साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको १११औँ रचनावाचन शृङ्खला

कार्यक्रम समाजका ज्येष्ठ सदस्य डा. चिरञ्जीवी रेग्मीको सभापतित्व तथा वरिष्ठ साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडौँ । मनोहरा साहित्य समाजको १११औँ रचनावाचन शृङ्खला शनिबार काठमाडौँको पेप्सीकोलास्थित मनोहरबस्तीमा रहेको विश्वज्ञान पाठशालाको सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको छ।

समाजका ज्येष्ठ सदस्य डा. चिरञ्जीवी रेग्मीको सभापतित्व तथा वरिष्ठ साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा विश्वज्ञान पाठशालाका संस्थापक प्राचार्य मातृका कार्की (एमके पराशर) विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो।

कार्यक्रममा भक्तपुर बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रा.डा. कृष्ण पोखरेल, प्रा.डा. शालिकराम कोइराला, कविराज घिमिरे, एनबी जनकपुरी, मुकुन्दराज शिवाकोटी, भालचन्द्र भण्डारी लगायतका स्रष्टाहरूको गरिमामय उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन समाजका सचिव भावकेशर बरालले गर्नुभएको थियो।

 

करिब तीन दर्जन स्रष्टाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सभाध्यक्ष डा. चिरञ्जीवी रेग्मीले स्वागत मन्तव्य राख्दै रचनावाचन शृङ्खलाको प्रारम्भ गर्ने अनुमति दिनुभयो । सिर्जना वाचनको क्रममा भावना न्यौपानेले ‘परदेशिएका युवा हो आफ्नै घर फर्की आओ’ शीर्षकको बुढ्यौली वयसँग सम्बन्धित कविता प्रस्तुत गर्नुभयो भने सञ्जय सोतीले ‘कायर कलम’ शीर्षकको कवितामार्फत शासकहरूको प्रशस्ति गाउने स्रष्टाहरूमाथि व्यङ्ग्य प्रहार गर्नुभयो।

त्यसैगरी कुसुम न्यौपानेले बालबालिकाप्रति समर्पित ‘रुख’ शीर्षकको पर्या-कविता वाचन गर्नुभयो भने गायक एनबी जनकपुरीले रामबहादुर पहाडीद्वारा रचित ‘मलाई त जीवन अविजित लाग्छ, मान तिमीले नमान तिमीले’ बोलको गहन बिम्बयुक्त गीत सुनाउनुभयो। बुद्धिसागर पौड्यालले ‘म समय’ शीर्षकमा समयलाई बिम्ब बनाएर गद्यलयको सुन्दर कविता सुनाउनुभयो भने सूर्यप्रसाद डुम्रेले ‘भो भो नरो सुन्तली’ शीर्षकमा वर्तमान चुनावी परिदृश्यको चित्रण गर्नुभयो।

रचना वाचनकै सिलसिलामा सरिता तिमल्सिनाले कवितामार्फत नयाँ वर्षको स्वागत गर्नुभयो भने दीपक ओलीले सुगम राजधानी सहर काठमाडौँ र दुर्गम डोल्पाको लुरी गाउँबीचको संवाद समेटिएको लघुनियात्रा प्रस्तुत गर्नुभयो। बाल प्रतिभा सुयोग पुडासैनीले ‘बाबा मेरो साथी’ शीर्षकको कविता प्रभावशाली ढङ्गले वाचन गर्नुभयो भने भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’ले ‘सकारात्मक सोच’ शीर्षकमा ऊर्जाशील विचार व्यक्त गर्नुभयो।

कविराज घिमिरेले ‘भएन शान्त लौ अझै’ शीर्षकको पञ्चचामर छन्दको कवितामार्फत राजनीतिक प्रतिशोध र हिंसाप्रति कटाक्ष गर्नुभयो भने खोलाघरे साहिँलोले ‘मदिरा छन्द’को लयमा यमक अलङ्कारयुक्त ‘कविते’ शीर्षकको कविता सुनाउनुभयो। मुकुन्दराज शिवाकोटीले लता मङ्गेशकरप्रति समर्पित गर्दै उहाँकै हिन्दी गीत गायन गर्नुभयो भने दुर्गा घिमिरेले चित्रिका छन्दमा ‘वृद्धमा खुसी फुलोस्’ शीर्षकको कविता वाचन गर्नुभयो।

कार्यक्रममा सुमन पुडासैनी र आल्फिफोहन फाक्लुप्पाले आ-आफ्नो गजलमार्फत सभाहल गुञ्जायमान बनाउनुभयो भने बलराम विष्टले छोटो र चोटिलो व्यङ्ग्यमूलक कविता प्रस्तुत गर्नुभयो। उषा बस्ताकोटीले कुसुमविचित्रा छन्दमा वसन्त ऋतु र प्रकृतिको चित्रण गरिएको कविता सुनाउनुभयो भने राजेन्द्रकुमार बज्राचार्यले ‘परिश्रमी पाठशाला’मा अभ्यास गरिएको बहरयुक्त गजल वाचन गर्नुभयो।

दीपक श्रेष्ठले ‘रङ्गीन रात’ शीर्षकको लघुकथामार्फत संयमित व्यवहारका लागि सचेत गराउनुभयो भने पदम दाहालले ‘इन्तजारमा बा-आमा’ शीर्षकको गद्य कवितामार्फत अभिभावकका भावना व्यक्त गर्नुभयो। समाजका अध्यक्ष डिल्लीराज अर्यालले ‘सिर्जना मगमगाओस्’ शीर्षकको भावपरक कविता वाचन गर्नुभयो भने कार्यक्रम सञ्चालक एवं सचिव भावकेशर बरालले ‘आस्थाका गीतहरू’ शीर्षकको कवितामार्फत आद्यबिम्बहरूको प्रयोग गरी वर्तमान समयप्रति पटाक्षेप गर्नुभयो।

कार्यक्रमको अन्त्यतिर विशिष्ट अतिथि एवं विद्यालयका प्राचार्य मातृका कार्कीले असारे भाकामा बालबालिका लक्षित ‘सन्देश’ शीर्षकको कविता सुनाउनुभएको थियो। प्रमुख अतिथि आरसी रिजालले समाजको सिर्जनात्मक भविष्यको कामना गर्दै आफ्ना व्यङ्ग्यमूलक लघुकथा, मुक्तक र अनुभूतिहरू प्रस्तुत गर्नुभयो। उहाँले आगामी वैशाख शृङ्खला नववर्षको विषय र बिम्बमा केन्द्रित गर्न सुझाव समेत दिनुभएको थियो।

सभ्य श्रोताहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रम सभापतिको अनुमतिमा सचिव भावकेशर बरालले समापन गर्नुभएको थियो।

०००
भावकेशर बरालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x