शिव सस्मितनगदानारन प्रभु
जति भँडुवा, चढुवा र विभेदकारी भए पनि आजको जमाना नगदनारन प्रभुकै हो । नगदनारन प्रभुविना कोही चल्न खोज्छ त त्यो जिउँदै जल्न सक्छ, साँच्चै उसको अस्तित्व ढल्न सक्छ । किनकि हुनेखाने र हुँदाखाने सबैको जिन्दगीको तात्त्विक अर्थ नगदनारन प्रभुसँगै जोडिएको छ ।

शिव सस्मित :
नगद माने कतै पैसा । कतै रुपियाँ, कतै रुपयें । कतै नोट । डलर। कतै पाउन्ड। कतै रियाल। कतै दिराम, कतै हरामबिराम । कतै कतै युरो। न त यसको सिङ न त यसको जुरो। लाज नपचाइकन कुरो नचपाइकन भन्नुपर्दा विश्वब्रह्माण्डभर विभिन्न नामले यसको न्वारन गरिएको छ । चिज एउटै छ, काम एउटै छ, शानमान एउटै छ तर गज्जपको कुरो, कतै लक्काना झुन्ड्याइएको छ, कतै बाइमात्रा कुच्च्याइएको छ । उकार-इकारलाई बेकार बनाइएको छ । शब्दलाई केरकार गरिएको छ । अक्षर बङ्ग्याइएको छ, ‘आ’क्षर टिङ्ग्याइएको छ । ‘इ’क्षर हिङ्ग्याइएको छ । यसभित्र राम पनि छ, हराम पनि छ, साम पनि छ । यसविना कुनै काम छैन । यसको भाउ पनि अनेकथरी दिइएको छ । ‘आफूलाई माउ’ ठान्नेहरूले यसको ह्याउमा माथ गरेका छन् । त्यही माउ को दाउमा मार्फाली स्याउ टोक्दै बस्नेहरूले समेत यसकै साथ खोजेका छन् । जेजस्ता उद्गार दिइए पनि यसको लीला भने अपरम्पार छ । यो ह्याँ पनि छ, यो त्याँ पनि छ । भन्सारदेखि संसारसम्म यसकै जगजगी छ । हरिनारन बरु त्याँसम्म पुगेनन् होला जहाँ यो नाथेले नाथ गरेको छ । सब चिजलाई फगत् बनाउँदै जगत्मा सबैभन्दा उचो स्थान ओगट्न सफल भएको भएको छ । हरिनारनहरूको पनि नारन बनेको छ त्यसैले त यसलाई नगदनारन भन्ने गरिएको छ । राणा- राजाको शासनदेखि अहिलेका राजाप्रवृत्ति बोकेका शासक र तिनका उपासकहरूको चाकरीबाज त नगदनारनका अगाडि के हो र ? त्यसैले पनि नगदनारनज्यूलाई होच्याएर बोल्नु आफ्नै घुँडामा खुँडा बजाउनुजस्तै हो ।
नेपालमण्डलकै कुरा गरौं न ! परारदेखि पोहोरसम्म सुकादेखि मोहोरसम्म। अहिले मोहोरदेखि रुपियाँसम्म, रुपियाँदेखि नोटसम्म । एकदेखि सयसम्म, सयदेखि हजारसम्मका नाउँमा नगदनारनको बजार निकै फस्टाएको छ । त्यतिमात्र होइन, हजारदेखि लाखसम्म तरुनी-तन्नेरीका काखसम्म, लाखदेखि करोडसम्म बुढादेखि पाकासम्म, चोरदेखि डाँकासम्म, मांसादेखि शाकासम्म नगदनारनकै चुरीफुरी छ । फुच्चेका खल्तीदेखि चुच्चेका झोला, खोपिल्टिएका आङदेखि कुच्चिएका टाङ पनि नगदनारनविना रत्तीभर चल्न सक्दैनन् । फुच्चेका मात्र के कुरा घरका बाआमा, देशका सुदामादेखि अमेरिकाका ओबामालाई समेत नगदनारनकै चिन्ता छ । त्यसैले त जगत्नारनको भक्तिलाई छाडेर हरेक मान्छे नगदनारनको पछि दौडेको छ । जगत्नारनको टाउकामा समेत उपरखुट्टी लगाउने भएपछि नाथे मनुवा नगदनारनको पछि किन नदौडोस् ?
नगदनारन देखेपछि देवाधिदेव महादेवका त तीन नेत्र खुल्छन् भनेर शास्त्रमा लेखिएको छ भने अरूका के कुरा ? अर्को कुरा जगत्नारनकै नाममा नगदनारनको चलखेल पनि ठुलै हुने गर्छ यो धरतीमा होइन र ? अन्त किन जाने ? पशुपतिनाथको भेटीका कारण त्यत्रो लफडा मच्चिएको यति छिटै भुलिन्छ र ? दसलाखे केटीका कारण कसैले जेलको हावा खाएको र बीस लाख तिरेर आएको जस्तो जाबालाई पनि थाहा छैन र ? त्यसैले पनि नगदनारनलाई नगदनारन प्रभु’ भनेर सम्बोधन गर्दा सजाय होला र ?
यस धरतीमा आँखा गाडेदेखि मान्छेले नगदनारन प्रभुको दर्शन पाइहाल्छ । यदि उहाँको दर्शन पाएन भने मान्छेको अस्तित्व नरहन सक्छ किनकि जन्मँदासाथ मान्छेलाई आवश्यक पर्ने साल काट्ने पत्तादेखि लिएर आङ ढाक्ने लत्ताको जोहो गरिदिने उहाँ नगदनार प्रभु नै हो । त्यहाँभन्दा अगाडिकै कुरा गर्ने हो भने पनि उहाँकै कृपाले आमाको भुँडीभित्र मान्छे नाचिरहेको हुन्छ र त बाँचिरहेको हुन्छ । जब बालकका आँखाले पखेटा हाल्न थाल्छन्, तोतेबोलीले अखेटा पाउँछ तब उसले नगदनारलाई चिनिहाल्छ, बरू आफ्नो बाउलाई अर्थात् पिण्डको दाउलाई नचिन्ला । अरू त कुरा के गर्नु र ? वर्षों स्कुल पढाउँदा पनि साँवाअक्षर चिन्ने ल्याकत हु नगदनारनलाई देखे पनि छोए पनि खुट्याइहाल्ने ताकत निकाल्छ । उसले नगदनारन प्रभुका एकएक रूपको भेद निकाल्छ । विच्छेद हुँदा खेद प्रकट गर्छ । प्राप्तिमा प्रेम गर्छ । जब मान्छे बाल्यावस्थामा प्रवेश गर्छ, नगदनारनको महत्त्व झन् बढी बुझ्न थाल्छ ।
नगदनारनविना बच्चाको खल्तीमा गुच्चा बज्दैन, आँगनमा भकुन्डो गुड्दैन । उहाँविना न नाना लाउन सकिन्छ, न पापा पाउन सकिन्छ । अँ साँच्चै ! उहाँ हुनुहुन्थेन भने स्कुले केटाकेटीहरू मुखमा चुइँगमको फुलो पड्काउँदै हिँड्न कसरी सक्ता हुन् ? ठिटाठिटीहरू पाइजामाको तुनोभन्दा माथि उठेर प्रेमगाँठो कस्न कसरी सक्ता हुन् ? अधबैँसेलाई भट्टीतिर पस्ने लर्बरिने शक्ति केले दिँदो हो ? बाबैको जाङ र आमैको आङ केले ढाकिँदो हो ? भाले खान धामीबा केले डाकिँदो हो ? बुढ्यौली दमलाई कम गर्ने ओखतीका सिसीहरू केले आउँदा हुन् ? श्रीमतीका नानाभाँति माग र छोराछोरीका भाग केले पुग्दो हो ? अझै भनौँ उहाँविना मनुवाहरू मुखमा केको माड लगाएर बाँच्ता हुन् ? जीवन जियाइका तालमा कसरी नाच्ता हुन् ? घरको चुलो कसरी बल्दो हो ? खेतमा कुलो कसरी चल्दो हो ? जसको हातमा नगदनारन प्रभुको बास छ, उसैलाई गतिलो जीवन जिउने आस हुन्छ तर जीवन जिउने आसबाट मुक्त भई सास छोडेर मास छर्न हिँड्दाका बखतको कात्राको जोहो समेत उहाँविना कसरी सम्भव छ ? बडो विचित्रको कुरा छ ।
नगदनारन प्रभु पनि बडो विचित्रको हुनुहुन्छ । उहाँको रूपरङ्गका कुरा गर्न मजस्तो लुतुरेको ढङ्ग नपुग्ला । मलाई यति कुरा थाहा छ कि, कसैका घरमा उहाँ थुप्रिएर बस्नुहुन्छ, कालाव्यापारीका गोदाममा माल थुप्रिएजस्तै । कसैका घरमा कुप्रिएर बस्नुहुन्छ, खान नपाएको गाई दाम्रिएर कुप्रिएजस्तै । यस अर्थमा उहाँको रूप विभेदकारी छ नयाँ नेपालको परिभाषाले बाटो बिराएजस्तै । जसले आफ्नो पौरखलाई मात्र ठूलो देख्छ, नियम-कानुनको तुलो देख्छ, इमान साँध्छ, आफूलाई नैतिकतामा बाँध्छ, तिनका खल्तीसम्म नगदनारन प्रभुको उपस्थिति शून्य हुन्छ, अन्यत्रको त कुरै छोडौं । बिहान उठेदेखि राति नसुत्ने बेलासम्म त्यस्तो मान्छे नगदनारनको अभावमा छटपटिएको हुन्छ । नगदनारनकै कारण उसको प्रेम चुँडियो, घरबार बिग्रियो तर पनि नगदनारन प्रभुको दया उसप्रति कहिल्यै पलाएन । बरु जतिजति उसले नगदनारनप्राप्तिको कल्पना गर्छ, उहाँ त्यतित्यति पर गइदिनुहुन्छ, प्रेमपन्चट गरेर युवकका कन्चट तताएकी युवतीजस्तो । यसरी हुनेखानेका पेटमा मात्रै नाच्तै हिँड्ने, अर्को अर्को जुनीलाई साँच्चै हिँड्ने र नहुनेका ढाड भाँच्ते हिँड्ने विभेदकारी नगदनारन प्रभुलाई पनि केको हरिनारनभन्दा माथिल्लो दर्जा दिनु ?
लोकतन्त्र आइसक्यो, समावेशीका नारा घन्किसके नेताहरू समानुपातिकमा रन्किसके तर नगदनारन प्रभुलाई यसको कनै पत्तो छैन बा ! बरु उहाँ त हरितन्नमहरूका लागि हरेक क्षणमा अत्तो बनिदिनुभएको छ । ‘नारन’ को लत्तो छोडिसक्नुभएको छ । नारनको पगरी गुथ्नुभन्दा अगाडि उहाँ द्वापरयुगे कृष्ण बन्ने हिम्मत गर्न उहाँले किन सक्नुहुन्न ? सोह्र सय गोपिनीका खोपीमा एकैसाथ विराजनमान हुन सक्ने । यी हरितन्नम मनुवाहरूले नगदनारन प्रभुको भक्ति गर्न नजानेरै यो स्थिति भोग्नुपरेको कुरा मिथ्या होला र ? कुरा के थियो भने, नैतिकताका पराकाष्ठाहरू न त कर्मचारीका नाममा सेवाग्राहीका खल्ती छामे, न त व्यापारीका नाममा ग्राहकका ढाड नापे । न त तस्करीका नाममा खासातिर पासा खेल्न सके । न त नेताका नाममा जनताको परिश्रम पसिना लुट्न सके । न त बुद्धिजीवीका नाममा सर्वसाधारणहरूको बुद्धि भुट्न सके । आफू केही गर्न नसक्ने अनि नगदनारन प्रभुको दर्शन पाउन सकिएन भनेर गरेको चिन्ताले चितामा नपुऱ्याएर के सिंहदरबार पुर्याउला त ?
उता हेरौँ न नेता, मन्त्री, उपल्लो दर्जाको हाकिम, उद्योगी, व्यापारी, जाली-दलालीका महल नगदनारन प्रभुकै कृपाले सिँगारिन्छन् । आफ्ना देशका नागरिकलाई अनागरिक बनाएर बेच्ने शक्ति नगदनारन प्रभुले नै दिनुभएको हैन, तिनलाई तिनीहरूका सन्दुकदेखि, बन्दुकसम्म, टोपीदेखि खोपीसम्म, देशका सुकुटीदेखि विदेशका ढुकुटीसम्ममा नगदनारन प्रभुकै आशीर्वाद छ, माहुरीका हरेक चाकामा मह पसेजस्तै । औंसीको रातमा आकाशतिर हेरे पनि पुग्छ, ताराहरूलाई त हेरिसाध्यै छैन, गनिसाध्यै छैन। त्यसै त किन हुन्थ्यो, तिनले नगदनारन प्रभुको अपार भक्ति गर्छन्, नगद प्राप्तिमा आफ्नो भएभरकै शक्ति खर्चिन्छन् । प्रभुको चाकरीमा उत्रिएपछि, मान्छेले खाने नोकरीको समेत शानमान भिन्द हुन्छ । अड्डामा कागजका ढड्डा जाँचको काम गर्ने कर्मचारीलाई देख्नुभएन ? नगदनारन प्रभुकै भक्तिले तिनको कत्रो इच्छाशक्ति पूरा भएको छ ? नत्र त तिनले सिँहदरबारै अगाडि आफ्नो घरबार कसरी चलाउन सक्ता हुन् ? बालुवाटारलाई आफ्नो पेवा कसरी बनाउन सक्ता हुन् ?
यसरी हेर्ने हो भने नियम, कानुन, इमानदारिता, नैतिकता जस्ता कुरालाई बाह्र हात पर उछिट्याउँदै नगदनारन प्रभुको भजन गाउनेहरूप्रति नगदनारन प्रभु सधैं प्रसन्न बन्नुहुन्छ । भजन पनि जस्तोतस्तो होइन। कसैको दलान रुँघेर, रातभरि उँघेर, मादलमुजुरा ठुगेर भट्याउने भजन भए पो ? दसतिरबाट सिङ र जुरो निकालेर, चार सय बीस कुरो निकालेर, डनहरूको मन जितेर, कसैको तनलाई गनले उडाइदिएर प्रायोगिक भजन गाउनेहरूको सामीप्यमा उहाँ सधैँ रहनुहुन्छ । ती उठे नगदनारन प्रभु पनि उठ्नुहुन्छ, बसे बस्नुहुन्छ, कतै पसे साथै पस्नुहुन्छ । यसरी जसले नगदनारन प्रभुको चाकरी गर्छ, त्यसको खल्तीमा उहाँ नअट्ने गरी बस्नुहुन्छ । हुन त खल्तीमा पो किन अट्नुपर्यो, बजारभरि च्याउसरि उम्रिएका खुत्रुके संस्थाहरू पनि त छन् ? ती संस्थाहरूभित्र रहेका बाकसहरू राकस बनेर बसिरहेका छन्, तिनले जति पनि खान सक्छन् । खाएर र दिएर कहिल्यै नथाक्ने । बढी हावा खायो भने जाबा फुट्छ नि गाँठे ? तर अहँ, नगदनारनमा यस्तो शक्ति छ, जसको थैली कहिल्यै पनि नडगमगाउने भो ।
नगदनारन प्रभुको भक्ति गर्न नजानेका शक्तिहीन एक मनुवाको कत्रो आक्रोश छ, उनी भन्छन- “हनुस् महाशयहरू । म त नगदनारन प्रभुको भक्ति गर्न नजानेर बेहालमा छु तर तपैंहरू मजस्तो नबन्नुस् है । जति भँडुवा, चढुवा र विभेदकारी भए पनि आजको जमाना नगदनारन प्रभुकै हो । नगदनारन प्रभुविना कोही चल्न खोज्छ त त्यो जिउँदै जल्न सक्छ, साँच्चै उसको अस्तित्व ढल्न सक्छ । किनकि हुनेखाने र हुँदाखाने सबैको जिन्दगीको तात्त्विक अर्थ नगदनारन प्रभुसँगै जोडिएको छ । त्यसैले आजैदेखि न्वारनदेखिको शक्ति लगाएर भए पनि नगदनारन प्रभुको भक्ति गरिहाल्नुस् । यो जुनीलाई मात्र नभएर अर्को जुनी र नाति पनाति र खनातिको जुनीलाई समेत नगदको जोहो गरिदिनुस् । नगदनारन प्रभुको कुनै सीमा छैन, बिमा त झन् के हुन्थ्यो ? उहाँ मर्दै मर्नुहुन्न, तलतिर कत्ति भर्नुहुन्न । त्यसैले जिन्दगीलाई नगदनारनमय बनाउन जे गर्नुपर्छ गर्नुस् किनभने नेपालीको त झन् यो संस्कृति नै बनिसकेको छ । सोझो औँलाले घिउ आउँदैन, घिउ नआए जीउ लाउँदैन । कसैलाई नफसाईकन र कसैलाई नतर्साईकन नगदनारन प्रभुको बास घरमा कहिल्यै हुन्न । हामीलाई शासन गर्ने नेता, महानेताहरूले सिकाएको पाठ नै यही हो । आफूभन्दा ठूलाले सिकाएको पाठ ज्ञानी भएर सिक्नुपर्छ भन्ने कुरा हाम्रा गुरुले पनि भनेकै हुन् । नगदनारन प्रभुका स्वकीय सचिवले यो उपाय पनि विनातारमार्फत सुटुक्क बोलेकै हुन्, मलाई मात्र मनको कुरो खोलेकै हुन् । आगे यहाँकै इच्छा ।”
०००
म्याग्दी
कुराकुराकै खेती (२०८०)
Subscribe
Login
0 Comments
Oldest









































