साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्युनार गोष्ठी !

जुनसुकै पाटीका, जुनसुकै दलका, जुनसुकै बलका र जुनसुकै घरका शक्तिशालीहरू सत्ता र सरकारमा आए तापनि हाम्रो विकास मोडल भनेको ज्युनार गोष्ठी मोडल नै हो ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

हजुरहरूलाई कस्तो लाग्छ कुन्नी ? आफूलाई त जुनसुकै संघ-सस्थाको ज्युनार गोष्ठीमा सहभागी हुँदा निकै आनन्द आउँछ भन्या । टोलदेखि गाउँसम्म, गाउँदेखि बजारसम्म, बजारदेखि देशसम्म, देशदेखि विदेशसम्म निकै सुुवासित छन् ज्युनार गोष्ठीहरू । देशमा च्याउसरी उम्रिएका संघसस्थाहरूले मात्र होइन मागिखान र कमाइखान पल्केका डोनर एजेन्सीहरूले समेत ज्युनार गोष्ठीको माध्यमबाट विकास र समृद्धिको फड्को मारिसकेका छन् । जुनसुकै मौसममा हलक्कै मल्किने यस्ता गोष्ठीहरू आर्थिक वर्षको अन्त्यमा त दिनमा मात्र नभएर रातभरि नै जागाराम बस्ने गर्छन् । विकास र उन्नतिको नाममा चौबिसै घण्टा चौरासी व्यञ्जन खाने मात्र होइन हजुर, विकास पचाउन गाह्रो हुने भएकोले एकै दिनमा बाह्र/पन्ध्र पटक पाइखाना छिर्छन् । भि.आई. पी. हौँ भन्दै आफ्नै आँखा अगाडि झ्याप्पै गिर्छन् ।

ज्युनार गोष्ठीको छेकछन्द निकै कमालको हुन्छ । पारदर्शी, स्पष्ट, सबैले सजिलै छ्याङ्गै देखिने । तारे होटलका पनि र भाले होटलहरूका मेनु र भेनु हेरेपछि फास्टिङ बसेकाहरूलाई त जाउँ जाउँ लाग्छ भने तपाईँ हामी जस्ता सित्तंैमा पाइने सबै कुरा केही नछोडी खाइनेहरूको त नकुरा गरौँ । आफ्नो नाम भए पनि जाने, नभए पनि आफैले थपेर जाने । विकासको फड्को मार्ने मन्त्र सिकाउने यस्ता किसिमका ज्युनार गोष्ठीहरूमा नबोलाइकन गइयो भने पनि कुनै दोष लाग्दैन भन्ने कुरा विकासे अड्डाहरूले निकाल्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैले होला यस्ता प्रकारका गोष्ठीहरूमा बोलाएर जानेहरू भन्दा नबोलाइकन जानेहरू नै निकै भि.आई.पी. मा परिएको छ ।

नामै ज्युनार गोष्ठी, कति गर्नु ज्युनार ? भात मात्र होइन हजुर खानेकुराहरूको त कति धेरै खातैखात । गोष्ठीमा छिर्ने भर्‍याङदेखि गोष्ठी हुने हलको टेबलसम्म खानेकुराहरू मात्रै । हाम्रा स्वदेशी संघसस्था र सरकारले गरेको ज्युनार गोष्ठीमा भन्दा विदेशी संघसंस्था र विदेशी डोनर एजेन्सीले गरेका गोष्ठीहरू निकै सानदार हुन्छन् । जताततै खानेकुराहरू मात्रै । कति खानु ? पुग्न नभ्याउँदै ब्रेक फास्ट, गोष्ठी शुरु भएपछि बसेकै टेबलमा रेस्ट फास्ट । एउटाको भाषण सुन्यो हाई टी, अर्कोको भाषण सुन्यो खाई टी, जुनसुकै जतिबेला निस्के पनि बाई टी । वा खान त निकै जानेकै हुन् क्या । दुई घण्टाको लन्ज ब्रेक, सहभागी हुनेहरूको भन्दा डबल हुन्छ खानेकुराहरूको लाइन । पेट एउटै छ बा, कति खानु ? कसरी खानु ? नखाई पनि भाछैन । धेरै कुराहरू नयाँ छन्, सित्तैमा पाको खानेकुरा जसरी पनि खानु छ । भोलि बिसन्चो भए बरु औषधी खाउँला भन्दै कसैले केही नछोडी खाइन्छ है कति धेरै इमान्दार छौँ हामीहरू ।

आउट पुट माने नतिजाको कुरा गर्दा त कति धेरै शक्तिशाली हुन्छन् यस्ता ज्युनार गोष्ठीहरू । अन्य कार्यक्रमहरूको नतिजा हासिल गर्न, मापन गर्न निकै कठिन हुन्छ एकातिर भने अर्कोतिर मलेपको प्रतिवेदनमा बेरुजु आउँछ कि भन्ने त्रास र डरैडर मात्र हुन्छ । आजभोलिका आधुनिक ज्युनार गोष्ठीहरूमा भने यस्तो कुनै किसिमको टेन्सन नै हुँदैन । जति पटक मुखबाट पेटतिर इनपुट गरिन्छ त्यति नै पटक केही घण्टामा नै पाइखानामा आउटपुट आइहाल्छ । मलेपले बेरुजु लेख्नलाई देख्नै पाउँदैन । जहाँ आउटपुट त्यही एकपटक फल्स गरेपछि गाएब हुन्छ अन्य केरकार गर्न त कसको तागत ?

यस्ता प्रकारका ज्युनार गोष्ठीहरूले सिङ्गो मुलुकको विकास र समृद्धिमा निकै ठूलो उन्नति र प्रगति गरेको छ । महिनैपिच्छे हुने यस्ता किसिमका गोष्ठीहरूमा विकास सिकाउने र विकास सिक्नेहरूको ताँती नै लाग्दछ । कति सिक्नुहुन्छ विकास ? सुकिला र मुकिला ठूला मान्छेहरूको आफूभन्दा अझै तीन बित्ता ठूला कुरा । खाँदा-खाँदा पेटमा अपच अनि सुन्दा-सुन्दा कानलाई अपच भन्नुहुन्छ होला हजुरहरूले, अँ-हँ यहाँ त्यसो भन्न खोजेको पटक्कै होइन है । गोष्ठीमा विकास सिकाउनेहरूले हाम्रो देशलाई नै सिंगापुर, स्विजरल्याण्ड बनाएका मात्र छैनन् हजुर आफू र आफ्नाहरूको दुई/चार पुस्ताको गरिबी निवारण समेत गरिसके । हामी सिक्नेहरूको त भुँडीको विकास भएर गणेशजीको भन्दा अझै ठूलो भैसक्यो । सबैभन्दा अमूल्य आफ्नै भुँडीको विकास भएपछि यस्ता ज्युनार गोष्ठीहरू काम छैन भनेर बोल्नु पनि त भएन । आज बिहानै मेरो सात वर्षे छोरोले मेरो पेट छामेर भन्दै थियो- “ड्याडी हजुरको पेटमा मेरो बहिनी छ हो, मम्मीले मलाई पाउनु भयो, हजुरले बहिनीलाई पाउनु अनि हिसाब बराबर ।” समावेशी भुरोलाई के भन्नु ? हो छोरो हो, समावेशी विकास भनेको यही हो भनेर टारेँ ।

आजभोलिको समय भनेको नै ज्युनार गोष्ठीको हो । देश विकास गर्नेलाई सार्वजनिक क्षेत्र, निजी क्षेत्र, अन्य संघ-सस्था लगायत सबैले जानेको विकासको अचुक औषधी भनेको ज्युनार गोष्ठी नै हो भनेर ठोकुवा गरियो भने पनि कसैलाई केही घाटा हुँदैन । मुलुकको विकास गर्ने भन्दै यस्ता प्रकारका ज्युनार गोष्ठीहरू आर्थिक वर्षको शुरुमा अङ्कगणितीय अनुपातमा र आर्थिक वर्षको अन्त्यमा ज्यामितीय अनुपातमा सञ्चालन गर्नु/गराउनु नयाँ नेपालको अभीष्ट रहेको छ । चालु बजेटको ठूलो हिस्सा ओगटेको कार्यक्रम बजेटको पूरै हिस्सामा छुटाउनै नहुने शूत्र भनेको ज्युनार गोष्ठीहरू नै हुन् ।

विकासक्रम र कालकै कुरा गर्ने हो भने तापनि मल्लकाल, राणाकाल, शाहकाल, प्रजातन्त्रकाल, एकदलकाल, बहुदलकाल हुँदै अहिलेको गणतन्त्रकालमा मात्र होइन, भुकम्पकाल, कोरोनाकालमा द्रूतगतिमा फस्टाउँदै अनिकालमा समेत झन् व्यापक उत्पादन हुने ज्युनार गोष्ठीलाई कमजोर छन् भनेर कसले भन्न सक्छ ? जुनसुकै पाटीका, जुनसुकै दलका, जुनसुकै बलका र जुनसुकै घरका शक्तिशालीहरू सत्ता र सरकारमा आए तापनि हाम्रो विकास मोडल भनेको ज्युनार गोष्ठी मोडल नै हो । भाषा र शब्द चयनमा केही फरकपन आउनसक्छ । स्वाद र परिकारहरूमा केही नयाँपन आउनसक्छ । हामी सबै त्यसैमा रमाएका छौँ । सक्नेले र मिल्नेले अलिकति आफू र आफ्नाको लागि कमाएका छौँ । बाँदरको जस्तो मुटुको शक्ति बनाउन सक्नेले आफ्नो र आफ्नाको आर्थिक हैसियत कहीँ कसैले कहिल्यै हल्लाउन नसक्ने गरी दह्रो बनाएका छौँ । जय होस् हाम्रो अनि हाम्रा ज्युनार गोष्ठीहरूको !

०००
स्याङ्जा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
बोरिङका टी-चर

बोरिङका टी-चर

गायत्री परिरोशनी
गुट उद्योग

गुट उद्योग

गायत्री परिरोशनी
लभराजको प्रेम !

लभराजको प्रेम !

गायत्री परिरोशनी
लौन लायो !

लौन लायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x