुहरुलाई आई लभ यु भन्न मन लायो । कलास चढ्दै जाँदा, अल्छि मानी मानी पढ्दै जाँदा साना स्कुल छाडि ठुला-ठुला विश्व विद्यालय पढ्न थालेपछाडि त झन् एक/दुई ट्याक मात्र होइन हजुर होल ब्याक नै लायो ।

उमेर पुगेपछि यौवन र यौवना भइयो अनि बिहे गर्न मन लायो । ज्योतिषीसँग चिना हेराएर, चार आँखालाई दुई बनाएर, नौमती बाजा बजाएर धुमधामसँग बिहे गरियो । बिहे गर्दा दुवैतिर व्यापक ऋण लायो । विहेको कर्म सबै पुर्‍याएर गरेकै हो तर के भो कुन्नी दुई दिन पछाडि नै यी चोर आखाँलाई त आफ्नो – आफ्नो श्रीमती र लोग्ने भन्दा अरुकै श्रीमती र लोग्ने नै राम्रो लायो । लाएपछि के गर्ने खै ? बाउको उसको त केही तागत चल्दैन भने मेरो उसको त के बात गर्नु ?

श्रीमतीले श्रीमान् अनि श्रीमान्ले श्रीमती सिङ्गै-सिङ्गै पाएर पनि चित्त पटक्कै बुझेन । एउटा लुरेलाङ्ग्रे ज्यानलाई साथमा दुई चार वटा/वटी गर्ल फ्रेन्ड र ब्वाई फ्रेन्ड बनाउन मन लायो । जे जे भएता पनि फेरि छोरा र छोरी जन्माउने कुरामा भने आफ्नै आफ्नै बैधानिक श्रीमान् र श्रीमतीबाट नै जन्माउन मन लायो । आफू ज्यादै राम्रो नाम चलेको एक नम्बरको सरकारी स्कूलको पाँच नम्बरको नाम चलेका गुरु र गुरुआमा हुँदाहुँदै आफ्नै छोराछोरीलाई प्रिन्सिपलको ज्याक चल्ने एम.ए. बि.एफ.(म्याट्रिक एड बट फेल) पढेका शिक्षक र शिक्षिकाले पढाउने जय बोडिङ् स्कुलमा पढाउन मन लायो ।

यहाँहरुलाई कत्तिको थाहा छ कुन्नि, लाउने कुरो मज्जैले लाएपछि साबुन पानीले मिचिमिचि धोएर नि जाँदैन । आफ्नो घाँटी सुकुन्जेल रोएर पनि जाँदैन । कानुनले बाँधेर जेलमा ज्याके पनि जाँदैन । लाएसी त लायो लायो, कसैको कसले केही गर्न सक्दैन । नपत्याए हाम्रै देशमा हेर्नुहोस् न । आफ्नो घरमा काम गर्न लाज मानेर थालमा चुठ्न मन लाउनेहरुलाई विदेशमा मेम सापका साडी धुन र भेडाबाख्रा चराउन मन लायो । आफ्नो बाँझोखेत नछुन मन लाउनेहरुलाई खाडि मुलुकमा फलाम खानीमा काम गर्न मन लायो ।

अचम्मकै छ क्या यो लाउने काम । घर चलाउने ढङ्ग नभएकाहरुलाई देश चलाउन मन लाउँछ । साहित्य कुन जनावरको नाम हो थाहा नपाउनेलाई प्राज्ञ हुन मन लाउँछ । महाअल्छीलाई एकदम राजनीति गरेर एकै महिनामा धनी हुन मन लाउँछ । पलाष्टिक सर्जरी र कस्मेटिक दलेरै भएपनि मिस्टर नेपाल, मिस नेपाल, आमा नेपाल, बाबा नेपाल, जाति नेपाल लगायतका विभिन्न भाँती नेपाल सम्म बन्न मन लाउँछ । पढ्न नपर्ने, बुझ्न नपर्ने कुरामा पि.एच.डी गर्न मन लाउँछ ।

लाउने कुरालाई कसैले रोक्न सक्दैन, कसैले छेक्न सक्दैन । पत्याउन मुस्किल पर्ने भए आफ्नै गतिविधिको गहिरो गहन अध्ययन गरौँ न । हामीले राजधानीमा बनाउने स्मार्ट सिटीका महास्मार्ट घरहरूमा कहिँ कतैबाट पानीको थोपो चुहुने होइन तर हामीहरूले घर बनाउँदा प्रत्येक फ्लोरमा आठ दश वटा धारा राख्न मन लाउँछ । आफ्नै घरमा फोहोर फाल्ने डस्टविन छ, फोहोर लिन पनि घरकै गेट भित्र नै गाडि आउँछ तर यो आधुनिक मन फोहोर जति सकि नसकि आफैले बोकेर नजिकैकै खोलामा फाल्न मन लाउँछ । मन नै त हो साथी । पसलमा गयो धुम्रपान स्वास्थ्यको लागि हानीकारक छ भन्ने लेखेको मोटो मोटो महङ्गो चुरोट र सूर्तिजन्य पदार्थ छाती फुलाई फुलाई किनेर सार्वजनिक स्थलमा आनन्द र शान्तिसँग बसी सान सँग तान्न र पिउन मन लाउँछ । लौत हजुर मन लाग्ने कुराहरु थप्दै जानुहोस् है त ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
बोरिङका टी-चर

बोरिङका टी-चर

गायत्री परिरोशनी
गुट उद्योग

गुट उद्योग

गायत्री परिरोशनी
लभराजको प्रेम !

लभराजको प्रेम !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x