साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदेशिएको पोइलाई मुसीमायाको लभ लेटर

जेजे भन्नु छ जेजे गर्नु छ तेरा मान्छे भनेको मच्छरहरू नै रहेछन् । मलाई पुतलीहरूले विदेशमा कस्तो माया गर्छन । यस्तो थाहा पाएको भए त म किन आउँथे होला र ! भन्दै ऊ झोला बोकेर पुनः पुतलीहरू भएतिर लाग्यो मुसीमाया मच्छरहरूसँग रमाउर बसिरही ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

आफ्नो नजिकको भनाउँदो पोइ कमाई गर्न विदेश गएपछि मुसीमायालाई रात कटाउन मात्र होइन दिन कटाउन समेत धौधौ पर्‍यो । वर्ष लाग्ने वित्तिकै गइएको उसको पोइ मसर्खजित हिउँद लागिसक्दा पनि घर नफर्कँदा मुसीमाया मुसो झैँ भएर बस्न बाध्य भएकी थिई । मुर्खजितसँगै गएका साथीहरू भने घर फर्किएकोले उसले पोइलाई जानी नजानी भए पनि चिठ्ठी लेख्ने आँट गरी ।

आफ्नो श्रीमानलाई सम्बोधन गर्नु पूर्व सिरानमा शिर्षक लेखेकी छ मच्छर लाग्न थाल्यो घरमा छिट्टै आउनु र शुरु लेख्न ।

श्री श्री श्री खसम हजुर वैँसको झिल्के मजुर ए मेरो हजुर । कसम खाएर पनि सँगै बस्न नपाउँदा गर्मीले उकुस मुकुस भएकी छु । रातमा निद्रा नलागेर आँखाले अर्कै भाषा बोल्न थालिसक्यो र बाटोभरिका मच्छरले दृष्टि लाउँदा टट्याएर झिमिक्क गर्न पाएको छैन । मनभरी गह्रुङ्गो भारी बोकेर दिनरात कटाउँदै छु । आफ्नो भनाउँदो भाको एउटा पोई पनि अर्काको बोई हुन त्यता गएपछि म यता कसलाई कुरेर बस्नु ?

धामीले ढ्याङ्ग्रो ठोके झैँ गरेर मुटु थर्किन्छ । सपनामा पनि हामीसँगै बसेको देख्छु । फेरी अरुका जोइपोई नारिएर हिँडेको देख्दा आफूलाई पनि त्यसैगरी जोेडिएर गाँसिएर हिँड्ने रहर लागेर खपिनसक्नु भएको छ । अरु त्यसरी हिँडेको देखेपछि घुटुघुटु थुक निलेर बस्नु बाहेक अरु केही कामै हुँदैन ।

अँ अर्को कुरा त लेख्न झण्डै बिर्सेकी थिएँ । त्यो के कुरा हो भने यहाँ गर्मी बढेकोले मच्छरहरूले दिक्क लाउन थालेका छन् । बिहान उज्यालो भएदेखि दिनभरी रातभरी चौबिसै घण्टा मच्छरहरूले म वरिपरी परिक्रमा गरेर हैरान पारेका छन् । गीत गाएर नाच्छन, उनीहरूको गीत सुन्ने, नाँच हेर्ने इच्छा नहुँदा पनि हेर्न र सुन्न बाध्य पारेका छन् । भान्सादेखि ओछ्यानसम्म म जहाँ जहाँ जान्छु ती सबै ठाउँमा पुगेर हैरान पारी सके । यतिमात्र हो र शरीर सुम्सुम्याएर गालामा म्वाइँ खाएर मेरो शरीरलाई जीर्ण पारिसके ।

आखिरी मेरो शरीर तपाईंंकै हो । शरीरमा अत्तर दलेर कोरीबाटी गरेर चिटिक्क परेको देखेर यी मच्छरहरूले मलाई खेदो गरेको होलान् । यदि तपाईंं घरमा हुनु भएको भए यस्तो हुँदैनथ्यो । मच्छरहरूसँग रातभरी दिनभरी लाप्पा खेल्दाखेल्दा शरीर थिलथिलो भएकोले ओखतीमुलो लिएर चिठ्ठी पाउने बित्तिकै पढ्न घरमै आइपुग्नू ।

विदेशिएको यतिका दिन भयो तर एउटा चिठ्ठीसम्म पनि पठाउनु भएन । यहाँ मलाई मच्छरहरूले हैरान पारे झैँ त्यहाँ तपाईंंलाई पनि पुतलीहरूले हैरान पारे होलान् जस्तो लाग्या छ । कि कतै त्यतैतिर म जस्ती भेटेर घर बिर्सनु भा हो कि ? यदि भेटेको भए पनि एकरात घरमा बिताउने गरी आए राम्रो हुन्थ्यो । तर त्यतातिर एड्स भन्ने रोगको निकै चहलपहल छ रे ! कतै तपाईंंलाई पनि साथी बनाउन अँठ्याएको त छैन ! यहाँ मलाई त मच्छरहरूले सारे जस्तो लाग्या छ, आखिरी त्यहाँ पनि पुतलीहरू खुबै घुम्छन रे, कतै तिनीहरूले सारि दिए भने हामी दुइटै उउटै ड्याङ्का मुलामा दरिन्छौँ नि !

अरु कुरा केही जान्दिनँ म घरमा छिट्टै आउनू । दुई चार दिनका लागि भए पनि मच्छरहरू म कहाँ धाउन छाड्ने छन् । अरुका घरमा यसरी मच्छरहरू आउँदैनन् । हजुरसँगै विदेश गएका साथीहरू घर फर्किएकोले हो कि क्या हो नानीका बा भइसके । तर तपाईंंले त सुरसारै गर्ने सोंच बनाउनु हुन्न जस्तो छ । तपाईंंका साथीहरूको घरमा भने मच्छरहरू देखा परेको छैनन् । म घरमा भएका बेला त गालाका गोला झुण्डका झुण्ड भएर मच्छरहरू ओइरिन्छन् । यति कुरा विचार गरी हाम फालेर उडेर गुडेर जसरी हुन्छ त्यहाँ खाएर घरमा चुठ्ने गरी मच्छर धपाउन आउनू । नभए म मच्छरहरूको साझा हुन्छु । तपाईंंले छाडेर गएपछि दुःख दिन थालेको मच्छरहरूले अहिलेसम्म पनि दुःख दिइरहेका छन् । यदि तपाईंं आउनु भएन भने मच्छरहरूले मलाई बैना मार्न सक्छन् ।

तपाईंका साथीहरूले विदेशबाट फर्केर कस्तो प्रगति गरिसके । कसैले अर्को विवाह गरे, कसैले छोरो पाएको साँवा व्याज सहित ल्याए, कसैले आएको छ महिना पनि पुग्न नपाई छोरी पाउने ल्याए, कसैले भने घरमा आएर विवाह गरेर छोरो पाएर गर्न नहुने काम गरेका छन् । तर तपाईं भने म जस्ती पाउँदा पनि विदेश मोहमा फँसेर मेरो जवानी मच्छरहरूलाई चुसाएर बस्नु भएको छ । त्यसैले अब नानी खेलाउने सुरसार गर्ने गरी आउनु होला । अब बढी कुरा के लेखौँ आजलाई यतिकैमा विदा माग्दछु ।
उही हजुरकी दासी
मायाकी प्यासी
सधैँकी बासी
चुस्स अनुहारमा
ठुस्स परेकी
मुसीमाया ।

मुसी मायाले कनिकुथी लेखेको छाडपत्र झैँ लाग्ने प्रेमपत्र मुर्खजितले हात पार्‍यो । चिठ्ठी पढ्यो र गोजीतिर खाद्यो । अनि मनभित्र कुरा खेलाउन थाल्यो । मुर्खजितले आफ्नी धर्म पत्नीले लेखेका कुराहरू केही बुझ्न सकेन र निकै बेरसम्म घोरिएर केही अप्ठ्यारो नै परेको होला भन्ने ठानी बुढी भेट्नका लागि मात्र भए पनि लिएर घर जाने निधो गरेर झोला झाम्टा ठिक पार्‍यो । पढाई लेखाईमा काला अक्षर भैँसी बराबर शिक्षा पाएको मुर्खजितले मुसीमायासँग विहे पास गरेको थियो ।

मुर्खजितले विदेशमा बस्दा केही कुराहरू भने जान्ने बुझ्ने मौका पाएको थियो । र आफूले जानेको बुझेको कुरा नै मुसीमायालाई र गाउँका साथीभाइलाई सुनाएर सिकाएर मुसीमायाको रेखदेख हेरचाह गर्न सक्ने बनाउने सुरले ऊ घर हिँड्यो ।

आखिर मुसीमायालाई उसको माइतीमा पनि मच्छरले हैरान पारेको थिए । घरमा पनि त्यस्तै छ । मच्छरसँगै खेलेर हुर्किएकी विचरी मुसीमायालाई मच्छरहरूले माया गर्नु स्वभाविकै हो । मैले पनि त विदेशमा पुतलीहरूसँग खेल्ने मौका पाएको थिएँ । घरमा म गए भने मच्छरहरू भोकभोकै मर्छन् होला । मुसीमायाले जेजे लेखे पनि आखिरी मलाई भन्दा बढी माया अरुलाई गर्दिन भन्ने सोच्दै एकफेर एक फेरा उसको धोको पुर्‍याएरै आउनु पर्‍यो भन्ने सोंचले मुर्खजित घर पुग्यो ।

उपियाँ फड्के झैँ फड्केर घर पुगेको मुर्खजितले मुसीमाया मच्छरहरूसँग कुस्ती खेलिरहेको देख्यो । मच्छरका गोलाका गोला भेला भएर गरेको करामत अहिले भने उसले आफ्नै आँखाले देख्यो र भन्यो मुसीमायालाई तैँले चिठ्ठी लेखिस् र घर आएँ तर तेरो पतिव्रता धर्मले मलाई यस घरमा बस्न उचित ठानेन । अब तँ मच्छर की भइस्, म पुतलीको भएँ ।
मुसीमायाले लोग्ने घरमा आएको थाहै पाएन । मच्छरहरूसँग कुस्ती खेल्न मस्त भएका बेलामा मुर्खजित आएकोले उसलाई पर्नुसम्म अप्ठ्यारो पर्‍यो । उसले घर बाहिर एक्कासी लोग्नेको आवाज आएको सुनेर मच्छरहरूलाई खाटमुनि लुकाएर आफू बाहिर आएर हेर्छे त मुर्खजित । ऊ ठिङ्ग दलानमा उभिएर मुर्खजिततिर एकोहोरो लागेर हेरिरही केही बोलिन । मुर्खजितले आफ्नी श्रीमतीको चर्तीकला देख्ने बित्तिकै भन्नु पर्ने कुरा भनिसकेको थियो । त्यसैले उसले पुनः केही भन्नु पर्ने ठानेन् ।

निकै बेरपछि मुसीमायाले लोगनेका अगाडि मुख खोली हजुर किन बाहिर बस्नु भएको भित्र आउनु न । बास माग्ने मान्छे जसरी किन आँगनमा उभिइरहनु भएको । हजुर नहुँदा यहाँ मलाई कस्तो अप्ठ्यारो परेको थियो । बाहिरबाट मुर्खजितले भित्र मच्छरहरू गुनगुनाएको सुन्यो र मुसीमायाका अगाडि मुख खोल्नै पर्‍यो उसले अब तेरो र मेरो बिचमा कुनै पनि नाता रहेन । जेजे भन्नु छ जेजे गर्नु छ तेरा मान्छे भनेको मच्छरहरू नै रहेछन् । मलाई पुतलीहरूले विदेशमा कस्तो माया गर्छन । यस्तो थाहा पाएको भए त म किन आउँथे होला र ! भन्दै ऊ झोला बोकेर पुनः पुतलीहरू भएतिर लाग्यो मुसीमाया मच्छरहरूसँग रमाएर बसिरही ।

०००
उदयपुर
मुसालाई मुद्दा (२०६८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x