फित्काैली डटकमअविरल यात्रामा कवि नारायण निरासीका एक दर्जन कविता गुञ्जिए
प्रमुख अतिथि प्रा.डा.रामप्रसाद ज्ञवालीले मिहिनेती, प्रतिभाशाली छन्दकवि नारायण निरासीका देशभक्तिपूर्ण, विद्रोही चेतनाले युक्त, प्रत्येक बिहानी नयाँजस्तै लाग्ने खालका कविता सुन्न पाएकाे बताउनु भयाे ।

प्रारम्भ :
काठमाडाैं, । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष पुतलीसडक, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०७ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा नारायण निरासीका एक दर्जन कविता गुञ्जिए ।
नेपाली प्रगतिशील साहित्यमा पनि छन्दा बचाउ अभियानका अभियन्ता वरिष्ठ साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सङ्घका सचिव सोमनाथ दहालले सञ्चालन गर्नुभएको उक्त समारोहमा प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष डा.देवी क्षेत्री दुलाल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा.फणीन्द्रराज निरौला, प्रा.डा.बद्रीविशाल पोखरेल, प्रभाती किरणलगायत कविनायकका इष्टमित्र तथा अन्य कवि, साहित्यकारहरू एवम् साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।

स्वागत :
अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो । हरेक महिना दोस्रो शनिबार हुने यो विशेष समारोहको उद्देश्य साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्नु हो । वर्तमानमा अलि प्रतिकूल अवस्था सिर्जना भएको भए पनि हामी स्रष्टा आफ्नो काम निरन्तर गरि नै रहन्छौँ । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिएर हामी तथा कविनायकलाई हौसला प्रदान गरिदिनुहुने प्रमुख अतिथि, अतिथिहरूलगायत सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक स्वागत गर्दछु । २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी १०७ औँ विशेष शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ ।
देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारी, विनय कसजू, विजय चालिसे कीर्तिशेषसमेत भइसक्नुभएको छ ।
आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, प्राध्यापनकर्ममा समर्पित रहेका, साहित्यिक सङ्घसंसथामा क्रियाशील रहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा नारायण निरासीलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि अभ्यास रहेको छ । सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्य सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयका कुशल सर्जक आजका स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक परिचय :
साहित्यकार प्रभाती किरणले नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, प्राध्यापनकर्ममा रहेका, साहित्यिक सङ्घसंस्थामा क्रियाशील रहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सचेत प्रगतिवादी स्रष्टा नारायण निरासीको परिचय दिनुभएको थियो । कवि निरासी वि.सं.२०३८ असार २१ मा सर्लाही जिल्लाको हालको हरिवन नगरपालिका वडा नं.७ मा माता राधादेवी प्रसाईँ र पिता चन्द्रप्रसाद प्रसाईँका सुपुत्रका रूपमा जन्मिएका र खास नाम तीर्थप्रसाद प्रसाईँ रहे पनि साहित्यमा नारायण निरासीका नामले कलम चलाइरहेका स्रष्टा हुन् ।
नेपाली साहित्यमा स्नातकोत्तर र बी.एड. गरेका निरासीका ‘तुसारोमा फुलेका फूलहरू’ २०६४, गजलसङ्ग्रह, ‘आँखाभरि तुसारो’ २०७० खण्डकाव्य, ‘फूलमाथि तुसारो’ २०७५ कवितासङ्ग्रह, ‘निर्धरा’ उपन्यास २०८१, संयुक्त लेखनमा खण्डकाव्य र महाकाव्यसमेत प्रकाशित भएका छन् । साथै पाठ्यक्रमसँग सम्बन्धित दर्जनौँ पुस्तकहरू पनि उनले प्रकाशित गरेका छन् । लेखनलाई पेसा बनाएका र प्रगतिवादी चेतनाका साथ सिर्जना गर्नुका साथै रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने निरासी अहिलेको समयका अत्यन्त सक्रिय स्रष्टा हुन् भन्नुभयो ।
कविता प्रस्तुति
कविनायक नारायण निरासीले एक दशकभन्दा लामो समयदेखि सञ्चालन भइरहेको यो गरिमामय, उद्देश्यमूलक अविरल जनसाहित्य यात्राको १०७ औँ शृङ्खलामा आफू जोडिन आइपुगेकोमा गर्वबोध गर्दछु । यद्यपि यो अभियानमा पटक पटक उपस्थित भएर विभिन्न स्रष्टाका कविता श्रवण पनि गरेको छु । आजको यो विशेष समारोहमा नेपाली प्रगतिशील साहित्यका वरिष्ठ साधक प्रा.डा.रामप्रसाद ज्ञवाली प्रमुख अतिथिको रूपमा उपस्थित भइदिनुभएको छ भने प्रा.डा.बद्रीविशाल पोखरेल मेरा वाचित कवितामाथि टिप्पणी गरिदिन उपस्थित भइदिनुभएको छ ।
त्यसैले पनि मलाई अत्यन्त गौरवबोध भएको छ, त्यसमा पनि मजस्तो सामान्य कविलाई स्थान दिनुभएकोमा खुसी पनि लागेको छ । म आफू छन्दको पनि साधनामा छु । मेरो लेखनको उद्देश्य मेरा कविताले नै बोल्ने छन् तापनि राष्ट्रियता नै पो विसर्जन हुन्छ कि भन्ने चिन्ता लगेको समयमा, देशको नक्सा खुम्चिएको अवस्थामा पीडाबोध भएको वेलामा, सुस्तामा सीमा मिचिएको वेलामा, मुलुक गरिब होइन हाम्रो मानसिकता गरिब हो भन्ने मलाई लागेको वेलामा, सहिदको सम्मान र सम्झनामा, नेपालीलाई हेप्ने प्रवृत्तिका विरुद्धमा, पैसामुखी प्रवृत्ति मोलाएको देखेपछि, मानवता हराएको र स्वाधीनता तल पर्नलागेको अनुभूत गरेपछि, छुवाछुत तथा जातीय विभेद पटक्कै उपयुक्त होइन भन्ने सन्देश दिनका लागि, देशै नरहला कि भन्ने चिन्ता लागेको वेलामा, अभावले जिन्दगीलाई ठेल्दै लग्दाखेरि, निर्मला पन्तजस्ता नेपाली चेलीको बलात्कार तथा नृशंस हत्याको पीडाले विह्वल बनाएपछि मैले कविता सिर्जना गरेको छु भन्दै कविताका रचनागर्भका बारेमा जानकारी गराउँदै कविता वाचन गर्नुभयो ।
प्रस्तुतिका क्रममा रहेका १२ कवितामध्ये शार्दूलविक्रीडित छन्दको ‘खुम्चिरहेको नक्सा’, शार्दूलविक्रीडित छन्दकै ‘प्रतिज्ञा’, शार्दूलविक्रीडित छन्दकै ‘पैसा’ र शार्दूलविक्रीडित छन्दकै ‘चेली’ शीर्षकका रूपान्तरणको सन्देश बोकेका चारओटा सुन्दर, सशक्त कविता वाचन गर्नुभयो ।
त्यसैगरी सहयोगी कवि जय गौडेलले मालिनी छन्दको ‘देशको मानचित्र’ शीर्षकको, कवि पुष्कल किरणले शार्दूलविक्रीडित छन्दको ‘आफ्नो सुरक्षा गर’ र पञ्चचामर छन्दको ‘युवा’ शीर्षकका, कवि केशव भट्टराईले शार्दूलविक्रीडित छन्दको ‘सहिद’ शीर्षकको, कवि रूपक अलङ्कारले पञ्चचामर छन्दको ‘हुरी नआउने घर’ शीर्षकको, कवि प्रभाती किरणले उपजाति छन्दको ‘रोकिन्न क्रान्ति’ शीर्षकको र कवि शान्ति पौडेलले मन्दाक्रान्ता छन्दको ‘सङ्कल्प’ र ‘पञ्चचामर छन्दको ‘जीवनप्रण’ शीर्षकका त्यत्तिकै सुन्दर, सशक्त कविताहरू वाचन गर्नुभएको थियो ।
समीक्षा
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै अतिथि एवम् समालोचक प्रा.डा.बद्रीविशाल पोखरेलले अविरल जनसाहित्य यात्राको यो उद्देश्यमूलक अभियान १०७ औँ शृङ्खलामा पुगेको छ र आजको यो समारोह विशेष समारोहका रूपमा आयोजना भएको छ । त्यसैले सर्वप्रथम म आजका कविनायकलाई बधाइ दिन्छु र मलाई टिप्पणीकारको भूमिकामा आफ्नो जिम्मेवारी पूरा गर्ने अवसर प्रदान गरेकामा आयोजकलाई हार्दिक धन्यवाद पनि दिन्छु । आजका कविका कवितामा समसामयिक सामाजिक यथार्थको उद्घाटन भएको छ र यो समारोह महत्त्वपूर्ण रहेको छ ।
स्रष्टाले आफ्नो पहिचान आफैँ बनाउनुपर्दछ । कलात्मक, लयात्मक, विम्बात्मक, भावात्मक, आलङ्कारिक गुणले युक्त कविता वाचन गर्ने आजका कवि वैचारिक पनि, प्राध्यापन गर्ने पनि भएकाले उठान र बैठान उपयुक्त भएका, प्रगतिशील राष्ट्रवादको पक्षधरता लिएका, इतिहासका गौरवशाली परिघटनाको उत्खनन गरिएका, सिङ्गो राष्ट्रवादका पक्षमा वकालत गरिएका, बाह्यराष्ट्रको उक्साहटमा विखण्डनको प्रयत्न भइरहेकोप्रति विरोध गरिएका सुन्दर कविता आज हामीले सुन्यौँ । कविको यो इमानदार प्रयत्नलाई म बधाइ दिन्छु । कवितामा महिला अधिकारका कुरा आएका छन्, आफूले आफैँलाई सुधार्नुपर्ने कुरा उठाइएको छ, स्रष्टाको सिर्जना ध्वन्यार्थ हुने र कवि भनेको सरदर मान्छेभन्दा माथि हुन्छ भन्ने मान्यतालाई पनि कविताले आत्मसात् गरेका छन् ।
शिव–पार्वतीको प्रणयको हाम्रो गौरवपूर्ण इतिहासको सम्मान गरिनुपर्छ भन्ने भाव पनि कतै न कतै आएको छ । अन्तरलयको सुन्दर संयोजन गरिएकाले आजका कवितालाई आदर्श कविता भन्नसकिन्छ । समाजमा देखिएका कुरूप पक्षको चित्रणका साथ मुलुक भड्खालोमा जाला कि भन्ने चिन्ता कविले आफ्ना सबै कवितामा कुनै न कुनै रूपमा तर सशक्त तरिकाले गरेका हुँदा म कविलाई धन्यवाद दिन्छु । अत्यन्त सपाट अनि सरल भाषाशैलीमा गम्भीर राजनैतिक भाव सम्प्रेषण गर्ने, शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर विम्बहरूको प्रयोग गर्ने, प्रतीक र अलङ्कारको समुचित परिशीलन गरेर लेखिएका आजका कविताहरूमा नेपाली संस्कृति, मूल्य, मान्यताप्रति सचेत संवेदनशीलता पाइन्छ । कविले विविध छन्दमा कविता लेखेका छन्, यसबाट उनको छन्दलाई खेलाउनसक्ने सामर्थ्य देखिएको छ भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि प्रा.डा.रामप्रसाद ज्ञवालीले थोरै मौसमको पनि र केही राजनीतिक कारणले पनि होला आज उपस्थिति केही कम देखिए पनि यो अत्यन्त गुणात्मक रहेको छ । वास्तवमा आजको यो विशेष समारोह काव्यिक संसद्जस्तो भएको छ । मिहिनेती, प्रतिभाशाली छन्दकवि नारायण निरासीका देशभक्तिपूर्ण, विद्रोही चेतनाले युक्त, प्रत्येक बिहानी नयाँजस्तै लाग्ने खालका कविता हामीले सुन्यौँ । कवितामा पुनरावृत्तिजस्तो सुनिए पनि हाम्रो जीवन नै पुनरावृत्ति हो । कविताका हजारौँ परिभाषा छन् । समाज बदलिइरहन्छ, मान्छे बदलिइरहन्छ त्यसैले समयक्रमअनुसार नै कविता लेखिन्छ । आदर्शको पाटो कवितामा आउनु राम्रो कुरा हो तर विचार र व्यवहारको तादात्म्य चाहिँ मिल्नुपर्छ ।
कविताले सोझो अर्थ दिँदैन, हाम्रा लोकसाहित्यले सुन्दर कविता बनाएको पाइन्छ । लयले कवितालाई मौलिक बनाउँछ तर भावानुकूल लयको मिठास चाहिँ आवश्यक हुन्छ । त्यही लयचेतनाका कारण पद्यकविता स्थापित भएको छ भने गद्यकविताले आफूलाई स्थापित गर्न अझै सकेको छैन । करुणा, विवेक, भाव, अन्तरवस्तुको संयोजन कविताले गर्नुपर्दछ । चन्दनजस्तो, उखुजस्तो कविता भइदियोस् भन्ने अपेक्षा गरिन्छ । देख्नु, हेर्नु स्थिति हो भने परिस्थिति चाहिँ भोगाइ हो त्यसैले कविले परिस्थितिजन्य कविता लेख्ने हो । माहुरी र माकुराको संश्लेषण हो कविता भन्ने कुराको अनुभूत कविले गर्नु आवश्यक छ । गुफामा अँध्यारो हुनु प्रकृति असफल भएको मान्नु हो र त्यसमा मान्छेले बत्ती बालेर सफल बनाइदिनुपर्छ त्यसैले पनि कविले कल्पना, दर्शन, विचारको संश्लेषण गरेर कविता सिर्जना गर्दछ ।
शक्तिशाली कविले आफू बदलिएर होइन अरूलाई बदल्ने सामर्थ्य राख्नुपर्छ त्यसैले कवि अत्यन्त थोरै मात्र बन्नसक्छन् भनिन्छ । जतासुकै र जुनसुकै क्षेत्रबाट पनि राम्रा कुराको ग्रहण गर्ने, प्रत्येकको महत्ताबोध गर्ने, सौन्दर्यको सृष्टि गर्दा सामूहिकता र वर्गीयतालाई बिर्सिनुनहुने कुराको ख्याल राख्नुपर्दछ । प्रचारको, हल्लाको साहित्य जीवनको साहित्य हुनसक्तैन । कविले आलोचना र प्रशंसालाई स्वीकार गरी साधना गर्नु आवश्यक छ । कविता लेख्दा आफैँ कवितामा रूपान्तरण हुनु कविको प्राप्ति हो । अनुप्रभाव (अरूको प्रभाव ग्रहण गर्ने), मौलिकता र आविष्कार (युग बदल्ने, नयाँ धारा निर्माण गर्ने) चरणमा आविष्कार सबल पक्ष हो । आजका कवितामा पुनरावृत्तिजस्तो लाग्नुमा चाहिँ विषयको विविधताले समाधान देला भन्ने लाग्छ । आजको यो विशेष समारोह सार्थक भएको छ । म फेरि पनि कविलाई धन्यवाद दिन्छु, बधाइ दिन्छु भन्नुभयो ।
धन्यवाद र समापन
समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू र सहभागी सबैलाई सङ्घका उपाध्यक्ष रमेश पोखरेलले धन्यवाद दिनुभयो । शिक्षण, सामाजिक अभियान, साहित्यिक सिर्जना र राजनैतिक क्षेत्रबाट सक्रियता, सङ्गठन एवम् सामाजिक रूपान्तरण अभियानमा क्रियाशील स्रष्टा नारायण निरासीलाई आज हामीले सुन्यौँ ।
कवितामा सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता सिर्जना गरेर मुलुकको वर्तमान चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा चित्रण गर्ने, विद्रोहका स्वरका साथ नारीप्रतिको सम्मान, संवेदनशीलता एवम् मानवीय भावना सम्प्रेषण गर्ने अनि शास्त्रीय छन्दमा सुललित कविता सिर्जना गर्ने सशक्त स्रष्टा निरासीका बारेमा हामीले सुन्यौँ । सुनिएका सबै कवितामा देशप्रेम, राष्ट्रवादी भावना, वर्गीय पक्षधरता स्पष्ट रूपमा आएको पाइन्छ । सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्नुका साथ सशक्त वैचारिकताका माध्यमबाट सदैव आशावादी एवम् सत्मार्गको सन्देश कविताले दिएका छन् ।
हामीले छन्दलाई आफ्नो बस्मा राखेका सुन्दर कविता सुन्यौँ, प्रस्तुत कवितामाथि परिचर्चा गर्यौँ त्यसैले यो शृङ्खला हामी सबैका लागि अविस्मरणीय रहेको छ । अब हामी नयाँवर्षमा १०८ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा कलम चलाइरहेका कुनै स्रष्टालाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई आमान्त्रण गर्ने छौँ भन्नुभयो र कविनायकलाई सम्झनाको चिनो प्रदान गर्दै अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।
०००
रमेश पोखरेलको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































