फित्काैली डटकमहास्यव्यङ्ग्य निबन्धको उत्कृष्ट प्रस्तुति ‘बाघेझापु’
दाहालका व्यङ्ग्यमा व्यक्तिगत लान्छना र व्यक्तिगत गालीगलौज देखिँदैन । व्यङ्ग्यकारले सबै क्षेत्रमा रहेका कुप्रवृत्ति विरुद्ध खुलेर झापु हानेका छन्, त्यो पनि गाला फुट्नेगरि ।

वरुणा दाहाल लामिछाने :
गोरखा जिल्लाको तान्द्राङ- ३, मझिन्थोकमा जन्मिएर हाल चितवनको कालिका नगरपालिकालाई कर्मक्षेत्र मान्दै साहित्य कर्ममा तल्लिन साहित्य साधकको नाम हो चिरञ्जीवी दाहाल । फित्कौली अनलाईन मिडियाद्वारा २०८१ सालमा प्रकाशित दाहालकाे व्यङ्ग्य निबन्धसङ्ग्रह ‘बाघेझापु’ बजारमा आएको केही समयपछि अध्ययन गर्ने मौका मिल्यो । उनको यो छैटौँ कृति हो । यस कृतिमा उनन्चालिस वटा समसामयिक विषयमा लेखिएका उत्कृष्ट व्यङ्ग्य निबन्धहरू समावेश गरिएका छन् ।
विज्ञहरूले भन्ने गरेका छन्- “व्यङ्ग्य लेखन एक गम्भीर कर्म हो। लेखकले आफ्नो युगको विसङ्गतिलाई निकै गहिरिएर खोजतलास गरि व्यङ्ग्य सिर्जना गर्छ भने त्यो उत्कृष्ट सिर्जना बन्छ ।” विसङ्गतिको व्यापकता के हो र त्यसले जीवनमा कति महत्त्व राख्छ भन्ने कुरा लेखकको प्रस्तुतिमा स्पष्ट देख्न पाउनुपर्छ ।” जुन यस कृतिमा पनि स्पष्ट देखिन्छ । कतिपय प्रसङ्गमा यहाँ निबन्धकारले एकदमै झिनामसिना विषयवस्तुलाई पनि रबर तन्काए जस्तै तन्काएर सुन्दर आकृतिमा ढाल्न सफल भएका छन् । यो उनको लेखकीय क्षमता हो, जसलाई खुला ह्रृदयले प्रशंसा गर्नुपर्छ।
लेखकले आफैलाई व्यङ्ग्य गरेको वाहानामा अनेकौँ विकृति र विसङ्गतिप्रति तिखो कटाक्ष गरेका छन् । जसले गर्दा व्यङ्ग्य निबन्ध थप आकर्षक बनेक छन् । यसर्थ ‘बाघेझापु’ लाई सफल व्यङ्ग्य निबन्धसङ्ग्रह मान्न सकिन्छ । यस कृतिका लेखकले सङ्ग्रहका निबन्धहरूमा आत्मव्यङ्ग्यको प्रयोग अत्यन्त सुन्दर ढङ्गले गरेका छन् ।
साँचो र वास्तविक व्यङ्ग्यमा मान्छेको जीवन समीक्षा गरिएको हुन्छ । यसले मान्छेलाई सोच्न बाध्य बनाउँछ । आफ्नै आत्मासँग साक्षात्कार गराइदिन्छ । चेतनामा हलचल पैदा गरिदिन्छ र जीवनमा व्याप्त मिथ्याचार, पाखण्ड, असामन्जस्य र अन्यायसँग लड्नका लागि व्यक्तिलाई प्रेरणा दिन्छ । ‘बाघेझापु’ मा यी सबैको समायोजन व्यङ्ग्यकार दाहालले निकै सुरुचिपूर्ण ढङ्गले गरेका छन् ।
जब यो व्यङ्ग्य निबन्ध सङ्ग्रह हात पर्यो, यसको बाहिरी आवरण र शीर्षकले मात्र आकर्षण गरेन, यसभित्र रहेका हरेक निबन्धहरू उत्तिकै सशक्त र प्रसंगसँग मेल खानेगरि शीर्षक समेत जुराइएको छ । त्यति मात्र होइन हरेक शीर्षकमा लेख सुहाउँदो व्यङ्ग्य चित्र समेत समावेश गरिएका कारण सुनमा सुगन्ध थपिए झैं लाग्छ ।
दाहाल निबन्ध, कथा, एकाङ्की, कविता, गजल, मुक्तक, समीक्षा र हास्यव्यङ्ग्य लेखनमा सक्रिय छन् । उनका हालसम्म प्रकाशित भइसकेका विभिन्न साहित्यिक कृतिहरूले नेपाली समाजमा विशिष्ट पहिचान बनाएका छन् । ’मुमूर्षा’ (आत्मकथा), ‘ग्रीष्मजा’ (उपन्यास), ‘समृद्धि’ (संयुक्त मुक्तक सङ्ग्रह), ‘बहरमाला’ २ ( संयुक्त गजलसङ्ग्रह), ‘बहरमाला’ ३ (संयुक्त गजल सङ्ग्रह), ‘बाघेझापु’ (व्यङ्ग्य निबन्धसङ्ग्रह), ‘अज्ञात यात्रा’ (निबन्धसङ्ग्रह ) र ‘द्वैतानुशीलन (समीक्षासङ्ग्रह) उनका प्रकाशित र चर्चित कृतिहरू हुन् ।
‘बाघेझापु’ को प्रकाशक्यौली र शुभकामना लेख्ने क्रममा प्रसिद्ध हास्यव्यङ्ग्यकारद्वय, फित्कौली अनलाईन मिडियाका सम्पादक नरनाथ लुइँटेल र चट्याङ मास्टरको भूमिका र शुभकामनाले कृति थप आकर्षक बनेको छ । कृति र कृतिकारका सम्बन्धमा उनीहरूले खर्चिएका शब्दहरूले दाहालले उत्कृष्ठ सीप लगाएर लेखेको नमूना हो ‘बाघेझापु’ भन्ने पुष्टी भएको छ ।
हुन पनि सामाजिक, आर्थिक, राजनैतिक, साहित्यिक, सांस्कृतिक, धार्मिक र शैक्षिक क्षेत्रमा नागले जस्तै फँडा उठाएका विकृति र विसङ्गतिप्रति व्यङ्ग्यकारले यस कृति मार्फत गरेको प्रहारलाई सामाजिक सतर्कताको बलियो हतियारका रुपमा लिन सकिन्छ । प्रस्तुत कृतिमा लेखकले घरदेखि कार्यालय, जङ्गलदेखि शहर, नेतादेखि सन्त, साहित्यकारदेखि कलाकारसम्म मात्र होइन उनले व्यापारदेखि आफ्नो आकारसम्मलाई व्यङ्ग्य गर्न बाँकी राखेका छैनन् । उनले आफैलाई व्यङ्ग्य गरेको सुन्दर निबन्ध ‘सानोकद’ सर्वाधिक उत्कृष्ट निबन्ध मध्ये एक हो । कृतिको अध्ययनबाट दाहाल हास्यव्यङ्ग्य विधामा कलम चलाउने एक निकै दख्खल र खारिएका सर्जक हुन् भन्ने प्रमाणित हुन्छ ।
व्यङ्ग्य विधा साहित्यको उद्दाम विधा हो । त्यसैले साहित्यमा व्यङ्ग्य लेखन कार्य भनेको आगोको खलीमा नाच्नु जस्तै मानिन्छ । खली खेल्न कि त शरीरमा वायु चढ्नुपर्छ कि भने मनग्गे आँट, जोश, जाँगर र मनग्गे सीप चाहिन्छ । वर्तमान आधुनिक युगमा शरीरमा वायु चढेको त कसरी भन्न सकिएला ? तर विकृतिका विरुद्ध उनले दिएको दह्रिलो झापुले भने उनीभित्रको आँट जोश जाँगर र व्यङ्ग्य सिर्जना गर्ने सीपलाई ‘बाघेझापु’ ले उजागर गरिदिएको छ ।
‘बाघेझापु’ पढ्दै गर्दा, यति स्वादिलो लाग्छ कि हरेक क्षेत्रका विसङ्गतिप्रति उनले मर्ममा ताकेर प्रहार गरेका छन् तर पनि उनका व्यङ्ग्यमा व्यक्तिगत लान्छना र व्यक्तिगत गालीगलौज देखिँदैन । व्यङ्ग्यकारले सबै क्षेत्रमा रहेका कुप्रवृत्ति विरुद्ध खुलेर झापु हानेका छन्, त्यो पनि गाला फुट्नेगरि । नेपाली हास्यव्यङ्ग्यको क्षेत्रमा ‘बाघेझापु’ कोशेढुङ्गा सावित नहोला भन्न सकिन्न । अत: याे कृति पढेपछि दाहालको लेखन शिल्पको खुलेर प्रशंसा गर्ने जाँगर चल्छ ।
भैरव अर्याल, केशवराज पिँडाली, श्याम गोतामे, वासुदेव लुइँटेल, रामकुमार पाँडेपछि सुस्ताएको भनिएको हास्यव्यङ्ग्य फाँट वर्तमान अवस्थामा पुनः जागेको देखिन्छ । दाहाल लगायत वर्तमानमा उदाएका थप केही व्यङ्ग्यकारहरूको उपस्थितिले हास्यव्यङ्ग्य क्षेत्रमा अवश्य पनि उल्लेखनीय योगदान पुग्ने छ भन्ने आशा गर्न सकिन्छ । नेपाली साहित्य क्षेत्रले ‘बाघेझापु’ जस्ता कृतिलाई निकै गौरवका साथ लिनसक्नु पर्छ ।
व्यङ्ग्य साहित्यमा कुनै क्षेत्रको दुष्प्रवृत्तिमाथि व्यङ्ग्यवाण प्रहार गर्दा देखिने गरेको सबैभन्दा जटिल र कठिन कार्य भनेको हिंसात्मक व्यङ्ग्य र व्यङ्ग्यात्मक हिंसाबाट लेखक जोगिन नसक्नु हो । तर ‘बाघेझापु’का सर्जक व्यङ्ग्यकार दाहालले भने यस विषयमा निकै शालिनता अपनाएर यस सम्बन्धी कठिनाइको सहज ढङ्गले सामना गरेका छन् ।
व्यङ्ग्य निबन्धमा हास्यरसको प्रयोग गर्ने नाममा प्रायः केही अश्लिलता पाइने रोगबाट सर्जक दाहाल पूर्णरूपमा मुक्त छन् । उनले ‘बाघेझापु’ लाई निकै होसियारीका साथ अश्लिल बन्नबाट जोगाएका छन् । विना अश्लिल शब्दबाट पनि मान्छेलाई हँसाउँन र दह्रो झापड दिन सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ दाहालको व्यङ्ग्य निबन्धसङ्ग्रह ‘बाघेझापु’ ।
उनले प्रस्तुत कृतिलाई व्यङ्ग्य निबन्ध भनेर प्रकाशन गरे पनि ‘बाघेझापु’लाई व्यङ्ग्य निबन्ध मात्र मान्न, पाठक तयार हुँदैनन् । यो कृतिलाई निर्धक्कसँग हास्यव्यङ्ग्य सङ्ग्रह भनेर ठोकुवा गर्नु पर्थ्यो । यसभित्र रहेका ‘रङ नम्बर’, ‘खौरिएको कपाल र श्राद्धको फुरौला’, ‘चोक्टा खान जाँदा’ र ‘सानो कद’ लगायत केही अन्य शीर्षकका निबन्धहरूमा हास्य मात्र र व्यङ्ग्य मात्र छैनन्, यिनमा हास्यव्यङ्ग्यको उत्कृष्ट समायोजन छ । बाँकी निबन्धहरू सन्तुलित सामाग्रीको प्रयोग गरिएको हास्य र व्यङ्ग्य मिश्रित खुराकले भरिपूर्ण र गहकिला निबन्ध बनेका छन् । साहित्य क्षेत्रमा हेप्ने र चेप्ने प्रवृत्तिको चिरफार गर्न ‘पाखण्डी लेखकको मखण्डी लेखाइ’ एकदमै सफल देखिएको छ । यसैगरी ‘कविको चन्द्रमा वर्णन’ निबन्धमा व्यङ्ग्यकारले कवि साहित्यकारमाथि मिठो र शिष्ट भाषामा व्यङ्ग्यवाण प्रहार गरेका छन् ।
‘बाघेझापु’मा अभिधा, व्यञ्जना र लक्षणा मात्र होइन अनुप्रास, कथ्य, शिल्प, रूपक र भाषाशैलीको समेत समुचित रुपमा प्रयोग गरिएको छ । जुन हास्यव्यङ्ग्य साहित्यका महत्वपूर्ण कडी हुन् । त्यसैगरी व्यङ्ग्य विधालाई लोकप्रिय बनाउने क्रममा सबैभन्दा महत्वपूर्ण भूमिका भाषा छनौटको हुन्छ । कठिन शब्दहरूको तानमा बुनेको व्यङ्ग्य भन्दा जनमानसले बुझ्ने सरल र सहज शब्दमा सुसज्जित गरिएको व्यङ्ग्य उत्कृष्ट र लोकप्रिय मानिन्छ । जुन यस अमूल्य कृति ‘बाघेझापु’ लाई त्यसको प्रत्यक्ष उदाहरणका रुपमा लिन सकिन्छ।
यसमा प्रयोग गरिएका शब्दहरू नेपाली जनजिब्रोले उच्चारण गर्ने गरेका र सबै प्रकारका पाठकले सजिलै बुझ्न र स्वाद लिन सक्ने छन् । यसमा मजाले पचाउन सकिने हास्यव्यङ्ग्य मसलाहरू समावेश गरिएको छ ।
‘बाघेझापु’का अधिकांश निबन्ध मार्फत वर्तमान राजनीतिक बेइमानी र दुष्कर प्रवृत्तिको कट्टु खोलिएको छ भने साहित्यकर्मीको अभिमान र घमण्डलाई उदाङ्गो बनाइएको छ । यसरी नै समाजभित्र रहेका टाठाबाठा भन्नेहरूको दुष्चरित्रलाई नङ्ग्याउन पनि लेखक पछि परेका छैनन् । व्यापारी, समाजका अगुवाहरू, अहोरात्र सामाजिक सञ्जालमा घोप्टिने युवा पुस्ता लगायत सबैतिर भएका विकृति र विसङ्गतिमाथि गरिएको व्यङ्ग्यले कृति निकै रोचक , घोचक र व्यङ्ग्यवाण युक्त बनेको छ ।
अन्त्यमा प्रस्तुत कृति ‘बाघेझापु’ पठनीय र सङ्ग्रहणीय बनेको निस्कर्ष निकाल्न सकिन्छ । यति सुन्दर र सार्थक कृतिका लागि यसका स्रष्टा व्यङ्ग्यकार दाहाललाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।
०००
भरतपुर चितवन ।
Subscribe
Login
0 Comments
Oldest












































