सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भैरवको भर, हास्यव्यङ्ग्यमा केको डर ?

भैरवले हास्यव्यङ्ग्यमा नेपाली भाषाको चमत्कार खन्याएका छन् । उनी आफ्नो समयका थोरै अग्रणीमध्ये एक नक्षत्र हुन् । उनले हास्यव्यङ्ग्यलाई नमुनालायक बनाएका छन् । सरल, मिठासपूर्ण, पूर्वाग्रहरहित र बुद्धि एवम् विवेकयुक्त छन् ।

Nepal Telecom ad

नेपाली हास्यव्यङ्ग्य साहित्य एक्काईसौं शताब्दीमा निकै अघि बढिसकेको छ । हास्यव्यङ्ग्यभित्र हास्यरसका थुप्रै विधा विकसित छन् भने तीभित्र पनि विभिन्न शैली देखापरेका छन् । हास्यव्यङ्ग्य क्षेत्रका रूपमा प्रहसन, मञ्चन र कमिक्स प्रदर्शनदेखि व्यङ्ग्यचित्र कार्टुनको मुद्रण, प्रसारणमा प्रशस्त प्रबर्द्धन र परिवर्तन हुँदै छ । वाङ्मयको कुरा गर्दा हास्यव्यङ्ग्य निबन्ध, कविता र कथादेखि चुट्का निकै विकसित छन् । हास्यरस र हास्यरङ्गको व्यासीले यो पुरातनवादीको परिभाषामा नअटाएर हास्यव्यङ्ग्य भनेको हास्यव्यङ्ग्य हो भन्ने रूपको पहिचान प्राप्त गरिसकेको छ । यसैले हास्यव्यङ्ग्य शब्द, चित्र, अभिनयदेखि रङ सबैमा विस्तारित छ । सञ्चारमाध्यमले प्रहसनलाई हास्यव्यङ्ग्य भनेकाले जनसाधारणमा हास्यव्यङ्ग्य साहित्यको प्रचार पहिला अत्यधिक भए पनि अहिले त्यति पाइन्न । व्यङ्ग्यचित्र पत्रपत्रिकामा देखा परेपछि यसले पनि दैनिकी चर्चा पाउन थालेको छ । तर, लेखन गहन हुने र सिर्जना कठिन एवम् अल्प भएकैले होला कम प्रचार हुने गर्छन् । तर, साहित्य-सिर्जना लामो अवधि बाँचेका हुन्छन् र तिनैले पछि विकास हुने मिडिया माध्यममा ठाउँ लिँदै जान्छन् । विश्वप्रसिद्ध डोन क्युजेट यस्तै एक प्रखर उदाहरण हो । एनिमल फर्म त झन् यस मामलामा चर्कै देखिन्छ ।

नेपाली हास्यसाहित्यमा कालजयी कृतिको अभाव छ । जहिले, जसले, जहाँ पढ़े पनि हास्यरस प्रस्फुटन हुने हास्यव्यङ्ग्य कमै सिर्जना हुन्छन् । कालजयी सिर्जना प्रवृत्तिजन्य र मानवीय कमी कमजोरीसँग जोरी खोज्दै नेपाली हास्यसाहित्यमा निबन्धहरूमा कालजयी त्यस्ता सिर्जना नभएका हैनन् । व्यङ्ग्य वर्षाउने हुँदा ती धेरैजसो ताजा बन्छन् । ताजा खाजा निर्माण गर्ने नेपाली साहित्यका हास्यव्यङ्ग्य क्षेत्रका दिग्गज पिंडाली र भैरव हुन् । भैरवको पहिलो पुस्तक काउकुती २०१९ मा प्रकाशित भयो । हास्यचेतको अचेत अर्थात स्वाभाविक प्रकृतिको प्रस्फुटन भैरवका निबन्धमा जुन रूपले आएका छन्, धेरै हास्यव्यङ्ग्यकारमा सचेत लेखनले मेकप रूप प्रक्षेपण गरेको पाइन्छ । भैरवको पहिलो किताब पढ्नुअघि म नेपाली हास्यव्यङ्ग्य लेखन, प्रहसनमा संलग्न भैसकेका हो । केशवराज पिंडालीको पहिलो किताब नेपाल प्रज्ञा-प्रतिष्ठानले २०१७ मा प्रकाशन गर्‍यो । सायद ‘सालिक बोल्यो’ निबन्धकै प्रभाव हुनुपर्छ- राणा प्रधानमन्त्रीका घोडचढी सालिक टुँडिखेलमा सारिएको । पिंडालीजीका पुस्तक विद्यार्थीकालमा किन्ने सामथ्र्य थिएन । न त त्यसबखत त्यस्ता साहित्यको चर्चा हामी विद्यार्थीसम्म नै पुग्थ्यो । धेरै पछि पुस्तकालयबाट पढियो; खूब हाँसियो । घत परेर रमाइयो ।

आफू कवितामा कक नन गर्न थालेको ०१६ सालतिर । आफ्नो आत्मानुभव जुन २०१८ मा स्कूल पढ्दा लेखियो, त्यो पछि हास्यव्यङ्ग्य भएछ । अतः हाइस्कूल विद्यार्थी साहित्य सम्मेलनले ने.स. १०८३/१०/११ मा भएको शान्ति निकुञ्ज हाइस्कूलले आयोजना गरेको साहित्य प्रतियोगितामा पुरस्कृत भएछ पाटन हाइस्कूलबाट । दसी अथात् दसी पो पाइयो । रञ्जना लिपिले नेपाली कागजमा लेखिएको प्रमाणपत्र सही गर्ने मदनकृष्ण सायमी र मोहनबहादुर थिए । यो २०२० को कुरो हो । त्यतिखेर सारा विद्यालयमा आफूले पुरस्कार पड्काउन पाएकोमा फुलेल भैयो । सबैले प्रोत्साहन गरे । उत्साह भरे । हास्यव्यङ्ग्य नपढ्दै, नबुझ्दै हास्यव्यङ्ग्यकार भैयो । रमाइलो भयो तर भारीले थिचेपछि टोक्नु न बोक्नुभयो । हुँदाहुँदा ‘बिहे नै नगरी श्रीमती भित्र्याए पछि…’ भन्नेजस्ता काल्पनिक हास्यव्यङ्ग्य लेखियो । यो पढेपछि पहिला पछि लाग्ने तरुनीले आँखा लगाउन छाडे । उही उमेरले पट्ठो नै भए पनि तालु खुइलेको वा कपाल फुलेको छ भने हजुरबामा परिणत भएजस्तो भयो । के-के लेखियो के-के ! लेख्दालेख्दै एउटा किताब नै बन्ने सामग्री जम्मा भो । यसै वेला वासुदेव लुइँटेलसँग परिचय भयो । उनको निकटताले पुरानो र आधुनिक हास्यशास्त्रीको मिलन भएझैँ भो । वासुदेवजीसँग पहिलो सम्पर्क विद्या पुरस्कारले गरायो । काठमाडौंका सारा हाइस्कूलबीचको तत्स्थानीय निबन्ध प्रतियोगितामा मलाई सहभागी गराइएको थियो । एक दर्जन शीर्षक गोलाप्रथाबाट छानेर लेखाउने र प्रमाण-पत्र र केही नगद दिने यो पुरस्कारमा पहिलो भयो । २०२० सालमा पाटन कलेज भैयो । खेलकुद, प्रहसनमा उछलकुददेखि हाजिरीजवाफ र साहित्यको कबाफ पुग्दा भाले लगाइयो । अझ भनौं गीत पनि गाइयो । प्रशंसा खाइयो । तर, मुक्तक लेख्दा प्रोफेसरबाट झन्डै गोदाइ पाएको ! नेपालको विकृतिलाई बजाउन हास्यव्यङ्ग्य लेख्नुपर्छ । कविता त जसले पनि लेख्छ ।

यसपछि हास्यव्यङ्ग्य लेख्दै पुरस्कार बनाउँदै गरियो । छापिएकाको केही पारिश्रमिकबाट खल्ती खर्च भरियो, पाठ्यपुस्तक किनियो ‘मायालु’ पत्रिका २०२१ मा सम्पादन भयो यसैताका अर्थात् विद्या पुरस्कारले नै वासुदेवजीसँग परिचय गरायो । मायालुले र कलियुगले नै वासुदेवजीलाई मेरो परिचय गरायो । पत्रिका मदन पुरस्कार पुस्तकालयमा दिने क्रममा आउँदा जाँदा कमलमणि दीक्षितले मेरो फोटो खिचे र सङ्कलनमा राखे । यिनै उत्साह, प्रोत्साहनले पहिलो पुस्तक ‘ख्यालख्याल’ वासुदेवजीले छाप्ने चाँजो मिलाए । यो पुस्तक ९६ पृष्ठको जम्मा रू. ६००/- मा छापियो एक हजार प्रति । यसले हल्का, तहल्का मच्चाउनुमा त्यसबखत लाटाको देशमा गाँडो तन्नेरी भने जस्तै हो पाँडेको प्रसिद्धि । पसल पसलमा यो फसल पढिए, सुनाइए । बाटामा हिँड्दा चर्चा भए । पुस्तक हातहातै सकिए पनि हात लागि शून्य !

यस पुस्तकमा भैरवले भव्य भूमिका जमाएका छन् । मलाई लाग्छ परम्परावादी भूमिकादेखि पृथक् यो भूमिका पहिलो प्रयोगको नमुना हो । उनको भूमिका नै एउटा लेखकप्रतिको समालोचकीय हास्यव्यङ्ग्य हो । उनको २०२३ मा ‘ख्यालख्याल’ पहिलो संस्करणमा छापिएको भूमिका यस्तो छः

आजको ख्यालख्याल भोलिको पक्कापक्की’

लुतो फ्याँक्ने सङ्क्राान्ति, ०२३ गल्लीको डेरा, काठमाडौं

प्रिय पाँडेज्यू,

ख्यालख्याल गर्दागर्दै तपाईंले आफ्ना पाँडेबोलीहरू गाँसगुस पारी ख्यालख्यालको पुस्तक छापिसक्नुभएछ । टाकटुके लेखकबाट एक्कासी ग्रन्थकारमा तपाईंको प्रमोशन भएकोमा जति हर्क लाग्यो, त्यसको दोब्बर फुइँ आफूलाई तपाईंले ख्यालख्यालकै भए पनि बेकारबाट सम्मतिकारको दर्जामा उचाल्दिन खोज्नुभएको मलाई लागेको छ ।

सधैँको खडेरीग्रस्त हास्यव्यङ्ग्यको फाँटमा शीतलाई पनि वर्षाद् ठानी फुर्कनुपर्छ भने ख्याललाई पनि भोलिदेखि नै साँचासाँचीको एक किस्ती साइपाटा भन्नै पर्छ । किनभने, प्रवृत्तिगत वा समाजगत विकृति र विरोधाभासको परिहासपूर्वक पर्दाफास गर्ने तपाईंको बानीमा निक्कै जवानी चढिसकेको छ । शैलीको सिलाई, कुराको कटाइ, व्यङ्ग्यको बुनाइ देख्ता कति ठाउँमा एक्लै ताली दिन मन लाग्छ, तर तालीको साथै गाली पनि गर्न मन लाग्छ- पाउडरमा पिठो या घीउमा बोसो मिसाएझैँ हँसाउने धुनमा कतैकतै बढ्ता र सस्ता गफ पनि तपाईंले हाँक्नुभएको छ । यो कुरकुरे बैँसको पनि प्रभाव हुन सक्छ । तर पनि व्यक्तिगत आक्षेपतिर आफ्नो चुलबुले कलमलाई सुइँकिन नदिनुभएवापत तपाईंलाई धन्यवादको एउटा अकबरी टीको टाँसिदिऊँजस्तो लाग्छ । मलाई लाग्छ हास्यव्यङ्ग्य पढ्दा कुनै खास किसिम वा वर्गको भित्रभित्र मलाई पो भनेको हो कि भन्ने ठाने पनि बाहिर बाहिर उनीहरू पनि हाँसून् । कारण यस्ता निबन्धमा उल्लेखित पात्र या घटना त्यस किसिमका प्रतीकमात्र हुन्छन्, तर चोरको खुट्टा काट् भन्दा कसैले आफ्नो खुट्टो झिक्छ भने त्यो तपाईंको सफलता हो । त्यसैले त मैले भनें ‘हास्यव्यङ्ग्यकारको हरबोली पाँडेबोली हुन्छ ।’

मेरो पनि सत्र थरमध्ये एउटा थर पाँडे हो । फुकी भाइको नाताले पनि ख्याख्यालका प्रत्येक टुक्रा मैले पढेको छु, धेरै हाँसेको छु थोरै पट्टाको छु, अझ कति ठाउँमा आफ्नै पारा पाएको छु र शूलिको टुप्पामा टुप्पी छुवाएर रमाएको छु । ऊँटको बिहामा गधाले गीत गाउँदा दुवैथरि अहोरूप, अहोध्वनि भन्दै परस्पर प्रशंसाका ताली लगाउँदै जग्गेमै नाच्न थालेका थिए रे, कतै हाम्रो पनि त्यस्तै नभैजाओस् भनेर मान्छेभन्दा लामो मानपत्र मैले लेख्न नखोजेको हुँ । आखिर कुरो यतिमात्र हो, आफ्नो सगोत्री तपाईंलाई सफलताको खोजीमा सधै ख्यालख्यालमात्र हात लाग्नेछैन । पक्कै लाग्नेछैन !

तपाईंको
भैरव अर्याल

हास्यव्यङ्ग्य पत्रिका जुन १६ औ अवतारसम्म निस्केर सामयिक सङ्कलन सरकारले बन्द गरेपछि ‘कलियुग’ निस्कन छोड्यो । त्यसबखत सबैको प्रिय थियो । यही कलियुग पत्रिकाले हास्यव्यङ्ग्यकारलाई त्यसबखत एकापसमा नजिक ल्यायो । ‘मायालु’ मनोरञ्जनात्मक पत्रिका २०२१ र कलियुग हास्यव्यङ्ग्यात्मक पत्रिका २०२७ र कौवा प्रकाशनले त एकापसी सहयोगमा हास्यव्यङ्ग्य जग नै खडा गरे । वासुदेवजीसँग निकटस्थ भैयो । २०२५ को छ्याक्कन खेस्रा संस्करणको ‘डोको’, ‘खर्पन’ कभर डिजाइन र वासुदेवजीको काव्य पम्प्लेटमा आजाजुजे चित्र बनाउने आँट गर्दै चेतन कार्कीको ‘हनिमून’ उपन्यासमा त्यसैताका कभर डिजाइनसमेत जानी-नजानी गरियो र छापियो । अर्पण आदिमा त्यसताका मेरो कलाचित्र परेका छन् भने व्यङ्ग्य चित्र युवा, सर्वप्रथम २०२२ मा ‘मायालु’मा छापिँदा साहित्यिक पत्रिकामा व्यङ्ग्यचित्र मेरा आँखामा परेका थिएनन् ।

यसै क्रममा चित्रकार टेकवीर मुखिया र बलराम थापा, धरानका गोपालसँग भेट भयो २०२४-०२५ मा सायद वासुदेवजीलाई मैले मुखियाजीसँग परिचय गराएँ । २०२५ मा ‘सन्चै छ ?’ मा पहिलोपल्ट व्यङ्ग्यचित्र मुखियाजीले यो क्षेत्र मेरो हैन भन्दाभन्दै बनाउन लगाएर छापिएको हो । काठको ब्लक बनाउन यट्खामा लगेर त्यतिखेर निस्केको हो । हास्यव्यङ्ग्यमा सफल चर्चा व्यङ्ग्यचित्रले बढायो । पछि भैरवको किताबमा पनि मुखियाजीको सहयोगले व्यङ्ग्यचित्र बन्न थाल्यो ।

यसरी २०२०-०३० को दशकमा हास्यव्यङ्ग्यको जग बलियो बन्यो । पिंडालीजी र अर्यालजीलाई भेट्ने रहर यसै बेला मेटिएको हो । पछि त लीलाध्वज थापा, राजेश्वर देवकोटा, दाताराम शर्मा, श्रीधर खनाल, श्याम गोतामे आदि हापसे (हास्य पदार्थ सेवनकर्ता) सँग जगदम्बा प्रेसमा भेट भै नै रह्यो । भैरवसँग त नयाँसडक र रत्नपार्कमा भेट हुन्थ्यो । सँगै चिया खान पार्क रेस्टुराँमा पस्थ्यौँ । म त्यसबखत दिनमान, साप्ताहिक हिन्दूस्तान, धर्मयुग, कादम्बिनी, नवनीत आदि भारतीय पत्रिका किनेर पढ्थेँ । भेटमा कुनै अर्यालजीले पढ्छु भन्थे । पछिपछि त मित्र त्यसमा पनि सहोदर साथीझैँ गफगाफ, भेटघाट, चियापान, गोष्ठी, बैठकमा सहभागिता हुँदै निकट भैयो ।

भैरवका बारे धेरैले धेरै कुरा भनिसके । मैले पनि २०३० सालमा ‘कलियुग’मा नेपाली हास्यव्यङ्ग्यकारसँग जम्काभेट भन्दै छेरभालु वार्ता गरेको छु । त्यसमा अरि भैया लवर भनेर शब्दचित्र खिचिएको छ । मनोवार्तामा अर्थात् मनगढन्ते उडानको टपटुइयाँ लेखनको शब्दचित्रमा । यो यस्तो छ, ब्रह्माजीले अलि मान गरेर कान तानेछन् क्यार, बुद्धको जस्तो अथवा मदिसे खसीको जस्तो कान ।

कुत्कुत्याउन लम्बरी पण्डित । मौका पाए भने तपाईंको अङ्ग अङ्गलाई (इन्द्रियलाई) कुतकुती लगाएर उफार्छन् । भुँडीकी जय भन्दै भुँडी जाँच्ने वैध उनी नै हुन् । उनले गलबन्दी गुथेर जोरगला छोपेका छन् । हाल स्वस्तिश्री ग छन् । झर्रा शब्दको पर्रा र व्यङ्ग्यको छर्रा छाडेर उपद्रो मच्चाउँछन् । एम.ए को सर्टिफिकेट लिएर कालो बर्दीमा फोटु खिचिसकेका छन् । उनी आँखाले सबको तस्वीर खिच्छन् । उनको नश्वर शरीर काँक्राको भेट्नुमा मौसम अडाएजस्त छ । उनी कम्पोजिटरको कम्पोज काँटछाँट कम्पनीमा भर्ती भएका छन् । भेट्नै खोज्नुहुन्छ भने भूगोल पार्कमा धर्ना कस्नोस् ।
२०३७ को मनोरन्जनमा हास्यव्यङ्ग्यको नौरङ्ग अवतारमा नक्कलअनुसार सक्कल दुरुस्त छ भनेर मैले एउटा कविता व्यक्तिचित्र जमाएको छु भैरवको ।
‘बाँच्दासम्म रुनुपर्यो भोग्नु पर्‍यो रौरव
हास्यव्यङ्ग्यको काउकुती लाउँछन् अर्याल भैरव ।’

यो कवितामा भैरवलाई भैरवको प्रस्तर मूर्तिमा उनको टाउको फोटो गाँसेर साँच्चै बहुबाहुका भैरव बनाइएको छ । कार्टुनीकरण गर्ने काम मुखियाजीको हो । कलियुगको चौधौँ अवतारमा भैरवलाई अलि पचाउन गाह्रो परेको थियो । ‘केटी नबनाएको भए नि हुने’ भन्नुभएको थियो । तर, त्यस बेलाका सबैलाई टाउको फोटो र शरीर चित्रमा विभिन्न चरित्र दिनुभएको थियो मुखियाजीले । सायद उनको स्वर मसिनो र लज्जालु स्वभावलाई मुखियाजीले पक्डनुभएको थियो ।

भैरवको लेख मैले २०२७ को कलियुगमा ‘साथी, साथी र साथी’ छापेको छु । दोस्रो लेख २०२८ मा ‘सम्भावित दुनियाँ छापिएको छ । २०३० सालमा ‘ससुराली, मावली डुलेर’ उल्टाकार अर्यालको प्यारोडी छापिएको छ । भैरव बितेपछि मैले एउटा लामो संस्मरण लेखेको रचनामा छापिएको छ ।

भैरवबारे सन् २००० को नेप्लिज ह्युमरमा दिइएको २५ प्रखर हास्यव्यङ्ग्यकारमा जन्म १९९३ असोज ५ को कोपुण्डाल ललितपुर, ठेगाना गोकणर्, जोरपाटी, काठमाडौँ परेको छ । उनी नेपालीमा एम.ए. र साहित्य र मध्यमा पनि गर्ने विद्वान साहित्यकार हुन् । उनको काउकुती २०१९, जयभुँडी २०२२, गलबन्दी २०२६, इतिश्री २०२८ र दश अवतार २०३३ हास्यव्यङ्ग्य कृति हुन् । अल्बर भैया, विष्णु शर्मा आदि नाम छन् । भैरव देश-देशावरमा बङ्गलादेश, चेकोस्लोभाकिया, जर्मनी, हड्गेरी, भारत, पाकिस्तान, शोभियत रुस पुगेका छन् ।

भैरव आफ्नो समयमा निकै प्रखर थिए । उनी धेरै प्रभावपूणर् थिए । उनले धेरैको लेख सम्पादन गरेर छाप्नलायक पारिदिन्थे । सधै गोरखापत्रमा जाँदा उनी लेखरचना संशोधन गरिरहेका भेटिन्थे । साह्रै इमानदार । मुस्काउँदा रसिक लाग्ने भए पनि उनी गहिरा थिए । भित्र हास्यसिंचित भैरव तैल माध्यममा मैले बनाएको मुहार चित्रमा उनको हंस बसेझैँ लाग्छ ।

उनका त्यति धेरै सिर्जना नभए पनि जति छन्, ती उत्कृष्ट छन् । यसैले उनी पाठ्यक्रम र पाठ्यपुस्तकमा परे र प्रसिद्ध भए । उनलाई पढ्नेमा अमिट छाप छ । हास्यव्यङ्ग्यतिर मन तान्न उनको कृतिले नेपाली साहित्यमा योगदान गरेको छ । उनीबाट लेखनमा प्रभावित र अनुशरण गरेर कृतिहरू जन्मेका छन् । तर, धेरै हास्यव्यङ्ग्यकार आ-आफ्नो विशेषता बोकेर स्थापित हुँदै छन् । मेरो विचारमा स्थापित हास्यव्यङ्ग्यकार एकापसमा तुलनीय छैनन् । ती आ-आफ्नो सत्ता साम्राज्य खडा गरेर उभिएका छन् । सुन्दर वन घुमेपछि मरुउद्यान नै घुम्न पनि बेग्लै रमाइलो र आकर्षण हुन्छ ।

भैरवको युग र आज धेरै फरक परिसकेको छ । अहिले बढी हाँकपूर्ण छ । वास्तवमा प्रत्येक लेखकको आफ्नो शिक्षा, अनुभव, परिवेश, परिस्थिति, लगाव, झुकाव पृथक हुन्छ । यसैले आ-आफ्नो विशेषता अतुलनीय हुन्छ । प्रतिभावान् लेखकले आफ्नो राज्य खडा गर्छ । यिनैमध्ये भैरवको छुट्टै पहिचान छ ।

भैरवसँग बेलाबेलामा भेट हुने र आत्मीयता बढ्नेमात्र हैन लेखनको चर्चा हुने गथ्र्यो । उनलाई २०२५ को ‘सन्चै छ ?’ निबन्धले ज्यादै छोएछ र भेट्दा सधैँ ‘तपाईंलाई सन्चै छ ?’ भन्ने गर्थे । उनको हास्यव्यङ्ग्य थोरै भए नि सटिक छन् । सरल, मिठासपूर्ण, पूर्वाग्रहरहित र बुद्धि एवम् विवेकयुक्त छन् । उनले हास्यव्यङ्ग्यलाई नमुनालायक बनाएका छन् । भैरवले हास्यव्यङ्ग्यमा नेपाली भाषाको चमत्कार खन्याएका छन् । उनी आफ्नो समयका थोरै अग्रणीमध्ये एक नक्षत्र हुन् ।

आज नेपाली हास्यव्यङ्ग्यको दलबल ठूलै छ । तर, होनहार प्रतिभाहरू एउटै किताबमा सीमित छन् । देशका विभिन्न ठाउँमा भाषा, प्रस्तुति, शैली, चिन्तन, दृष्टि, बौद्धिक उष्णता सबै बलियो भएका हास्यव्यङ्ग्यकार ठाउँ-ठाउँमा तपस्यारत छन् । संखुुवासभामा ताराबहादुर बुढाथोकी, उदयपुरमा माधव पोखरेल, दोलखाकी सुमी लोहनी, काभ्रेका युवराज मैनाली, तनहुँका विष्णुलाल श्रेष्ठ, पोखराका चूडामणि खनाल, मकवानपुरका आर.सी. रिजाल, भैरहवाका भीमप्रसाद लामिछाने, पाल्पाका चोलेश्वर शर्मा, प्यूठानका भूपेन्द्र सुवेदी, दाङका उत्तमकुमार मजगैया, बैतडीका लोकेन्द्रबहादुर चन्द आदि केही नाम नेपाली हास्यव्यङ्ग्यका खम्बा मान्न नसकिने होइन ।

नेपाली हास्यव्यङ्ग्यको ‘रसबरी चमचम’ २००८ सालमै चखाउने कृष्णप्रसाद चापागाई पछिल्लो समयमा गुपचुप नै रहे । त्यस्तै प्रेमराज शर्मा ‘ससुराली’मै सकिए । हरि बन्दी ‘आ-आफ्नो महाभारत’ मै हराए । समावेशीका कुरा गर्दा पोखराका विश्व शाक्यले निकै गरेको मान्नुपर्छ । विराटनगरका लक्ष्मण नेबटियादेखि भुटानदेखि आएर काठमाडौंमा किलो गाडेका लक्ष्मण गाम्नागे कम कस्सिएका छैनन् ।

हास्यव्यङ्ग्यलाई अब व्यङ्ग्य लेख्नेलाई समेत भित्र्याएर ठूलो परिवार देखाउनु आवश्यक छैन । विशुद्ध हास्यव्यङ्ग्यकारका रूपमा बलिया हस्तीबीच नेपाली साहित्यमा मस्ती मनाउन सकिने अग्रज स्रष्टा र सिर्जना आइसकेका छन् । केशवराज पिंडाली, भैरव अर्याल, रामकुमार पाँडे, मोहनराज शर्मा, श्याम गोतामे, विष्णु नवीन, सूर्यबहादर पिवा, श्रीधर खनाल, वासुदेव लुइँटेल, बालमुकुन्द पाण्डे, हरि बन्दी, मुकुन्द आचार्य, लोकेन्द्रबहादुर चन्द, नरेन्द्रराज पौडेल, हृदयप्रसाद मिश्र, कृष्णमुरारी गौतम, नरनाथ लुइँटेल, विष्णु प्रभात लेखनक्रममा उम्दा देखाउन नसकिने होइन । श्यामबहादुर र नरमेन्द्र लामाहरू पनि कम्ता गतिला र घतिला छैनन् । खोजबिन गर्नमा पनि भरत भट्टराई, विष्णु प्रभात, नरनाथ लुइँटेल कम्ता छैनन् ।

हाटहुटे, फाटफुटे र चाटचुटेदेखि लाटलुटेसम्म खोज्दा थुप्रै लावालस्कर लाग्छन् । तर, हास्यव्यङ्ग्यका नाममा व्यङ्ग्य हास्य र अझ व्यङ्ग्यमात्र लेखेर हास्यव्यङ्ग्य भन्ने पनि थुप्रै छन् । गाली गलोजको तहमा ओर्लनेदेखि बाथरुम सिङ्गर टाइपका फाटफुटे लेखक गन्ने हो भने दिनदिनै केही नयाँ नाम थप्न पर्ने हुन्छ । हास्यव्यङ्ग्यमै साधना आराधना गरेर बढी योगदान गर्ने साहित्यकारचाहिँ अलि कमै छन् । लेखनमा परिचयको ठूलो ढ्वाङ विशेषाङ्क बनाउनेदेखि सौखिन पाराले पछि आएर माझमा सुत्न खोज्ने कोही निश्चित छाप मार्काका छन् । ती ग्याङका गोठालालाई लेख्न नपाई महान् बनाइएका हुन्छन् । सफल र सही हास्यव्यङ्ग्य सबैबाट माथि उठेर भाषा, शैली, विषयबुनाइ, व्यङ्ग्य हास्यको हलुवा बनाइ हास्यव्यङ्ग्यको परिपाक पुर्‍याई शुद्ध सक्कली लेखन जुन छ त्यही हो भन्नै पर्छ ।

नेपाली हास्यव्यङ्ग्यका स्थापित महारथी कोहीभन्दा कोही कम्ता छैनन् । ती आ-आफ्नै विशेषतायुक्त छन् । तुलनामा ठूला साना मूर्खले मात्र भन्छ । धेरै प्रशंसामा स्वार्थ लुकेको हुन्छ हास्यव्यङ्ग्यमा जात, थर र वादको विवाद महामूर्खको काम हो । उचाल्ने, पछार्ने पटमूर्खको काम हो । नेपालमा पगरी गुथाउने र मरेपछि पनि अद्वितीय पगरी रही रहने प्रथा एकातिर छ भने थर, जात, गाउँ, इलाका, समूह, समाज, नातापाताको प्राथमिकता पाउने भएकाले यो समय कसैको मूल्याङ्कन विश्वसनीय छैन ।

कोही पत्रपत्रिकाको प्रचारबाट प्रसिद्ध, कोही समूह र समुदायबाट प्रसिद्ध, कोही आफन्त र आफ्नो मान्छेका रूपमा प्रसिद्ध हुने हुँदा समालोचनाभन्दा सबैलाई मन पर्ने सिर्जना नै महान् योगदान हो । जुन गर्ने थोरै लेखकमध्ये भैरव भर पर्न सक्ने निडर व्यक्तित्व बोकेको हास्य व्यङ्ग्यकार हुन् । यस्ता नमुना देखाउनलायक भैरवको सिर्जनाको भर भएपछि हास्यव्यङ्ग्यमा केको डर !

०००
‘सम्झना’ भैरव स्मृतिग्रन्थ, भैरव पुरस्कार गुठी ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दस दनक

दस दनक

रामकुमार पाँडे
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे
टाउकाको खेल

टाउकाको खेल

रामकुमार पाँडे
कानमा तेल

कानमा तेल

रामकुमार पाँडे
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी