साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बज्जिका कविता सङ्ग्रह ‘पृथ्वी ज्ञान गंगा’को सामूहिक लोकार्पण

विमाेचन समाराेहमा नगर प्रमुख यादवले आफ्नो भाषालाई संस्कृति र पहिचानको आधार भएको बताउँदै अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

Nepal Telecom ad

रौतहट । सेवा निवृत्त शिक्षक पृथ्वीनारायण महतोद्वारा लिखित ‘पृथ्वी ज्ञान गंगा’को सामूहिक लोकार्पण गरिएको छ । माधव नारायण नगरपालिका ६ माधोपुरस्थित सामुदायिक विद्यालयको प्रेक्षालयमा नगर प्रमुख बैजुनाथ प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक राम सिंहासन प्रसाद यादव र कृतिकार महतोले सामूहिक रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले पालिकामा मातृभाषा शिक्षा लागू गर्ने तयारी भइरहेको बताउँदै आगामी दिनमा बज्जिका भाषा र साहित्यको लागि मिलेर काम गर्ने बताएका छन् । नगर प्रमुख यादवले आफ्नो भाषालाई संस्कृति र पहिचानको आधार भएको बताउँदै अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

अनिता–शिव प्रतिष्ठानका संरक्षक तथा बज्जिका भाषा विकास परिषद् नेपालका अध्यक्ष शिवचन्द्र साहले स्थानीय तहले मातृभाषा र संस्कृतिमा लगानी गरी संरक्षण गर्नुपर्ने बताउँदै विद्यालयस्तरीय प्रतियोगिताहरुको लागि शिक्षक समुदायले पनि विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

साहित्यकार बिन्दा साहनी र पूर्व शिक्षक नागेन्द्र प्रसाद साहले बज्जिका भाषाको सम्बन्ध गौतम बुद्ध र प्राचीन बज्जी गणतन्त्रसित रहेको बताउँदै बज्जिका कम्तीमा पच्चीस सय वर्ष पुरानो भाषा रहेको बताएका छन् ।

बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा बज्जिका भाषा र साहित्यको इतिहासमा लोकार्पित कृतिको ठुलो महत्त्व हुने बताउँदै कवि महतोले ऐतिहासिक काम गरेको बताएका छन् । कार्यक्रममा साहित्यकार सञ्जय साह मित्रले बज्जिका भाषा र साहित्यको इतिहासको बारेमा प्रकाश पार्दै नेपालमा बज्जिका साहित्यले गरिरहेको प्रगतिको चर्चा गरेका छन् । लोकार्पित कृतिका कविताहरुको मुख्य प्रवृत्तिको विषयमा पनि प्रकाश पार्दै मित्रले उपदेशवादी र नैतिक साहित्यको विशिष्ट काव्यकृतिको रुपमा प्रशंसा गरेका छन् ।

कार्यक्रममा बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, उपाध्यक्ष रेणु गुप्ता, बज्जिका साहित्य समाज सर्लाहीका उपाध्यक्ष शैलियादेवी ठाकुर, कोषाध्यक्ष चन्द्रशेखर रस्तोगी, विपिनबिहारी सिंह, मनमोहन सिंह मनोहर, अमरिश भगत, तुलसी प्रसाद महतो, बज्जिकाञ्चल मिडिया प्रालि कटहरियाका सञ्चालक राजुकुमार श्रीवास्तव, पत्रकार सागर संगम ठाकुरसहित करिब तीन दर्जन भाषासेवीको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गरेका आयोजक विद्यालयका प्रअ रामसिंहासन प्रसाद यादव (एमफिल)ले बज्जिका भाषाको साहित्यमा भइरहेको प्रगति देखेर खुसी लागेको बताउँदै स्थानीय भाषा र साहित्यका अगाडि अनेक चुनौती रहेको बताउँदै सम्भव भएसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारलाई सुरक्षित पार्न समाज सचेत हुनुपर्ने आवश्यकता औल्याएका छन् ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै कृतिकार पृथ्वीनारायण महतोले समाज, संस्कृति र अध्यात्मका साथै नैतिक शिक्षालाई कृतिको मुख्य विषयवस्तु बनाएको बताएका छन् । कृतिको सार्थकता पाठकको पठन र मननमा हुने बताउँदै कृतिकार महतोले मातृभाषाको सेवा गर्न पाउँदा आफू गौरवान्वित भएको बताएका छन् ।

०००
सञ्जय साह मित्रकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x