साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म दाम्लो बाँध्दिनँ

मलाई मेरा मातापिताले करङ बन्धक राखेर किन पढाउँदै हुनुहुन्छ भने म शिक्षित भएर स्वदेश र स्वजातिको विकास स्वसंस्कृति र स्वधर्मको मर्यादा राखेर गर्न सकूँ ।

Nepal Telecom ad

डा. तारानाथ शर्मा :

मेरो प्यारो भाले बाछालाई म घरमा हुँदा आफैं दाम्लाले बाँध्दथेँ । तारे र कुथुरे गोरुहरूलाई पनि हामी दाम्लैले बाँध्दथ्यौँ । दिउँसो चराउन लाने फुर्सद नमिल्दा सिँगारी र सेती बाख्रीलाई पनि दाम्लैले टाट्नानेर बाँध्ने गरेको थियो । मेरो गाउँ, छरछिमेकका सबै जना आफ्ना पालेका पशुहरूलाई कि त सनपाट, कि त बाबियो, कि त चोयाका दाम्ला बाटेर बाँध्दछन् । यसभन्दा पर मलाई दाम्लाको महत्त्व थाहा थिएन ।

हिन्दुस्तानतर्फ घुमेर फर्कने छिमेकीहरू सबले मलाई दार्जिलिङको सुन्दरताको विषयमा लामालामा गफहरू छाँट्थे । तर उनीहरूले मलाई कहिल्यै दार्जिलिङको प्राकृतिक सौन्दर्यको विषयमा केही भनेनन्, किनभने छर्लङ्ग आकाश उघ्रेकाे दिन महालड्गुर पहाडको सेतो र त्यसको पल्लोपट्टि सगरमाथाको सर्वोच्च शिखर औ मकालुको सेताम्मे चुचुरोदेखि लिएर अनगन्ती सेता चुचुराहरू मेरो गाउँबाट देखिन्छन् । मालिङ्गो घारीमा पिपिरी बजाएर मृग समात्न वा मालिङ्गाका टुसा टिप्न जाँदा सबैले डरलाग्दा भालुहरू देखेका छन् । दियालोका हाँगाहरूले हाम्रोतिर बिजुलीबत्तीको काम दिन्छन् । त्यसर्थ प्रकृतिपुत्रहरू दार्जिलिङबाट देखिने कञ्चनजङ्घा, भिक्टोरिया छाँगो, कृत्रिम फूलबारी र बर्चहिलप्रति केही आकर्षण हुन्नथ्यो । सौभाग्यको कुरो हो । मलाई पिताज्यूले दार्जिलिङ पढ्न पठाउनु भयो । म लगनसाथ पढ्न थालेँ ।
००

उत्ताउलो दुनियाँ । विनम्रता र सद्भावनामा डढेलो लागेको । जता जान्छु उतै अपमानित हुन्छु । कान फुट्न लागे । कति सहूँ ? पशुलाई बाँध्ने दाम्लाले आफैलाई कसरी बाँधूँ ? एउटाले मात्तै हो र ? जसजसले मलाई चिने सबले त्यसै भन्छन् । अरूको त के कुरो ? दुई-चार दिनअघि मेरा एक जना अभिन्न मित्रले सम्म पनि मलाई एकान्तमा बोलाएर भने, “ताराजी, कलेजजीवन त स्वर्णमय हो । तपाईं किन उही सरलतामा सिकुटिनुहुन्छ ? नेकटाई बाँध्नुहोस् पत्लुनकोट लाउनुहोस् । कलेजियन भन्न पनि नसुहाउने पोसाक किन अझै लगाइरहनुहुन्छ ?” मैले उनलाई केवल यति भनेँ, “म गरिब छु, त्यो सब मलाई पुग्दैन ।” तर मेरो हृदयमा अरु रहस्य लुकेको छ, त्यो म यहाँ प्रकाश गर्छु ।

सँगैमा एकै जिल्लाबाट आएको साथी उपेन्द्रसित पनि मेरो झगडा भयो- यही दाम्लाको कुरो लिएर । अचेल उनी मसँग बोल्दैनन् । झगडाको सारांश यो हो- कलेजका छात्रछात्राहरू वनभात खान दुर्बिनडाँडा गएका थियौँ । सबै केटाहरूले हात्तीपाइले सुरुवाल र कोट लगाएका थिए अनि दाम्लाले धिच्राेमा टन्कारेका थिए । तर उपेन्द्र र मैले भने ढाकाको नेपाली टोपी, खाँडीका दौरासुरुवाल, कोट आदि मात्र लगाएका थियाैँ। ‘बल-डान्स्’ र ‘जलेम्बु-डान्स्’ भो, पाश्चात्य सङ्गीतको फोहरा छुट्याे , कोही बैजु भए- लतामङ्गेस्कर चार वटी थिए। त्यसपछि प्रेमालापहरू हुन थाले एकान्त वृक्षका फेदतिर । उपेन्द्र र म हिस्सियौँ । मलाई ता केही जस्तो लागेन जब रत्नाले “पाहाडे असभ्यसँग को मिल्छ ?” भनी, तर उपेन्द्रलाई पिर परेछ । उनले त्यसको केही दिनपछिदेखि नै दौरासुरुवाल लाएनन् ।

अलिक पछिको कुरो हो । भर्खर सियाएका दुइटा उनीका पत्लुनहरू देखाउँदै उपेन्द्रले मलाई भने, “कसो शर्माजी, पत्लुन नसियाउने ?”

मैले छोटो उत्तर दिएँ, “मेरा दौरासुरुवाल प्रशस्त छन् ।”

उनले उपेक्षापूर्वक भने, “यी छाला लगाउँदा अस्ति असभ्यको पद पाइयो । अझै नचेतेको ?”

मैले उत्तर दिएँ, “नेपाली साहित्यका ज्योतिस्वरूप कविशिरोमणि लेखनाथ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, प्रसिद्ध नाटककार सम, इतिहासकार ज्ञवाली, पद्यकार धरणीधर र ‘भारती’ का सुविज्ञ सम्पादक पारसमणि आदिले असभ्य भएर बस्न चाहनुभएको छ भने म पनि उहाँहरूलाई नै पछ्याउँछु ।”

उनले अन्कनाउँदै आफ्नो दुर्बलता र स्टाइलप्रेमको परिचय दिए, “कलेजमा टाई बाँध्ने केटाहरूको इज्जत छ, बल डान्समा टाई नलगाई भाग लिन पाइन्न, टाई लगाउनेलाई बाबुसाहेब भन्छन् !”

मैले भनेँ, “त्यस्तो फोस्रो इज्जत, परस्त्रीसँगको घृणित नाच र बाबुसाहेबको पदवी पनि त क्षणिक-दाम्लो बेरुञ्जेल मात्रका हुन् ।”

उनले थपे, “शर्माजी, तपाईं बुझ्नै हुन्न । सारा युरोपनिवासी र अमेरिकाका सभ्य व्यक्तिहरू नेकटाई लगाएर प्रसिद्ध छन् भने हामी किन पछि हट्ने ?”

मैले केही उत्तर दिइनँ । उत्निखेरै चन्दु मारवाडीकोमा कुद्दै गएर टाटेपाडो दाम्लो किनेर उनले ल्याएछन् । पल्लो घरमा बस्ने श्यामकुमार चटर्जीसँग गाँठो पार्न सिकेर आई मलाई भने, “म कस्तो देखिन्छु शर्माजी ?”

म पढ्दै थिएँ । झनक्क रिस उठचो, “कुइरेको चाहिँदो गुण सिक्न तपाईंलाई महाभारत लाग्छ तर कुगुणचाहिँ खुब ठाँटसाथ सिक्नुहुन्छ होइन ? ढ्याङ्ग्रा न झ्याम्टाकाे रिट्ठे झाँक्री ।”

उनले भने, “होइन, भन्नुस् न, म कस्तो देखिएँ ?”

मैले कडासाथ उनको ध्यान आकर्षित गरें, “भोलिदेखि परीक्षा सुरु छ, खोइ पढेको ?”

उनले रबाफसाथ प्रत्युत्तर दिए, “पोहोर म्याट्रिक ता नपढीकन फस्ट् डिभिजनमा पास गरें भने यस्तो नाथे … ।”

मलाई आश्चर्य लाग्यो । उनी परीक्षाको समयमा दुई घण्टा मात्तै सुत्थे । कस्तो अनर्थ ! यो दाम्लाकै प्रभाव हो । मैले सहन सकिनँ, उनलाई बुझाएँ, “दुईपैसे दाम्लाले कर्तव्यपथबाट विमुख पार्न सक्तो रहेछ !”
००

उनलाई साह्रै रिस उठ्यो दाम्लाको निन्दा सुनेर, तैपनि नम्र भएर भने, “भरे हुटेलमा बल-डान्स् छ ।”

गाँठो ! ठिक्क गाई बाँध्ने दाम्लाको जस्तो किल्किलेनेरको गाँठो । लोग्नेमान्छेले दुइटा गाँठा एकै ठाउँ कस्ता रहेछन् । औ स्वास्नीमानिस एउटा मात्र पातलो गाँठो पार्दा रहेछन् । ठिक त हो । गाईलाई पातलो गाँठोले अल्झाउन सक्छ औ गोरुलाई बलियो गाँठो चाहिन्छ । तर पशु र मानिसमा के फरक छ ?

यस दाम्लाको महत्त्व एक जना प्रसिद्ध अङ्ग्रेजलाई सोधेँ । उनले स्टाइलबाहेक यसलाई अरू केही महत्त्व दिएनन् । हुन पनि हो । दार्जिलिङमा युरोपको जस्तो हावापानी नभए पनि जाडो ता खुब हुन्छ । गल्फन नलगाई हिउँमा सकिंदैन । न्याना परिधानहरूले शरीरलाई गुम्स्याउनुपर्छ तर यस दाम्लाले के गर्छ ? न्यानो पार्छ भनूँ भने लगौटीजत्रो धरोले केही काम गर्ला जस्तो मलाई लाग्दैन । फेरि कमेजको कलरभित्रबाट कसिने दाम्लोले घाँटीमा के न्यानो पार्ला र ? त्यही दाम्लाको ओल्लाे पल्लो किनार कोटको कलरको छेउमा मफ्लर पनि लाउँछन् । यो अवश्य दाम्लाले जाडो नथेगेकाले गरेको हो । फेरि सुरुवाल अड्याउने ईंजारजस्तो कमेज अड्याउने ईंजार हो भनूँ भने टाँकहरूको के काम ? मेरो पनि त कमेज छ, तर त्यसलाई अड्याउन कुनै दाम्लाले बाँध्नु ता पर्दैन त । यस मान्छे बाँध्ने दाम्लाको वैज्ञानिक, धार्मिक, स्वास्थ्यसम्बन्धी केही महत्व छैन । तब यो दाम्लो किन बाँध्ने ?

मलाई एक दाम्लाभक्त सज्जनले भन्नुभयो, “भाइ । हामीलाई नीतिको बन्धनले बाँध्नुपर्छ । जङ्गलका पशुहरूलाई जस्तो छाडा छोड्नाले मानवले मानवको संहार गर्छ । सभ्यता र संस्कृति, धर्म र नीति सब खत्तम हुन्छन् ।”

मैले सोधेँ, “नीतिको बन्धन ता संस्कृति, धर्म र बन्धुत्वले पो बाँध्छन्- एक गज लामो धरो ता बाह्याडम्बर हो । दाम्लाले ता हामी काबुमा ल्याउने पशुहरूलाई पो बाँध्दछौँ । तब फेरि पशु र मानवमा के फरक भो ?”

उहाँले दुई मिनेट धुवाँमा गाम्भीर्यद्वारा प्राप्त गरेको विद्वता छाँट्नुभयो, “नानी, पशुहरूलाई सुनपाट, बाबियो, चोयो आदि खस्रा वस्तुहरूबाट बनाएका दाम्लाहरूले कीलामा उम्कन नपाउने गरी बाँध्छन् । तर हामी मान्छे हौँ । हामीलाई किलामा खस्रा दाम्लाले टन्कार्नुपर्दैन । तर हामीले सभ्यतापूर्वक मिहिन लुगाको नेकटाई बाँध्नुपर्छ ।”

मैले उहाँलाई बढ्ता प्रश्न गरिनँ तर्क गर्न पनि समयको दुरुपयोग ठानेँ । सोचेँ- पुँडीगाई दाम्लो छिनाएर टारबारीको लहलह पलाएको मकै खाँदा कस्ती देखिन्छे ? आधा बाँकी रहेको दाम्लो उसको घाँटीमा नेकटाई नै प्रतीत हुन्छ । दाम्लो टन्कार्ने सज्जनहरू नरिसाऊन् । बाँध्नु-नबाँध्नु आफ्नो इच्छामा निर्भर छ । धेरैले यसको सदुपयोग गरेका होलान् तर म अनभिज्ञ छु । यो नीतिको बन्धन चाहिँ होइन, किनभने उपेन्द्रले आजसम्म दसोटी एङ्लाेइन्डियन युवतीहरूसित प्रणयसम्बन्ध जोडिसके । उनको छेउमा रक्सीको गन्ध छुट्छ- कुनै वास्नाले मार्न नसक्ने दुर्गन्ध । उनी नराम्रो लतले परीक्षामा अनुत्तीर्ण पनि भए । आफ्नो सभ्यता र संस्कृतिबाट उनी च्यूत भएका छन् । यी यही दाम्लाको प्रभाव हो ।

मेरो स्पष्टीकरण यो हो । मलाई मेरा मातापिताले करङ बन्धक राखेर किन पढाउँदै हुनुहुन्छ भने म शिक्षित भएर स्वदेश र स्वजातिको विकास स्वसंस्कृति र स्वधर्मको मर्यादा राखेर गर्न सकूँ । म पढ्न आएको हुँ- मेरा मातापिता आधा पेट खाँदै हुनुहुन्छ । त्यस कारण म दाम्लो बाँध्दिनँ !

०००
१९५४ को थालनीतिर; दार्जिलिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्छु

म दाम्लो बाँध्छु

डा. तारानाथ शर्मा
डाढो

डाढो

डा. तारानाथ शर्मा
गलबन्दीका भैरव अर्याल

गलबन्दीका भैरव अर्याल

डा. तारानाथ शर्मा
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x