माधव पोखरेल गोज्याङ्ग्रेझुसे दाह्रीको श्याम कहानी
तर एउटा कुरा के भने म ब्रह्मचारीको नाति भएकोले पुर्खाको बिडो थाम्नका लागि भए पनि चिउँडोमा मात्र भए पनि दाह्री पालेको छु भन्ने घमण्ड मैले पालेको थिएँ । मलजल नपुगेर हो वा खै किन हो दाह्रीको बारी पाखाभरी भने विस्तार हुन सकेन ।

माधव पोखरेल गोज्याङ्ग्रे :
दाह्री देख्ने बित्तिकै तर्सने स्वभाव भएका मानिसहरूका अगाडि मेरो इतिहास कोट्याउनु नै बेकार छ । इतिहास बनेर चिउडो र गालामा जिङ्ग्रिङ उभिएको मेरो झुसे दाह्रीले वास्तवमा आफ्रनै अनुहार बिगारेको समेत मलाई थाहा थिएन ।दाह्री नपाल्दा मलाई हेलो भनेर हात मिलाउन आउने जनमजमतै चिल्ला गाला भएकाहरूले दाह्री पाल्न थालेपछि त चिन्नै नसकेर होला बोलाउनै छाडे ।
सधैँ बोलाइरहने मित्रिनीहरूले बेवास्ता गर्न थालेपछि मलाई मेरो दाह्रीदेखि रिस उठेर आयो । ऐना हेरेँ दाह्री त तिल चामलै भएको रहेछ । त्यसैले रुसी वामपन्थी नेता भलदमिर लेनिनको जस्तो चिउँडोमा मत्र सीमित मेरो झुसे दाह्रीले कुनै दर्जा पाउनु तपरै जाओस् अपजसमात्र पाएकोमा मलाई साह्रै झोँक चल्यो र जे पर्ला पर्ला भनेर खौरने निणर्य गरे । तर दाह्री काट्ने औजार थिएन । खल्ती छामे सुको रहेनछ । पुनः ऐना हेरेँ आफ्नो दाह्री आफैँलाई खोलाको ढुङ्गामा पलाएको झ्याउ झैँ लाग्यो । लौ भएन वा भन्ने सोची अलि राम्रोदेखिन्छु कि भनेर आागनमा भएको मेहन्दीको पात टिपटाप पारेँ र पिपास गरेर गालामा दले । दुईचार दिन त रहर लाग्दो भएर टल्कियो मेरो झुसे दाह्री ।
दाह्री टल्केको देखेर केही दाह्री नहुनेहरू केही समय त पल्किए पनि तर मैले पल्किनेलाई फन्किने बनाएर फेरी मतिर नफर्कने बनाएका कारण केही दिन त हाइसञ्चो नै भयो । तर कलेजमा विभिन्न नलेज र भिलेजका मान्छीहरूको भिडभाँडमा बस्नु पर्ने भएकोले मेरो दाह्रीले प्रशंसामा रुमलिने अवसर के पाएको थियो बाहिर सेतो र भित्र कालो भएर दाह्रीले बहुरुपी रुप लियो । मैले फेरी चिउडोमा मात्र सिमीत झुसे दाह्रीलाई बारी रुपी गालाबाट हटाए तर केही दिनपछि फेरी उस्तै भएर दाह्रीले मेरो गालामा विना विऊ र गोडमेल नै झाङ्गिने अवसर पायो ।
एकदिनको कुरो हो मैले एकाबिहानै खै कस्को अनुहार देखेछु कुन्नि दिनभरि नै मलाई दाह्री पालेको देखेर जिस्क्याउनेहरूको भिड लागिरह्यो । दाह्रीका बारेमा तिखा व्यङ्ग्यवाण प्रहार भइरहे । मेरो दाह्री देखेर ईष्र्या गर्नेहरू धेरै जसो दाह्रीविहीन भएकोले कतिपयलाई त मैले दुवै गालाभरि दाह्री दलिदिने धम्की समेत दिएँ । तर पनि मेरो झुसे दाह्री उनीहरूको निम्ति मनोरञ्जन गर्ने साधनमात्र बन्यो । राम्रो छ भनेर मुसुक्क मुस्कराई दिएपछि मरिसाएर पो के हुन्थ्यो र !
मेरो झुसे दाह्रीका बारेमा बिस्तारै गाउँमा र वरपर हल्ला फिँजियो । ठूलाबडा भनाउँदाहरू पनि हेर्न आए । मसँग काम लिएर आउनेहरू कतिपय त मलाई चिन्न नसकेर नबोलाई फर्कन्थे भने कतिपय चिनेचिने जस्तो गर्थे र परिचय माग्दथे । एकदिन आफ्नी नजिककी महिला साथीले भनौँ वा मित्रिनीले सरासर म नजिकै आएर माधवजी भनिन् म झसङ्ग भए । उनले मेरो अनुहारतिर हेरेर ए माधवजी होइन पो रहेछ, मलाई उस्तै लागेर बोलाए भनिन् र लाज मान्दै फर्केर जान खोजिन् ।
मैले हार्दिकता पुर्वक उनीसँग माफी माग्दै म माधव नै हुँ भने । मेरो झुसे दाह्रीको अवलोकन गरी मन्द मुस्कान छर्दै भनिन् ए म त छक्कै परे । म ट्वाल्ल परेर उनीतिर हेरिहेको थिएँ । उनले कति राम्रो सुहाएको दाह्री भन्दै मेरो गालामा प्रोभावको थप्पड हानिन् । र पुनः मन्द मुस्कान छर्दै दाह्रीको प्रशंसा गरिन । म निरुत्तर भएर उनको अनुहारतिर एकोहोरो हेरिरहे ।
यसपछि मैले दाह्री काट्ने विचार त्यागे । तर मेरो दाह्री प्रति ईष्र्या गर्नेहरू मध्ये केहीले सलाई कोरेर लगाई दिन्छु भने, केहीले खल्तीमा पैसा नभएर दाह्री नकाटेको होला भने । केहीले दाह्री काट्न ब्लेड किनिदिन्छु भने केहीले मेरो दाह्री समातेर उखालिदिन्छु भने । केहीले मलाई घिसारेर लौवाको सैलुनसम्म पनि पुर्याए तर मैले दाह्री काटिनँ ।
त्यतिमात्र कहाँ होर एकदिन पुर्वमन्त्रीले भाइ लेनिन बन्न लाग्या हो कि कसो हो ? भनेर जिस्क्याए । आफूभन्दा ठूला मान्छेलाई के जवाफ दिनु म रनभुल्लमा परेँ र भने के गर्नु हजुर कति नेताले मात्र दाह्री पाल्ने त उनीहरूलाई पालो दिन मैले दाह्री पालेको भनेँ । नेताजी केही नबोली हाँस्दै बाटो लागे । अरुभन्दा पनि मलाई के उदेक लाग्यो भने आखिरी दाह्री मेरो गालामा र चिउँडोमा छ त्यसले अरुलाई किन घोचेको र बिझाएको त, मैले यस बारेमा केही बुझ्न सकिन । सोधौँ भने कसेले जवाफ दिने हैनन् । बरू दाह्री पाल्नेलाई सोधौँ भने आफ्नो गोप्य कुरा खुस्किने डर । त्यसैले मैले यी कुराहरूलाई आफैँभित्र सिमीत राखेँ र अरुलाई भन्दै भनिनँ ।
केही दिनपछि एकाबिहानै मेरो कोठामा एक्कासी मेरो मित्रिनी आइन, म अलमल्मा परे । मैले बस्ने अनुमति दिनुभन्दा पहिले नै उनी मेरो ओछ्यानमा बस्न आइपुगिन् र मेरो दाह्री हातले सुमसुम्याउँदै कति रामे भनिन् । मलाई भने साह्रै अफ्ठ्यारो लागेर आयो । म बाहिर निस्केँ, उनी पनि बाहिर निस्किन् । चुलबुले स्वभावकी उनी मतिर आइन । म शौचालयतिर लागेपछि उनी फर्किएर कोठामै गइनँ । म कोठामा प्रवेश गर्दा उनी हातमा फूल लिएर उभिएकी थिइनँ ।
उनले आफ्नो हातको फूल मतिर बढाइनँ । म एकोहोरो लागेर उनीतिर हेरिरहेँ । मैले उनको हातको फूल समाउने आँट गरिनँ । उनले एउटा कागजको टुक्रामा हातको फूल राखेर कागजको टुक्रा मेरो ओछ्यानमा मिल्काएर बाहिर निस्किन । उनी बाहिर गएपछि त्यो कागजको टुक्रा टिपे र पढे । त्यसमा लेखिएको थियो,
मेरो हृदयका राजा
असिम प्यारका टुक्राहरू
तिम्रो दाह्रीले मेरो अन्तर आत्माभित्र झ्याङ्गिने अवसर पाएछ । गोडमेल गर्ने मौका दिएँ म सदा तिम्रो दाह्रीको माली भएर सेवा गर्ने थिएँ र अन्त्यमा मेरो भावनाको कदर गर्ने छौँ भन्ने आशा राखेकी छु ।
उही तिम्रो दाह्रीको सुसारे
चिल्लीमाया ।
उनले मिल्काएको कागजको टुक्रा पढेपछि मलाई उनीलाई पुनः एक पटक भेटौँ भेटौँ लाग्यो । छट्पटीले घरि यता घरि उता गर्न थाले । उनको घर जाउँभने फेरी अर्को समस्या आइपर्ला भन्ठानेर गइनँ । बरू अलि चाँडै खाना खाएर घरबाट निस्के । बाटोमा उनको घर थियो । म उनको घर अगाडि पुग्न लाग्दा उनी घर बाहिर निस्केको देखेँ र त्यहीँ बेलामा उनलाई इशाराले बोलाएँ र म उनको प्रतिक्षामा केही परको चौतारीमा गउर बसेँ । तर खै किन हो उनी आइनन् । मेले निकै समयसम्म उनको बाटो हेरिरहेँ । तर उनी नआएपछि म त्यहाँबाट उठेर पुनः उनकै घरको बाटो हुँदै आफ्नो घरतर्फ लाग्ने क्रममा उनको घरमा पाँच सात जना मानिसहरू जम्मा भएको देखेँ । मलाई उनीसँग कसरी भेट्ने भन्ने योजना बनाउनेतर्फ दिमाग खियाउन मन लाग्यो र घरमा गएर घोरिएर सोच्न थालेँ ।
मैले एउटा उखान सम्झिएँ । दिँदा नखाने अनि राती उठेर कोल चाट्ने भन्ने बूढापाकाको उखानसँग मेल खाने मेरो व्यवहारले म आफेँ थन्किएको महसुस गरेँ । भनौँ मेले एउटा ठूलो गल्ती गरेको निष्कर्ष निकाले । मेरो त्यो गल्ती के थियो भने मैले दाह्री पाल्नु नै सबैभन्दा ठूलो गल्ती थियो किनभने मैरो दाह्री कसैका लागि प्रेम प्रस्तावको विषय बन्यो भने कसैकालागि इष्र्याको विषय पनि बन्यो । जसले गर्दा मैले नचाहँदा नचाहँदै पनि आफ्नो चिउँडोमा मात्र सीमित झुसे दाह्री काट्ने निधो गरे पनि काटी हाल्न भने मनले मानेन ।
साँझतिर यसो हावा खान भनेर घुम्न निस्केको थिएँ । बाटोमा उनीसँग जम्काभेट भयो । उनले अँध्यारो मुख लाएर भनिन् मैले बिहान तपाईंलाई एउटा कागजको टुक्रामा आफ्नो मनको भावना व्यक्त गरेको थिएँ । तर मैले आफैँले प्रस्ताव म आफैँ फिर्ता लिन्छु कृपया मलाई माफ गर्नु होला, किनभने आजै मेरो विवाहको कुरा छिनिएको छ । उनको कुरा सुनेर म छाँगाबाट खसे जस्तो भएँ र रुन्चे अनुहार लाएर तिलचामलै भएको झुसे दाह्री सुम्सुम्याउँदै पहिलो प्रेम प्रस्तावबाट हावाखाँदै घरतिर लागेँ ।
पुराना कुरा सम्झेर ल्याउँदा खपिनसक्नु हुन्छ । पुनः वैशालु उमेरमा फक्रिन मन लाग्छ तर त्यो समय, उमेर र वैश ब्रह्माजीले पुनः ल्याइदिने भए सायद यो संसारमा मानिस कोही पनि बुढो हुँदैनथ्यो होला । दाह्रीका बारेमा भएका टिकाटिप्पणी सम्झन्छु । एकजना साहित्यकार जो आफन्त पनि थिए उनले त गएको वसन्तमा प्रेमिकाको विवाह भएपछि विरक्त भएर दाह्री पालेको हो कि भने । मलाई अरु कुराले भन्दा यही कुराले पिरोली रह्यो । यतिमात्र होइन हरक्षण उनको अनुहार आँखा वरिपरी घुमिरह्यो ।
जीवनमा नराम्ररी हण्डर खान पाएकोमा सर्वप्रथमत हण्डर खुवाउनेलाई धन्यवाद दिनै पर्दछ । किनभने जीवनमा पहिलो पटक प्रेम प्रस्ताव लिएर आउने द्वारा नै सोही दिन अत्यन्त सौहार्दपूर्ण वातावरणमा र एकरति पनि अफ्ठ्यारो नमानिकन भित्री आत्मा खुसी भएर नै प्रस्ताव फिर्ता लिनु एउटा कठोर निणर्यमा नभएर साहसिक कदम पनि ठानेको छु मैले ।
जेजे भए पनि मैले नराम्ररी धोखा खाएको कुरा गाउँभरि फिँजिएछ । घरमा पनि थाहा भएछ । तर घरबाट भने त्यस्तो नराम्रो केही भएन । गाउँ घरमा भने जताततै मेरो र उनको कुरा मात्र सुन्थेँ म । हल्ला कसले कहाँबाट कसरी किन फिँजाए त्यो मलाई थाहा भएन र तिनका पछाडि लागेर म हिँडिनँ पनि ।
हुन त दाह्री साधु, सन्त, महन्त, जोगी, भोगी, रोगी, ब्रह्मचारी, नेता, अभिनेता लगायतका सबैले पालेको देखेको छु । तर ती सबैको दाह्रीको विशेषता फरक फरक छ, पाल्नुको उद्देश्य पनि फरक फरक नै हुनु पर्दछ । नेताले जनताका अगाडि आफूलाई जमाउन वा फूर्ति देखाउनका लागि भित्र झुर व्यवहार भए पनि बाहिर सिद्धान्त निष्ठ र आदर्शवादी व्यक्तित्वका रुपमा देखाउन चिनाउन केवल खोक्रो पनाका रुपमा दाह्री पालेको पाइन्छ । साधु सन्तको दाह्रीका बारेमा पनि साह्रै राम्रा र विश्वास लाग्दा अनि सिद्धान्तनिष्ठ कुराहरू सुन्न पाइन्न पनि । किनभने साधु सन्तहरूले पनि दाह्री पालेर समाजमा र देशमा गतिलो काम गरेको सुनिएको छैन । अपवादका रुपमा केहीले राम्रा काम गरेका छन् । तर ति राम्रा काम भन्दा बढी नराम्रा कामको प्रचार हुने भएकोले राम्रा काम ओझेलमा पर्ने गरेको छ । र दाह्री पालाहरूले समाज र देशका लागि गतिलो राम्रो काम गरेको भए दाह्री पाल्नुको अर्थ फरक तरिकाले लाग्थ्यो होला ।
कसैकसैले दाह्री केवल शरीरलाई भारी बनाउन पालेको पाइन्छ । फेरी मलाई प्रश्न गर्नु होला । अर्काको गालामा भएको दाह्री तँलाई के को भारी भयो ? भन्नु होला । भ्रमलाई भारी हुनु भन्दा पनि उसलाई कुरूपता नदेखियोस् भनेको हुँ । रुपवान र छरितो देखियोस् भन्ने चाहना हो मेरो । दाह्री पाल्नेलाई आफ्नो दाह्री राम्रो लाग्छ । म वा अरुलाई नराम्रो लागेर के पो गर्न सकिन्छ र ? अझ अरुले नै राम्रो सुहाएको छ भनिदियो भने दाह्री पाल्नेको नाक फुलेर लौका बन्छ भने मन फुलेर बेलुन बन्छ । अझ सारी लाउनेले समेत साह्रै राम्रो सुहाएको भनिदिएमा फुलेका मन डुल्न संसार पुग्छ । उसको भाउ बढेर अत्यन्त महँगो हुन्छ । एक दाह्री पालाले अर्को दाह्री पालाको दाह्री देख्यो भने ईर्ष्याले जल्छन र मनभित्र अनेक कुरा चल्छन् ।
मलाई भने आफ्नो दाह्रीले पीडा दिएको छ । अरुको भन्दा मेरो दाह्री थोरै र छोटो भएकोले फेरी तेरो त दाह्री नै छैन केको बखान भन्नु होला । तर मेरो दाह्री जे जस्तो भए पनि लामा लामा र वर्षौदेखि दाह्री पाल्नेको भन्दा पनि बढी दाह्रीका बारेमा बयान गर्ने आँट छ । एउटा कुरा के भने मैले झुसे दाह्री पाल्दा लिखा, चम्कना, ढाँडी जुम्राले कम दुःख दिएन । तर जुम्राकै कारण दाह्री छोटो पारेको भने होइन । दाह्री पाल्दा अपनाउनु पर्ने विधिभित्र अब म बाँधिन सक्तिनँ भने मैले दाह्री पाल्नुको के औचित्य रहन्छ र पाल्नु त ? सन्त, महन्त, नेता र ब्रह्मचारीको जस्तो दाह्री । तर एउटा कुरा के भने म ब्रह्मचारीको नाति भएकोले पुर्खाको बिडो थाम्नका लागि भए पनि चिउँडोमा मात्र भए पनि दाह्री पालेको छु भन्ने घमण्ड मैले पालेको थिएँ । मलजल नपुगेर हो वा खै किन हो दाह्रीको बारी पाखाभरी भने विस्तार हुन सकेन ।
अर्कोतर्फ मलाई दाह्रीले जीवनमा ठूलो धोखा दिएको र उनको विवाहको निम्तो पनि हातमा परेकोले आफ्नो दाह्री आफैँले उखेलेर आत्महत्या गरूँ जस्तो लागेथ्यो । तर यसो सोचे आत्महत्या त कायरले मात्र गर्ने कुरा हो भन्ठानेर त्यतातिर लागिनँ । आत्महत्याको विचार त्याग्नासाथ शरीरमा आलस्यता छायो । नुन खाएको कुखुरा झैँ लल्याक लुलुक भयो शरीर औचित्यहीन भए पनि दाह्री पाल्ने अठोट गरे कविता लेखेर ।
चिउँडोमा मात्र सिमीत
मेरो झुसे दाह्री
काटौँ भने माया लाग्छ
घोचे पनि चिलाए पनि
खै किन हो ?
झ्याउरे भएर नै
हिँड्न मन लाग्छ ।
०००
‘मुसालाई मुद्दा’ (२०६८)
Subscribe
Login
0 Comments
Oldest







































