साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अख्तियारबाटै यस्तो अनर्थ ?

Nepal Telecom ad

पुरस्कार र दण्ड बेग्लाबेग्लै कार्यका परिणाम हुन् भन्ने कुरा व्याख्या गरिरहनु पर्दैन । हाम्रो सामाजिक, आर्थिक र राजनीतिक जीवनमा ठूलो परिवर्तन आइरहेको छ । परिवर्तन उँधोतिर होस् वा उँभोतिर । जतातिरको गन्तव्य ताके पनि नयाँ खालको फेरबदल भनेकै परिवर्तन हो । यसो नभनेर सुखै छैन । यो परिवर्तनले हाम्रा सोच–विचार र व्यवहारमा पनि प्रभाव पारिरहेको छ । यसलाई अस्वाभाविक मान्न सकिन्न, मान्नु पनि भएन । त्यसो त बडो स्वाभाविक रूपमा कैयौँ यस्ता घटनाहरू घटित भइरहेका छन् जसलाई आँखा चिम्लेर समर्थन गर्नुको विकल्प नै छैन । परिवर्तनको चापले हाम्रा निश्चित मापदण्ड, परिभाषा र मान्यताहरूलाई जबरजस्त फेरिदिएको छ । फेरिनु र नयाँ हुनु आफैंमा नराम्रो कुरो होइन तथापि नयाँ बन्ने क्रममा जब उल्टो पाल्टो हुन्छ अनि पर्छ फसाद । धेरैको मष्तिष्कमा अहिले यही फसादको फसल फलिरहेको छ भन्दा फरकै पर्दैन ।

हामी राणाकाल र पञ्चायतीकालका काला कारनामा अहिले सम्झन पनि चाहन्नौँ । ‘चोरलाई चौतारो र साधुलाई सुली’ चढाइने गरेको त्यो कालखण्डबाट मुक्त भएको नै छ दसक नाघिसक्यो । इतिहास नामका त्यस्ता पुराना कुरा सम्झी राखेर पनि हुन्छ त भन्या ! हामी त युग परिवर्तनको पल्लो किनारामा आइपुगेका छौँ । हरेक कुरा हामीलाई नयाँ चाहिएको छ । नयाँ नयाँ कुराप्रतिको आकर्षण, नयाँ भाषा, नयाँ भेष, नयाँ संस्कार र नयाँ संस्कृति अहिले हाम्रा परिचायक बन्दै गएका छन् । हामीभित्रको नयाँपन उजागर गर्न पनि उल्टोपाल्टो गर्नु परेन त ?

हाम्रा विधि–विधान र ऐन–कानुनहरूमा पुरस्कार र दण्डको व्यवस्था गरिएको छ । यो त देखाउने कुरा मात्रै हो भनियो भने विधान र कानुनको बर्खिलाप गरेको आरोप आइलाग्न सक्छ । यस्ता कानुनी व्यवस्था लागू गर्न कम र देखाउन बढी बनाउने गरिएको कुरा व्यवहारले प्रमाणित गरिरहेका छन् । ‘सानालाई ऐन, ठूलालाई चैन’ यसै भनिएको होइन । यही ऐन र चैनको बिच माखेसाङ्लोमा परेर पुरस्कृत हुनेलाई दण्डित गरिएको अनि दण्डित गर्नु पर्नेलाई पुरस्कृत गरिएका अनगिन्ती उदाहरण हामीसँग असरल्लै छन् । हो, उल्टोपाल्टो भनेको यही हो । मुलुकमा आएको नयाँ फेरबदल, नयाँप्रतिको आकर्षण, नयाँनयाँ प्रविधि, नयाँ व्यवस्था र नयाँ परिपाटीको उपलब्धीका रूपमा हामीले फेला पार्ने गरेको परिणाम नै यही हो ।

हाम्रा मतमान्यताहरू फेरिएका छन्, परिभाषा र भाष्यहरू बदलिएका छन् । वर्ण, अक्षर र वाक्यहरूको निहित अर्थ अर्कै लाग्न थालेको छ । कसरी भन्ने प्रश्नको सुइरो नताक्नुहोस् । मैले तपाइँलाई ‘चोर फटाहा’ भन्दा बुझ्नु पर्ने ल्वाँठहरूले तपाइँलाई ‘साधु सज्जन’ भनेर बुझ्ने गर्छन् । मैले कुनै देशघाती पातकीलाई आमाचकारी गाली गर्दा बुझ्नु पर्ने स्वाँठहरूले उसलाई ‘महान देशभक्त’ रहेछ भन्ने ठान्दछन् । परिवर्तन र फेरबदलको प्रवाह यतातिर सोझिएको छ । जो घुस र भ्रष्टाचारमा निर्लिप्त भएर लागेको छ ऊ राष्ट्रसेवक, जो देशलाई खण्डित पारेर अर्कैको पोल्टो भर्ने उद्घोष गरिरहेछ ऊ देशसेवक, जो जनताको पेट मारेर एकै हप्तामा अरबौँ सोहर्छ ऊ जनसेवक ! जसलाई सिङ्गै राष्ट्र जुरूक्कै उठेर व्यापार पारवहनका नाका खोल्न उत्तर जाऊ भन्छ, ऊ चाहिँ दक्षिण फर्केर म्याउम्याउ मात्र गर्छ । किन भने दक्षिणतिरबाटै उसले सात पुस्तासम्म पुग्ने गरी ढ्याउढ्याउको रसद पानी पाइरहेको छ । पूर्वको अर्थ पश्चिम, उत्तरको अर्थ दक्षिण ! वा…वा…! परिवर्तनको नयाँ भाष्य !!

‘सत्य सेवा सुरक्षणम्’ को पुरानो परिभाषा र अर्थ हो सधैं सत्यको पक्ष लेऊ, सधैं सेवा गर र सत्यका पक्षधरहरूको सुरक्षा गर । यही आदर्शलाई आत्मसात गर्ने गरी दुईवटा सङ्गठित निकाय छन् यो देशमा । देश भयाक्रान्त छ, इन्धनको अभावमा नागरिक भोकभोकै बसेका छन् र ‘सत्य सेवा सुरक्षणम्’ को बिल्ला छातीमा भिरेकाहरू चाहिँ त्यही इन्धनको कालाबजारीमा जुटेका छन् । पेट्रोलपम्प र ग्यास डिपोहरूमा हुलहाल नियन्त्रण गर्न होइन, हुलहाल मच्चाउन उनीहरू सक्रिय छन् । निरिह नागरिकले यसो गर्नु भएन भन्यो भने फुली हल्लाउँदै नागरिकमाथि लाठो हान्न दिएको आदेश पालना गर्छन् । तिनै नागरिकले तिरेको करबाट प्राप्त तलब भत्ताले उनीहरूको शरीरमा बल आर्जन भइरहेको कुरा भुसुक्क बिर्सन्छन् । यो त मामुली कुरा भैगो । त्यही निकायका सर्वोच्च पदमा आसिन उच्च फुलीधारीलाई भरखरै अख्तियार नामको अर्को एउटा उच्च निकायले ठाडै निलम्बनको सिफारिस पूर्जी थमाएर सारै अनर्थ कार्य गरिदियो ।

अर्थिक लाभका यस्ता अर्थपूर्ण कार्यमा संलग्न ठुलठुला माछाहरूमाथि आँखा चिम्लेर बसेको अख्तियारले अचानक एउटा ठूलो माछालाई जालमा पारेको चर्चा शहरमा व्याप्त छ । यस्तो अनर्थ गर्नतिर किन लाग्यो अख्तियार ? माछाको काम पानीमा पौडी खेल्नु हो । संसारभरिका कुनै पनि माछा बालुवामाथि घाम तापेर बाँच्न सक्दैनन् । पानीमै पौरिनु र तैरिनु माछाको जीवनचर्या हो । यही परम्परालाई पच्छ्याउँदै उनी पनि जीवनयात्रा चलाइरहेका थिए । अख्तियारको छड्के आँखा उनीमै पर्नु पर्ने किन ? हो, अनर्थ यहीँ भएको छ । अन्यत्र सबैतिर उल्टो नदी बगिरहेका बेला एउटा नदीलाई सुल्ट्याउन खोज्नु आफैमा एउटा अनर्थकारी घटना हो । ‘सत्य सेवा सुरक्षा’को काममा खटेका ‘केटाहरू’लाई खुवाउने रसदपानी खरिद र ढुवानीमार्फत गरिएको ‘अकुत राजस्व’ मार्ने कार्य उनी पूर्वकै हाकिमहरूले दिएको संस्कार हो । बिचरा उनले त त्यसलाई निरन्तरता मात्रै दिएका हुन् । त्यो पनि हुण्डीबाट अस्ट्रेलिया पु¥याएर उताबाटै आफन्तले कमाएर पठाएको भनी ख्यातीप्राप्त कलेजमा लगानी गरेका रहेछन् जाबो पचास साठी करोड । यस्ता कति माछाहरूले उतै थन्क्याएका छन् डलरमा रूपान्तरण गरेर, उनले त यसरी देशमै भित्र्याएका रहेछन् । यो त उनको पुनित कार्य हो । सुल्टो कुरा त के हुन्थ्यो भने यस्तो पुनित कार्यमा सक्रिय भए बापत उनलाई त अझ ठूलो राष्ट्रिय सम्मानका निम्ति सिफारिस गर्नु पर्ने हैन र ? गणेश थापा जस्तालाई डामे जस्तो फिफाले दोहो¥याएर डाम्ने अधार कमसेकम यी ‘हाकिम’का हकमा त थिएन नि ए अख्तियार प्रभु !

भ्रष्टाचार गर्नु भनेको देशोत्थानमा योगदान पुर्याउनु हो, अकुत सम्पत्ति आर्जन गर्नु भनेको राष्ट्रको अर्थतन्त्रमै टेवा प्रदान गर्नु हो, मधेसलाई अर्को देश बनाउनु पर्छ भन्नु देशलाई झन् बलियो बनाउनु हो भन्ने अर्थ र परिभाषा लागिरहेको बेला ठुल्ठूला माछा समाउने र निलम्बनको सिफारिस पूर्जी थमाउने अनर्थ किन र कसरी भइरहेको छ हँ ? हाम्रा मतमान्यताहरू फेरिएका छन्, परिभाषा र भाष्यहरू बदलिएका छन् । वर्ण, अक्षर र वाक्यहरूको निहित अर्थ अर्कै लाग्न थालेको छ । परिवर्तनको आँधीले ल्याएको नयाँ भाष्य र नयाँ अर्थ कमसेकम अख्तियारले बुझ्नै पर्दछ । बुझ्न गाह्रो परे खुत्रुके कार्यमा मात्र लागेका डाप्रा भाषाविदहरू थुप्रै छन् हामीकहाँ । उनीहरूको सहयोग लिन सकिन्छ । लौ न अख्तियार प्रभु ! परिवर्तित भाष्य र परिभाषातर्फ पनि यहाँको पहुँच पुगोस् ।

कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x