साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चर्पी चिन्तन

ओठमा दल्ने चिल्लो छैन मलद्वारमा दल्ने घिऊ भने झैँ खाने पानीको हाहाकार भएको ठाउँमा चर्पी चिन्तन परियोजना फेल खायो अब चौतारी सर्भे गरौँ रिपोर्ट राम्रोसँग लेखौँ, डकुमेन्टेसन राम्रो गरौँ । यहाँ हैन अर्कै गाउँमा फेरि चर्पी चिन्तन परियोजना सञ्चालन गरौँ ।

Nepal Telecom ad

केशव दुवाडी :

व्यङ्ग्य बटार्नेले सके चार्ली चाप्लिनले झैँ चूपचाप चिर्कटे व्यङ्ग्य हान्नु । नभए चूपचाप चाउरिएर बस्नु नि !! किन हेर्दै नाकमा ह्वास्स गन्हाउने गुह्ये शीर्षक राख्नु ? भनेर तपाईंहरू निधारमा नौ मुजा नपार्नु होला ।

किनकि चन्द्रमामा प्रक्षेपण गरिने अन्तरिक्ष यानमा पनि चर्पी हुन्छ । एक जना साहित्यकारले नेतासँग हात मिलाउँदै –
“साहित्य भोजनघर हो भने राजनीति आँचीघर हो । यानिकि चर्पी हो” भनेर फ्याट्टै भनिदिएँ । हल्का तानेको बेलामा ।

मैले यसो विचार गरेँ । वास्तवमा कवि साहित्यकारहरू खाएको बेलामा वास्तवमै गहिराइमा पुग्छन् । नखाएको बेलामा बोक्रे लेख लेख्छन् ।

साँच्चै, राजनीति चर्पी नै हो । त्यहाँ लागे पछि सच्चरित्र भएको मानिस पनि क्रान्तिकारी पनि, वामपन्थी, दक्षिण पन्थी, उत्तर पन्थी, मध्यपन्थी सबै गन्हाउन थाल्छन् ।

संसदीय सर्वोच्च होस् या न्यायिक सर्वोच्च होस् अथवा कार्यकारी सर्वोच्च नै किन नहोस् यस्ता कैयौँ मै हुँ भन्ने प्रकाण्डहरू पनि काण्डै काण्डका मुण्डमाला धारी बन्न पुग्छन् ।

त्यसो त राजनीति चर्पी हो किनकि यो निकास दिने कुरा पनि हो । मलद्वार जाम भयो भने हरिद्वार जाने धर्मात्मा पनि डाँठै सलल हुन्छन् । त्यसैले नाक थुनेरै भए पनि, पिच्च पिच्च थुकेरै भए पनि राजनीतिक चर्पी भित्र मानिसहरू हुलका हुल छिरिरहेका छन् । त्यसैले मैले यो चर्पी चिन्तन गर्न थालेको ।

मेरा पण्डितबाहरूले “हस्तौ पादौ प्रछ्वाल्य, आचमनं कुरु, श्नानम् कुरु, शुद्धां गुण्यां करोम्यहम्” भनेर संस्कृतमा भने । सर्वसाधारण जनतालाई बुझाएनन् ।

पछि त्यही कुरा चीलगाडी चढेर, गलपासो कसेर आउनेहरूले “वास” कार्यक्रम भन्दै प्रोजेक्ट बोकेर आए, सुकिला मुकिला जम्मा पारे, “नेपालीहरू हग्न जान्दैनन्, बारिको पाटामा लिड्क्याएर ढुङ्गाले पुछेर ठाडे कुद्छन्” भनेर प्रोजेक्ट प्रपोजल लेख्ने अनि श्रोत ल्याएर सोली सिस्टम चलाउन थाले ।

समुदायलाई थोपा झार्ने अरु सबै आफै झ्वाम्म पार्ने अनि विकासको गफ लाउने !!
समुदायका मानिस पनि के कम सित्तै पाए अनुदान आए सातवटा सम्म चर्पी बनाउन पछि नपर्ने !

यसो कुनै ठाउँमा जाँदा गल्लीतिर हरियो झिँगा भनन गर्दै एउटा नेता र अर्को नेताबीच आरोप प्रत्यारोप जस्तै भन्किएको देखियो वा नाकमा रागात्मक रन्को पस्यो भने ल गाउँघर आएछ भन्ने सूचकको सूइँको पाइन्थ्यो ।

त्यही भएर चर्पी चिन्तन चौतारी कार्यक्रममा विभिन्न औतारीहरू उपस्थित हुने गर्थे । रंग रंगका ढंग ढंगका कुरा गर्थे यानिकि चर्पी चिन्तन गर्थे ।

यस्तै यस्तै चिन्तन गरेर गाउँमा चर्पीको अनुदान दिए, भात खाने थाल छैन हग्ने कोपारा भने जस्तो घरको छानामा भ्वाङदुलो, घर भन्दा चर्पी ठूलो बनाइदिए ।

गाउँभरि चर्पी बने पछि उद्घाटन गर्न नेतालाई बोलाउने निणर्य गरे । सत्तारुढ दलकै नेता मन्त्री महोदय हेलिकोप्टर चढेर दलबलसहित धूलो उडाउँदै भुइँमा झरे ।

अब मुखियाबाको आँगनीमा बनेको चिटिक्कको चर्पी उद्घाटन गर्ने निर्णय भयो । अब कसरी उद्घाटन गर्ने ? एउटा धुपौरे कार्यकर्ताले परियोजनाको सुकुलगुण्डा जस्तो देखिने मान्छेलाई भन्यो- मन्त्रीजीले मुतेर उद्घाटन गर्ने !!

युटुबे पत्रकारहरू मन्त्रीजीको पछि पछि कुदे उद्घाटनको लाइभ खिच्न ! सामाजिक सञ्जालमा हालेर दर्शकको सङ्ख्या बढाउन यानिकि मनिटाइजेसन भैसकेको रहेछ उनीहरूको खाता ।

मन्त्रीजी डायरी पिएलाई दिएर उद्घाटन गर्न सुरुवालको इँजार फुकाल्दै चर्पी भित्र छिर्न मात्र खोजेका थिए, गुइँठे च्यानलका भाइरल पात्रले केमेरा सोझ्याउँदै भन्यो- “मन्त्रीजी कस्तो अनुभव भैराछ ? हामीलाई बताइदिनुस् ! जनता जान्न चाहन्छन् ।”

मन्त्रीजी पनि के कम ! दुवै हात माथितिर उठाएर “मलाई त आनन्द आइरहेको छ” भन्न मात्र भ्याएका थिए इँजार फुस्केको सुरुवाल फुत्तै तल झर्‍यो ! लाइभ कास्टिङ भएको बेलामा रमिता भयो । हत्तर पत्त पिएले मन्त्रीलाई चर्पी भित्र छिरायो ।

बाहिर निस्के पछि अर्को भाइरल पात्रले मन्त्रीज्यू चर्पी कस्तो लाग्यो त भनेर सोध्न मात्र के भ्याएको थियो क्यामेराम्यान नाक थुन्दै मन्त्रीतिर भन्दा भीडतिर क्यामेरा सोझ्याउन थाल्यो ।

किन भनेको त चर्पी मात्रै बन्यो पानी छैन, खानेपानी त एक घन्टा तलबाट डोकोमा बोक्न पर्ने गाउँमा सिमेन्ट लगाएको, सेतो प्यान हालेको चर्पीमा कसरी पानी पाउने ?

मन्त्रीले हिँड्ने बेलामा एकजना ठेकेदारले विदेशबाट ल्याएको डिउटी फ्री दन्काएछन् । ल्वाङ सुकुमेलले मुखबाट पो गन्ध आएन त, पिसाब त गन्हाउन थालिहाल्यो अनि विचरो क्यामेराम्यान नाक नथुने के गरेस् त !

जसो तसो चर्पी उद्घाटन सकियो मन्त्रीको दलबल र पत्रकारहरूको टोली फर्कियो तर विचरा मन्त्रीको इँजारकाण्ड अहिले सम्म ट्रोल भैराछ !! चुनाव ताका झन् हुन्छ । बेरोजगारको देशमा यस्तैले त होनि ट्याम पास हुने !

केही समयपछि चर्पी चिन्तन परियोजनाको अनुगमन गर्ने परियोजना आयो । फेरि सुकिला मुकिला झोला बोकेर गाउँ पसे ।

गल्लीतिर त अझै रासका रास ! लिँडका लिँड । राजधानीको राजनीतिमा नेता भन्किन पनि छाडेन, गाउँको गल्लीतिर हरियो झिँगा पनि भन्किन छोडेन ! हुँदा हुँदा महानगरको आकाशेपुलमा पनि रास देखिन थाल्यो ! डम्पिङ साइडमा राजनीति भन्कन थालेपछि शहरमा झिँगा त भन्किने नै भयो नि !

बिहानै कम्मर मुन्तिर छोप्नेले घाँटी माथितिर छोप्दै ठस ठस कन्नेहरू पनि घटेनन्, गु आयो कि गाउँ आयो भन्ने उखान पनि मेटिएन । किन होला भनेर अनुगमन टोली गाउँ पसेको त चर्पी त चिटिक्कै छ । चर्पीमा कसैले खोसेल्टा राखेका, कसैले त खाटै हालेर सुतेका । किन यसो गरेको भनेर सोधेको त चर्पी सफा राख्नु भन्नु भएको थियो हग्न भयो त फोहर भैहाल्छ नि !
फेरि हाम्रोमा ससुरा/जेठाजु र बुहारीले एउटै चर्पी चलन गर्ने रीत छैन नि ! त्यसैले बुहारीहरूको लागि छुट्टै थप चर्पी चाहियो अरे ! पुनः चर्पी चिन्तनको परियोजना चाहियो भन्न थाले ।

यसै बीच एउटा परियोजनामास्टरले उसको हाकिमलाई खुसुक्क भन्यो – “ओठमा दल्ने चिल्लो छैन मलद्वारमा दल्ने घिऊ भने झैँ खाने पानीको हाहाकार भएको ठाउँमा चर्पी चिन्तन परियोजना फेल खायो अब चौतारी सर्भे गरौँ रिपोर्ट राम्रोसँग लेखौँ, डकुमेन्टेसन राम्रो गरौँ । यहाँ हैन अर्कै गाउँमा फेरि चर्पी चिन्तन परियोजना सञ्चालन गरौँ ।”
त्यसपछि चर्पी चिन्तकहरू अर्कै गाउँ पसे !!

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x