केशरमहलको पटाङ्गिनीबाट…

टुक्राटाक्री समेत टिपेर दाह संस्कार गर र यसैको चिहानमाथि आधुनिक सभ्यताको समृद्ध ढलाने जग हाल, पिलर उठाऊ । सिंहमर्मर ठोकेर विशालकाय भवन ठड्याऊ । छिटो गर ! छिटो गर !!

निर्वाचनताका युवा समुदायबाट एउटा गजबको आव्हान जारि गरिएको थियो- ‘नो, नट अगेन ।’ साठी कटेका उमेद्वारलाई भोट नदिउँ भन्ने आसय अभिव्यक्त गर्दै सञ्जालमा हुँडलिएको यो अभियान म साठी कटेकै वृद्धलाई पनि निकै मन परेको थियो । किन मन पर्नुपर्‍यो प्रश्न नगरे हुन्छ । यसखाले प्रश्न हरेक दिन कहाँ कहाँ गर्ने गरिएको छ, र सफासफी उत्तर कसले पो पाउने गरेको छ र भन्या ?

त्यही ‘नो, नट अगेन’ अभियानका युवाहरू मध्येकै एक हुनुपर्छ सायद, राजु झल्लुप्रसाद । उनी हालसालै केशर महलको पटाङ्गिनी पुगेछन् र त्यहाँ यो देशको इतिहास, संस्कृति र सभ्यताका यावत अभिलेखहरूको बिस्कुन देखेर बिस्कुनको तस्विर समेत उठाउँदै औडाहापूणर् अभिव्यक्ति सञ्जाल मार्फत पोखिरहेका छन् । धुरूधुरू रोइरहेका छन् ।

यी दुईटै प्रसङ्गलाई एकैठाउँ घोलेर फाँडो बनाउँदा कस्तो हुने होला ! सर्वप्रथम म चौसठी वर्षे बूढाको आफ्नो व्यङ्ग्यानुभूति अलिअली सोझो र अलि अलि बाङ्गो बनाएर प्रकट गर्न खोजिरहेको छु भनी यो नम्र निवेदन पेश गर्दछु ।

मेरै उमेरकाँटीका साठी कटेका ती वृद्ध तर विशिष्ट नागरिकहरू अहिले अशिष्ट ढङ्गले बुर्कुसी मादै कुर्सी प्राप्तिको लडाइँमा सामेल भएका छन् । जसरी पनि उनीहरूलाई सत्ताको कुर्सी चाहिएको छ, राष्ट्र जतासुकै पुगोस् । राज्य उनीहरूकै हो, अगुवा उनीहरू नै हुन् र भगुवा पनि उनीहरू नै हुन् । बिगत तीन दशकदेखि डाडुपन्यूँ उनीहरूकै हातमा छ । फुटे झैँ गर्ने उनीहरू नै हुन् । जुटे झैँ गर्ने पनि उनीहरू नै हुन् । एकथरि चुलामा बस्दा अर्को थरि मझेरीमा गौँडो कुर्ने र आलोपालो जसरी होस् भान्सा आफैँले भकुर्ने उनीहरू नै हुन् । उनीहरू नै यो राज्यको कमानी चलाउँदै आएका छन् । उनीहरूकै निगाहमा राज्यको धमनी चल्दै आएको छ । आफूलाई राजा घोषित गरि नहाले पनि उनीहरूको राजसी ठाँटबाटलाई ‘नो, नट अगेन’का अनुयायी यी ठिटौले ‘राजुहरू’ले जति रिस गरे पनि टाइँटाइँ फिस मात्रै हो ! विचरा पूर्व राजा त हेरेका हेर्‍यै इ…स् भएका छन् ।

केशरमहलको कन्तबिजोक देख्ने, हेर्ने र त्यस्तो बनाउने महान् भूमिका निर्वाह यिनै नयाँ राजाहरूले नै सम्पन्न गरेका हुन् । भुइँचालो त निमित्त नायक भनूँ वा निहुँ मात्रै पो हो । त्यो पनि २०७२ सालको भुकम्पले चिरा पारेको भग्नावशेषमै विगत झण्डै एक दशकदेखि केशर पुस्तकालय छोपिइरह्यो । भाषा, साहित्य, कला, संस्कृति र सिङ्गै नेपाली सभ्यताका साक्षी, प्रमाण र निसानी अङ्कित अभिलेखहरू धूलोमा परिणत हुँदै, कुहिँदै गए । हाम्रा कणर्कुहरमा सुमधुर सङ्गीतको झङ्कार छाड्दै साइरन र कार्गेटहरू त्यही केशरमहलको छेउबाट हुइँकिदै रहे । कार्गेट हुइँकिदाको बतासले केशरमहलका भग्न कोठाचोटामा सड्दै गरेका र अहिले पटाङ्गिनीमा फिँजारिएका ती पूरातन खोस्मेराहरू हरिबिजोकसँग चलमलाउँदै रहे । जाबो त्यस्ता खोस्मेरा पनि राष्ट्रका कुनै उपयोगी बस्तु हुन् र ? न त त्यहाँ केशर शमसेरकै गाडधनको घ्याम्पो छ ! व्यर्थै किन चिच्याउँछन् यी ‘राजु झल्लुप्रसादहरू ?’

पानीजहाजका कुरा गर्दा साठी कटेकाहरूलाई उडाउने तिमीहरू नै हौ । चुच्चे रेलका कुरा गर्दा लेथ्नु काढुन्जेल व्यङ्ग्य कस्ने तिमीहरू नै हौ । सगरमाथा नै छेक्ने गरी भ्युटावर बनाउने उनीहरूलाई धारे लगाउने पनि तिमीहरू नै हौ । साठी कटेकाहरूले गरेको शासनाधिकारलाई अस्वीकार गर्दै ‘नो, नट अगेन’ को नारा अलाप्ने पनि तिमीहरू नै हौ । अनि एकातिर बूढा बा, हजुरबाहरूलाई ‘नो नट अगेन’ भनेर उछितो पनि काड्ने, अर्कोतिर केशरमहलको पटाङ्गिनीमा थुपारिएका च्याप्जु न्याप्जुका पालादेखिका पुराना थोत्राथाम्राको जगेर्ना गर्नुपर्‍यो पनि भन्ने ! सङ्गति कहाँनिर मिल्छ हँ ?

पश्चिमाहरूले निकै पहिलेदेखि एउटा सिद्धान्त प्रतिपादन गरेका छन्- ‘आफ्नो उपनिवेश विस्तार गर्न र विस्तारित उपनिवेश सुदृढ गर्न कुनै पनि देशको भाषा भत्काऊ अनि संस्कृति सिध्याऊ ।’ अनन्त कालसम्म देश बाँच्ने भनेको त्यो देशको भाषा र संस्कृतिको जीवन्तताले नै हो । कुनै पनि राष्ट्रको अस्तित्व समाप्त पार्न राडार प्रणालीबाट क्षेप्यास्त्र प्रहार गरेर र त्यहाँका जनतालाई कत्लेआम पारेर मात्र अब सम्भव छैन । ‘डलर’ नामको सुनको फ्राइ अण्डा खुवाउँदै त्यहीँका ‘विद्वान, प्राज्ञ, बुद्धिजीवीहरू’लाई आफ्ना अनुचर बनाएर उनीहरू मार्फत त्यो देशको भाषा र संस्कृति सिध्याउनु पर्छ । अनि आउँछ मजा ! ज्ञान र विज्ञानको समृद्ध संस्कृत परम्परा मौलाउने जग बनेको ‘नालन्दा विश्वविद्यालय’मा आगो लागेपछि नै भारतीय उपमहाद्विपमा संस्कृत भाषा मरेको मात्र हैन, अङ्गे्रजहरूको रज्जगज्ज आरम्भ भएको देखिँदैन र ?

‘डलर’ नामको सुनको फ्राइ अण्डा हसुर्दा हसुर्दा हाम्रा ‘विद्वान, प्राज्ञ, बुद्धिजीवीहरू, डाप्रा र पाप्राहरू’का तिघ्रा र हात-पाखुरा मुस्तण्ड बलिया हुँदै गएका छन् । उनीहरू आफ्ना दल, बल र गलसहित छिरेका छन् जताततै । पाठ्यक्रम निर्माणको थलोतिर पसेका छन् त्यहीँबाट नेपाली भाषा भत्काउँदैछन् । प्रज्ञातिर घुसेका छन् त्यहीँबाट नेपाली भाषाको समृद्ध परम्परा निखार्दैछन् । विश्वविद्यालयतिर अन्भरिएका छन् त्यतैबाट छात्रछात्राको गिदीबाट मौलिक नेपाली भाषा थुपुथुपु झिक्दैछन् । सञ्चारगृहहरूतिर छिरेका छन् । शिक्षा र संस्कृति मन्त्रालयकै सचिवालयसम्म पुगेर गजधम्म ठडिएका छन् । त्यहीँबाट हाम्रा मौलिक सांस्कृतिक परम्परामाथि धावा बोलिरहेका छन् । साझा प्रकाशनतिर छिरेकाले साझाको अस्तित्व नै नामेट पारिसके- बौराउने कोशिस बेकार बनिसक्यो । अनि उनीहरू जहाँ जहाँ पुगेका छन् त्यहीँ त्यहीँबाट गाईले चालै नपाई ब्वाँसोले आन्द्राभुँडी लुछेझैँ नेपाली भाषाको मुटु कलेजो लुछ्तैछन्, हाम्रो मौलिक संस्कृति र सभ्यता पुछ्दैछन् । यो पो हो त सही तरिका !

केशर महलको पूरातन पुस्तकालय, मदन पुस्तकालय, पुलचोकको राष्ट्रिय पुस्तकालय, त्रिवि पुस्तकालय, राष्ट्रिय अभिलेखालय यी सबै नेपाली बाङमयका ‘नालन्दा विश्वविद्यालय’ हुन् । जहाँ हाम्रा प्राचीन इतिहास, भाषा, साहित्य, संस्कृति र सभ्यताका दसीहरू सुरक्षित छन् । यिनलाई मटियामेट पार्न लौ अब आगो झोसौँ । यी दसी, प्रमाण आधार, र तथ्यहरू नपोलेसम्म कहाँ विकास हुन्छ आधुनिक आयातित समृद्ध सभ्यताको ? अत्याधुनिकताको पक्षपाती ए मेरो प्रिय सरकार ! एउटा अर्को अध्यादेश जारी गरेरै भए पनि सभ्यता निसानीका यी किल्लाहरूमा डढेलो लगाऔँ र ध्वस्त पारौँ । सामाजिक सञ्जालमा रोइरहेका ‘राजु झल्लुप्रसादहरू’ पनि रुन छोड र बरु हाँस्दै आऊ आगो ताप्न, हेर चिसो छिप्पिँदै छ ।

केशरमहलको पटाङ्गिनीमा फिँजाइएको यो घुर्‍यान, थोत्रामोत्रा अभिलेखका एक एक सडलपत्रहरू बेजोडसँग फरफराउँदै अहिले घोषणा गरिरहेछन्- सुन ए आधुनिक अत्याधुनिक सभ्यताका कथित पुजारी हो ! गतिछाडा र मतिछाडाहरू हो ! हामीलाई खाँदेर बाँधिएका बोराहरू छिटो लोड गर ट्रकहरूमा, कहाँ कहाँ पुर्‍याउने गुप्त सम्झौता भएको छ, त्यहाँ त्यहाँ पुर्‍याइ हाल । एक टुक्रा पनि नराख, ससाना पत्र र त्यान्द्रा पनि टिप, चिनो चपेटै बाँकी नराख । धुल्यान भएका झुर्काहरू पनि टिप र दनदनी आगो बाल । खरानी पनि उडाऊ । भग्न अवशेषहरू मटियामेट पार । टुक्राटाक्री समेत टिपेर दाह संस्कार गर र यसैको चिहानमाथि आधुनिक सभ्यताको समृद्ध ढलाने जग हाल, पिलर उठाऊ । सिंहमर्मर ठोकेर विशालकाय भवन ठड्याऊ । छिटो गर ! छिटो गर !!

केशर महलको पटाङ्गिनी पुगेर फर्केपछि हिक्का फाल्दै रोइरहेका ए ‘राजु झल्लुप्रसादहरू’ ! भो नरोऊ ! हाम्रा आँसु र रगतको मूल्य अब मरिसक्यो । बरु आऊ यो ‘नालन्दा’मा दनदनी बलिरहेको आगो ताप्न आऊ । अनि फेरि एकपटक मन खोलेर भन ‘नो, नट अगेन’ ।

०००
०७९ मङ्सिर २८
फित्कौली अड्डा, कलङ्की

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

माधव पोखरेल गोज्याङ्ग्रे
छेपारो

छेपारो

डा. विदुर चालिसे
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
भगौडा बुद्धि ! आज पनि भाग्यो

भगौडा बुद्धि ! आज...

सुरज पराजुली
दुब्लो गान

दुब्लो गान

रेहित सैजु