साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिँडालीलाई यथोचित

अरु अरु मुलुकमा भए पिँडालीको स्तरका उच्च साहित्यकारलाई आँखाको नानी बनाएर राख्ने थिए, राष्ट्रको रत्न मानेर सम्मान गर्ने थिए र गौरव र गरिमाको प्रतीक मानेर पूजा गर्ने थिए । तर साहित्यिक संस्कृति नभएको यो ठाउँ, बौद्धिक व्यवहार नबुझेको यो समाज....

Nepal Telecom ad

डा. तारानाथ शर्मा :

अच्युतरमण अधिकारी आफ्नो जिद्दीमा पक्का मान्छेको नाउँ हो । ‘लिसो टाँसिनु,’ ‘कि गरी छाड्यो कि मरी छाड्यो’ अथवा ‘नेपाली भाषा-साहित्य’ जसको भोलि, अच्युरमण अधिकारीका पर्यायवाची मानिन्छन् । जुन दिन उनले ‘उन्नयन’को भिक्षु अङ्क निकाल्ने अठोट गरे म उनको प्रशंसक हुन पुगेँ । यसै पनि उनका साहित्यिक साहसहरूबाट म यथेष्ट प्रभावित थिएँ, तर भिक्षुजस्ता स्थानीयताले ठगिएका नेपाली लेखकलाई सम्मान गर्ने उनको आँट औधि राम्रो र सुठाउँमा परेको कुरो थियो । मलाई उनले एउटा समालोचना नै भिक्षुका बारेमा दन्काउने आग्रह गरे तापनि मैले पटक्कै नमानेपछि उनी बल्लतल्ल संस्मरणसम्म भए पुग्छ भन्ने सम्झौतामा स्वीकृति दिन पुगे र यसरी उनका आग्रहको उत्तर एउटा सस्यानो सम्झौटो लेखेर मैले दिन सकेको थिएँ ।

भिक्षुप्रति आदर देखाइसकेपछि उनी अलिक साल चूप लाग्लान् भनेर मैले सोचेको थिएँ । त्यस्तो सोचाइको प्रवल आधार पनि मसित थियो, किनभने भिक्षू सम्बन्धी सामग्री बटुल्ने क्रममा र ती बटुलिएका सामग्रीलाई छापाको अनुहार देखाउने काममा उनको धेरै नै पसिना बग्यो, धेरै रातको निद्रा बिथोलियो र गोजीका निकै नोट खर्च गरे । तर अधिकारी जोधाहा मानिस हुन्, एकोहोरा व्यक्ति हुन् र नेपाली साहित्यप्रति समग्र रूपले सर्वापक्ष सेवी हुन् । उनले मलाई सोधे ‘डाक्टर साहेब, अब म’ कुन महारथीको विशेषाङ्क निकालूँ ?’ अब पिँडाली बारे एक विशेषाङ्क निकालूँ कि जस्तो लाग्यो, डा. साहेबको राय यसमा के छ ? प्रश्न यस आशयको थियो । एकदमै उपयुक्त ! असी वर्ष पुगिसकेका वयोवृद्ध हास्यव्यङ्ग्यकारबारे यो काम हुनु अत्यन्त राम्रो ! यस आशयको राय डा. शर्माबाट प्राप्त भएथ्यो ।

‘पर्खनुहोस् न, थाक्नुभएन र ? सास त राम्ररी फेर्नुहोस् ।’
‘होइन, एउटा न एउटाको ननिकाली म त छाड्दै छाड्दिनँ ।’
जुका झैँ टाँसियो उनको जिद्दी ।
उसो भए केशवराज पिँडालीलाई नै मानमनितो गर्नुहोस् न त
मैले भनें ।

भन्न ता मैले भनें र उपयुक्त लेखककै नाम भने, तर बुमेर्‍याङ पर्‍यो मैमाथि, ‘डाक्टर साहेबले पिँडालीका निबन्धका विषयमा त केही लेखिदिनै पर्छ नि ।’

यो आग्रह, यो जिद्दी र पो लिसोटँसाई मापाको थियो । जुन साहसीले पञ्चायतकालका शैतानी शासनमा समेत नोकरीको र जीवनको कुनै प्रवाह नगरी विश्वेश्वरप्रसाद कोइरालालाई व्यक्तिगत रूपले सभामा बोलाई सुहाउँदो साहित्यिक सम्मान सहर्ष, सगर्व र सफलता साथ गरेका थिए तिनलाई सस्यानो सहयोगसम्म पनि नगर्नु लाजमर्दो हुने हुनाले म आज अवाक हुँदै यी दुईचार अक्षर कार्न उत्ताउलिएको छु ।

केशवराज पिँडालीलाई मैले धेरै अघि ‘खै खै’ मा चिनेको थिएँ । अरुभन्दा पनि म ‘खै खै’ शब्द पढेर हाँस्नसम्म हाँसेको थिएँ, किनभने मेरा ठनाइमा ‘खै खै’ अशुद्ध थियो र त्यसका ठाउँमा खोइखोइ हुनुपर्थ्याे । म इलाममा जन्मेको मान्छे हुनाले काठमाडौंली भाषिकालाई उति चिन्दिनथेँ र मन पनि पराउँदिनथेँ । ‘रहेछ’लाई ‘रेछ’, ‘भएछ’ लाई ‘भेछ’ र ‘लिएर आइज’ लाई लेरआ’ मात्र होइन ‘लप्सी’ लाई ‘लौसी’, ‘चोक्टा’ लाई ‘चौटा’, ‘रक्सी’ लाई ‘राैसी’ भन्ने र लेख्ने काठमाडौंवासीहरू ‘केटाकेटी’ लाई ‘लड्का लड्की’, ‘बालकहरू’ वा ‘नानीहरू’ लाई ‘बच्चा’ र ‘गुरु’ लाई ‘माड्साप’ जस्ता हाँस उठ्ता र विदेशी शब्द प्रयोग गर्दै भाँडिएका छन् भन्ने कुराको समेत मलाई सुइँको थिएन । जब म शुद्धताको अभिनयका क्रममा झर्रो नेपाली लिएर राजधानीमा उपस्थित भएको थिएँ । त्यस वेला पिँडाली त्यसत्ताकका प्रधानमन्त्रीका निजी सचिव थिए । हुन त पिँडाली साहू राम्रो नेपाली भाषा लेख्छन् तापनि उनलाई झर्रो आन्दोलनप्रति समर्थन थिएन, रूचि थिएन र वास्तै पनि थिएन । विडम्वना के हो भने झर्रो भाषा लेख्ने, उखान र रमाइला भनाइले लेखाई सिँगार्न र नेपाली सांस्कृतिकताको अर्थबोधलाई रिठ्ठो नबिराई प्रकट गर्ने हाम्रा लेखकहरूको नाउँ भन्नुपर्दा केशवराज पिँडालीकै नाउँ च्वाट्ट आइहाल्छ । चित्ताकर्षक प्रस्तुतिमा पिँडालीसँग पौँठेजोरी खेल्न सक्ने को ?

पिँडाली प्रधानमन्त्रीका निजी सचिव थिए र म नोकरी खोज्दै हिँडेको भर्खर विश्वविद्यालयबाट निक्लेको काँचो युवक थिएँ । उनी स्थापित भइसकेका र नाउँ कमाइसकेका लेखक थिए र म भर्खर बोली फुटेको प्यारप्यारे ठिटो थिएँ । सबैभन्दा योग्य ठहरिएर पनि शिक्षकमा नछानिँदा न्याय खोज्न म भौतारिँदा भौतारिँदै पिँडालीका अगाडि उभिन पुगेँः “म प्रधानमन्त्रीलाई भेट्न चाहन्छु ।”

त्यतिबेला पिँडालीका कान गैँडाका छालाभन्दा पनि बाक्ला, बोधा र बज्रकठोर थिए । ठूला मान्छेको छाया पाएँ भन्ने मदले होला, ठूलै पद पड्काएँ भन्ने भ्रमले होला, अथवा मेरो भरासिल दुस्साहस देखेर होला, तीन तीन पल्ट आफ्नो इच्छा जाहेर गर्दा पनि उनका निर्दयी ओठ पटक्कै उघ्रेनन् । मलाई एउटा गीतको सम्झना भयो :

ढुङ्गो बोल्ला हजुर, बोल्दैन बैगुनी
कोक्याइसक्यो पिँडालु, बोल्दैन पिँडाली

म उज्यालो र खुला आकाश भएको इलाममा जन्मेर हुर्कोकाे युवक छरछिमेकीहरूका उदारताबाट संसारलाई हेर्न र बुझ्न घरवाट निक्लेको थिएँ । परदेश लागेर पनि म दार्जीलिङमा, काशीमा र पाटलीपुत्रमा स्वच्छन्द र स्वतन्त्र वातावरणमा बढेको थिएँ । एक्कासी झल्झलाउँदो, सुक्सुकाउँदो र हार्दिक संसारबाट म अँध्यारो, मैलो र हृदयहीन खाल्डामा हुत्तिन आइपुगेँछु ।

अनि मेरो अन्तरात्माको विद्रोह पूरै कोठा थर्काउँदै बोल्यो, “तपाईंका कान निकै बाक्ला रहेछन् । सुन्नुभएन ? म मेरा प्रधानमन्त्रीलाई भेट्न चाहन्छु ।”

पिँडाली पनि पाखे नै हुन्, सहरिया होइनन् । हुन त सहरिया हुन सहरमै जन्मिरहनुपर्दैन । गजुरी पिँडामा जन्मेका केशवराज लामिछाने हुन् वा बरबोटेमा जन्मिने तारानाथ भण्डारी हुन् ती दुवै आज आएर राजधानीमा थच्चिएका छन् र हुन सक्छ ‘सहरिया’ पदमा बढुवा भएका छन् । पाखे हुनाले एकछिन बाक्ला कानको अभिनय गरे पनि ‘बहिरो’ भन्ने खालको बाङ्गो भनाइले उनको छाती ने छेडेछः “सुन्दै छु, तपाईंको बकबक सुन्दै छु र छक्क पनि पर्दै छु । प्रधानमन्त्रीलाई भेट्छु रे ! तपाईंका गाउँको भुँडे मुखियालाई भेटे जस्तो सजिलो छ भन्ठान्नुहुन्छ कि क्या हो प्रधानमन्त्रीलाई भेट्न ? यहाँ तीन चार महिनादेखि आएका आयै छन् मान्छेहरू, पालो पर्खेका पर्खेकै छन् अनगिन्ती महत्वपूर्ण व्यक्तिहरू । त्यसै झ्वाट्ट पाउनेबित्तिकै प्रधानमन्त्रीजस्ता सर्वोच्च पदमा भएका व्यक्तिलाई भेट्छु रे !! जानुस्, बाटो तताउनुस्, प्रधानमन्त्रीलाई भेट्न त्यसै पाइन्छ ?”

“किन पाउँदिन म मेरा प्रधानमन्त्रीलाई भेट्न ? अहिलेका प्रधानमन्त्री राणा भएदेखि अथवा तोप र बन्दूकका भरमा सत्ता हत्याउने अत्याचारी भएदेखि सजिलै म भेट्न पाउँदिनथे, तर मेरा प्रधानमन्त्रीलाई जनताले छानेको हुनाले, मैले छानेको हुनाले म भेट्न पाउँछुः किन पाउँदिन हँ मेरा प्रधानमन्त्रीलाई भेट्न ?” म गर्जें, “ सुन्नुभो सचिवज्यू, कालले छाड्ला म मेरो ढिपी छाड्दिनँ, मेरो प्रधानमन्त्रीलाई आजै भेट्छु, भेटेरै छाड्छु ।”
“ठूलो स्वरले गर्जनु पर्दैन, भेट्न पाइँदैन । बडो चिच्याउँदो रेछ ।”

“चिच्याउने मात्र होइन, तपाईं जस्ता अनुत्तरदायी, अन्यायी र अत्याचारी सरकारी नोकरको सातो पनि म खाइदिन्छु र मैले मेरा प्रधानमन्त्रीलाई आजै भेट्न पाइनँ भने तपाईं जस्ताहरूलाई म कर्‍यामकर्‍याम चबाई पनि दिन्छु । म भोकाएको छु काम नपाएर म औधि नै भोकाएको छु ।”

डरलाग्दो रडाको सुनेर तारिणीप्रसाद कोइराला बाहिर आएः “पिँडालीजी, तपाईंले के गर्नुभयो उहाँलाई र उहाँ त्यसरी चित्त दुखाइरहनु भएको छ ?”

“हेर्नुस् न, प्रधानमन्त्रीलाई तुरुन्तै अहिले नै भेटाइदिईहाल रे हगे हग मुते काटुँला रे !” पिँडालीले थर्थर काम्दै भने ।

“तपाईंलाई त्यस्तो के जरुरी पर्‍यो प्रधानमन्त्रीलाई भेट्ने ?” तारिणीप्रसाद कोइरालाले मलाई सोधे ।

“यहीँ सेरिएर तुर्लुक्क पल्टे पनि म भेटाउने छैन ।” पिँडाली डुक्रे ।

“अन्तरवार्ताहरूमा पहिलो भएर पनि मैले काम पाइनँ; त्यसै हुनाले…”

मेरो बोली पूरा फुत्कन नपाउँदै दुईचार जना मानिसहरू भर्‍याङबाट तल ओर्लदै गरेको देखेर कोइरालाले भनेः ‘जानुहोस्, सान्दाइलाई भेट्ने मान्छेहरू ओर्ले । अब तपाईंको पालो…”

पिँडाली आफ्नो पराजयमा पानी पानी भए । म आफ्नो विजयमा पुलकित भएँ फुलेल भएँ ।

यो थियो २०१७ साल जेठको कुरो । अब त के के भइसक्यो, भइसक्यो, धेरै फेरबदल भइसक्यो । पिँडालीले ‘एकादेशकी महारानी’ लेखेर राणाकालको जिउँदोजाग्दो चित्र देखाइसके, ‘कान्छी डुइनीको चिठी’ लेखेर मुटु नै चोइट्याइदिसके र हास्यव्यङग्यमा मात्र होइन, उपन्यासमा समेत अमरत्व प्राप्त गरिसके । उनको हृदय जति भावुक हो उति नै एकोहोरो र कोमल पनि छ र त्यस्तो नमएको भए हाम्रो पहिलो भेटमै त्यस्तो खडाजङ्गी पर्ने थिएन । मनमा कपट पालेर मुखमा चिप्लो बोल्ने उनको बानी थिएन । उनी जे देख्थे, जे सोच्थे त्यही भन्थे, त्यही गर्थे । र त्यो इमान्दारी, त्यो निष्कपटता र त्यो सङ्लोपना जीवनभरि बोकेर उनी नेपाली साहित्यलाई महादानी कर्णले धन बाँडे झैँ निःशुल्क र धनुर्धारी अर्जुनले वाणवर्षा गरे झैँ अविरल योगदान गरिरहेका छन् ।

कृतघ्न नेपाली संसारले पिँडालीको निस्वार्थ, उदार र महान् सहित्यिक योगदानलाई कदर गरेन, गर्न जानेन । अरु अरु मुलुकमा भए पिँडालीको स्तरका उच्च साहित्यकारलाई आँखाको नानी बनाएर राख्ने थिए, राष्ट्रको रत्न मानेर सम्मान गर्ने थिए र गौरव र गरिमाको प्रतीक मानेर पूजा गर्ने थिए । तर साहित्यिक संस्कृति नभएको यो ठाउँ, बौद्धिक व्यवहार नबुझेको यो समाज र सभ्य, शिष्ट र सहृदय संस्कार नसिकेको यो मुलुक आफ्ना मनोरम मणिहरूलाई बाटबाटै मिल्काइरहेको छ, हेपिरहेको छ, सताइरहेको छ । यस्तै स्थिति भोगेर यही बौद्धिक प्रदूषणमा निसास्सिएर र ‘यथोचित’ पढ्दै सुदूर भविष्य कतै सप्रिहाल्ला कि भन्ने आशामा सास हिरिकहिरिक हुञ्जेल ‘शूरवीरहरूको नरक यात्रा’ रूपी नेपाली जीवनको अवसान पर्खनुपरिरहेछ ।

०००
सरस्वती नगर, चाबेल, काठमाडौं
‘उन्नयन’ १३, केशवराज पिँडाली विशेषाङ्क  (२०५०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म दाम्लो बाँध्दिनँ

म दाम्लो बाँध्दिनँ

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्छु

म दाम्लो बाँध्छु

डा. तारानाथ शर्मा
डाढो

डाढो

डा. तारानाथ शर्मा
गलबन्दीका भैरव अर्याल

गलबन्दीका भैरव अर्याल

डा. तारानाथ शर्मा
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x