साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्लु दिवस

जनताले भत्केको बाटो, पुल, स्कुल, अस्पताल बनाई देऊ भन्दा, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरामा मतको भार हेर्ने र कान नसुन्ने बहिरो सरकारले उल्लु दिवस नमनाए कसले मनाउने त सरकार ?

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

उल्लु अर्थात् लाटोकोसेरो दिवस भनौँ वा जन्म जयन्ती कस्तो होला ? उसले आफ्नो जन्म दिवस वा मृत्यृ पश्चात् जन्म जयन्ती कसरी मनाउँछ होला वा मरेको उल्लुले आफ्नो दिवस कसरी मनाउँछ होला ? घोरिएर एकातिरमात्र ट्वाल्ल परेर हेरिरहने लाटोकोसेरो उल्लु हो वा उल्लु भनेको अर्कै कुनै पंक्षी हो वा जनावर हो वा दुई खुट्टे कुनै प्राणी हो कि ? भन्ने जिज्ञासा धेरै जनामा छ । उल्लु र लाटोकोसेरोको बारेमा अनभिज्ञता प्रकट गर्नेहरू पनि हाम्रो समाजमा बग्रेल्ती होलान् ।

उल्लु वा लाटोकोसेरो कतिपयले देखेका पनि छैनन् होला तर नदेखे पनि देखेको भोगेको झैँ गरी कुरा गर्न अघि सर्ने पनि समाज मै होलान । जुन ठाउँमा रुखपात छैन जङ्गल छैन त्यो ठाउँमा उल्लु पाइने कुरा पनि भएन । अर्थात् मानव वस्तीमात्र भएको ठाउँमा हरियाली विना चराचुरुङ्गी पाउन सकिन्न भने उल्लु कहाँबाट देखिनु ।

हामी उल्लुलाई खोज्दा खोज्दा सधैँ आफैँ उल्लु बन्छौँ । हामीलाई समाजमा धेरैले धेरै पटक उल्लु बनाएका छन् । कतिपय समयमा त हामी आफ्नै कारणले पनि उल्लु बनेका छौँ । हो हामी त्यही उल्लु बनेको दिनलाई हामीले उल्लु दिवस मनाउँदा कसो होला ? उल्लु दिवस मनाउन उल्लु नै चाहिन्छ भन्ने छैन हामी पटक पटक उल्लु बनाइएका छौँ र भएका पनि छौँ । त्यही मध्ये कुनै दिनलाई वा उल्लु भएको प्रत्येक दिनलाई नै उल्लु दिवसका रूपमा मनाउँदा जीवनको महत्व र सार्थकता आफैले आफैँलाई बुझाउन सहज हुने भएकोले रमाइलो पनि हुन्छ ।

यो उल्लु दिवसका बारेमा लेख्ने यो कस्तो उल्लु रहेछ भन्नु होला हो म उल्लु नै भएकोले उल्लु दिवस मनाउने तरिकाका क्रममा यो लैख्दै छु । म आफैँ पनि गोज्याङ्ग्रे भएकोले गोज्याङ पारा नगरी उल्लु दिवस मनाउन पनि सकिदैन भनेर यो आँट गरेको हुँ । यतिमात्र होइन मैले आँट गरे भने म नमरीकन म आफ्नो मृत्यु दिवस पनि मनाउन सक्छु मृत्यु भोज खुवाउन सक्छु । तर ममा आँट हिम्मत र सामाजिक संस्कार चाहिन्छ । समाजले भनेको कुरालाई पचाउन सक्ने निर्लज्जता चाहिन्छ । तर यसबाट समाजले पनि केही कुरा सिक्न सक्छ ।

बढी कुरा किन गर्नु म उल्लुले उल्लु दिवस मनाउने आँट गरेकोले उल्लु दिवसकै बारेमा कुरा गर्दा राम्रो होला । म आफैँ उल्लु भएकोले मैले मेरै जन्म दिवसमा उल्लु दिवस मनाएको छु । बाहिरका उल्लुहरूलाई निमन्त्रणा नदिए पनि घरभित्रका उल्लुहरूको जमघटमा चुसुक्क परेको अनुहार लाएर टुसुक्क बसेर खुसुक्क उल्लु दिवस मनाउनुको मजा नै बेग्लै हुन्छ ।

आँखा चिम्लिएर गजधम्म भएर बसेपछि लाटो कोसेरो भनौँ वा उल्लु के भनौँ भइहालिँदो रहेछ । अरुले के कसो भन्छन भन्ने कुरालाई घाममा सुकाएर कुरा बुझ्दा उल्लु दिवस चतुरानन्दहरूले पनि मनाउँदा रहेछन् भन्ने कुराको भेउ मेरो लेउ लागेको दिमागले पत्ता लगाएको रहेछ । दिमागले नै मलाई उल्लु दिवस मनाउनु लक्ष्मी खुशी हुन्छिन् भनेकोले पनि मैले उल्लु दिवस मनाउने आँट गरेको हुँ । उल्लु अर्थात् लाटो कोसेरो लक्ष्मीको बाहन भएकोले लक्ष्मी कृपा आफूमाथि परिरहोस् भन्ने उद्देश्यले पनि मैले उल्लु दिवसलाई प्राथमिकतामा राखेर मनाउने सोच.बनाएको हुँ भन्ने उल्लु विचार यहाँ सबैका सामु प्रस्तुत गरेको हुँ ।

लक्ष्मी प्राय साँझका समयमा राति वा सबै सुतेपछि आउँछिन् भन्ने मान्यता अनुसार मैले पनि उल्लु दिवस लक्ष्मीलाई मन पर्ने समयमै मनाएको छु । लक्ष्मीले लाटोकोसेरो वा उल्लुलाई कसकसले तेरो दिवस मनाउँछन त्यो ख्याल राखेस् र तेरो दिवस मनाउनेहरूलाई मेरो तर्फबाट केही धन अनुदान दिने विचार गरेकीले सबै ख्याल गर्नु भनेर अह्राएको अवस्थामा मैले उल्लु दिवस मनाएको हुँ । सायद मेरो घरभन्दा करीब पाँचसय मिटर पर रहेको वनमा बस्ने उल्लुले यो चियाएर हेरेको हुनु पर्छ । नहेरेको भए उल्लु महोदयलाई यो लेख पढेर जानकारी लिनु हुन म अनुरोध गर्दछु ।

उल्लुलाई लक्ष्मीको व्यक्तिगत सहयोगी जसलाई हिजो आज पिए पनि भनिन्छ वा अङ्गरक्षक पनि भनिन्छ । यसो भनिरहँदा मैले उल्लुको मान हानी गरेको जस्तो अनुभव गरेको छु । किनभने त्यही उल्लुको सम्मान गरेर मैले आफैँलाई उल्लु झैँ मानेर उल्लु दिवस मनाए तर त्यही उल्लुको खैरो खनेको छु । गहिरो पाराले सोच्ने हो भने खैरो खन्ने होइन सम्मान गर्नु पर्ने हो । तर सम्मानका नाममा महोदयसम्म भन्न भ्याएको छु । मैले उल्लुलाई श्रीमान् पनि भनिनँ किनभने म पुरुष हुँ पुरुषको श्रीमान् हुँदैन । तर न्यायाधीशलाई श्रीमान् भन्ने चलन छ, उल्लु न्यायाधीश पनि होइन । माननीय भन्न पनि मिलेन किनभने उल्लु प्रदेश वा संघीय संसदको सदस्य पनि होइन वा अन्य कुनै सो सरहको पदमा पनि पुगेको छैन । तर पनि लक्ष्मी सबैकी पुज्य र माननीय देवीका रूपमा रहेकीले उल्लुलाई पनि सम्मान गर्नु पर्छ भावना अनुसार मान राख्ने हो । त्यही कारणले पनि उल्लु दिवस मनाउनु उचित ठानेर मैले आफ्नै जन्म दिवसलाई उल्लु दिवस भनेर मनाउने परम्पराको थालनी गरेको हुँ ।

यो उल्लुले यो के लेख्न लाग्यो भन्नु होला । जे देखे र भोगे आफैबाट शुरु गरे । सबैभन्दा पहिले मैले आफैँलाई उल्लु बनाएर झल्लुको झेलमा परेर खेल देखाइरहेको छु उल्लु दिवस मनाएर । उल्लु दिवस हामी जस्ता सोझासाझा, इमानीले नै मनाउने हो । ठूला बडा र बेइमानहरूले मनाउने भनेको जुका मच्छर दिवस हो । नेपालमा मनाइने दिवसको सूचीमा अब उल्लु दिवसमा पनि थपे हुन्छ । किनभने जनतालाई उल्लु बनाउने झल्लु नेताहरूले आउँदा दिनहरूमा जनतालाई काग र कोइली बनाउने गौरवशाली योजना ल्याएनन् भने आफैँ उल्लु भएर दिनभरि एउटा कुनामा उँघेर बस्नु पर्ने दिन आउन सक्छ ।

सबैभन्दा राम्रो चाहिँ नेपाल सरकार मन्त्री परिषद्ले दिवस मनाउने सूचीमा उल्लु दिवस पनि थपेर निणर्य गर्नु उचित होला जस्तो लाग्छ । किनभने जनतालाई उल्लु बनाउने कतिपय निणर्य गर्ने ठाउँ पनि त्यहीँ हो । अर्को कुरा प्रतिनिधिसभाका माननीयहरूले पनि उल्लु दिवसका बारेमा संसदको बैठकबाट उल्लु दिवस मनाउने प्रस्ताव पास गरेमा राम्रो हुन्थ्यो । प्रदेशसभा र स्थानीय तहका नगरपालिका र गाउँपालिकाबाट पनि यस विषयमा निणर्य गरेमा सुनमा सुगन्ध हुने थियो भन्ने मलाई लागेको छ ।

लक्ष्मीको बाहन अङ्गरक्षक वा व्यक्तिगत सहायक जे जे भने पनि आखिरी हामीले उल्लुलाई मान्दै आएकोले सबैलाई फाइदा नै हुन्छ । माननीयज्यूहरूलाई पनि लक्ष्मी कृपा भएकोले उल्लुलाई सकारात्मक रुपमा लिएर सहयोग गरेमा उहाँहरूकै ग्रेड वृद्धि हुने थियो । माननीयज्यूहरूको मान आखिरी हामी उल्लु जनताले राखेकै छौँ । उल्लुले माननीयको मान राख्छ भने माननीयले पनि उल्लुको मान राखेर उल्लु दिवस मनाउँदा के फरक पर्छ र भन्या ! आखिरी रोटी पकाउँदा दुई हातले पकाइन्छ र ताली पड्काउँदा पनि दुई हातले नै पड्काइन्छ । माननीयज्यूहरूलाई उल्लु जनताको ताली जहिले पनि चाहिन्छ त्यसैले ताली खान पनि उल्लु दिवस मनाउनु उचित होला जस्तो लाग्छ । ताली नपाएर गाली पाउन त बिगार गर्नु पर्छ तर हाम्रा माननीयज्यूहरूले बिगार गर्ने काम नै बढी सम्झिने भएकोले हामी उल्लु जनताले पनि माननीयज्यूहरूलाई बराबर शब्दका झटारो हानेर सम्झि रहेका छौँ ।

चुनावका बेलामा हामी उल्लु जनतालाई देवताझैँ पुजा गर्ने रक्सी मासुको भोग लगाउने माननीयज्यूहरूले पछि हामीलाई उल्लु बनाएर थाङ्नामा सुताउने जुन रणनीति अपनाउँछन त्यो रणनीतिले हामी उल्लु जनताको मनमा मुटुमा काँढाले घोचेझैँ गरी चस्स चस्स घोची रहन्छ । अबको पालोमा हामीले हामीलाई उल्लु बनाउनेहरूलाई उल्लु बनाउने बाटोमा हिड्नु उचित होला जस्तो लाग्छ । जसरी लक्ष्मीको बाहन उल्लु दिनभरि एउटा कुनामा बसेर रातभरी वल्लो रुख पल्लो रुख र शिकारका लागि निस्कन्छ ठीक त्यसरी नै अर्को जुनीमा होइन यसै जुनीमा गर्ने बनाउनु पर्छ । अनि हामीले उनीहरूलाई देखिस् उल्लुका पठ्ठा भनेर जिस्क्याउन पाउँछौँ ।

यो उल्लु दिवस साँच्चै भन्ने हो भने हामी नेपालीले नै मनाउनु पर्ने बाध्यता छ । अरु देशकाले के के दिवस मनाउँछन् त्यो थाहा भएन तर कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ नेपालमा जति दिवस अन्य देशमा मनाउँछन जस्तो लाग्दैन मलाई । आँची गर्ने दिवस सु गर्ने दिवसदेखि लिएर भएभरका सबै दिवस नेपामै मनाउने भएपछि यो उल्लु दिवस मनाउन के को आइतबार पर्खनु नि सोमबार नै मनाउँदा पनि हुने भएकोले मैले उल्लु दिवस मनाएँ । अब नेपाली राजनीतिको गर्भमा भएको वा जो कोही नेपालीले पनि गर्भ दिवस मनाउन बेर छैन । सरकारले पनि शिलान्यास (गर्भ) दिवस, उद्घाटन दिवस मनाउन बेर छैन । आखिरी माननीय मन्त्रीज्यूहरूले मन्त्री परिषद्मा सिफारिस हरेक किसिमका कुराको लैजान्छन त्यसमा गर्भ दिवस पनि राखे भने फलाममा चाँदीको गन्ध आउँथ्यो होला जस्तो लाग्छ ।

म त सरकारसँग के भन्छु भने सरकार आखिरी नेपाली जनतालाई उल्लु बनाउने निणर्य संसदबाट भयो भने उल्लु दिवस मनाउने निणर्य पनि गर्दा के फरक पर्छ र भन्या ! जनतालाई उल्लु बनाउने काम मज्त्री परिषद् र संसदले गरेका कारण उल्लु दिवस मनाउने निणर्य गर्न किन ढिला गरेको ? जनताले भत्केको बाटो, पुल, स्कुल, अस्पताल बनाई देऊ भन्दा, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरामा मतको भार हेर्ने र कान नसुन्ने बहिरो सरकारले उल्लु दिवस नमनाए कसले मनाउने त सरकार ?

जनतालाई भेडा झैँ ठान्ने, बजारमा खसी बाख्रा विक्री गरेझैँ विदेशमा विक्री गर्न खोज्ने, तस्करका लस्करसँग साँठगाँठ गर्ने, भ्रष्टाचारीलाई पाल्ने पास्ने, पतित मान्छे देशको पति मन्त्री बन्ने माथिल्लो ओहदामा बसेर घुन किरा बन्ने देशमा उल्लु दिवस घोषणा गर्दा सरकारको के बिग्रन्छ ? सरकारलाई त फाइदै फाइदा देख्छु म । अब सत्रहजार दिवस पनि मनाउँदा हुन्छ सरकार । फागुन १ गतेलाई सत्रहजार दिवस दिवस मनाउन तयारी गर्दा म उल्लुको सहमति छ । अरु कुरा के भन्नु र बढी बोलौ भने भोलि फेरी सरकारले लगेर थुन्ला ज्यानको र इज्जत प्रतिष्ठाको माया सबैलाई हुन्छ । त्यसैले सरकार मलाई यो फेरी पनि उल्लु दिवस मनाउन मन छ त्यसको सम्पूणर् व्यवस्थापन गरिदेऊ र आउँदा दिनहरूमा यो सत्रहजार दिवस पनि मनाउने झकिझकाऊ व्यवस्था मिलाए म गोज्याङ्ग्रे धेरै असन्तुष्ट हुने थिए । जय उल्लु दिवस जय सत्रहजार दिवस ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x