साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटुले घर र पिँडाली बा

नेपाली हास्यव्यङ्ग्य लेखनमा धेरै अवतारहरू यस धर्तीमा देखापरे तर अब्बलताको दृष्टिले अर्याल, पिंडाली र जीवित पाँडे बाको योगदानलाई कहिल्यै बिर्सन सकिन्न ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

नेपाली हास्यव्यङ्ग्य क्षेत्रका सबैका बा पिँडाली बाको आज जन्म दिन भएकोले हास्यव्यङ्ग्य लेखनका सगरमाथा केशवराज पिडालीका बारेमा थोरै भए पनि लेखौँ भन्ने जोश चलेर यो चिसोमा हातका औँलालाई ल्यापटपको कि बोर्डमा चलायमान बनाउँदै छु ।

मैले केशवराज पिँडाली बालाई काठमाडौँको डिल्लीबजार स्थित बाटुलेघरमा पहिलो पटक भेट्ने अवसर पाएको थिएँ । सायद २०४८ सालतिरको कुरा हुनु पर्छ । हरिहर विरही प्रधान सम्पादक रहेको पत्रिका साप्ताहिक विमर्शको कार्यालय त्यतिबेला त्यही बाटुले घरमा थियो । म पनि हरिहर विरही दाइसँग भेटघाट गर्ने क्रममा गएको थिएँ । त्यहाँ पुग्दा मैले जनकपुर स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका तत्कालिन उप प्राध्यापक तथा नेपाली विषयका गुरु आदरणीय नारायण घिमिरे सरलाई, हरिहर दाइ र केशवराज पिंडाली बालाई पनि साप्ताहिक विमर्शकै कार्यालयमा बसेर गफ गरिरहेको भेटेँ ।

नारायण सरले देख्ने बित्तिकै ओ हो माधवजी, कता आउनु भो भनेर सोध्नु भयो । मसँग हरिहर दाइ र पिँडाली बासँगको चिनाजानी पनि त्यही दिन भएको हो । म विमर्शको कार्यालयमा पुग्दा हरिहर दाइ र नारायण सर गफ गर्दै हुनुहुन्थ्यो । पिँडाली बा पल्लो छेउको कुर्सीमा गफको भेउ नपाए झैँ गरी हिस्स परेर फिस्स हाँस्दै ङिच्च दन्तलहरी टल्काउँदै बस्नु भएको थियो । मैले नारायण सरलाई देख्ने बित्तिकै नमस्कार गरेँ । नारायण सरले बसौँ भन्नु भयो र उहाँले नै सबैभन्दा पहिले पिँडाली बासँग परिचय गराउनु भयो र त्यसपछि हरिहर दाइसँग । मैले पनि आफ्नो परिचय दिएँ । त्यतिबेला मेरो साहित्यिक उपनाम माधव पोखरेल निराशी लेख्थेँ । पछि २०६७ सालमा रामकुमार पाँडे सरसँग भेट भएपछि मलाई पाँडे सरले तपाईं जस्तो लेखनमा उत्साहित मान्छेले निराशी उपनाम राखेको सुहाएन भन्दै गोज्याङ्ग्रे उपनाम राखिदिनु भयो र त्यही नामले आजसम्म लेख्दै छु र परिचित पनि भएको छु ।

मैले पिँडाली बासँग परिचय दिने क्रममा माधव पोखरेल निराशी भनेपछि बाले कता कता पढेको नाम हो भन्नु भयो र नारायण सरले उहाँ लेख्ने गर्नु हुन्छ पत्रपत्रिकामा, उहाँका लेखहरू आइरहन्छ भन्नु भयो । पिँडाली बा खुशी हुनु भयो र लौ बधाई छ तर हाई हाई गरेर नबस्नु भन्नु भयो । अनि मलाई सोध्नु भयो- लेखनको विषयचाहिँ कुन विधालाई बनाउनु भएको छ ? मैले निबन्ध कथा कविता भने । उहाँले निबन्धभित्र हास्यव्यङ्ग्य पनि पर्छ कतिको रुचि छ ? भन्नुभयो । रुचि त छ लेख्ने प्रयास गर्देछु भने । तपाइँ हास्यव्यङ्ग्य लेख साप्ताहिक विमर्शका लागि पठाउनु भन्नु भयो ।

मेले पिंडाली बालाई भेट्दा उहाँको शरीर पातलो विभिन्न रोगले थला पारे जस्तो थियो । हिस्स परेको अनुहारमा ङिच्च दाँत देखिदा अनुहार पनि हिस्स परेको देखिन्थ्यो । सायद उहाँको अनुहारमा कताकता पीडा झल्कन्थ्यो र पीडा लुकाएर बोले झैँ लाग्थ्यो । चुरोट तान्ने उहाँको बानी रहेछ । झ्यालतिर फर्केर चुरोट सल्काएर धुँवा बाहिर फाल्दा उहाँको अनुहारमा पीडाको आभास देखिन्थ्यो । बाले मसँग हास्यव्यङ्ग्य लेखनका बारेमा गफ गर्नु भयो । मलाई उहाँका रसिला हँसिला र कसिला कुराहरु सुनिरहन मन लाग्यो । करीब आधाघण्टा उहाँको गफ सुनेपछि म त्यहाँबाट निस्किएँ । मलाई अन्यत्र जानु थियो ।

पिँडाली बासँग मेरो पहिलो र अन्तिम भेट नै त्यही भयो । त्यो भेटपछि पनि धेरै पटक काठमाडौं गइयो तर उहाँसँग भेट्ने इच्छा हुँदाहुँदै पनि समयाभावले भनौ वा अन्य कारणले गर्दा भेट हुन सकेन । छोटो समयको भेट भए पनि म उहाँको फिस्स परेको अनुहारमा टल्किने ङिच्च परेका दाँत, चाउरी परेको गालामा हिस्स परेको अनुहार अझै पनि सम्झिरहेको छु । यो सम्झना म जीवनभरी बिर्सन्न जस्तो लाग्छ ।

अर्को कुरा के भने हास्यव्यङ्ग्य लेख्न बस्दा मलाई सबैभन्दा पहिले भैरव अर्याल र पिँंडाली बाको याद आउँछ । किनभने उहाँहरुले लेखेको पुस्तक अध्ययनबाट नै म हास्यव्यङ्ग्य लेखनमा वामे सरेको हुँ, पाइला चालेको हुँ । उहाँहरूकै पदचाप पच्छ्याउँदै छु अहिलेसम्म । नेपाली हास्यव्यङ्ग्य लेखनमा धेरै अवतारहरू यस धर्तीमा देखापरे तर अब्बलताको दृष्टिले अर्याल, पिंडाली र जीवित पाँडे बाको योगदानलाई कहिल्यै बिर्सन सकिन्न ।

हास्यव्यङ्ग्य लेखनमा लागेका सबैका लागि गुरु बाका रुपमा पिँडाली बालाई मानेका कारण पनि उहाँप्रति श्रद्धाका पुष्प गुच्छासहित भावपूणर् श्रद्धाञ्जली व्यक्त गर्दछु । अहिले उहाँको देह छैन तर नाम छ यसैमा हामीले गौरव गर्नु पर्ने रहेछ र उहाँको नामले लाखौँ वर्षसम्म पनि अमरत्व प्राप्त गरिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x