सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डाढो

नेपालको र नेपालीको डाढोका विशिष्टताका हेराइले नै विश्वव्यापी नाउँ चल्ने थियो । नभन्दै नेपालको साँचो नाउँ ‘डाढे ढाँड’ र नेपालीको साँचो गुण ‘डाढो’ भनेर राष्ट्र संघमा पनि लेख्न पाइने थियो ।

Nepal Telecom ad

गाउँजे ठरहिरू र खप्पिस कुर्राहरूले मात्र जान्न, बुने र बोल्ने गरेको ‘डाढो’ चार भन्ज्याङ भित्रको खाल्डालाई चुर्लुम्मै डुबाएर मेची र महाकाली बिचको धरोमा समेत छताछुल्ल हुँदै पोखिन पुगेको छ । जसरी सुके लुतो जति कनायो उति मज्जा हुने हुनाले नै लुतो लागेको मान्छे आफ्नै जिउमा छर्छर्ती रगत निकालेर चिथोर्दै जान्छ र जति-जति चिथोर्दै गयो उति उति फैलँदै, हल्कँदै र मौलँदै जान्छ उसरी नै डाढो पनि जति खेलायो उति रन्कने र रमाइलो हुने हुनाले डाढे मान्छे आफ्नै आङमा छारो खन्याउँदै आफैलाई चिथोर्दै जान्छ, कोपर्दै जान्छ र लुछ्तै जान्छ र जति-जति आफूलाई चिथोर्दै, कोपर्दै र लुछ्तै गयो उति उति डाढोको डढेलो सल्कँदै जान्छ र त्यसले मिहिनेत, बुद्धि र वर्गतलाई खरानी पार्दै जान्छ, माया, दौंतर्‍याइँ र सघाउपघाउलाई सखाप पार्दै जान्छ, धुस्न्याउँदै जान्छ र नामेट पार्दै जान्छ । डाढोको डढेलोले खर्लप्पै पारेकैले काठमाडौं खाल्डामा एउटै भरपर्दो भाइ तपाईं भेट्न सक्नु हुन्न, एउटै दिघो दौंतरी तपाईं पाउन सक्नु हुन्न र एउटै मनकारी र मायालु मान्छे तपाईं देख्न सक्नु हुन्न । नढाँटी र चेप्रायाइँ नपारी भन्नु हो भने नेपाली भन्नु नै ‘डाढोले डढेकाहरू’ भन्नु हो । नेपालीहरूलाई कति अबुझक्कीहरू कलाप्रेमी र धर्ममा नबाँने, हिमाल चढ्न सिपालु र लडाईका सुरा, जालझेल नजान्ने र चिप्लो नबोल्ने भन्लान्, तर मलाई भने यस्तो ढाँट बयान सुन्दा कानसम्म हाभ्रो च्यातेर हललल हाँस्न मन लाग्छ, किनभने मलाई राम्रो थाहा भइसकेको छ नेपालीहरू अरू केही होइनन् डाढे मात्र हुन् ।

‘डाढो’ लाई संस्कृत जान्नेहरू ‘ईष्र्या’ अथवा ‘द्वेष’ भनुन्, अलिक कत्र्याइँतिर नजानी नजानी फुक्न पुगेकाहरू ‘इख’ अथवा ‘डाहा’ भनुन् अनि कुइरेहरूको माउकुरालाई मुटु चढाउने मकैबाबाहरू ‘जेलसा’ अथवा ‘एम्भी’ भन्दै मुख बटारुन् तर जसले जेभने पनि यसलाई खोज्नभने अरू कतैतिर जानुपर्दैन । सके अरूतिर यो उति मन पनि पाउँदैन, गुहुमा मुला सप्रे झैं यो मोरो यहीं हलक्क भएर बढ्दै झ्याँगिनसम्म झ्याँगिएको छ । तपाईं कुनै कुरो फत्ते गर्नोस् तपाईंका छिमेकीहरू डाढो गर्न थाली हाल्छन् । तपाईं कुनै कुरो गर्न नसकेर हत्तु हैरान हुनोस् तिनै छिमेकीहरू अर्को पाराले डाढो गर्न लागी हाल्छन् । ठूलो ओहदामा पुग्योभने ‘साले, हिजोसम्म भारी बोकेका नाम्लाको डाम निधारमा छँदैछ, घुमाउने कुर्सीमा बस्न पुग्दो !’ भन्ने छर्रा छुट्छ र ताकेको ओहदामा नपुगेर तलै थचारियो भने ‘साले, ठूलो ओहदालाई लात मार्दो भाको, हन कत्तिको घमण्डी त !’ भन्ने पनि बज्रन्छ । घर बनाउनोस् तपाईं तपाईंका आन्द्रा गाँसिएका साथीहरू नै डाहाले खपी नसक्नु हुँदै भन्छन्, ‘कुन सड्को पैसो थुपारेछ है, किन नथुपारोस् ? कन्जुस् मोरो ?’ घर नबनाउनोस् तपाई, तपाईलाई हिर्काउँदा उनीहरू दुखेको स्वाँग गर्ने दौंतरीहरू नै इखमा डढेर कालाम्मे हुँदै भन्छन्, ‘सुन मजेरीमा गाड्न पल्क्याले के बनाउँथ्यो घर ? देख्तैनस् सुनको भाउ उत्र्या ?’ लेख लेख्नोस् तपाई ‘बडो लेखक भाको ?’ भनेर तपाईलाई भन्छन्, नलेख्नोस् तपाईं ‘के लेख्थ्यो, जाने पो लेखोस्’ अथवा ‘अरू नै आमदानीको मेलोतिर लाग्या होला ! भनेर तपाईंलाई हियाउँछन् । यहाँ केही गरे पनि धर छैन, यहाँ केही नगरे पनि धर छैन । यहाँ बाँचे पनि धर छैन, यहाँ मरे पनि धर छैन, यहाँ माया गरे पनि धर छैन, यहाँ घिनाए पनि धर छैन । यहाँ भर परे पनि धर छैन, यहाँ कर गरे पनि धर छैन । विश्वासघातको विषालु बतासले निसास्सिई सकें । ए डाढेहरू हो ! मलाई यसरी नअँठ्याओ म फुत्कन चाहन्छु म उम्कन चाहन्छु र म फैलन चाहन्छु- मलाई यसरी तघारा नतेस्र्याओ ।

एक दिन म बाटो विराएर एउटा निकै मै हुँ भन्न गजघट्टकाँ पुगेछु दुई वर्षदेखि भालेको डाकमै हातमुख धोएर त्यस गजघट्टको दैलो कुर्ने चिनारुसित झ्वाट्ट जम्काभेट भो । त्यस चाकरी को पीएच. डी. लाई म त्यहाँ त्यसको भाग हरन गर्न गएको जस्तो भान भएको । त्यसको रातिएको मुखबाट मैले बुकी हालें- दुदुई वर्षदेखि दैलो कुर्न खप्पिस त्यस स्वाँठले ऊ विकाएर र हुर्रिएर पुगेको म जस्तो चाकरी नै नरुचाउने मान्छेको डाढो गरेको देख्ता मलाई पक्का भयो यहाँका मान्छेहरूले डाढो गर्नदेखि बाहेक अरू केही देखे, सुने र जानेको छैन रहेछ । यहाँका अड्डाहरू, यहाँका पाठशालाहरू र यहाँका पसलहरू डाढोले नै चलेका रहे छन् । यहाँ तरुनीहरू गम्केर हिँडेका नभई हिँडेका हुँदा रहेछन्, पत्रिका र पुस्तकहरू डाढोले लेखिँदा र छापिँदा रहेछन् अनि यहाँ जति हाँसाहरू, स्वाइहरू र आवाजहरू उर्लेका सुनिन्छन् ती डाढोकै उब्जनी रहेछन् । सिहदरबारदेखि पाले घरसम्म र टुकुचादेखि वाग्मती बगरसम्म डाढो नै डाढो पल्टेको रहेछ ।

यहाँकाहरू मोटर पनि कामले होइन डाढोले नै चढ्दा रहेछन्, किसिम किसिमका लुगाहरू पनि खाँचोले होइन डाढोले नै लगाउँदा रहेछन् र पढ्न पनि ज्ञान बढाउन होइन डाढोले नै जाँदा रहेछन् । किन यस ढाँडमा विश्वविद्यालय भनाउँदो माथिल्लो तहको पढ्ने, पढाउने र ज्ञानलाई उकास्ने बाहिरी बोक्रे संस्था खोलिएको होला ? यहाँ त टोलैपिच्छे र जातैपिच्छे चाकरी र चिप्ल्याइँ, चाप्लुसी र चोरी अनि घुस र कालो बजारको तालिम दिने र पक्का डाढे बनाउने चेपारे स्कूलहरूको युग-युगदेखि थपना भएकै थियो नि ।

के गर्नु, आफ्नो त भाग्य नै खोटो रहेछ पढियो डाढाहरूदेखि धेरै टाढा बसेर अनि लेखियो पढेका बेलाको लागोले रन्थनिएर । मानवहरूका बीचमा हुर्केकाले र मानव हुन बाहेक अरू केही उद्देश्य नराखेकाले डाढेहरूसित पपन्ध्र वर्ष नेप्टिएर पनि मानव नहुन र डाढे हुन पटक्कै सिकिएन । आज यसो पछि फर्केर आफ्नै जिन्दगीलाई हेर्दा कहाली छुटेर आउँछ, मैले कसरी यतिका वर्ष यस डाढे खाल्डामा कल्पेर बिताएँछु, स्वर्गको उज्यालो सपना देखेंछु र मानवताको उदार जीवनको कल्पना गरेंछु ! कसरी मैले यहाँका चालचलन, रीतिथिती द बोलीवचनसित नमिल्दा आफूले सिकेका कुराहरू फलाक्दै हिंडेर डाढे डाङ्ग्रा र डाङ्गीहरूलाई हँसाउँदै हिँडछु, सुँगुर र सुँगुर्नीहरूको हुलमा मोती छर्दै हिँडेंछु ! कस्तो पाखे त म, मुखमा चिप्लो घसेर ओठ उघार्दै बाहिर बाहिर दाह्रा ङिच्याउनेहरू भित्र-भित्र चाहिँ खोकिलामा खुकुरी बोकेर हिँड्छन् भन्ने मैले थाहै पाइनछु !

हुन पनि यहाँ हक्की कुरो गर्न सुर्‍याउनु भन्दा यस्तो अर्ती दिनु बढी बुद्धिमानी ठानिन्छ, “सुनिस्, यो नेपाल हो । यहाँ साँचो कुरो बोल्दा ठूलो मान्छे रिसाउँछ भने जानी जानी झूटो कुरा चिप्लो मुखले बोलेर चाकरी देखाउन सिक्नुपर्छ । देश रसातलमा भासिदै गरोस्, जाति नरकको खाडलमा जाकिदै गरोस् र उडन्ते योजनाहरू भङ्खालातिर फड्दुवाल कस्तै गरुन्- यथेष्ट उन्नति हुँदो छ, विकासका अजस्र धाराहरू कल्कलिदा छन् र मुलुकमा दूधका खोला सल्सलाउँदै जताततै बग्दा छन् भनेर कोखाभित्र धारिला करौंती जस्ता दाँत लुकाएर लेख्नु र बोल्नुपर्छ !”

यहाँ निर्बुद्धि विद्वान् र विद्वान् गधा मानिन्छ यहाँ प्राज्ञ हुन प्रतिभाको खाँचो छैन, धूप जलाउन, दीयो बाल्न र नैवेद्य चढाउन जाने पुग्छ यहाँ लेखक कहलाउन लेख्न जान्नु पर्दैन, जप्न जाने पुग्छ । जान्न समेत राम्ररी नजान्ने दैलो ढुकुवा भतुवा कुकुरहरू यहाँ महान् दार्शनिक, सुयोग्य पत्रकार र श्रेष्ठ प्रशासकको तक्माद्वारा सिंगारिन्छन् । मथिङ्गल घोट्ने पढन्ते र गहिरो बुझ्ने प्रतिभाहरू त मुखमा दही जमाएर बसेका छन् । चोरीचकारी जाँच सकेर त्यसको भोलि पल्टैदेखि एक पल्ट कलम नचोभ्नेहरू नामी प्राध्यापक ठहरिनु र छात्रहरूका अगाडि उभिएर एक वाक्य बोल्न नसक्ने र नपाउनेहरू प्रसिद्ध शिक्षाविद् हुनु डाढेहरूको आफ्नो किसिमको विशेषता हो । मोटर हाँक्न नजान्नेलाई हाँक्न लगाउँदा हुने दुर्गति डाढेहरूको मुलुकमा भई रहेछ तर हक र साँचोको पक्षमा यहाँ बोल्न कसैका बाबुको तागत छैन । यहाँ सारी साइनो र टोले नातो हेरिन्छ र ढोका कुरुवाको लगत लिइन्छ । जसले जति दैलो धायो उति मेवा पायो । जसले जति सारी मैलाउन र धुन सघायो उति पदवी, मान र पैसो पड्कायो । धुपौरे र फतौरेहरूको बढ्ती हुँदो रहेछ यहाँ, कन्सुत्ले र ढँटुवारेहरूको शक्ति चम्कँदो रहेछ यहाँ । तपाईं आत्मा बेच्न सक्नुहुन्छ भने बेच्नोस् यहाँ, प्रतिभालाई टुकुचामा बगाउन तयार हुनुहुन्छ भने बगाउनोस् यहाँ र जन्मसिद्ध अधिकारहरूलाई बली दिन हिच्किचाउनु हुन्न भने बली दिनोस् यहाँ र आधुनिक ढाँचाका चार-पाँच घर खाल्डामा ठड्याएर कुखुराका साँप्रा चिथोर्दै, विदेशी तीनपाने धोक्न र ड्याटसनकारमा डकार्दै घुम्नोस् यहाँ ।

हुन त भुट्टीभाङ केही नजान्ने लखटट्टूहरू नै दैलो ढुक्छन् र ठुला बडा भनाउँदाहरूका झिंगा धपाउँछन्, तापनि योग्यता नै नभएका यस्ता फुकाल्वाँठहरूलाई भेला पारेर डाढेहरू अचम्मको अँध्यारो भविष्यलाई निम्त्याई रहेछन् । तर उनीहरूलाई सरकारी रकम हिनामिना गरेर अनि घुस खाएर धेरै घर ठड्याई विदेशीहरूलाई भाडामा दिन पायो भने झलमल्ल घाम लाग्छ र प्रतिभाशाली मान्छेले पी.एच.डी. गर्न विदेश जान पायो भने चुक घोप्ट्याएको अँध्यारो हुन्छ ।

अब हामीले बी.ए., एम.ए., बी.एस्सी., एम.एससी., बी.कम., एम.कम. जस्ता प्रमाणपत्रलाई त्यागेर स्नातक र स्नातकोत्तर पदहरूलाई भित्र्याई रहेछौं । मेरा विचारमा यसो हुनु हुँदैन विश्वविद्यालय तुरुन्तै बन्द हुनुपर्छ र सारा क्याम्पसहरूमा जखमले भोटे तालाहरू झुण्डयाउनुपर्छ । जुन पाठशालाहरू युगौंदेखि यस खाल्डामा गोप्य रूपले चलिरहेछन् तिनलाई खुल्लमखुल्ला छाती खोलेर बाहिरी मान्यता पनि दिनुपर्छ । हुनत डाढेहरूलाई म मेरा छोराहरू तिनका स्कूलमा पढाउँला र मेरा छोराहरूले पनि तिनका चालवाजी सिक्लान् भन्ने डर होला, तापनि तिनले त्यो डर नमाने हुन्छ, किनभने मैले मेरा छोराहरूलाई चिप्ला, छली र डाढे हुन नजानी यहाँ आफ्नो पेट पनि भोलि पाल्न नसक्लान् भन्ने डरले र मानव नभएर डाउ नै पो बनी हाल्लान् कि भन्ने त्रासले अरूतिरै बसाइँ सार्ने व्यवस्था मिलाई सकेको छु र म पनि यस्तो ठाउँमा जति बसें बसें अब एक छिन पनि नबस्ने भइसकेको छु ।

अँ त, त्यस्ता डाढे स्कूलहरूका विषय मैले पढे, देखे र सुने भन्दा बेग्लै छन् । मैले देखे सुनेका विषय हुन्- भाषा, साहित्य, विज्ञान, कला, भूगोल, इतिहास, अर्थशास्त्र, राजनीति, मनोविज्ञान, दर्शन र प्रविधिहरू । तर खाल्डे स्कूलका प्रमुख विषय रहेछन्- चाकरी, घुत्र्याई, चेपार्‍याई, जाल, छलपकट, चोरी, कालो बजार, घुस, चाप्लुसी, सारी साइनो, जुवा र जारीहरू । यी प्रमुख विषयका शाखा विषय पनि छन्- जस्तै चाकरी भित्र मन्त्रोका चाकरी, सचिवका चाकरी महाप्रबन्धकका चाकरी र माननीयहरूका चाकरी । त्यस्तै चोरी विषयभित्र पर्छन् मूर्ति चोरी, चोरी निकासी, चोरी पैठारी, सरकारी धन चोरी, चन्दाको रकम चोरी, पीडित जनतालाई बाँड्ने अन्तर्राष्ट्रिय सहयोगको चोरी इत्यादि यी सबै विद्यामा यहाँ बी.ए., एम.ए. र पीएच.डी. का प्रमाणपहरू भित्रभित्रै बाँडिन्छन् । यी विद्यामा दक्षता र कार्यकुशलता हेरेर तक्माहरू र पुरस्कारहरू दिइन्छन् र अन्तर्राष्ट्रिय सभा अनि राष्ट्र संघमा बर्सेनी जाने प्रतिनिधिहरू तिनकै आधारमा छानिन्छन् ।

विश्वविद्यालयको कामै के छ र ? त्यहाँ पढेर पाएका कुनै प्रमाणपत्रका आडमा काम पाइएला र पेट पाल्न सकिएला भन्नु र ढुङ्गो बोल्ला भन्नु एक भई सकेको छ । यस्ता स्थितिमा हाम्रो राष्ट्रिय गौरव, जातीय गरिमा र ऐतिहासिक अस्तित्वको सुरक्षा र विकास हुने एउटै मात्र उपलब्ध साधन भएको छ डाढे स्कूलहरूको उन्नति । त्यसैले त्यस्ता चेपारे स्कूलहरूलाई चारभन्ज्याङ बाहिर पनि छाप्ताछाप्ती खोल्ने अनुमति दिन ढिलो भई सक्यो । यस्ता विद्यालयहरू चारभन्ज्याङ बाहिर पनि खोल्न पाए राष्ट्रिय स्तरमा मुलुकका कुना कुनाबाट राम्ररी पास हुनेहरू चाकरीका बी.ए., एम.ए. र पीएच.डी., चोरीका शास्त्री, आचार्य र वाचस्पति, घुसका स्नातक, स्नातकोत्तर र घुसवारिधि अनि डाढोका डिप्लोमा, डिग्री र रिसर्च फेलो निक्लेर नेपाललाई प्रगतिको धुरैमा उचाल्ने थिए- रगत र मासी चुसेर करङ र हात पारी सकेकै छन्, अझ सुकाएर जिग्रिङ्ग पार्ने थिए मूर्ति चोरी र बेफ्वाँक बेतुकका बढाइँ चढाइँमा दक्खल गर्नेहरूलाई त डाढोका डी.लिट. नै बनाउन सकिने थियो । तब पो नेपालको र नेपालीको डाढोका विशिष्टताका हेराइले नै विश्वव्यापी नाउँ चल्ने थियो । नभन्दै नेपालको साँचो नाउँ ‘डाढे ढाँड’ र नेपालीको साँचो गुण ‘डाढो’ भनेर राष्ट्र संघमा पनि लेख्न पाइने थियो ।

०००
‘डाढो’ सङ्कलन, कौवा प्रकाशन २०३१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्दिनँ

म दाम्लो बाँध्दिनँ

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्छु

म दाम्लो बाँध्छु

डा. तारानाथ शर्मा
गलबन्दीका भैरव अर्याल

गलबन्दीका भैरव अर्याल

डा. तारानाथ शर्मा
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल