साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गलबन्दीका भैरव अर्याल

मान्छे अर्कालाई उडाउँछ अनि आफैँ उडेको चाहिँ पत्तो पाउँदैन र ‘ए ज्या भुसुक्कै !!’ भन्दै आफ्ना कमजोरीहरूलाई लुकाउँछ । अर्यालले यिनै मानवका विश्वव्यापी कमजोरीहरूलाई ढन्डेसो खुस्कुन्जेलको व्यङ्ग्य गर्नुभएको छ ।

Nepal Telecom ad

घ्याम्पे भुँडीको विपक्षमा जयगानको फलाको उरालेर र अल्छे शरीरमा बेस्मारी काउकुती लाएर भैरव अर्यालले हास्यव्यङ्ग्य लेखकका रूपमा आफ्नो कीर्तिपताका निक्कै रमाइलोसित पहिल्यै फरफराइसक्नुभएको थियो । उनै रमाइला लेखन्ते फेरि सबै पाङदुरे मुखुन्डाहरूको आन्द्राभुँडी धुतेर सत्यलाई नङ्ग्याउन र असत्यलाई उदाङ्गो पार्न सुरिनुभएको छ ।

यसरी नै उत्तरदायी कलाकारले सचेत रूपले समाजका मैलाहरूलाई उधिनेर देखाइदिन्छ र ती मैलाहरूलाई मिल्काउने सङ्केतले सुतेकाहरूलाई अगुल्टाले झैँ झेसी बिउँझाउँछ । लासवादी साहित्यको पुप्रोले निसास्सिएको नेपाली वातावरण अर्यालजस्ता भित्तो पुर्‍याएर सत्यको पक्षमा कुर्लन सक्ने थोरै मात्र साहित्यकार नभइदिए कहालीलाग्ने हुने थियो । उहाँ निर्धक्क भन्नुहुन्छ- “हो त नि यहाँ कसले के छोपेको छैन ? टेरिलिनको सूटले दाउरिएको आङ छोपिन्छ, एक बट्ट़ा पाउडरले चाउरिएको छाला छोपिन्छ, डिग्रीको साइनबोर्डले दिमागको गोबर छोपिन्छ, मानको पगरीले बेइमानको घ्याम्पो छोपिन्छ, मैत्रीको जालले ब्वाँसाको राल छोपिन्छ ।”

हास्यलेखको मूल उद्देश्य हँसाउनु होइन । यसले हँसाउने आवरणभित्र जीवनका गूडतम रहस्यहरूको उदघाटन गर्छ । यस दृष्टिकोणले हेर्दा अर्याललाई सफल हास्यकार मान्नुपर्छ । उहाँभन्दा अगाडिका लेखकहरूमा केही कृत्रिमता जबरजस्ती ठोकठाक पारेर हँसाउने मूल उद्देश्यको निम्ति मिलाइएको बोध हुन्थ्यो । अर्यालका लेखहरूमा भने अनुप्रासबाट उत्पन्न हाँसोसमेत स्वाभाविक प्रवृत्तिकै रूपमा प्रकट हुन्छ । यस स्वाभाविकताले गर्दा नै अर्याल आजसम्मका हास्यलेखकहरूभन्दा बढी सफल, बढी प्रभावशाली र बढी जनप्रिय हुन पुग्नुभएको छ ।

अर्यालको शैली आकर्षक हुन्छ । झर्रो नेपाली भाषाका शब्दहरूलाई अत्यन्त उपयुक्त ठाउँमा उहाँ प्रयोग गर्नुहुन्छ । ‘उडाउनु सित एकछिन उडदा’मा नेपाली क्रिया ‘उडाउनु’ का विभिन्न अर्थको व्याख्या गर्दै हास्यको साह्रै राम्रो भाषिक उदाहरण लेखकले दिनुभएको छ । वास्तवमा शब्दढुकुटीको ज्ञानबाट वञ्चित हाम्रा बहुसङ्ख्यक लेखकहरूको बीचमा शब्दज्ञानले भूषित थोरै चम्किला नक्षत्रहरूमध्ये एक हुनुहुन्छ भैरव अर्याल । हुन त हास्यका क्षेत्रमा अरूले पनि प्रवेश गरेका छन् तापनि तिनको मूल उद्देश्य झर्रा शब्दहरूलाई टर्रा प्रमाणित गर्ने रहेकाले अर्यालको जस्तो हास्यलाई व्यापक क्षेत्रमा साधारणीकरण गर्ने क्षमता तिनीहरूमा पाइन्न । ती हास्यमा जबरजस्ती हँसाउने जमर्को र तुच्छ व्यङग्य हुन्छन् तर अर्याल त्यस्तो व्यङ्ग्यलाई मन पराउनुहुन्न । अर्यालको व्यङ्ग्य चित्तबुझ्दो, फराकिलो र स्थायी हुन्छ । उदाहरणको लागि अर्यालको यस व्यङ्ग्यलाई लिन सकिन्छ, “निरस्त्रीकरणको प्रस्ताव एउटा गलबन्दी हो- आणविक गाँडको । शान्तिवार्ता एउटा गलबन्दी हो- करतुत र कुचक्रका गाँडको । यसरी सोच्तै ल्याउँदा ऊ ठम्याउँछ- ऊ मात्रै होइन, उसको समाजै गँड्याहा छ, उसको युगै गँड्याहा छ । आफू चुत्थो मान्छे भएकोले साह्रै ठूलाको कल्पना गर्न सक्तैन र मात्रै, नत्र ऊ यो पनि ठान्दो हो- यो विश्व नै ब्रह्माण्ड नभई ब्रह्मगाँड होला । पृथिवी त्यस गाँडमाथिको खटिरा, अरू हुन सक्छ मान्छेचाहिँ त्यस खटिराभित्रका कीरा ।”

‘गलबन्दी’ निबन्धले एकातिर तुलेगाँडोको विवशतालाई अघि तेस्र्याएर हामीलाई मरीमरी हँसाउँछ भने अर्कोतिर दोष, कुरूपता र अयोग्यता लुकाएर गुण, रूप र योग्यताको पगरी गुत्ने फटाहाहरूको आन्द्राभुँडी केलाएर सत्यको उदघाटन व्यङ्ग्यात्मक रूपले गर्छ । ‘टाउको’ अथवा ‘आलु’ जस्ता मामुली विषयहरूलाई लिएर पनि लेखकले एक प्रकारले हाम्रो स्वाँगे र पाखण्डी समाजको चित्तबुझ्दो चित्र उपस्थित गर्नुभएको छ । ‘मान्छे, मोडेल १९६७’ र ‘पच्चीसौं शताब्दी अङ्गप्रत्यङ्गमा’ ले वैज्ञानिक कलपुर्जाले हाम्रो जीवनमा ल्याएका यान्त्रिकताको व्यङ्ग्यात्मक दृश्य देखाउँछन् भने ‘सातसूत्रीय साहित्यदर्पण’ ले हाम्रो साहित्यिक क्षेत्रका साइँदुवाहरूको राम्रो झाँको झारेको छ ।

अर्यालका हास्यलेखहरूलाई दुई तहमा हेर्न सकिन्छ । बाहिरी तहमा ती हँसाउन लेखिएका हुन् तर हँसाउने उद्देश्यवाहेक अर्को उद्देश्य लेखनको छ । यसको भित्री तहमा उहाँ सामाजिक अन्याय र शोषणलाई उदाङ्गो पार्नुहुन्छ । ‘साँढे’ शीर्षक निबन्ध बाहिरी तहमा साँढेसम्बन्धी हास्य मात्र हो तर भित्री तहमा यसले विश्वका मैं हूँ भन्ने घमन्डीहरू, चाकरीवाला, मपाईवादीहरू र बुद्धिहीन ढँटुवारेहरूका कार्यहरूलाई विश्लेषण गरेर मानवतावादको स्थापना गर्न खोजेको छ । ‘चुरोट केही झिलिमिली संस्मरण’ मा पनि दुई तह छन् । मामुली चुरोटको तलतलबाट यस निबन्धले उँभो उठेर मानवका मानसिक कमजोरीहरूलाई साह्रै राम्ररी प्रकट गरेको छ । मान्छे अर्कालाई उडाउँछ अनि आफैँ उडेको चाहिँ पत्तो पाउँदैन र ‘ए ज्या भुसुक्कै !!’ भन्दै आफ्ना कमजोरीहरूलाई लुकाउँछ । अर्यालले यिनै मानवका विश्वव्यापी कमजोरीहरूलाई ढन्डेसो खुस्कुन्जेलको व्यङ्ग्य गर्नुभएको छ ।

जे होस्, यो सँगालोले सिद्धहस्त हास्यव्यङ्ग्यकारको प्रशंसनीय प्रतिनिधित्व गर्दै हामी पाठकहरूलाई रसिला उपमाहरू, अनौठा तर सुन्दर भनाइहरू र सफल कलात्मकताको भोज प्रस्तुत गर्छ । हाम्रो समाजको यथार्थ र कलात्मक चित्रण नडराई गर्ने अर्याल यसरी हाम्रो हृदय जित्न सफल हुनुभएको छ ।

हास्यव्यङ्ग्यको क्षेत्रमा कौवा प्रकाशनले गरेका सुनौला कार्यहरूमा यस सङ्कलनले अवश्य नै केही सुगन्ध त थप्ने नै छ भनेर म फुरुङ्ग छु ।

०००
जमल, काठमाडौँ
१८.४.१९६९
‘गलबन्दी’ २०२६, भूमिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्दिनँ

म दाम्लो बाँध्दिनँ

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्छु

म दाम्लो बाँध्छु

डा. तारानाथ शर्मा
डाढो

डाढो

डा. तारानाथ शर्मा
0
Would love your thoughts, please comment.x
()
x