साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवकोटा जयन्तीका अवसरमा स्रष्टा सम्मान र कृति लोकार्पण

पेरोल साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १४ औँ जन्मजयन्ती मनाएको छ ।

Nepal Telecom ad

काठमाडौं, कार्तिक ७, २०७९ । पेरोल साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १४ औँ जन्मजयन्ती मनाएको छ ।

देवकोटा जयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित तीन कृति विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्र’, महेश पौड्यालद्वारा अनूदित ‘द हाइकु थेरोटिकल म्यान्युल’ र कमला घिमिरेका हाइकु सङ्ग्रह ‘महको महल’ र बाल कविता संग्रह ‘मामाघर’ को लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मञ्जु काँचुलीले सानो छँदा देवकोटा पदक पाएको सम्झिदै देवकोटाको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको बताउनु भयो ।

त्यसैगरी काँचुलीले विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्रलाई साहित्यकार महेश पौड्यालले अंग्रेजीमा ‘द हाइकु अ थ्योरोटिकल म्यानुअल’ अनुवाद गरेर सुनमा सुगन्ध थपेको बताउनु भयो ।

कार्यक्रममा साहित्यकार पुष्कर लोहनीले हाइकु संग्रह ‘महको महल’ मा राजनीतिक व्यङ्ग्य, मानवीय संवेदना, प्रेम प्रणय, बिछोड जस्ता विविध विषय समेटिएको बताउनु भयो ।

त्यसैगरी साहित्यकार ललिता दोषीले बालकविता सङ्ग्रह ‘मामाघर’ का कविताले बालबालिकालाई मनोरञ्जन दिँदै उनीहरूको ज्ञानको दायरा फराकिलो बनाउने बाल उपयोगी पाठ्यसामग्री आएको बताउनु भयो ।

कृतिकार कमला घिमिरेले सुरुसुरुमा लेखेर बालबालिकालाई सुनाउने मात्रै गरेको र लकडाउनको समय उपयोग गर्दै सम्पादन गरेको सिर्जनालाई पुस्तकाकार रूप दिएको बताउनु भयो ।

कार्यक्रमको अवसरमा पेरोल साहित्य प्रतिष्ठान नेपालले मोफसलमा बसी साहित्य साधना गरेको भन्दै काव्यघर झापा एवं एभरेस्ट न्यूज टेलिभिजनका राजकुमार खड्गालाई पेरोल साहित्य स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ समालोचक महेश पौड्यालले नेपाली साहित्यमा देवकोटाको अतुलनीय योगदान रहेको भन्दै ‘नेपाललाई केन्द्रीयतामा राखेर देवकोटाले कसरी तिब्बत, ग्रीस, युरोप जस्ता धेरै ठाउँलाई लेखनीमा समावेश गरे, त्यसको अध्ययन अनुसन्धान गर्न बाँकी छ । अब यस विषयमा चासो देखाउनुपर्ने बेला भएको’ बताउनु भयो । साहित्यकार रामबाबु सुवेदीले देवकोटाको गरीब कविता वाचन गर्दै उहाँको सम्झना गर्नुभएको थियो ।

पेरोल साहित्य प्रतिष्ठानका अध्यक्ष रेनुका भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रकाश समीरले चलाएको कार्यक्रममा स्रष्टाहरू अन्जना पौडेल, विक्रमभक्त जोशी, सानु शर्मा, श्रीराम राई, गायक सन्देश पौडेल, खोलाघरे साईलो, बासुदेव अधिकारी, कृष्णप्रसाद रिजाल, लेखनाथ सिकारु लगायतको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x