शेषराज भट्टराईनमच्चिने पिङको सय झड्का
अहिले देशको सत्ताधारी दल र नागरिकको असली अवस्था ठिक त्यस्तै छ । अब भन्नुस् तपाईं हाम्रो छरछिमेक प्रहरी प्रशासन, समाजसेवी, शैक्षिक जगत्, स्वस्थ्य क्षेत्र, विकास निर्माण हरेक निकायमा नमच्चिने पिङको मर्मत गर्ने कि नगर्ने ?
शेषराज भट्टराई :
नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ मात्रै लगाउँछ । हो ! नमच्चिने पिङको गतिविधि उतिविधि ठिक हुँदैन । चारै सुरुमा लिङ्ग गाडेको छु भनेर मख पर्नै पर्दैन । तिनको गोली गाँठो मिल्नु पर्छ । लगन गाँठो मिल्नुपर्छ । अनि मात्रै पिङको ह्याकुलो हाँस्छ र राम्रोसँग मच्चिन्छ । अन्यथा झड्का मात्रै हात लाग्छ र मच्चिनुभन्दा थच्चिनु जायज लाग्न थाल्छ । यो गर्छु त्यो गर्छु भनेर फूर्ती लगाउने तर नाच्ने बेलामा कम्बर मर्काउन पनि जान्दैन भने कसरी हिरो हुन्छ, जिरो हुन्छ । यस्तो भएपछि सय झड्का मात्रै होइन हजारौँ बेकामे झड्काले ङिच्च दाँत देखाउँछ ।
चुनावमुखी राजनीतिक दलमा मात्रै होइन हरेक क्षेत्रमा नमच्चिने पिङले अगणित झड्का दिइराखेको हुन्छ । हामी यसो गम खाएर विचार गरौँ त शैक्षिक सत्र सुरु भएपछि पाठशालाहरूले नयाँ भर्ना हुन आम नागरिकहरूलाई बाबु बाजेले नदिएको अनेक सुविधा उपसुविधाले भरिएको इन्द्रेणी आश्वासनको गगनभेदी भर्याङ देखाएर सयौँ नमच्चिने झड्का दिइराखेका हुन्छन् । अन्य पाठशालाले भन्दा आफ्नाले नमरिकनै स्वर्ग देखाइदिने आश्वासन दिएर अर्को विशेष जादूले भरिएको सय झड्का प्रकट गर्ने गर्छन् । शिक्षालयको क्षेत्रफल धेरै भनेर हुन्छ कि या सभाहल ठूलो भनेर हुन्छ कि या प्राप्ताङ्कको प्रतिफल अधिक देखाएर हुन्छ । पौडीको नाममा कौडीको कुवा देखाएर वा खेलकुदको गरो देखाएर भए पनि दरो आम्दानीका लागि दत्तचित्त भएर लागि परेका हुन्छन् । थोत्रा कम्प्युटरको करङ शो गरेर हुन्छ कि या भाडाका बाइनाकुलरको नलिखुट्टो देखाएर वा प्रोफेसर डाक्टरको नाम भजाएर भएपनि नमच्चिने पिङले झड्को दिइरहेको हुन्छ । यसरी व्यापार आपारको नसाको अगाडि गाँजा, भाङ, धतुरो, अफिम, चरेसको नसा आफै छेउ लाग्छ । त्यसैले नमच्चिने पिङको सय झड्का दिनमा पाठशालालाई कसैले जित्न सक्दैनन् । तबन पाठशाला, विद्यालय, महाविद्यालय अन्यथा के विद्यालय ?
पिङ मजाले मच्चिन्छ भनेर सय झड्का दिनेमा अस्पतालहरू पनि अगाडि छन् । आफ्नो यावत सुविधाले स्वास्थ्य लाभ हुन्छ भन्दै आफै लाभायलाभ हुन अग्रणी अस्पतालहरू एकथरी समस्या देखायो भने दश थरी ल्याबटेस्ट गर्न लगाएर आफ्नो अभावको खाल्डो पुर्ने गर्छन् । एक दुई दिन राखे हुने बिरामीलाई महिनौ अस्पतालमा ओस्याएर दीर्घरोगीको प्रमाणपत्रले सुशोभित गर्छन् । पहिला सामन्ती महाजनले शोषण गर्थे अहिले अस्पतालहरूले शोषण गर्छन् । अनेक रोगको उपचार गरिन्छ भन्दै अनेक रोगमा जुकाले झै चुसेर अभाव पनि थपेर डिस्चार्ज गर्छन् । अनुसन्धान, प्रयोगशालाले नमच्चिने पिङमा झुम्कादार झड्का दिएपछि एनेस्थेसिया सुँगाएर बेहोस् बनाउनै पर्दैन बिल देखाए बेहोस् भइहाल्छन् नि ।
नेपालका प्रधानमन्त्रीले दिने आश्वासनका नाराहरू पनि सयौँ झड्का दिने खालका असाध्यै प्यारा कोरली राखूँ जस्ता हुन्छन् तर व्यवहारमा ठ्याक्कै उल्टो । विब्ल्याँटो भएपछि त्यसलाई निको मानिँदैन । हरेक प्रधानमन्त्रीको समान धारणा “म अरु जस्तो नेता होइन” मानौँ तिनको दुई खुट्टा नै छैन । भन्छन् म मुलुकलाई बनाउँछु । नागरिकलाई असम्भव सुविधा भोग्न बाध्य पार्छु । सबैका सारा गारा अप्ठ्यारा छुमन्तरको तालमा हरण गरिदिन सक्छु ।” तर नेता आफै दूषित आफ्नै आङमा भैँसी दौडी रहेको छ अर्काका आङको जुम्राको बखान गर्छन् । यस्ता आधुनिक हनुमानले अरूको कष्ट निवारण कसरी गर्छन् ? अनि उही उखान दोहोर्याउनु पर्ने हुन्छ” नमच्चिने पिङको सय झड्का ।
काम गर्छु, गरेर देखाउँछु भन्नेलाई पनि अवरोध गरेर लाजनीतिको गन्धे खेलमा रमाएकाहरूलाई स्वतन्त्र नेताहरूले केही ज्ञान दान गर्दैछन् । तर रिस डाहाले फतक्क गलेकाहरूले फित्कौली ताकी ताकी मट्ेयाङ्ग्राले बाधा अड्चन सिर्जना गरिरहेका छन् । नमच्चिने पिङ मच्चाइ रहेका छन् । के गर्नु विचारहरूको सिङ्गो सक्कल देशको ढुकुटी रित्याउँदा रित्याउँदै दुःख र सास्तीले फुलेर पिङ मजाले मच्चाउन सक्दैनन् अनि डाहाले फर्सी कुहे झै भित्रभित्रै आफै सिद्धिरहेका छन् । तैपनि सय झड्का भने दिन छोड्दैनन् दुष्टात्माहरू ।
कोही कस्टमर पसलमा पसेर घुँडा धसेर वा धर्ना बसेर हाँसेर भइराखेको जिनिस थपक्क नकिनीकन यो मालमा यता फुर्का भएको भए लाने थिएँ । यसमा चाहिँ यहाँनेर प्वाल भएको भए लाने थिए । यो मालको चाहिँ यहाँनेर तुना झुण्ड्याई दिएको भए लाने थिएँ । यसमा यहाँनेर गोजी भएको भए लाने थिए भनेर दोष मात्रै थोपर्छ भने त्यस्तो अवस्थामा पसले जतिसुकै बुद्ध भए पनि क्रुद्ध हुन्छ र नमच्चिने पिङको सय झड्का भन्दै आफ्नो रिस आफैले घुटुक्क पिउँदै सुटुक्क मुर्मुरिनु पर्छ । अहिले देशको सत्ताधारी दल र नागरिकको असली अवस्था ठिक त्यस्तै छ । अब भन्नुस् तपाईं हाम्रो छरछिमेक प्रहरी प्रशासन, समाजसेवी, शैक्षिक जगत्, स्वस्थ्य क्षेत्र, विकास निर्माण हरेक निकायमा नमच्चिने पिङको मर्मत गर्ने कि नगर्ने ? खबरदार ! भन्नुस् हारगुहार माग्नुस् नत्र त जहिले पनि सय झड्का मात्रै हात लाग्ला है होसियार !
०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
Subscribe
Login
0 Comments
Oldest







































