साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सुनौँ परिवार मिरिकको ९२ औँ प्रकरण

“साहित्य सुनौँ परिवार मिरिक” को नियमित कर्मअन्तर्गत चौतर्फी गतिविधिलाई सुचारु गर्न अवका दिन कसरी प्रस्तुत हुने वा गर्ने भन्ने बारे पनि घनीभूत रूपमा छलफल भएको थियो ।

Nepal Telecom ad

मिरिक, भारत । प्रायः सिर्जनात्मक कार्यक्रमहरूको बाक्लो उपस्थिति रहने गरेको सुन्दर नगरी मिरिकमा डिसेम्बर तीन तारिक २०२२ (२०७९/०८/१७) का दिन पनि एउटा कर्म सार्थक रह्यो ।

स्थानीय नगरपालिका पुस्तकालयको सभा हलमा आयोजित कार्यक्रममा रचना वाचनको केन्द्रीयतामा नेपाली काव्य जगतका सफल कवि एवम् गीतकार अगमसिंह गिरीको जन्मजयन्ती किन ? के का लागि ? र कुन समय र व्यवस्थापनमा भन्ने बारे छलफल भएको थियो । त्यसैगरी मिरिकमै विगतमा स्थापना भई नेपाली भाषासाहित्यको क्षेत्रमा विविध गतिविधिसहितको अनवरत साधक बन्न सफल संस्था “साहित्य सुनौँ परिवार मिरिक” को नियमित कर्मअन्तर्गत चौतर्फी गतिविधिलाई सुचारु गर्न अवका दिन कसरी प्रस्तुत हुने वा गर्ने भन्ने बारे पनि घनीभूत रूपमा छलफल भएको थियो ।

भारतीय भूमि सिर्जनशील माटोले मलिलो भएकै कारण नेपाली साहित्यमा सिर्जनाको मूल पनि उर्वर भई गौरवको अनुभूति गर्न सकिएको हो । भूगोल जति नै सानो वा ठूलो भए पनि यसले सिर्जनाका लागि खासै महत्व राख्दैन । दार्जिलिङको सानो काख मिरिकले अनगिन्ती संघसंस्थाहरूको स्वस्थ जन्म विगतदेखि नै गराउँदै आएको छ । उसैको हृदयको कन्दरामा बगेका ऊर्जा र वेगमय रगतमा भेटिएका नेपालीपन र सिर्जना आज पनि “साहित्य सुनौँ परिवार मिरिक” का बात्सल्यमय छातीहरूमा सुरक्षित रहेका छन् । यसैको उदाहरण हो डिसेम्बर तीन का कार्यक्रम ।

कार्यक्रममा करिब सात जना कविकवयित्रीहरूले विभिन्न समसामयिक विषयलाई आधार बनाई आ-आफ्ना रचनाहरू वाचन गरेका थिए । कवि गोकुल रसाइलीको समेत उपस्थिति रहेको सो कार्यक्रममा रचना वाचन गर्नेहरू- अजम प्रधान- ‘आत्म निर्भर’ शीर्षकको बालकथा, माधव बुढाथोकी- ‘निराकार र चियाबारी’ शीर्षकको कविता, निजर घतानी- ‘सिन्दूर पुछिएपछि’ र ‘मधौरो’, विनोद खाती- ‘प्रतिफल सङ्घर्षको’, सुकबहादुर राईद्वारा असित राईको कविता ‘एक टुक्रा रोटी’ र दीप प्रधान- ‘नेपाली भाषाको प्रयोग गरौँ’ आदि शीर्षकका कविता वाचन भएका थिए ।

स्मृतिमा स्रष्टाहरूको व्यक्तित्व र कृतित्वको चर्चा गर्ने क्रममा प्रत्येक वर्ष डिसेम्बर २७ तारिकमा मनाइदै आएको कवि एवम् गीतकार अगमसिंह गिरीको जन्मजयन्ती किन, कसरी र केका लागि मनाउने भन्ने बारे पनि चर्चापरिचर्चा भएको थियो । कार्यक्रममा वाचित रचनामाथि कथाकार दीप प्रधानद्वारा छोटकरी कथ्य समीक्षा प्रस्तुत गरिएको थियो ।

मिरिक पुस्तकालयका अधिकारी शीला गुरुङ तथा मनोनित सदस्य विवेक नेवारसमेतको उपस्थिति रहेको कार्यक्रममा गत २६ नोभेम्बरका दिन कमला राई स्मृति कविता आवृति प्रतियोगिता एवम् संविधानदिवसमा साहित्य सुनौँ परिवार मिरिकको भूमिकाको चर्चा गर्दै धन्यवादसहित मन्तव्य राखेका थिए ।

हरेक महिनाको पहिलो शनिबार रचना वाचन गर्दै आउने क्रमको यो प्रकरण यो वर्षको अन्तिम भएको र आगामी वर्ष पनि यसरी नै अनवरत रूपमा कार्यक्रमहरू सफल होउन् भन्ने अग्रिम शुभकामनासहितको अभिव्यक्ति पुस्तकालय अधिकारी शीला गुरुङको रहेको थियो साथै पुस्तकालय तथा संस्थाको यो किसिमको पारदर्शी कर्मको तालमेल सिर्जनाप्रेमीहरूको लागि अत्यन्तै सुखद रहेको पनि बताएकी थिइन् ।

अमर दुङ्मालीको अध्यक्षता रहेको कार्यक्रममा संस्थाका सह-सचिव दीप प्रधानको सञ्चालन, स्वागत मन्तव्य तथा औचित्यसमेत प्रकाश पारिएको कुरा कथाकार दीप प्रधानले जानकारी दिए ।

०००
फित्कौलीका लागि नदी भट्टराई, मिरिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x