साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउन नानी चञ्चली

Nepal Telecom ad

‘नमस्ते कविज्यू ।’
‘नमस्ते ।’ उनले आँखा चलाएर भने, ‘यहाँलाई चिन्न सकिन नि !’
‘तर म हजुरलाई राम्ररी चिन्छु ।’ मैले भनेँ, ‘कविज्यूलाई नचिन्ने को छ र ?’
मेरो कुरो बुझ्ने प्रयत्नमा उनको निधार खुम्चियो ।
कविज्यूको लोकप्रियताको के कुरा गर्नु र’, मैले तारिफ गर्न छाडेको थिइन ।

‘तपाईं पनि कवि ?’ उनले सोधे ।
‘होइन कविज्यू ।’
उनले मलाई गहिरिएर हेरे । मैले पनि प्रत्युत्तरमा कविज्यूलाई त्यसैगरी हेरेँ । अनि भनेँ, ‘म त कविताको पारखी हुँ कविज्यू ।’
‘कविताको पारखी ?’
‘हजुर, कविताको एक अदना पारखी ।’
‘के काम गर्नुहुन्छ ?’
‘मैले भनिहालेँ नि, कविताको पारखी हुँ ।’
कविज्यूले मेरो भनाइ पटक्कै नबुझेको अनुहार बनाएर मतिर हेरे ।

‘मेरो भन्नुको तात्पर्य के हो भने म विद्यालयमा कविता पढाउने काम गर्छु ।’
‘ए….।’
‘श्री रामशेखर इन्दु माध्यमिक विद्यालयको म नेपाली विषय पढाउने शिक्षक हुँ कविज्यू ।’ मैले अलिक विस्तारसाथ भनेँ, ‘मैले त्यहाँ नेपाली पढाएको सात वर्षभन्दा बढी भइसक्यो ।’
‘हाम्रै टोलको स्कुलमा पढाउनु हुँदोरहेछ ।’ उनले उदेक मान्दै भने, ‘कसरी तपाईंसँग चिनापर्ची नभएको हँ ?’
‘हजुर ठूलो कवि !’
‘होइन, होइन ।’
‘साना साना बालबालिका हजुरको कविता निकै मनपराउँछन् । यसको माने कविज्यू सानो कवि भन्नेचाहिँ होइन नि ! गलत अर्थ नलागोस् ।’
कविज्यू आँखा चिम्म पारेर गम्भीर मुद्रामा केही सोचिरहेका थिए ।

‘कविज्यूको कविता विद्यालयका फुच्चेहरूले कण्ठै गरेका छन् ।’
मेरो प्रशंसाले अति प्रसन्न भएर कविज्यूले विस्तारै आँखा खोले । त्यहाँ अलि अलि संकोच पनि देखाप¥यो । दुवै गाला एकदमसँग गुलाफी भएका थिए । अर्थात् कविज्यूलाई के भनुँ के भनुँ भयो ।
‘हजुर परीक्षा पास गर्न चाहने छात्रहरूका लागि एक छात्रोपयोगी कवि हुनुहुन्छ ।’ एक छिनपछि मैले फेरि भनेँ, ‘हाम्रो लागि त शिक्षकोपयोगी कवि पनि हुनुहुन्छ ।’
‘कस्तो शिक्षकोपयोगी ?’ उनले भने ।
‘मेरो भन्नुको आशय के हो भने कविज्यूको कविता नपढाए हामीलाई तलबै पाउन गाह्रो हुन्छ ।’ मैले भनेँ, ‘भानुभक्त, लेखनाथ, सम, देवकोटा र सिद्धिचरण सँगसँगै हामी हजुरको कविता पनि कक्षामा पढाउने गर्छाैं ।’
‘कुन कविता ?’ उनको खुुुसी ह्वात्तै बढेको थियो ।
‘त्यही, प्रकृति र मनोविज्ञानको समिश्रण भएको कोमल भावनाको उत्कृष्ट कविता ।’
मेरो उत्तरले कविज्यू केही अलमलिएका देखिन्थे । अब मैले आफ्नो भनाइलाई अझ प्रस्ट पार्नु आवश्यक थियो । त्यसैले उनकै सामु मैले उनको कविताको सस्वर पाठ गरेँ,
‘रनवनकी कली
मनकी मखमली
नजाउ ढलीमली
आउन नानी चञ्चली…।’

‘ए, ‘नानीको बानी’ शीर्षक कविता भन्नुभएको ?’ उनले भने ।
‘यो कविता ६ कक्षाको पाठयक्रममा राखिएको छ ।’ मेरो गुरुत्व जागृत भयो, ‘यसमा देवकोटाको स्वच्छन्दता र समको बौद्धिकता, दुवैको गजवको तालमेल छ । भानुभक्तको भक्ति पनि यसको अन्तरमा पाउन सकिन्छ । अझ म त यो कवितामा लेखनाथको आधुनिकता पनि देख्छु ।’
‘यो कविता विश्वविद्यालयको कोर्समा पनि राख्न ‘पाठयक्रम विकास समिति’बाट एकमतले सिफारिस भएको छ ।’ कविज्यूले फुर्तिलो ढाँचाकाँचाले मतिर हेरे, ‘यही वर्षदेखि ‘नानीको बानी’ त्यहाँ अध्यापन हुने पक्कै छ ।’
‘हजुर कोर्सको कवि ।’ मैले उनलाई शिरदेखि पाउसम्म भेदपूर्ण पाराले हेरेर भनेँ, ‘तर कोही कोही सोर्सको कवि पनि भन्ने गर्छन् ।’
‘के सोर्सको कवि ?’ कविज्यू एक्कासी सशंकित भए ।
‘छाड्नोस् यस्ता कुरा कविज्यू ।’
‘होइन होइन, तपार्इं भन्नोस्, के कुरो हो ?’ कविज्यू केही आक्रोशित पनि देखिए ।

‘हजुरको ‘कमल प्रकाशन गृह’ले यसपटक निम्न माध्यमिक र उच्च माध्यमिकका सबै ‘रमाइलो नेपाली’ प्रकाशित गर्ने माथिबाटै अर्डर पाएको छ, होइन ?’ मैले बिग्रिएको स्थितिलाई सपार्न कुरोलाई अन्तै मोड्न खोजेँ, ‘हजुरको बुबा कमल बाउसाबले अस्ति मलाई भन्नुहुन्थ्यो ।’
‘हो, स्नातक र स्नातकोत्तरका सबै नेपाली साहित्यका पाठयपुस्तक प्रकाशित गर्ने अभिभारा पनि हामीले नै पाएका छौं ।’ कविज्यूको अनुहारमा पुनः चमक देखाप¥यो, ‘हाम्रो ‘कमल प्रकाशनगृह’ले नेपालीका साथसाथै विज्ञान, वाणिज्य र कानुनका पाठयपुस्तक पनि छाप्ने गर्छ ।’
‘कमल प्रकाशनगृह यो फाँटमा धेरै अनुभवी नाम पनि त भइसकेको छ नि !’ मैले तुरुन्तै थपेँ ।
‘धन्यवाद !’
‘कमल प्रकाशनगृहसँग अन्य सानातिना प्रकाशनको तुलनै हुन सक्दैन ।’

उनी मौन धारण गरेर त्यसै उभिइरहे । केही भन्न खोजेका थिए । तर चुप लागे । यस्तो दुई पटकसम्म भयो । अन्ततः भने, ‘यो आउने शुक्रबार हाम्रो ‘कमल प्रकाशनगृह’को पचासौं वार्षिकोत्सव हो । राम्रै ‘होटल रेडलोटस’मा स्वर्णिम कार्यक्रम धुमधामले हुने भएको छ । तपार्इं पनि आउनुहोला । माननीय शिक्षामन्त्रीज्यूको करकमलबाट यसको उद्घाटन हुने तय भएको छ । यही सिलसिलामा शिक्षासचिवज्यूसँग आज भेट गर्न मन्त्रालय जाँदैछु । लौ त, ‘होटल रेडलोटस’मा तपाईं शुक्रबार आउन नबिर्सनुहोला नि !’ मलाई मौखिक निमन्त्रणा दिएर उनी अर्थात् ‘कोर्स र सोर्सका कवि’ हतारले अघि बढे । सडकको छेउमा उनको सेभरलेट गाडी प्रतीक्षामा थियो ।

कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x