सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टाउकाको खेल

अचेल जुम्रालाई तह लाउने धेरै भएकाले त्यति डरचाहिँ छैन । तर जुम्रा नमारे जुम्राले नमार्ला भन्ने त्यति भर पनि छैन । यत्रो दुनियाँ देख्ने टाउकालाई जाबो जुम्राले अत्याएपछि चल्छ काम ।

Nepal Telecom ad

रामकुमार पाँडे :

पृथ्वी गोलभन्दा बढी भद्रगोल छ । अँध्यारोमा गोलजस्तै कालो छ । उज्यालोमा गोल अभद्र भएकैले भद्रगोल छ । भद्रगोलमै घुम्ने भद्रहरूको दिमाग गोलजस्तो भयो भने गोलमाल हुन्छ । सगोलमा भन्दाखेरि गोलैगोलमा मौका छोप्नेले गोल गर्छ । नसक्नेको भाग्यमा गोल मात्र हैन नोल पर्छ । यो गोलको कुरा गर्दा भूगोल गोलैगोलको अनमोल डल्लोहरूको गोलकै लाग्छ । ग्रह नक्षत्र पिण्डादि विश्व ब्रह्माण्ड नै गोल भएपछि यहाँ बस्ने मान्छेलाई गोलको प्रभाव नपर्ने कुरै छैन । मान्छेको टाउकै गोल छ । बाहिर गोल भएसम्म केही छैन- भित्र पनि गोल भयो भनेचाहिँ भद्रगोल भयो भन्ने जाने हुन्छ ।

गोलमध्य अनमोलचाहिँ मान्छेको टाउको । यत्ति बहुमोल टाउकामा मान्छेचाहिँ आधा खोल लगाउँछ । माथिबाट छोप्ने भएकाले यसको नाम नै टुप्पोसँग सम्बन्धित छ । अर्धगोल खोल टुपीको टुप्पो छोप्ने भएकैले टाउकाको टुपी डाक्ने ढक्कनको नाम टोपी भएको हुन सक्छ । टुपी छोपी हिँड्न थालेदेखि टोपीको फूर्ती नै अर्कै । टोपीले फूर्ती गर्दागर्दै टोप आइपुग्यो । मुखमा परेको घाम छोपेँ भन्दै आएको टोप वरिपरि हैन अगाडि फरेस्क्याप बन्दै टाउको च्याप्प समाउन आइपुग्यो । तर टाउकामा बिर्के टोपी, सुर्वे नातो, माकल टोपी वा टोप, पगरीदेखि फेटा होस् वा पेचविनाको श्रीपेच यसलाई कसैले आफ्नो स्टचान्ड भन्न मिल्दैन । टाउकोभन्दा टोपी ठूलो हैन । यो त पृथ्वीकै प्रतीक हो । टोपीका लागि टाउको हैन । बरू टाउकाका लागि टोपी हो ।

मान्छे जन्मदै टोपी लगाएर जन्मेको हैन । टोपी त टाउकालाई सिङ्गार्न टयाक्क टाउकोमा बस्न आइपुगेको हो । अझ टाउको दुखेको तोडमा कपडा बेर्दा टोपी बन्न पुगेको हो । वास्तवमा गर्धन नभएको भए मान्छेले तलबाट टोपी लाउँथ्यो । कारण जति पनि दुःख दिने कुरा छन्, त्यो तल्तिर-मन्तिर छन् । त्यसो हैन । त्यसलाई चलाउने गिदी खप्परभित्र लुकेको छ । त्यसैले टोपी माथि टुप्पोमा टक्क बस्यो । गिदी भएर मात्र हुन्न । गिदीभित्र कस्तो गुदी छ । गुदीले नै काम गर्छ । शिक्षितहरू यही गिदी भए सब कुरा हुन्छ भन्दै कहिलेकाहीँ बेचिदिन्छन् । मलाई लाग्छ गिदीबाटै बुद्धि जन्मेको हो । यसैले बुद्धिजीवीको सही रूप गुदीजीवी हो । तर अगाडिको अक्षरले बेइमानी गरेकाले ‘ग’ लाई ‘ब’ बनाएको हुनुपर्छ । नभए दुई किसिमका बुद्धिजीवी कहाँ हुन्थे । नपत्याए अचेल पुनः उही ’बु’ का ठाउँमा बुद्धि नबसी गुदी हुँदै गुदीजीवी बढी देखिन थालेका छन् । तर गुदीजीवीमा पनि दुई किसिमका छन् । एउटा अघिल्लो अक्षरअनुसारका अर्का भित्री शब्द वस्तु नै भएका । अघिल्ला अक्षर हाबी भएका चाहिँ त्यही भएरै गनाउने भए ।

त्यसैले गिदीको परिभाषा गर्नेले टाउकाको अर्थ नदेखेपछि नै टाउको फोरेको पाइन्छ । टाउको छ वा छैन भन्दा पनि यसलाई कसरी राख्ने भन्ने कुरो महत्त्वपूर्ण छ । ठाडो पार्ने र टोपीले सिङ्गार्ने वा झार्ने । टाउकाको महत्त्व भएकैले यसलाई आराम गर्न तकिया नबनाई सुखै छैन । टाउको अडाउने तकियादेखि टाउको ठडाउने टोपीको बान्की हेर्दा टाउको चेतनाको खान्की पुगेकाले झुकाउनु हुन्न भन्ने पाठ पढ्न पाइन्छ । त्यसको अर्थ आफ्नो टाउको जोगाउने, अर्काको फोर्ने कुरो आउन्न । मन्टो बटार्ने मात्र हैन हल्लाउने पनि गर्ने पर्छ । कसैले बिनीत भाव गरे झुकाएर नमस्ते गर्नेदेखि टाउकाले टेकेर हिँड्नेहरू पनि हुन्छन् । तर टाउको हराउन हुन्न । अर्थात् टाउको फुटबल होइन । हावा भरिएको टाउकालाई सबले लात हान्छन् । हावादारी टाउका पम्पु जति दियो उति फुल्छन् ।

यस्तो पम्पु व्यापार बढेको देख्दा कतै मान्छेको सही टाउको खोज्न म्युजियम पस्नुपर्ने हो कि मैं लाग्छ । हुन त म्युजियममा एउटै मान्छेको दुइटा खप्पर राखेको पनि देखिन्छ । एउटा रत्नाकरको खप्पर अको वाल्मीकिको । किसिम किसिमका खप्पर । कति किताब पढायो, लिपिको लेप दल्यो भरे निस्कने बेलामा दुन्न हावा भरिएको बल भएर आउँछ । हावा भरिएको टाउकाको तौल र मोल अचेलको नक्कली वस्तुकै भयो भने यो दुनियाँ कति दिन टिक्ने ? यत्रो महत्त्वको टाउको लात्तेभकुन्डो बनेको प्रमाण अचेल जहीँतहीँ भेटिन्छन् । हावा भरिएका टाउका जति हाई हाने पनि जान्छन् । आकाशमा पुग्न त पुग्छन् तर झरेर ठोकिनै पर्छ । टाउको सुनको बनाएको भए क्या मज्जा हुन्थ्यो । झलझल झल्कने । तर टाउको बचाउन गाह्रो हुँदो हो । खान नपाए आफ्नै टाउको तास्यो । आफ्नो टाउको बचाउन अर्काको टाउको फोयो- अनि सुन चोयो । मान्छेको भित्री भाग त चोर्न थालेका छन् भने बाहिरी भाग के बच्थ्यो ? बरु फलामको भए गजब हुँदो हो । सवारी चालकले हेल्मेट किन्नै नपर्ने। जहाँ जसले जति बजारे पनि लछार्न नसक्ने । टाउको फोर्न सितिमिति कसैले नसक्ने । तर हैन खियाले खाएर आजभोलिका नेताकै खुस्केको दिमाग लिएर हिँड्नुपर्थ्यो ।

टाउकाको खेल नै अर्कै हुँदो हो । ताज लगाउने टाउको र रित्तो खप्पर बोकेको टाउकालाई छालाले नमोडिदिएको भए कम भयानक हुने थिएनन् । हुन त छालाले मोडे पनि हावा भरिएको बलझैँ छैन । तर अचेल टाउकाको खेल हेर्दा असम्भव केही छैन । बलको डल्लोझै लाग्ने टाउकाको बल सबल नै छ । पृथ्वी नै रङ्गशालाझैँ भयो । हावा भरिएका बलकै मान्छेका टाउका के बग्रेल्ती बढेका । हावा भर्ने त झन् कति कति ? हावाको व्यापार, हावाको राजनीति, हावाको धर्म, हावाको शिक्षा भएपछि टाउको भकुन्डो नभए के हुने ?

भकुन्डे टाउको बोकेपछि खेल्ने खेल पनि भकुन्डो नै हो । टाउकाको खेल कोही पगरी लाउने दाउले खेल्छन्, कोही कामै नगरी कमाइजमाई हिँड्छन् । यो देख्नेको टाउको बलाकार अरिङ्गालको गोलोझैँ भित्रभित्रै भुनभुनाउँछन् । एकआपसमा गुनगुनाउँछन् । भित्रभित्रै कुस्ती चल्छ, मस्ती चल्छ, बस्ती बल्छ, शक्ति गल्छ, गाँड फल्छ र रूखै ढल्छ । टाउका टाउकामा अरिङ्गाल बस्यो भने के होला तर अरिङ्गालको गोलामा आगो लगाउने पनि टाउकै हो। यस्तै भएकाले कसैले भन्न सक्दैन यो टाउकाको खेल हो ।

कसैलाई कुर्सीले टाउको रिङ्गाएको छ । कसैलाई हातमुख जोर्न कोतेधन्दैले टाउको खाएको छ । कसैलाई टाउकोमा बजार्न पाए हाइसन्चो, कसैलाई टाउको नफोरी भा’छैन । जन्मदै हेलमेट हालिदिएको भए टाउको फोर्न कोही कसिन्नथे । कसको बाउको तागत टाउको फुटाल्न । पुर्पुरो बलियो भएपछि टाउको त्यसै जोगिन्छ भन्नुहोला । तर टाउको बलियो भए पनि जोगी बन्ने पनि छन् । टाउको रिङ्गाउने, बचाउने, छोप्ने, लुकाउने जे-जस्तो भए पनि सबै टाउकाको खेलभित्रै पर्छन् । टाउकालाई भित्रभित्रै बोझ भएकैले कपाल झर्छन् ।

यसैले हेर्नोस्, सबैभन्दा बढी टोपी लगाउने तालुखुइले नै हुन्छन् । तर मान्छेलाई थाहा छैन टोपीले टाउको छोपिन्त । बरु टाउकाले टोपी छोपिन्छ । जतिसुकै गह्रौँ जतिसुकै सुन्दर टोपी लगाउनुहोस् यो गिदीमा राम्ररी गाँसिएको छैन भने पक्लक्क उल्टन्छ, पल्टन्छ र मान्छे मुडुलो बन्छ । मुडुलो बनेर बालककै अवस्थामा पुग्दा पनि विश्व हाँक्ने लोभले लिप्त टाउको आगो लागेपछि मात्र पड्कन्छ । टाउकामा कपाल हुनेहरू पनि फोहोरी भए जुम्राको खेती चल्छ । जुम्राको ससार मान्छेको भन्दा कम छैन । जङ्गलवासी सधैं फोहोर भए स्याबास भन्दा हुन् । कपालभरि लिखा झुलाउने भए तिनका संसार चल्दा हुन् । सिनित्तै पखाल्न गाहै छ, ढाडेहरूको केन्द्रीय समिति, जुने कार्यकर्ता, जुम्राहरूको हर्ताकर्ता पल्टन, चम्कना-चोरको गर्जन र लिखाको कुबुद्धि लर्कनलाई टाउको हल्लाएर झर्ने हैन । पृथ्वीमा यसरी स्याउँस्याउँ जुम्रा परे के होला ? हुन त जुम्राले सताउन सुरु गरिसकेको छ । मान्छे जुम्रा परेर जिङ्ग्रिङ्ग भ्याउरे बनेपछि बुद्धको बुद्धि काम छैन । नुहाएर सफाचट पार्न कम कठिन छैन । जुम्रा निर्मूल पार्न ठट्टा छैन । सारा लट्टाभरि स्याउँस्याउँ जुम्रा । ओछ्यानभरि स्याउँस्याउँ भ्याउँभयाउँ कराउने भए कति क्याउँक्याउँ गर्दा हुन् ।

जुम्रालाई टोपीले छोपिराखे चिलाएर मार्ला । रगरग सकसक गरेपछि टोपी नखोली हुन्न । पूरै टाउको खौरिँदा पनि कतै यसको बाबु नै खुस्क्यो कि भन्न बेर हुन्न । अचेल जुम्रालाई तह लाउने धेरै भएकाले त्यति डरचाहिँ छैन । तर जुम्रा नमारे जुम्राले नमार्ला भन्ने त्यति भर पनि छैन । यत्रो दुनियाँ देख्ने टाउकालाई जाबो जुम्राले अत्याएपछि चल्छ काम । टाउकाको खेलले नै कृष्ण- कृष्ण भए । रावणले दस टाउको भए पनि दस दनक खाए । टाउकैटाउकाको जमातमा टक्रक्क छुट्टिने टाउको बन्न पनि टाउकैमा लिएर आउनुपर्छ ।

त्यसैले टाउको निहुराउँछन् मान्छेहरू एउटा टाउकाको अवसानमा । टाउको उठाउँछन् मान्छेहरू अर्का टाउका निहुरिएमा । टाउकाले बाँच्ने नै टाउके हुन् । भुँडीलाई सब थोक देख्ने हाराकिरी गर्छन् । टाउको जोगाउन नजान्ने साट्छन् । टाउकाभित्र गिदीको ठाउँमा लिदी भर्छन् । कोही टाउको घाँस चर्छन् । कोही टाउको रित्ता कसरी भरौं भन्छन् । टाउको पेटका लागि भरिनु हुन्न । टाउकाले राम्रो सुन्नुपर्छ किनकि टाउकामा कान छ । टाउकाले राम्रो देख्नुपर्छ किनकि टाउकामा आँखा छ । टाउकाले जे पायो त्यही हसुर्न हुन्न किनकि टाउकामा मुख छ । टाउकाले सबैबाट माथि उठेर अग्लो हुनुपर्छ, किनकि टाउकामा नाक छ ।

०००
पाँडे पुराण (२०६४)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दस दनक

दस दनक

रामकुमार पाँडे
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे
कानमा तेल

कानमा तेल

रामकुमार पाँडे
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी