साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रस्सा–कस्सीको शुरूवात !

बाटो–बाटोमा विचार र प्रश्नका कराही बसालिएका छन् । तर्कको आगो बालेर अहंकारको तेल त्यही कराहीमा हालेर अर्काको सोच भुटिन्छ ।

Nepal Telecom ad

कविन्द्रप्रसाद पाैडेल :

“यो बाटो कहाँ जान्छ ?” भनेर सोध्नेले “कहीँ जाँदैन, हिँड्यो भने हाट–बजार पुगिन्छ।” भनी जवाफ पाएको यो प्रसङ्गमा ।

मोटर नचलेको सडक सुनसान थियो । कुनै रोकतोक बिना कोही दायाँ, कोही बायाँ त कोही बीचबाटै गन्तव्यतिर दौडिरहेका । सबै हस्याङ–फस्याङ मुद्रामा व्यस्त । बजारमा भर्खरै खुलेको बुद्धि परीक्षण गर्ने पसलमा जाँच पड्ताल गराई आफूलाई अब्बल घोषित गराउनु । पसलमा पहिले नै ठूलो जमघट भइसकेको थियो । बुद्धिका व्यापारी तराजु लिएर बसेका थिए । उनको काम सबैको बुद्धि जोख्ने । बढी हुनेसँग किन्ने अनि कम हुनेलाई बेच्ने तिनको दैनिकी । पालो पाउन सबै अथक प्रयासमा थिए । त्यहाँ अनेक प्रकारका पङ्क्ति थिए । महिला, पुरुष, बालबालिका, जेष्ठ अभिभावक; धर्म र पापका पनि छुट्टाछुट्टै लाइन ।

लठेब्रो, गोल्ड्याङ्ग्रो, बाठो र लाटाको अनि मूर्ख र विद्वानका लागि पनि छुट्टै व्यवस्था थियो । बाठो बन्न अर्कोलाई लाटो प्रमाणित गर्नै पर्ने रहेछ । जसले अर्काको बुद्धि भुट्न सक्छ, उही विद्वान् हुन्छ रे । त्यसैले त अर्काको बुद्धि भुट्न हाँडी नै बोकेर हिँड्ने गर्दछन् । ती मूर्ख बन्न न खोज्ने बुद्धिका व्यापारी दिनदिनै बजारमा भेटिन थालेका छन् ।

एउटाले बाठो बन्दै अर्कोलाई लाटो भन्छ । सुन्ने चर्केमा फुट्छ मौन बस्न सके ज्ञानीको पगरी गुत्थ्न सक्छ । अर्काको बुद्धि भुट्ने प्रयास गर्दा निस्केको कालाे धुवाँ अन्ततः आफ्नै मुखमा लतपतिन्छ । तर उसैलाई विद्वान् भनिदिनु पर्ने रे । ज्ञान भुट्ने–पकाउने होइन, बढाएर अरूलाई बाँड्ने हो । अर्काको चेतना डढाउने सीपलाई विद्वत्ता भनी माला पहिराउँदा जुत्ताकै सम्मान उपयुक्त होला ।

बाटो–बाटोमा विचार र प्रश्नका कराही बसालिएका छन् । तर्कको आगो बालेर अहंकारको तेल त्यही कराहीमा हालेर अर्काको सोच भुटिन्छ । अर्काको बुद्धिको भुटुवा बनाई खान पल्केकाहरूको मुख्य पेशा के होला ? बेला न कुबेला, भद्रो नहेरी अर्काको बुद्धि भुट्नु पेशाजस्तै बनेको छ । जो बढी भुट्छ, उही बढी बाठो रे । जो सहन्छ, उही लाटो रे । लाटो र बाठोबीच निरन्तर चलिरहने रस्सा–कस्सी यही नै हो ।

शब्दजाल खेलाउन सक्ने बुद्धि भएका भनाउँदाहरू चोखो बन्न शान्ति खोज्ने भद्र–भलादमीलाई “गोबर गणेश” भन्न छुटाउँदैनन् । त्यसैले अब गोबर गणेशलाई अर्थ्याउन सक्ने ज्ञान र सीप विकास गर्न प्रशिक्षण केन्द्र खोल्नुपर्ला । नत्र बुझ्दो–नबुझ्दो हैकम चलाउँछन्, दास बनाउँछन्, उल्टै शासन गर्छन् । ज्ञान र आत्मबोधलाई जान्न बुद्धिको परीक्षण आवश्यक हुन्छ । त्यो प्रयोगशालामा ‘म बाठो हुँ’ भन्ने नै सबैभन्दा पहिले पस्न खोज्छ ।

बुद्धि नष्ट भएपछि बाठाको खुट्टा नालामा पर्छ, त्यसैबेला लाटाको खुट्टा स्वतः बाटामा पर्छ। तर्कपूर्ण विश्लेषणको नाममा धेरै बोलेर बाठोले आफ्नो धोती फुस्केको चालै पाउँदैन । बाठो भनाउँदाहरू माग्दै नमागी समाधान सुनाउँछन्; आफ्नो काम छोडेर अरूको मूल्याङ्कन गर्नु तिनको प्रमुख धर्म हो । “जान्नु” अनिवार्य होइन काम फत्ते गर्ने साहस ठूलो हो । ऊ आफूलाई चेतनाको भण्डार ठान्छ; म उल्टोलाई सुल्टो बनाउन खोज्छु ऊ उल्टै अन्तै च्याँखे थाप्न पुग्छ ।

थिचोमिचो र हस्तक्षेपबाट जोगिन अब अखिल नेपाल लाटासंघ खोल्नुपर्ने बेला आएको छ । तब मात्रै हामी स्वतन्त्र छौँ भन्न पाइएला । सहेर बसिरहँदा हामीलाई लुट्न आफ्नै चेतनामा गोबर भरेर पञ्चगव्य उत्पादन गरी हामीलाई चोख्याउन पछि पर्दैनन् । भविष्यलाई इतिहाससँग मुछमाछ पारेर वर्तमानमा भुलाउन खोज्छन् ।

वैदिक सनातन संस्कृतिमा भएको श्रुति परम्परा अनुसार अर्काको कुरा नसुनी ‘सबै मैले मात्र जानेको छु’ भन्नु  पाखण्डवाद हो । त्यो झुण्डले आफैं मपाईं बनेर हामी सबैलाई गाँज्न के बेर ? हामी जानेर नजाने, बुझेर नबुझेर यही पाखण्डवादकाे जयजयकार गरिरहेका छाैँ ।
अस्तु।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Marconi
Marconi
1 month ago

Nice. Somehow this article reminded me of a friend named Binayak. We used to give him hard time calling him ‘Ganesh’.

Nepal Telecom ad
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x