साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकाे सन्दर्भ तथा पिँडाली र अर्यालको तुलनात्मक लेखाजोखा

त्यति हुँदा हुँदै पनि नेपाली हास्यव्यङ्ग्यात्मक लेखनका क्षेत्रमा पिँडालीको निरन्तरता ज्यादा प्रशंसनीय रहेको प्रतीत हुन्छ । नेपाली साहित्यका इतिहासमा शायद पछिसम्मका तुलनीय हास्यव्यङ्ग्यका पनि अर्याल र पिँडाली नै हुनेछन् ।

Nepal Telecom ad

गोविन्दप्रसाद भट्टराई:

१. सिद्धान्तको समस्याः
नेपाली साहित्यमा हास्यव्यङ्ग्यको स्थिति त्यति स्पष्ट छैन । हुन त विधागत दृष्टिकोणले हेर्दा नेपाली काव्य-कविताको इतिहास सर्वाधिक प्राचीन देखिन्छ र त्यसको उठान र उत्थानसँगै हास्य र व्यङ्ग्यको धेरथोर मिश्रण तथा उपयोग भएको पाइन्छ तापनि त्यसको उपयोगको सार्थकता र सैद्धान्तिक आधार स्पष्ट रूपमा परिभाषित हुन बाँकी नै रहेको प्रतीत हुन्छ । त्यसो हुनाले मुख्य कारण पनि के देखिन्छ भने हास्य र व्यङ्ग्य स्वयंमा भिन्न तत्व हुन् वा एउटै तत्व हो ? हास्य र व्यङ्ग्य आफैमा एक पृथक् विधा हो कि, अन्य विधाहरूको परिपोषक तत्व मात्र ? कुनै पनि रचनाको अभीष्टसिद्धिका निम्ति हास्य वा व्यङ्ग्य महत्वपूर्ण साधन हो कि, स्वयंमा साध्य पनि ? अनि, कतै हास्य व्यङ्ग्य विधा विधाका रुपमा व्यवहृत हुनु र अधिकतर रुपमा चाहिँ कविता निबन्ध नाटक तथा कथाका विशेषतागत वैशिष्ट्यका रूपमा अयिनु यो अर्थ्याइनु जस्ता नाना भाँतिका अस्पष्टताका जञ्जालभित्र जेलिनाले नै नेपाली साहित्यमा हास्य व्यङ्ग्यको स्थिति स्पष्ट हुनु पर्ने आवश्यकता टड्कारो बन्न पुग्दछ । तर यिनै र यस्तै अस्पष्टताभित्र पनि एउटै मात्र स्पष्ट कुरा चाहि के देखिएको छ भने, हास्य मात्र भएर व्यङ्ग्यको अभाव हुँदा वा व्यङ्ग्य मात्र प्रखर भएर हास्य तिरोहित हुँदा समेत “हास्य-व्यङ्ग्य” शब्दको उल्लेख र उपयोग भने कुनै आनाकानी बेगर नै हुने गरेको पाइन्छ, र रुढ रूपमै हास्य र व्यङ्ग्य एक अर्काका अभावमा पनि एक-अर्काका परिपूरक नै बनेर प्रयुक्त भएको पाइन्छ ।

संस्कृत-काव्य शास्त्रहरूको आधार लिने हो भने- हास्य एक रस विशेष र व्यञ्जनावृत्तिद्वारा बोध गर्न सकिने विशिष्ट अर्थ व्यङ्ग्य हो भन्ने कुरा स्पष्ट हुन्छ । तसर्थ, हास्य रसास्वादन प्रक्रियाको एक प्रक्रिया र व्यङ्ग्य अर्थ बोध-प्रक्रिया अन्तर्गतको एक प्रक्रिया भन्ने बुझिन्छ, र यी दुईका बीच नेपालीमा प्रयोग हुने गरे जस्तो अभिन्न नाता पनि गाँसिएको अनुभव हुँदैन, परन्तु भिन्न प्रक्रियाका यी दुई प्रक्रियालाई एउटै गाँठामा गुजुल्ट्याएर नेपाली साहित्यका सन्दर्भमा बराबर प्रयोग भएको तथ्य विर्सन सकिन्न । तर, जहाँसम्म नेपाली साहित्यका प्रतिष्ठित हास्य व्यङ्ग्यधर्मी साहित्यकारहरूको सन्दर्भ छ-तिनीहरूका रचनामा हास्य नगण्य प्रायः र व्यङ्ग्यको प्रवलता देखिनु र त्यसको उपयोग विधागत सिद्धि र उपलब्धिका निम्ति विशेषतः उल्लेखनीय रहनु अत्यन्त महत्वपूर्ण विषय बन्न गएको छ ।

वास्तविकता जेसुकै भए तापनि व्यङ्ग्य आफैँमा एक विशेषता र हास्य चित्ताकर्षक हुने भएकाले यिनको उपयोग भिन्न भिन्न विधामा विशिष्ट शैली शिल्प विशेषका रूपमा हुँदै आएको वास्तविकता स्वीकार्न सकिन्छ । तसर्थ नेपाली साहित्यका सन्दर्भमा हास्य वा व्यङ्ग्य, हास्य र व्यङ्ग्य तथा हास्य पनि व्यङ्ग्य पनि आफैमा स्वतन्त्र विधा नभई अन्य विधाका विशेषक तत्व मात्र भएको कुरा स्पष्ट हुन आउँछ । त्यसै कारणले हास्य व्यङ्ग्यको कुनै न कुनै रूप र मात्रामा प्रत्येक जस्ता साहित्य स्रष्टाहरूले अङ्गीकार गर्दै आएको सत्य पनि हाम्रा सामु छँदै छ ।

पक्कै पनि हास्यव्यङ्ग्य एक विशिष्ट शिल्प हो, र जसकसैका लेखनीमा त्यसको सिद्धि वा सफलता अधिगत हुँदैन । नेपाली साहित्यका परिप्रेक्ष्यमा पनि हास्यव्यङ्ग्यको उपयोगका दृष्टिले विशिष्ट सफलता निकै पछिका साहित्यकारहरूले मात्र पाएका छन् । र आज आएर त रचनाको विशिष्टीकरणका खातिर हास्य-व्यङ्ग्य मीठो अचारका रूपमा समेत स्थापित हुन पुगेको छ । जे होस्, अपरिहार्य शिल्प बन्न पुगेको छ, र कतिपय लेखक-रचनाकारहरूको लक्ष्य कि वा साध्य पनि हास्य व्यङ्ग्य नै बन्न पुगेको यथार्थ पनि अब स्पष्ट हुँदै गएको छ ।

हास्य-व्यङ्ग्यको व्यापकता र सूक्ष्मता अनुसन्धेय विषय हुन सक्तछ, जहाँसम्म सर्सर्ती हेर्दा पाइने सत्यान्वेषणको प्रश्न छ- नेपाली साहित्यमा त्यस्को व्यापकता अत्यन्त परिपुष्ट गतिमा प्रवाहित भएको पाइन्छ । प्रायः प्रत्येक विधा- मा हास्य वा व्यङ्ग्यको प्रवेश भएको देखिन्छ, र रचनाको मृदुता, मनोहारिता र चिरस्वाप रसमयताका निम्ति त्यसको प्रवेश वा उपयोग अतीव सार्थक रहेको प्रतीत हुन्छ । त्यति हुँदा हुँदै पनि विचार वा भावको अधिक स्वतन्त्र विचरणका दृष्टिकोणले कविता र निबन्धका क्षेत्रमा हास्य वा व्यङ्ग्यको घनीभूत प्रभाव प्रायः महसुस गर्न सकिन्छ । त्यसो त पहिल्यै के भनी सकिएको छ भने, प्रत्येक विद्या नै हास्य र व्यङ्ग्यको स्पर्श नपाई अनुप्राणित वा प्रभावपूर्ण हुन नसक्ने स्थिति छ र कतिपय नाटकहरू त पूर्ण हास्य नाटकका रूपमै दर्शक पाठकको मन जित्न सफल रहेका छन् अनि त्यहाँनेर नै एउटा सुखद संयोगको चर्चा पनि उठाइहाल्नु जरूरी छ ।

त्यो के भने वि.स. १८५५ तिर शक्तिवल्लभ अर्यालले “हास्य कदम्वकम्” संस्कृत नाटकको रचना गरी स्वयंले नेपालीमा “हास्य-कदम्ब” नेपाली रूपान्तर प्रदान गरेको प्रसंग विशेष स्मरणीय हुन आउँछ र सिङ्गो कृतिगत रूपमा नेपाली गद्यआख्यानको जन्म नै हास्य-विशेषताबाट भएको तथ्य प्रस्तुत गर्न सकिन्छ । तर त्यति हुँदा हुँदै पनि चाहे हास्य-कदम्वको कुरा गरौँ चाहे भाजभोलि दिनहुँ प्रदर्शन गरिने सम्पूर्ण हास्य नाटकहरूको कुरा कोट्यायोँ- तिनमा हास्य-प्रधानता हुँदा हुँदै पनि ती अभिनयगत प्रविधिका दृष्टिकोणले मात्र हास्य बन्न पुगेका छन् र कति त केवल नाम मात्रका हास्य नाटक बन्न पुगेका छन् । कुराको निष्कर्ष के मात्र हो भने नाटकको क्षेत्र पनि हास्य व्यङ्ग्यको कडीभित्र पर्न सक्छ र हास्य व्यङ्ग्यको दायरा सोचे सम्झे जस्तै निकै वृहद् व्यापक रहेको कुरा मान्न सकिन्छ ।

अहिलेसम्म गरिएका गन्थनको सूत्ररूप प्रस्तुत गर्ने हो भने निम्न लिखित बूँदा नै निष्कर्ष बन्न सक्नेछन्-
क) नेपाली साहित्यका विविध विधामा हास्य वा व्यङ्ग्यको व्यापक उपयोग भएको छ,
ख) हास्य र व्यङ्ग्य एउटै विषय नभए तापनि एक अर्काका परिपूरकका रूपमा तिनको प्रयोग हुँदै आएको छ,
ग) हास्य वा व्यङ्ग्य स्वयंमा साध्य होइनन् र तिनको उपयोग विशिष्ट शिल्पका रूपमा गरिँदै आएको छ,
घ) अझै पनि हास्य व्यङ्ग्यका बारेमा नेपाली साहित्यशास्त्रमा सैद्धान्तिक अवधारणा स्पष्ट हुन बाँकी नै रहेको छ, र
ङ) नयाँ पुराना-साहित्य-स्रष्टाहरूले हास्य वा व्यङ्ग्यको सघन उपयोग गर्दा गर्दै पनि कतिपय नया परम्पराका स्रष्टाहरूले हास्य वा व्यङ्ग्यलाई रचनाको साध्य बनाउने प्रयास गरेका छन् ।

२. नेपाली रचनामा हास्य र व्यङ्ग्यको प्रवेश :
खस अपभ्रंशदेखि विभिन्न शिलापत्र ताम्रपत्रमा कुँदिदै वाङमयको अवस्थासम्म आइपुग्दा नेपाली भाषाले निकै घुम्ती पार गरिसकेको सहज अनुमान गर्न सकिन्छ । नेपाली साहित्यको इतिहास केलाउनेहरू भने पनि साहित्यिक सृजनाका रुपमा वीरकालीन कवितालाई नेपाली साहित्यको साहित्यिक आधारस्तम्भ स्वीकार्दै आएका छन् र त्यसै वस्तुसत्यमा आधारित भएर हामीहरूले पनि नेपाली रचनामा हास्य-व्यङ्ग्यको प्रवेशको चर्चा चलाउनु मनासिव हुने छ । त्यस अर्थमा साहित्यिक प्रयोगक्षेत्रको दृष्टिकोणबाट हेर्ने हो भने नेपाली रचनामा हास्यव्यङ्गयको प्रवेश वीरकालीन नेपाली कविताकै भाव वा भाषामा भइसकेको वास्तविकता स्पष्ट हुन जानेछ ।

श्री ५ पृथ्वीनारायण शाहको नेपाल एकीकरण-अभियानबाट अत्यन्त प्रभावित सुवानन्ददासले वीर-वन्दनाद्वारा नेपाली कविताको जहाँ श्रीगणेश गरे त्यहाँबाट हास्य वा व्यङ्ग्यकाे  नजानिँदो प्रवेश नेपाली साहित्यका फाँटमा शुरु भएको आभास पाइन्छ । उदाहरणकै रूपमा स्पष्ट गर्ने हो भने सुबानन्दको “पृथ्वीनारायण” कवितामा “गोकुल पुग्यो नुवाकोट कृष्ण अउतारी है- भन्ने उल्लेख भएको छ र पृथ्वीनारायण शाहलाई प्रशंसाको शिखरमा पुर्‍याउँदा पुर्‍याउँदै पनि “अउतारी” (अवतारी) को रूपमा चित्रित गरी किञ्चित् हास्य र गम्भीरतापूर्वक भित्री व्यङ्ग्य हुन पुगेको छ । यद्यपि सुवासनन्दको आशय त्यतापट्टि परिलक्षित भएको पाइन्न, परन्तु एउटा वीर नायकलाई रूप फेर्ने औतारोका रूपमा उभ्याइँदा नजानिँदो व्यङ्ग्य बन्न पुगेको छ र व्यवहारिक दृष्टिकोणले औतारी उपहास्य विषय समेत बन्ने गरेको छ । हास्य वा व्यङ्ग्य प्रस्तुतिको विशिष्टतामा स्वतः प्रवेश हुन सक्ने संभावना पनि अभिव्यक्त भएको छ ।

प्राथमिककालीन कविहरूकै क्रममा “साँढ्याको कवित्त” का कविले पनि वीरहरूको चरित र स्वभावलाई साँढेको चरित्रसँग प्रस्तुत गर्दै नानारङ्गी साँढेहरूको आपसी जुधाइलाई वीरहरूको लडाइसँग तुलना गरेका छन् र योद्धाहरूमा मानिसको बुद्धिभन्दा साँढे (पशु) को बहादुरी विद्यमान रहेको वास्तविकता बताएका छन्- यसको व्यङ्ग्यार्थ महत्वपूर्ण नै रहेको छ ।

वीरधाराका गुमानी पन्त हुन् कि निर्गुण सम्प्रदायका ज्ञानदिलदास हुन् चाहे आादिकवि भानुभक्त नै किन नहुन्-व्यङ्गयको प्रबलता प्रकट भएको छ । अभिप्रायपूर्वक कवितामा व्यङ्ग्य-विधान गर्ने प्राथमिक कालीन कविमा सन्त ज्ञानदिलदास नै पहिला हुन सम्भव छ । भानुभक्तसम्म आइपुग्दा त त्यसले राम्रो रूप प्रदर्शित गरेको छ । यस क्रममा शक्तिवल्लभले हास्य कदम्बको रचना गरेको प्रसङ्ग पहिले नै उल्लेख गरिसकिएको छ ।

माध्यमिककालीन कवि लेखकहरूले प्रायः श्रृङ्गारिक प्रवृत्तिमा गहिरो चासो देखाए तापनि कतिपय प्रतिभाहरूका रचनामा व्यङ्ग्यप्रतिको रुचि पनि प्रकट भएको पाइन्छ ।

आधुनिक कालमा कवि-लेखकहरूको साहित्यिक चास्तीका रूपमा व्यङ्गयले ठाउँ ओगटेको पाइन्छ र कविशिरोमणी लेखनाथ, महाकवि देवकोटा भीमनिधि तिवारी, भूपि शेरचन, केशवराज पिँडाली, भैरव अर्याल, वासुदेव शर्मा, कुलमणि देवकोटा, गोपालप्रसाद रिमाल, श्याम गोतामे, मोहनराज शर्मा, कृष्णचन्द्र सिंह प्रधान, अच्छा राई रसिक, रामकुमार पाँडे लगायतका कवि-लेखकहरू हास्य वा व्यङ्ग्यको प्राधान्य सहित कतिपय सफल रचना प्रस्तुत गर्न सक्षम रहेका छन् ।

यस छलफलबाट के कुरा स्पष्ट हुन्छ भने कुनै कवि आाफ्ना कवितामा, कुनै निबन्धकार आपना निबन्धमा र कुनै कथाकार आफ्ना कथामा हास्यव्यङ्ग्यको सफल उपस्थितिका आधारबाट साहित्यिक शिखरतर्फ अभिमुख रहेका छन् र के नयाँ के पुराना सबैथरी रचनाकारहरू हास्यव्यङ्ग्यप्रति आकर्षित भएका छन् ।

३. हास्य-व्यङ्ग्य लेखनको उद्देश्य
कुनै कसैका कमी-कमजोरी र खोटहरूलाई उदाङ्गो पाएँ तिनप्रति खिसी-टिउरी गर्नुनै बास्तवमा व्यङ्ग्य गर्नु हो । विशेषतः सामाजिक दायित्व बोकेका र समाजको व्यापक पक्षलाई प्रभावित गर्ने त्रुटिपूर्ण तत्वहरूको राम्रो छानबिन गरी तिनको सुधारका निम्ति घोचपेच छेडछाड गर्नु र तिनका गलत पक्षलाई सुधार्नु- कुनै पनि व्यङ्ग्यकर्मी प्रतिभाको मुख्य उद्देश्य रहेको हुन्छ । त्यसका निम्ति वस्तु वा विषयको चयनदेखि लिएर त्यसले पार्ने सामाजिक असरसम्मको ठोस पहिचान नगरी व्यङ्ग्य गर्न कठिन हुन्छ र गरिहाले पनि त्यति प्रभावशाली र पूर्ण हुन सक्दैन ।

समाजका विविध-पक्षमा व्यङ्ग्य गर्न लायक विषयहरू विद्यमान रहेका हुन्छन् । साँस्कृतिक, शैक्षिक, राजनीतिक,  आर्थिक, धार्मिक, व्यापारिक तथा प्रशासनिक क्षेत्रलगायतका प्रत्येक क्षेत्रमा व्यङ्ग्ययोग्य विषय रहेका हुन्छन् । र राष्ट्रिय-अन्तर्राष्ट्रिय स्थिति-परिस्थिति, मूल्य-मान्यता र घटनाक्रमहरू व्यङ्ग्ययका निम्ति विशेष उत्पादक हुने गर्दछन् । कुनै पनि सफल व्यङ्ग्यकारले विषयको रोजाइदेखि त्यसमा प्रस्तुत गर्ने कलात्मक सूक्ष्मतासम्मलाई इमानदार पूर्वक प्रस्तुत गर्नु पर्ने हुन्छ । त्यसमा अश्लीलता र शिष्टताको सीमानित रहनु सर्वथा अपरिहार्य र अनिवार्य हुन्छ ।

निश्चित रूपले व्यङ्ग्य गर्ने कला विशिष्ट कला हो र सिकारु सर्जकले त्यसमा हम्मेसी सफलता प्राप्त गर्न कठिन हुन्छ । कसैको विद्वता देखेर हास्यको सिर्जना हुन संभव छ तर विद्वता बखानेर मात्र व्यङ्ग्य हुन सक्दैन, तसर्थ व्यङ्ग्यका सापेक्षतामा हास्य सिर्जना गर्नु कम्ती नै मान्न सकिन्छ । व्यङ्ग्यका सापेक्षतामा व्यङ्ग्यको स्तर पनि घटिबेसी हुन सक्तछ र भूपि शेरचन र भीमनिधि तिवारीका कवितामा व्यङ्ग्य मुख्य पक्ष हुँदा हुँदै पनि भूपीसँग तिवारी पराजित छन् र भैरव अर्याल तथा केशवराज पिँडालीका लेख-निबन्धमा व्यङ्ग्य मूल ध्येय हुँदा हुँदै पनि म अर्यालका सामु पिँडाली फीका र फितला रहेका छन् । तसर्थ एउटै धर्म निर्वाह गर्दा गर्दैै पनि जसले बढि कलात्मक बान्की दिनसक्दछ, त्यसैको रचना उच्चकोटिको व्यङ्ग्यरचनाका रूपमा दरिन पुग्दछ ।

४. हास्य व्यङ्ग्य र नेपाली मानसिकताः
हास्य वा व्यङ्ग्यका भाँति र स्तर भिन्न हुन सक्तछन् तर त्यस प्रतिको नेपाली मानसिकता अत्यन्त सकारात्मक रहिआएको पाइन्छ । त्यसो हुनाका अनेक कारणमध्ये ‘मनोरञ्जन’ प्रमुख कारण हुन सक्ला परन्तु अन्य कारणहरू पनि त्यससँग गाँसिन सक्तछन् ।

नेपालीहरूको साँस्कृतिक मान्यतासमेत हास्य व्यङ्ग्यसँग जोडिएको छ र गाईजात्राजस्ता पर्वहरू त्यसैको प्रामाणिक पुष्टि गर्दछन् । अन्य प्रकारका जात्रा, मेला, पर्वहरू पनि मनोरञ्जनका विषय हुने गर्छन् र कतिपय परम्पराहरू समेत मनोरञ्जनकै निम्ति लक्ष्यित हुने गरेका छन्- यी सम्पूर्ण कुराको जड के हो भने नेपाली मानसिकताले हाँसो, घोचपेच, छेडछाँड जस्ता प्रवृत्तिलाई सहजता साथ स्वीकार गरेको छ । त्यतापट्टि रूचि र प्रवृत्ति पनि छ र उत्साह पनि पर्याप्त छ । त्यसैको प्रतिफल हास्य-व्यङ्ग्य लेखन, प्रदर्शनले अन्य लेखन र प्रदर्शनका तुलनामा बढी नै सफलता पाएको महसुस गर्न सकिन्छ । यसका निम्ति विभिन्न संस्थागत तथा व्यक्तिगत प्रयासहरू पनि भएका पाइन्छन् । हास्यव्यङ्ग्यको समृद्ध परम्पराको विकासहेतु यस्ता प्रयासहरू सार्थक हुनेछन् ।

५. नेपालका केही समसामयिक व्यङ्ग्य-लेखकहरूः
साहित्यिक सन्दर्भमा व्यङ्ग्य-लेखनको पुरानो परम्परा स्पष्ट भइसकेकै छ । अधिक तर साहित्यकारहरू जसको चिनारी ठोस हास्यव्यङ्ग्यका फाँटमाभन्दा अरु नै फाँटमा स्थापित भएको छ, तिनीहरू पनि हास्य-व्यङ्ग्यप्रति कुनै न कुनै रूपमा आकृष्ट भएका छन् । तर यस सन्दर्भमा नेपाली सहित्यका समसामयिक परिप्रेक्ष्यमा हास्य-व्यङ्ग्य लेखनकै क्षेत्रमा विशेषतः उल्लेखनीय व्यक्तित्वहरूको उल्लेखसम्म गर्न खोजिएको हो ।

व्यङ्ग्य लेखनका दृष्टिले प्रतिष्ठाप्राप्त नेपाली लेखकहरूमा भैरव अर्यालको नाम शायद अग्रपंक्तिमा देखापर्दछ । केशवराज पिँडाली, रामकुमार पाँडे, मोहनराज शर्मा, श्रीधर खनाल, घटोत्कच शर्मा, श्याम गोतामे, नरेन्द्रराज पौडेल बासुदेव लुइँटेल प्रवृत्तिका लेखकहरू पनि व्यङ्ग्य-लेखनका दृष्टिले अग्रणी रहिआएका छन् । वास्तवमा आजभोलि व्यङ्ग्य चेतनाको विकासका निम्ति साप्ताहिक प्रकृतिका समाचार पत्रहरूको भूमिका पनि महत्वपूर्ण रहेको छ । जनार्दन आचार्य, गोविन्दप्रसाद भट्टराई, विष्णु प्रसाई, मुक्तिबन्धु लगायतका समसामयिक व्यङ्ग्य लेखकका साथै कतिपय साप्ताहिक पत्रपत्रिकाहरूमा व्यङ्ग्यात्मक टुक्राहरू रोचक स्तम्भका रूपमा समावेश गरिएका पाइन्छन् । यिनका अतिरिक्त विविध हास्य-व्यङ्ग्यप्रधान पत्रिकाहरूको योगदान पनि अविस्मरणीय नै मान्नुपर्दछ । साँस्कृतिक प्रदर्शनका क्रममा प्रस्तुत गरिने प्रहसन र नेपाल टेलिभिजन तथा रेडियो नेपालबाट प्रस्तुत गरिने व्यङ्ग्य विनोदी कार्यक्रमहरूको महत्वलाई यस प्रसङ्गमा उल्लेख गर्न सकिन्छ ।

यसरी कलाका क्षेत्रमा आजभोलि प्रसस्त हास्य-व्यङ्ग्यात्मक शैलीका कलाकारहरू जन्मिसकेका छन् र व्यङ्ग्याेचित्त – लेखनकै आधारबाट जीविकोपार्जन गर्ने प्रतिभाहरू पनि देखा परिसकेका छन् । परन्तु साहित्यिक उत्कृष्टता कलात्मक पारख र सभ्य-शिष्ट व्यङ्ग्यविधानका साथ साहित्यिक क्षेत्रमा व्यङ्ग्य-लेखनको पक्ष नितान्त क्षीण, दुर्वल र कमजोर हुँदै गएको महसुस गर्न सकिन्छ । साँच्चिकै भन्ने हो भने निष्ठापूर्वक हास्य व्यङ्ग्य लेखनको परम्परामा एक प्रकारले पूर्णविराम लागेको छ र साहित्यिक व्यङ्ग्य अब इतिहासको विषय बनेको छ ।

३. हास्यव्यङ्ग्यकार पिँडाली र अर्यालको तुलनात्मक मूल्याङ्कनः
त्यसो त हास्य-व्यङ्ग्यका क्षेत्रमा कलम चलाउनेहरू प्रशस्त देखिए, परन्तु व्यङ्ग्य नै मूल ध्येय भएका स्थापित प्रतिभाहरूमा केशवराज पिँडाली र भैरव अर्याल अत्यन्त चर्चित रहेर सम्भवतः त्यस दृष्टिकोणले तुलनायोग्य पात्र पनि ती दुई ने देखा परे । त्यसै आधारमा ती दुईको मोटामोटी तुलनात्मक मूल्याङ्कन गर्ने प्रयास गरिएको छ ।

जसरी हास्यव्यङ्ग्यको लोकबाट हटेर केशवराज पिँडाली उपन्यास लेखनतर्फ उन्मुख हुन्छन् त्यसरी नै भैरव अर्याल पनि कविता र समालोचनाका क्षेत्रमा प्रवेश गर्दछन्- परन्तु दुवैको साहित्यिक सौख भने नेपाली हास्य-व्यङ्ग्यकै क्षितिजमा उत्तरोत्तर रहेको छ र यस आधारमा यी दुई प्रतिभा नेपाली हास्यव्यङ्ग्य लेखनका उर्वर उपज हुन् भन्न सकिन्छ ।

उमेरले पिँडाली जेठा छन् र शायद अनुभवले पनि, परन्तु हास्य व्यङ्ग्य लेखनमा अर्याल यद्यपि पिँडालीभन्दा तीन बिसौनी उचाइमा रहेका छन् । त्यसो हुनाका अनेक तपसील हुन सक्लान् परन्तु लेखनाथले काव्य. भाषा प्रदान गरेझैँ भैरव अर्यालले विशिष्ट व्यङ्ग्यशैली प्रदान गरेका छन् र त्यही विशिष्टता अर्यालको सर्वस्व हो, उच्च मूल्याङ्कनको आधार हो ।

पिँडालीमा विषयवस्तु चयन गर्ने व्यापकता पाइन्न र प्रायः राजनीति केन्द्रित हुनु पनि पिँडालीको सीमा हो भने अर्याल त्यस दृष्टिकोणले पनि बाजी माथ गर्न खप्पिस छन् । समाजका बहुपक्षीय छेउपाटा चाहर्दै त्यहाँका विद्वता विषमता, विसङ्गति, विरोधाभास र बेढङ्गका चालचलन बानीवेहोरा आचार-विचार, अपचलनहरूको खुलस्त चित्र प्रस्तुत गर्दै कुरी-कुरी लगाएर रुञ्चे हाँसो पैदा गर्न अर्याल जति सशक्त र सबल देखिन्छन् पिँडालीमा केही न केही भद्दापन अल्छीलाग्दो गन्थन निजत्वको फाईंफुईं र उबड-खाबड प्रस्तुतिले फिकापन निम्त्याएको सहज अनुमान गर्न सकिन्छ ।

हुन त केशवराज पिँडाली पनि ‘खै-खै’ भित्र समेटिएका कतिपय कथात्मक निबन्धमा ज्यादा नै मार्मिकता पाइन्छ तर अर्यालका काउकुती, जयभुँडी, गलबन्दी, इतिश्रीभित्रका सबैजसो निबन्धहरूमा व्यङ्ग्य र हास्यको सन्तुलित छटा देख्न सकिन्छ । भनिन्छ, कतिपय निबन्ध लेखकहरूमा पिँडाली स्तरियता कायम गर्न चुकेका छन् तर अर्यालमा परिपक्वता झन् झन् झाङ्गिदै गएको छ ।

भाषा-शिल्पको अतुलनीयता नै सम्भवतः पिँडालीभन्दा अर्यालको बहुमूल्य सम्पति हो । झर्रो र संस्कृतमथ भाषाको सहज तालमेल तथा अनुप्रासयुक्त पदविन्यास औँ वाग्धारा र वाकपद्धतिमूलक प्रस्तुतिले अर्यालका निबन्धमा सहज संवेद्यता, रसमयता व्यङ्ग्य कौशलको बेजोड छनक र समष्टि प्रभावमा पूर्णताको अनुभव गर्न सकिन्छ भने पिँडालीका निबन्धमा चिटिक्कको छरितोपन र गूढ व्यङ्ग्यको अनुभूति उपलब्ध हुन कठिन छ । संक्षेपमा भन्दा अर्याल र पिँडालीमा व्यङ्ग्य सिर्जनाको स्थिति ती दुई हतियारको जस्तो छ, जसमध्ये एउटामा पाइन्दार धार लगाइएको छ र अर्को भने तसर्थ एउटाको व्यङ्ग्यले चटक्कै छिनाल्छ भने अर्काले बिसाउने घाउ मात्र लगाउँछ, दुवैको हास्यव्यङ्ग्यात्मक शक्ति सामर्थ्यको सीमा संभवतः त्यस्तै छ ।

अर्याल दिवंगत भइसके र पिँडाली अझ सृजनशील छन् परन्तु हल नमिलेका पिँडाली आफ्नो साहित्यिक विशिष्ट व्यङ्ग्यको भारी बिसाएर विचरा विमर्शको यथोचितमा प्रभावहीन गन्धनको जालो बुनिरहेछन् र विगतका अर्यालसँग वर्तमानका पिँडाली बारम्बार पराजित छन् । त्यति हुँदा हुँदै पनि नेपाली हास्यव्यङ्ग्यात्मक लेखनका क्षेत्रमा पिँडालीको निरन्तरता ज्यादा प्रशंसनीय रहेको प्रतीत हुन्छ । नेपाली साहित्यका इतिहासमा शायद पछिसम्मका तुलनीय हास्यव्यङ्ग्यकार पनि अर्याल र पिँडाली नै हुनेछन् ।

७. निर्क्याेल र निष्कर्ष
नेपाली साहित्यका सन्दर्भमा हास्य व्यङ्ग्यको परम्परा पुरानो छ र यद्यपि त्यस क्षेत्रमा नयाँ पुराना प्रतिभाहरू आ-आफ्ना गच्छेअनुसार क्रियाशील छन् परन्तु अर्याल र पिँडालीको स्थायी मानक स्थापित भएको अनुभव हुन्छ । सैद्धान्तिक अवधारणाको स्पष्टीकरणी अभाव रहेका परिप्रेक्षमा नेपाली साहित्यका सन्दर्भमा हास्यव्यङ्ग्यको शास्त्र बन्नु पर्ने खाँचो महसुस हुन्छ र त्यस क्षेत्रको उत्तरोत्तर उन्नतिका निम्ति सक्रिय संस्थागत प्रयासहरू हुनुपर्ने तथ्य अवगत हुन आउँछ । नयाँ नयाँ प्रतिभा, प्रकाशन र अवसरहरूको रमझमबीच नेपाली हास्यव्यङ्ग्यको भविष्यप्रति आशावादी हुन सकिन्छ ।

सन्दर्भ – सामग्रीहरू

१. अधिकारी, अच्युतरमण, विवेचनै-विवेचना (२०४६) उन्नत प्रकाशन, काठमाडौं ।
२. उपाध्याय, केशवप्रसाद, साहित्यप्रकाश (२०३४) साझा प्रकाशन, काठमाडौं ।
३. दीक्षित, कमलमणि, (सं.) बुईगल (२०३४) साझा प्रकाशन, काठमाडौं ।
४. शर्मा, तारानाथ, ने. साहित्यको ऐतिहासिक परिचय (२०२९) सहयोगी प्रकाशन, काठमाडौँ ।
५. श्रेष्ठ डा. दयाराम, नेपाली साहित्यका केही पृष्ठहरू (२०४१) साझा प्रकाशन, काठमाडौं ।
६. शर्मा, देवी, अनुसन्धान र समीक्षा (२०४५) नेपाली नारी साहित्य सेवा केन्द्र, काठमाडौं ।
७. अधिकारी, रामलाल, नेपाली निबन्ध यात्रा (सन १९७५) नेपाली साहित्य संचयिका दार्जिलिङ
८. पाण्डे, ज्योति, भैरव अर्यालको व्यक्तित्व र रचनात्मकता नेपाली स्नातकोत्तर अनुसन्धान पत्र (२०३६) अप्रकाशित
९. माथुर डा. कैलाशचन्द्र, पश्चिमी निबन्ध कला (ई. सन् १९७० ) हिन्दी समिति सूचना विभाग यू.पी. भारत

०००
‘उन्नयन’ १३, केशवराज पिँडाली विशेषाङ्क (२०५०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x