फित्काैली डटकममतगणनास्थलबाट श्रीमतीलाई पत्र
पेटमा हुर्कंदै गरेको सानोको मुख हेर्न अवश्य आइपुग्ने छु । त्यतिञ्जेल त गणना कसो नसकिएला !!
प्रिय बुढी !!
धेरै सम्झना,
आराम छु र आरामै चाहन्छु । हिजो सम्म मोबाईल चलाउन पाइएको थियो फोन गरिरहेकै थिएँ । मतगणनामा बसेको पनि चार दिन भइसकेको रहेछ मोबाइलमा बुढीको फोटो धेरै हेर्यो भने काउन्ट बिग्रिन्छ भनेर मेयरका उमेदवारले मोबाईल खोसिदिएका कारण खुसुक्क यो छोटो पत्र लेखी म्यादी भाइको साथ पठाएको छु ।
यहाँ मलाई खाना राम्रै छ । तर शौचालय जानै नसकिने गरि गनाएको छ भने सुत्नको समस्या छैन किनकी आँखा झिमिक्कै गर्नु परेको छैन । प्यारी यहाँको मौसम निकै परिवर्तनशील हुने रहेछ । एकैछिनमा झगडा, एकैछिनमा हाँसो र उत्साह अनि निरासाका बादलहरूले कसैको त आँखाबाट वर्षा समेत हुँदो रहेछ । भोट हेरेर पढ्ने कर्मचारीले सूर्यमा छाप हानेकोलाई कन्फ्युज भई रूख भन्दा काँग्रेस नबोली बस्ने र रूखमा छाप हानेकोलाई कन्फ्युज भई सूर्य भन्दा एमाले नबोली बसेको देखेर राजनीति नै यहि रहेछ जस्तै लागेको छ ।
तिमीले पन्युले हानेर मेरो टाउकोमा चोट लाग्दा चारवटा टाँका लगाई अहिले बनेको खत जस्तै चारवटा धर्कालाई एउटा लामो धर्काले बिचबाट चिरेर पाँच भोट भनी गन्ने तरिका म घर आएपछि सिकाउँला है प्यारी । हैट कसैले त एउटा धर्को बढी तानेर कम्ता बबाल मच्चाउँछन् ! अर्को पार्टीको गणक निद्राले झुलेर धर्को तान्न बिर्सेछ र हिसाब मिलेन भन्दै निउँ खोजेको कारण सयको मुठो तीन पटक गन्नु पर्दा आज ५ घन्टा बिथ्थामा बिताइयो बुढी ।
अन्तमा यस्तै तरिकाले भए त मतगणना सकिन अझै नौ महिना लाग्ला जस्तो छ । ठूलो बाबुको पढाईमा अनि आफ्नो राम्रो ख्याल गर्नु । तिम्रो पेटमा हुर्कंदै गरेको सानोको मुख हेर्न अवश्य आइपुग्ने छु । त्यतिञ्जेल त गणना कसो नसकिएला !! बाँकी अर्को पत्रमा…।
मतगणना स्थलबाट
उही तिम्रो पति
(मतगणनास्थलबाट फुत्त उछिट्टिएर सञ्जालमा दगुर्दै गर्दा फित्काैलीले फेला पारेकाे बेनामे चिठी)
Subscribe
Login
0 Comments
Oldest









































