सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जोकतन्त्रका जोकरहरू

यिनले लोकतन्त्रको खिल्ली उडाएर गणतन्त्रको मुन्टो चुँडाए । सत्यलाई बङ्ग्याएर, तोडमोड गरेर, निचोरेर, चिथोरेर, टुटेर, फूटेर मतदाता भुटेर भए पनि जोकतन्त्रको झोक निकाल्न छाडेका छैनन् ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

नेपालको राजनीतिक मेलामा ठेलमठेल गरेर खेला देखाउने जोकरहरूले लोकतन्त्रलाई वास्तवमा भन्ने हो भने जोकतन्त्रमा परिणत गरेका छन् । राजनीतिलाई खेला देखाउने मेलाका रुपमा प्रस्तुत गरेर आफूलाई नेपाली राजनीतिमा असक्षम जनप्रतिनिधिका रुपमा जनताका सामु उभ्याएर नेताहरू जोकतन्त्रका जोकरझैँ भएका छन् ।

नेपाली नेताहरूको चरित्र हेर्दा मलाई के लाग्दछ भने आफू सानो छँदा तराईमा मनाइने श्रीकृष्णाष्टमी, इन्द्रपुजा, दशँै, लक्ष्मीपुजा, सरस्वती पुजा लगायतका धार्मिक महत्वका पर्वहरूमा नाटक देखाइन्थ्यो । त्यस्ता पर्वहरूमा हुने नाच वा नाटकहरूमा साथीहरूसग म पनि जान्थे । उक्त नाटकमा गाउतिरका सयौँ मानिसहरू रमाइलो हेर्न भेला हुन्थे । नाटक प्रायः जसो राती हुन्थ्यो, आइमाइ, केटाकेटीहरू धेरै हुन्थे । नाटक खेल्दै जाँदा कुनै कुनै बेला जोकर आएर आफ्नो अभिनय प्रस्तुत गर्ने क्रममा सबैलाई आँखाबाट आँसु झरुन्जेलसम्म हसाउँथ्यो ।

यतिसम्म कि उसले नाटकमा अभिनय गरिरहेका कलाकारहरूलाई मात्र होइन मादल, ढोलक, तवला, हार्मोनियम र अन्य प्रकारका बाजा बजाउने सबैलाई जिस्क्याएर हैरान पार्दै दर्शकहरूलाई समेत पेट मिचिमिची हसाउँथ्यो । अर्थात् सो नाटकमा सबैको ध्यान हँसाउने जोकरमा केन्द्रित हुन्थ्यो, त्यस्तै रुपले जनताको ध्यान नेताप्रति हुनु स्वभाविकै हो । किनभने जनताले नेताहरूबाट केही आशा गरेका थिए । तर जनताको आशा अहिले निराशामा परिणत भएको छ । भनौ जोकरको अभिनयले अहिलेका नेताहरूको चरित्रलाई बिर्साएको छ । नेपाली जनताले आफ्नो अमूल्य मत दिएर, आफूले आधा पेट खाएर सरकारलाई कर तिरेर जम्मा भएको रकमबाट उनीहरूलाई पालेका छन् । तर नेताहरू भने जनताका लागि राजनीति नगरी जोकतान्त्रिक जोकर भएर देखा परेका छन् ।

राजनीतिलाई रङ्गमन्च ठानेर नाटकमा झैँ अभिनय गर्ने संस्कृतिको विकास गर्ने जमर्को हिजोको पञ्चबलीका समयदेखि नै हामीले जानकारी पाएका हौँ । फरक यतिमात्र हो हिजो लुकेर त्यस्ता काम हुन्थे भने आज खुला रुपमा भैरहेका छन् । यसको उदाहरणका रुपमा पुरुष भएर सुत्केरीको विल पेस गरी उपचार खर्च लिने, सभामुखलाई जुत्ता हान्ने, बजेटको किताब खोस्ने, एकाबिहानै जाँड खाएर सडकमा ताण्डव नृत्य देखाउने, कर्मचारी कुट्ने, विजुली चोर्ने, आफ्नो परीक्षा अरुलाई दिन लगाउने जस्ता अति नै लोकप्रिय काम गरेर नेपाली लोकतान्त्रिक राजनीतिको रङ्गमञ्चमा जनताका जनप्रतिनिधिहरूले जोकतान्त्रिक जोकरको काम गरिरहेको स्पष्ट भएको छ । कागजमा काम सकेर आफू गोजी भर्ने अनि अर्काले के के गर्‍यो भनेर खोजी गर्ने नीतिले आफ्नो आङ्को भैँसी नदेख्ने अर्काको जीउको जुम्रा देख्ने भन्ने उखानलाई छर्लङ्याउने काम नेताहरूबाट भएको छ ।

‘विनास काले विपरित बुद्धि’ भनेझैँ मासिने समयमा उल्टो बुद्धि आउँछ भन्ने बुढापाकाको उखान नेताको चरित्र हेर्दा ठ्याक्कै मेल खान्छ । मुखले एउटा कुरा बोलेर काम अर्को गरेर देखाएका छन् । जनताका कुरा र समस्या नसुन्ने, जतिखेर पनि सत्ता र भत्ताका लागि मात्र मरिमेट्ने दिर्घ रोगले सताएको रोगी जस्तो भएका छन् नेताहरू त ! भनौ नेताका लागि सत्ता र भत्ता कहिल्यै निको नहुने रोगका रुपमा देखा परेको छ । यो रोग निको पार्न वास्तवमा घरको पति डाक्टर, बैद्य जो सुकै भए पनि सक्ने अवस्थामा छैनन् । भनौ यहाँ त डाक्टर र वैद्यहरूले आफूलाई नै रोगी बनाएर राखेका छन् । अर्थात् आफूमा रहेको रोग निको पारेर अरुको रोग समेत पहिचान गरी निरोगी बनाउन डाक्टरले पहल गर्नु पर्नेमा डाक्टरले आफू भित्रको रोग नै चिन्न सकेका छैनन् । यस्तो अवस्थामा अझ रोग बल्झाएर बसेकाहरूबाट हामीले के पो आशा गर्न सक्छौँ र ! रोग निको पार्ने निहुँमा जनताका सामु उनीहरू वास्तवमा भन्ने हो भने जोकतान्त्रिक जोकरका रुपमा देखापरेका छन् ।

मञ्चमा भाषण गर्दा त एकले अर्कालाई घोचपेच, कटाक्ष, व्यङ्ग्य गर्छन् गर्छन् । तर संविधानसभाको बैठकमा, व्यवस्थापिका संसदको बैठकमा समेत जोकतान्त्रिक नीति अनुसार नै वक्तव्य दिन खप्पिस हाम्रा सभासदहरूले नेपाललाई नै व्यङ्ग्यप्रधान देशका रुपमा विदेशीका सामु परिचय गराउन खोजी रहेका छन् । हिन्दी फिल्म हम किसिसे कम नहीको दुरुस्तै नक्कल गरेर राजनीतिक वृतमा मतदाताहरूप्रति अविश्वासको वातावरण कायम गर्ने काम भैरहेकोमा सर्वत्र चासो र निन्दाको विषय बनेको छ ।

दलहरूको छलकपट पूणर् व्यवहारले गर्दा काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई प्रष्ट पारेको छ । जनताले पनि नेताहरूलाई मतिभ्रष्ट भएकाहरू भनेर विशेषणसहित नामाकरण गरेका छन् । जुन उनीहरूको व्यवहार, काम गर्ने शैली आदि हेर्दा त जनताले गरेको नामाकरण ठीकै जस्तो लाग्छ । सबै कुरामा जोकर जस्तो भएर समय बिताउने र खाने कुरामा चाहिँ एकमत भएर आन्द्राभुँडी लादी समेत बाँकी नराख्ने गजवको काइदामा लागेर जनता उनीहरूप्रति जागेका हुन् भन्दा कुनै अत्युक्ति हुँदैन ।

जेहोस् आखिरी नेपाल जोकतान्त्रिक जोकरहरूको चङ्गुलमा फसिसकेको छ । यी जोकरहरूले रातो पासपोर्ट बेचे, अर्काको सम्पति बेचे, लुटे, दम्पति फुटाए भनौ गर्न हुने पनि गरे नहुने पनि गरे । जनतालाई ढाँटे, ठगे, झुक्याए आँखा छलेर, हात मोलेर, छाती खोलेर, पानीमा चिनी घोलेर अमृत भन्दै विष खाए र खुवाए पनि । यिनले लोकतन्त्रको खिल्ली उडाएर गणतन्त्रको मुन्टो चुँडाए । सत्यलाई बङ्ग्याएर, तोडमोड गरेर, निचोरेर, चिथोरेर, टुटेर, फूटेर मतदाता भुटेर भए पनि जोकतन्त्रको झोक निकाल्न छाडेका छैनन् ।

बन्द, हड्ताल, चन्दा असुली, अपहरण, हत्या, आतङ्क सबै आन्द्रा भर्ने आन्दोलनका स्वरुपहरू भएकोले लोकतन्त्रलाई विरुप बनाउन जोकतन्त्रको स्वरुप देखाई जोकरहरूले राजनीतिमा आफूहरूलाई ब्रोकरका रुपमा उभ्याएका छन् । एक दलले अर्को दलसँग ब्रोकरकै हिसाब किताबमा व्यवहार गर्ने र केही नाफा हात नलागेसम्म सहमतिमा नआउने नीति अवलम्वन गरेकोले लोकतन्त्र जोकतन्त्रमा परिणत भै नेताहरू जोकरका रुपमा स्थापित भएका हुन् ।

०००
गाईघाट, उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे
आलु नफल्ने ठालुको तालु

आलु नफल्ने ठालुको तालु

माधव पोखरेल गोज्याङ्ग्रे
विदेशिएको पोइलाई मुसीमायाको लभ लेटर

विदेशिएको पोइलाई मुसीमायाको लभ...

माधव पोखरेल गोज्याङ्ग्रे
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा