फित्काैली डटकमरस्सा–कस्सीको शुरूवात !
बाटो–बाटोमा विचार र प्रश्नका कराही बसालिएका छन् । तर्कको आगो बालेर अहंकारको तेल त्यही कराहीमा हालेर अर्काको सोच भुटिन्छ ।

कविन्द्रप्रसाद पाैडेल :
“यो बाटो कहाँ जान्छ ?” भनेर सोध्नेले “कहीँ जाँदैन, हिँड्यो भने हाट–बजार पुगिन्छ।” भनी जवाफ पाएको यो प्रसङ्गमा ।
मोटर नचलेको सडक सुनसान थियो । कुनै रोकतोक बिना कोही दायाँ, कोही बायाँ त कोही बीचबाटै गन्तव्यतिर दौडिरहेका । सबै हस्याङ–फस्याङ मुद्रामा व्यस्त । बजारमा भर्खरै खुलेको बुद्धि परीक्षण गर्ने पसलमा जाँच पड्ताल गराई आफूलाई अब्बल घोषित गराउनु । पसलमा पहिले नै ठूलो जमघट भइसकेको थियो । बुद्धिका व्यापारी तराजु लिएर बसेका थिए । उनको काम सबैको बुद्धि जोख्ने । बढी हुनेसँग किन्ने अनि कम हुनेलाई बेच्ने तिनको दैनिकी । पालो पाउन सबै अथक प्रयासमा थिए । त्यहाँ अनेक प्रकारका पङ्क्ति थिए । महिला, पुरुष, बालबालिका, जेष्ठ अभिभावक; धर्म र पापका पनि छुट्टाछुट्टै लाइन ।
लठेब्रो, गोल्ड्याङ्ग्रो, बाठो र लाटाको अनि मूर्ख र विद्वानका लागि पनि छुट्टै व्यवस्था थियो । बाठो बन्न अर्कोलाई लाटो प्रमाणित गर्नै पर्ने रहेछ । जसले अर्काको बुद्धि भुट्न सक्छ, उही विद्वान् हुन्छ रे । त्यसैले त अर्काको बुद्धि भुट्न हाँडी नै बोकेर हिँड्ने गर्दछन् । ती मूर्ख बन्न न खोज्ने बुद्धिका व्यापारी दिनदिनै बजारमा भेटिन थालेका छन् ।
एउटाले बाठो बन्दै अर्कोलाई लाटो भन्छ । सुन्ने चर्केमा फुट्छ मौन बस्न सके ज्ञानीको पगरी गुत्थ्न सक्छ । अर्काको बुद्धि भुट्ने प्रयास गर्दा निस्केको कालाे धुवाँ अन्ततः आफ्नै मुखमा लतपतिन्छ । तर उसैलाई विद्वान् भनिदिनु पर्ने रे । ज्ञान भुट्ने–पकाउने होइन, बढाएर अरूलाई बाँड्ने हो । अर्काको चेतना डढाउने सीपलाई विद्वत्ता भनी माला पहिराउँदा जुत्ताकै सम्मान उपयुक्त होला ।
बाटो–बाटोमा विचार र प्रश्नका कराही बसालिएका छन् । तर्कको आगो बालेर अहंकारको तेल त्यही कराहीमा हालेर अर्काको सोच भुटिन्छ । अर्काको बुद्धिको भुटुवा बनाई खान पल्केकाहरूको मुख्य पेशा के होला ? बेला न कुबेला, भद्रो नहेरी अर्काको बुद्धि भुट्नु पेशाजस्तै बनेको छ । जो बढी भुट्छ, उही बढी बाठो रे । जो सहन्छ, उही लाटो रे । लाटो र बाठोबीच निरन्तर चलिरहने रस्सा–कस्सी यही नै हो ।
शब्दजाल खेलाउन सक्ने बुद्धि भएका भनाउँदाहरू चोखो बन्न शान्ति खोज्ने भद्र–भलादमीलाई “गोबर गणेश” भन्न छुटाउँदैनन् । त्यसैले अब गोबर गणेशलाई अर्थ्याउन सक्ने ज्ञान र सीप विकास गर्न प्रशिक्षण केन्द्र खोल्नुपर्ला । नत्र बुझ्दो–नबुझ्दो हैकम चलाउँछन्, दास बनाउँछन्, उल्टै शासन गर्छन् । ज्ञान र आत्मबोधलाई जान्न बुद्धिको परीक्षण आवश्यक हुन्छ । त्यो प्रयोगशालामा ‘म बाठो हुँ’ भन्ने नै सबैभन्दा पहिले पस्न खोज्छ ।
बुद्धि नष्ट भएपछि बाठाको खुट्टा नालामा पर्छ, त्यसैबेला लाटाको खुट्टा स्वतः बाटामा पर्छ। तर्कपूर्ण विश्लेषणको नाममा धेरै बोलेर बाठोले आफ्नो धोती फुस्केको चालै पाउँदैन । बाठो भनाउँदाहरू माग्दै नमागी समाधान सुनाउँछन्; आफ्नो काम छोडेर अरूको मूल्याङ्कन गर्नु तिनको प्रमुख धर्म हो । “जान्नु” अनिवार्य होइन काम फत्ते गर्ने साहस ठूलो हो । ऊ आफूलाई चेतनाको भण्डार ठान्छ; म उल्टोलाई सुल्टो बनाउन खोज्छु ऊ उल्टै अन्तै च्याँखे थाप्न पुग्छ ।
थिचोमिचो र हस्तक्षेपबाट जोगिन अब अखिल नेपाल लाटासंघ खोल्नुपर्ने बेला आएको छ । तब मात्रै हामी स्वतन्त्र छौँ भन्न पाइएला । सहेर बसिरहँदा हामीलाई लुट्न आफ्नै चेतनामा गोबर भरेर पञ्चगव्य उत्पादन गरी हामीलाई चोख्याउन पछि पर्दैनन् । भविष्यलाई इतिहाससँग मुछमाछ पारेर वर्तमानमा भुलाउन खोज्छन् ।
वैदिक सनातन संस्कृतिमा भएको श्रुति परम्परा अनुसार अर्काको कुरा नसुनी ‘सबै मैले मात्र जानेको छु’ भन्नु पाखण्डवाद हो । त्यो झुण्डले आफैं मपाईं बनेर हामी सबैलाई गाँज्न के बेर ? हामी जानेर नजाने, बुझेर नबुझेर यही पाखण्डवादकाे जयजयकार गरिरहेका छाैँ ।
अस्तु।
०००












































Nice. Somehow this article reminded me of a friend named Binayak. We used to give him hard time calling him ‘Ganesh’.