साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खित्का

Nepal Telecom ad

१.नाकाबन्दी एक, दाबेदार अनेक

नाकाबन्दी कसको ? यसको भने ऊ रिसाउने, उसको भने अर्काे रिसाउने । यही कारण सरकारले अहिलेसम्म नाकाबन्दी नभन्या रै’छ । भारतको नाकाबन्दी कि मधेसी मोर्चाको ? मोर्चा भन्छ– हाम्रो नाकाबन्दी, उता भारत सरकार भन्छ हाम्रो नाकाबन्दी । नाकाबन्दी एक, दाबेदार अनेक । मोर्चाका नेताहरूले भनेको पत्याउने कि सुष्मा स्वराजले भनेको ? एउटालाई पत्यायो अर्काे रिसाउने ! क्या समस्या !

मधेसी मोर्चाका नेताहरू हाम्रै नेपाली दाजुभाइ हुन्, यिनलाई वार्तामा ल्याएर मिलाउनुपर्छ । यिनलाई चिढाउन हुन्न । नाकाबन्दी गरेका हौँ भन्ने यिनको दाबीलाई पत्याइदिनुपर्छ । तर, समस्या अर्काे छ– सुष्मा स्वराजलाई पनि चिढाउन भएन । शक्तिशाली भारतकी विदेशमन्त्री हुन् । तिमीले होइन, मधेसी मोर्चाले बन्द गरेको भनियो भने रिसाउलिन् । त्यसै त रिसाएकी छन्, अझ रिसाउने डर हुन्छ । तर, जो रिसाए पनि नाकाबन्दी कसले लगाएको हो भनेर खुट्याउनै पर्ने हुन्छ । यसले लगाएको भनेर नखुट्याई नाका कसरी खोल्ने ? कि गोला प्रथाबाट कसको नाकाबन्दी भनेर टुंगो गर्ने ? यो पनि हुँदैन, ग्यास पेट्रोल पाउन पो गोला प्रथा, कसले रोकेको भन्ने गोलाले निर्णय गर्न मिल्दैन ।

भारत सरकार र मोर्चा दुवै नरिसाउने उपाय गरौँ । नाकाबन्दी दुवै मिलेर आपसी तालमेलमा लगाएका हुन् भनौँ । आखिर हो पनि यसै, कि कसो ?

२. पसिना दिने, पेट्रोलियम लिने

पैसा दिने, पेट्रोलियम लिने जमाना गयो । पसिना दिने पेट्रोलियम लिने जमाना आयो । मिल्ने भए सवारी साधन पसिनाले चलाउन हुन्थ्यो तर मिल्दैन । पेट्रोलियम नै चाहिन्छ । अब पेट्रोलियम नकिन्ने, साटासाट गर्ने । पानी बेचेर पेट्रोल किन्ने सपना कहिले विपना बनेन । तर, पसिनासँग पेट्रोल साट्ने सुनौलो आइडिया सरकारको दिमागमा फ्याट्ट फुरेछ । सरकारले साउदी अरेवियासँग पेट्रोलियम मागेको छ । देश चिनेरै माग्यो । साउदीलाई नेपालले पसिना दिएको छ । लाखौँ नेपाली साउदीको मरुभूमिमा पसिना बगाइरहेका छन् । नेपाली पसिनाले साउदी अगाडि बढ्ने, साउदीको पेट्रोलले नेपालमा मोटरगाडी अगाडि बढ्ने !

साउदीलाई मात्र होइन, अरू देशलाई पनि नेपालले युवाको पसिना दिएको छ । अब उनीहरूसँग पनि केही न केही माग्नु पर्योे । मलेसियासँग खाद्यान्न मागौँ, यूएईसँग विलासी सामान मागौँ, कतारसँग ग्यास मागौँ, कोरियासँग मोटर मागौँ, जापानसँग चुलो मागौँ । माग्नुपर्छ, नमागी हुन्छ ? हामीले पसिना दिएका छौँ, उनीहरूले पनि केही न केही दिनुपर्छ । हामीले अरू बेला मागेका छैनौँ, नाकाबन्दीको विपत् परेकाले मागेका हौँ । दुनियाँमा सबैभन्दा मूल्यवान पसिना हो, पसिनाले जे पनि बन्छ । पसिनाको बदला सामान मागौँ । सबैसँग माग्दा भारतसँग पारवहनको अधिकार माग्न नबिर्सिऔँ ।

सबै चीजबिज विदेशीसँगै मागौँ तर हामीलाई नभई नभएको राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरताचाहिँ कोसँग माग्ने होला ?

३. परमादेशभन्दा शक्तिशाली तोकादेश

भनिन्छ– राज्यमा सबैभन्दा शक्तिशाली हुन्छ न्यायालयको परमादेश । तर, त्यसभन्दा शक्तिशाली हुन्छ, तोकादेश । तोकादेश कति शक्तिशाली भन्ने एउटा उदाहरण नै काफी छ– डिजेल पेट्रोल पनि दिलाइदिन्छ । अहिलेको नेपालमा डिजेल, पेट्रोल र ग्यासभन्दा मूल्यवान केही छैन । यति मूल्यवान चीज दिलाउन सक्छ तोकादेशले । मन्त्री या सचिवको तोक लगायो, मजासँग डिजेल, पेट्रोल, ग्यास पायो । न कुनै झन्झट, न लाइन बस्नुपर्ने टेन्सन, झ्याप्प तोक लगायो, च्याप्प सामान लियो । परमादेशले डिजेल–पेट्रोल दिलाउन सक्छ ? अहँ सक्दैन । अनि, परमादेशभन्दा पनि तोकादेश शक्तिशाली भएन त ?

४. नाकाबन्दी देव

देवीदेवता या ईश्वर अनेक खालका छन् । हालै भारतीय संसद्मा एक यस्ता ईश्वर प्रकट भएका छन्, जसलाई ‘नाकाबन्दी देव’ भन्न सकिन्छ । यी ईश्वरको प्रतापले अब मधेसी मोर्चाका कार्यकर्ता सीमा नाकामा धर्ना बसे पनि हुन्छ, नबसे पनि हुन्छ । धर्ना बसे राम्रो, नबसे झन् राम्रो । जाडोमा रातदिन धर्ना बस्न निकै सकस हुन्थ्यो, ईश्वरले जाडोबाट जोगाइदिए । धर्ना नबसे पनि नाकाबन्दी हुने ग्यारेन्टी ईश्वरले गरिदिएका छन् । विदेशमन्त्री सुष्मा स्वराजले नेपाललाई नाकाबन्दी लगाएको खुलेआम स्वीकारेपछि मोर्चाका कार्यकर्तालाई ‘ईश्वर’को कृपा खुलस्त भएको हो । किनभने, भारतले नै नाकाबन्दी लगाएको हो भनिसकेपछि धर्ना बसिरहनुको अर्थ भो त ? नबसे भइहाल्यो नि !

ईश्वरले धर्ना नबसे पनि हुने परिपञ्च त मिलाइदिए तर भात कसले दिन्छ ? खाजानास्ता कसले दिन्छ ? कार्यकर्ता समस्यामा परे । अढाई महिनादेखि भातभान्सा दसगजापारि हुन्थ्यो, त्यो पनि फोकटमा । धर्ना नबसौँ– खाना नपाइने, धर्ना बसौँ– जाडोले नसकिने । ईश्वर दाहिना भए पनि जाडो दाहिना भएन । हाम्रोमा काम अनुसारका देवता हुन्छन् । जस्तो कि– लक्ष्मीले धन, सरस्वतीले विद्या, विश्वकर्माले मेसिन विभाग हेर्छन्, नाकाबन्दी देवले नाकाबन्दी गर्छन् । एउटा विभागका ईश्वरले अर्काे विभागको काम गर्दैनन् । त्यसैले अब चाहियो– जाडो हटाइदिने र खाना दिने ईश्वर । लौ न, शास्त्र पल्टाएर त्यस्तो ईश्वर खोजौँ ।

नेपाल, पुस ३, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x