भोजराज रेग्मी ‘मुखाले’मनबहादुर भर्सेस् मनकुमारी
बिहे गर्नेताका जैसीगाउँका भैरे ज्योतिषीले मेरो र उसको चिना हेरेर यसो भनेको हिजैजस्तो लाग्छ । मेरै राशी भएकी चखेवीले हिजोआज तोरीको फूल देखाइरहेकी छ । बजिनीको बाउले भैरेलाई घुस ख्वाएको शङ्का लाग्यो मलाई ।

भोजराज रेग्मी ‘मुखाले’ :
“एस्ता लफङ्गाको लहैलहैमा लागेर आफ्नो एउटो लर्के जोवान पनि उसै घर्केरै जाने भो !”- एकाबिहानको टीट्यामको शुभ मुहूर्त पारेर मनकुमारीले झोँकदोहोरी शुरु गरी ।
“तेसरी हेपेर नबोल् है लुम्री , ऐले भेट्टाउलिस् नि फेरि !”- मनेले पोइ हुनुको पोज देखाउँदै सिँगौरी खेल्यो ।
“समीक्षा र सावित्रीहरूको फेला नपरेको डाम्नो ! चौबीसैघण्टा मोबाइलमा झुण्डिएर कार्जे चल्दैन बाबै ! स्वास्नी सुमर्न नसक्नेले किन फकाउनू नि ?”- मनकुमारी पनि के कम, सिङ सोझ्याउँदै पुच्छर ठाडो पारेर जाईलागी ।
उहिलै- बूढीको बगाल राखेर अनि इन्द्रको ऐस चाखेर बाह्र गाउँ कहलाएका मानेमुखियाको नाति मन्तरे काजीको छोरो पो हो त मने पनि, स्वास्नी जैरीसँग किन डराउँथ्यो ! तिहारको पटकाजस्तै पड्कियो- “अफर चल्या बेलाँ भोकाएकी बिरालीजस्ती थिई, म्याउँम्याउँ गर्थी । मयाँसँगै दशा मिसिएर आएछ र खानेमुखैको माझैमा गोबरको ढिस्कोजस्तो भुत्लेकोठी भएकी भुइँचम्पासँग लहसिएर फ्लाइङ्गम्यारेज गरियो । ऐले आएर कुकुरले पनि नपाएको दुःख पाइयो ।”
“उस् !! हेर, हेर फुर्ती । मैले हरियो बत्ती नदेखाइदेको भए रातो बत्ती हेरेरै तिम्रो जिन्दगी जानेथ्यो । लौरो टेक्ने उमेराँ भेट्टाएकी गलगाँडे सेबेनहेन्ड पनि तिम्रा लागि अप्सरा हुनेथिई । ऐले बडो फूर्ती लाउँछौ !”
“तैँले उसबेलाँ हरियो बत्ती देखाइरस र त ऐले मैले हरिया दाँत देखाएर जोरीपारी हँसाउन पाको छु । धन्ये छ मेरो भाग्गेलाई ।“- मैले आफ्नै पुर्पुरोमा ८४ औँ पटके मुड्की हानेँ ।
ओथारोबाट निस्केको पोथीझैँ फत्फताउँदै थिई, एकैछिनमा कालो चिया ल्याएर अगाडि ट्यास्स पारी – “लु, सुर्क्याइस्यो । हरिया दाँतलाई दुखै हुँदैन ।”
“एउटै राशी भएका कन्या र कुमारको प्रणयबन्धन हुँदा चखेवा-चखेवीको जोडीजस्तै उदाहरणीय हुनेछ । कामदेव र रतीको जस्तै पिरती बस्नेछ । एकार्काको प्रेम- गान गाउँने छन् ।”
बिहे गर्नेताका जैसीगाउँका भैरे ज्योतिषीले मेरो र उसको चिना हेरेर यसो भनेको हिजैजस्तो लाग्छ । मेरै राशी भएकी चखेवीले हिजोआज तोरीको फूल देखाइरहेकी छ । बजिनीको बाउले भैरेलाई घुस ख्वाएको शङ्का लाग्यो मलाई ।
“फेरि टोलाउन पो लागे त बुढा । चिया पनि सेलाएर कोकाकोला भैसक्यो होला ।”- मनकुमारीले पानी छम्केपछि पो झल्याँस्स भएँ छु म त ।
०००
पेप्सीकोला, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































