साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन बरालिएपछि

Nepal Telecom ad

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारका मन्त्रीहरू बरालिएकाले तिनीहरूलाई सम्हाल्न प्रधानमन्त्रीलाई सचेत गराएको कुरा सुनेपछि मलाई आफ्नै केटाकेटी बेलाको सम्झना आयो । आमाले घाँस काट्न जा भनेर हँसिया थमाएर पठाउनुहुन्थ्यो, हामीचाहिँ पल्लो घरका सहपाठीसित गुच्चा खेल्दा खेल्दै साँझ पारेर लुसुक्क घर फर्किन्थ्यौँ । बुबाले साबुन किन्न बजार पठाउनुहुन्थ्यो, हामी सिनेमा हलतिर पसेर तीन घन्टा बरालिन्थ्यौँ । वर्षभरिलाई तेल र्पुयाउन राखेको तोरीको बोरै बनियाँलाई बुझाएर दार्जी्लिङतिर बरालिन पुग्थ्यौँ । आमालाई ज्वरो आएर सिटामोल किन्न गएको छोरो उतैउतै मामाघरतिर बरालिएर घर फर्किंदा आमा सिकिस्त भएर अस्पताल भर्ना गरिवरि निको भएर घर फर्काइसकिएको हुन्थ्यो । बरालिएकाहरूको के कुरा गर्नु गगनजी !

मन बरालिएपछि मस्तिष्कले मात्रै काम गर्न थाल्छ । आफ्नीभन्दा अर्कैकी श्रीमती, आफ् नोभन्दा अर्कैको श्रीमान् मन पर्न थाल्छ । घरको भन्दा दुस्मनका होटेलको भात मीठो लाग्छ । बाबुआमाको माया नक्कली लाग्छ, अंशमा मुद्दा लडिरहेका सौतेला काका प्यारो लाग्छ । शुभचिन्तकहरू शत्रु लाग्छन् । नातेदार वा मित्रहरूले दिएको सल्लाह श्राप लाग्छ । अग्रजले सम्झाउँदा गाली गरेजस्तो लाग्छ । बरालिएर हिँडेपछि संगत पनि गतिलो हुँदैन । जुवातास, जाँडरक्सी, गुन्डागर्दीको लत लाग्ने डर हुन्छ । पराइहरूले परिवारमा खेल्छन् । सम्पत्ति लुट्छन् । घरै विघटन हुन्छ । थातथलो नै समाप्त हुन सक्छ ।

देशको कुरा पनि त्यस्तै त हो । ओली घरमूली भएपछि घर सम्हाल्लान् भनेको घर झन्झन् जर्जर भइसक्यो । न दक्षिणको छिमेकीसँग राम्रो छ, न उत्तरकाबाटै सहयोग जुटाउन सकेका छन् । उनी माइकमा, मञ्चमा, माला वा खादामै लटपटिइरहेका छन् । घरको मूली नै बरालिएपछि अरुका कुरा के काट्नू ?

मन्त्रीहरू बरालिएर त्यस्तै । जता पायो त्यतै गएका छन्, जे पायो त्यही बोलेका छन् । छिमेकीसँग बिग्रेको सम्बन्ध सुधार गर्न सहयोग गर्लान् कि भन्यो झन् आगोमा घिऊ थप्छन् । मधेसी नेताहरू बोलाएर गला मिलाउनुपर्ने दिल्लीतिर सुषमा स्वराजसँग हात मिलाउन धाउँछन् । ग्यास, पेट्रोलहरू आएर रक्सौलमा अड्केको छ, मन्त्रीहरू रसुवागढीतिर बरालिइरहेका छन् ।

मधेसी नेताहरू बरालिएर त्यस्तै । उनीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री र नेताहरू पर्खिबस्छन्, उनीहरू भने लैनचौरमा छिमेकीका गोठतिर आगो तापेर बसिरहन्छन् । कार्यकर्ताका हातमा पेट्रोल, सलाई र टायर थमाएर काठमाडौँ पुगेर आउँछु भनेर हिँडेका नेताहरू दिल्ली पुग्छन् । त्यहाँबाट पनि उतै उतै युरोपतिर बरालिने कुरा पो सुनिँदैछ अझै । मन बरालिएपछि घरको भात मीठो हुँदैन भनेको त्यसै होइन, राजेन्द्र महतोहरू महिनौँदेखि खोलापारि छिमेकीको घरमा गएर भात खाइरहेका छन् । नेता नै बराला भएपछि कार्यकर्ता के कम ! आन्दोलनमा झन्डा बोक, नाकामा धर्ना बस भनेर पुलमा लगेर थेच्यायो, मोटरसाइकल लिएर पेट्रोल ओसार्दै हुन्छन् । एम्बुलेन्स, औषधि आदि बोक्ने गाडीलाई बन्दमा केही नगर भन्यो एम्बुलेन्स त के बाँकी राख्थे, बिरामीलाई नै आगो लगाउँदै हिँड्छन् ।

छिमेकीले आफ्नै घरमा आउने बाटो थुन्दा पनि काखी बजाएर नाच्ने ठूलठूला नामधारी बरालाहरू पनि थुप्रै भेटिए । यसरी घरका महत्त्वपूर्ण सदस्यहरू नै बरालिएपछि घर कसरी बलियो हुन्छ ? यस्ता बरालाहरूका घरमा दुस्मन नलागे के लाग्छ ? यस्तो घर जर्जर नभएर के हुन्छ ? मन्त्री मात्र होइन, नबरालिएको एउटा सदस्य देखाउनूस् त गगनजी हाम्रा घरमा ?

नेपाल, पुस ३, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x