साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपरखुट्टी लाएर उपद्रो हेर्ने भए

म यति भन्न सक्छु तपाईंका हास्यव्यङ्ग्ग्य काँचा छैनन्, साँचा भएकाले पाठकलाई भन्छु उपरखुट्टी लाएर फाँचा हाले हुन्छ । यो ढाँचाको लेखन साँचा हास्यव्यङ्ग्य भएको बेहोरा साँचा हुन् भनी श्री पाँडेको सरकारले टाँचा लगाएको छ ।

Nepal Telecom ad

रामकुमार पाँडे :

जब जब समाजमा विकृति बढ्छ तब तब समाजका सचेत साहित्यकार व्ययको मरको हलुवा लिएर बाछन् । उपद्रो गर्नलाई को अमर सज्जन बन्धुलाई हास्यको हलुवाको परिकार पस्कन्छन् । समाजमा राक्षसहरूको राज बडे हास्यव्यङ्ग्यलाई माया नगरी छायामा राख्छन् । सोकतन्त्रको विकृति हो कि विकृतिको लोकतन्त्र हो, विकृति बढेको बढ्यै छन् । राजनीतिको हण्डी खानेहरू पक्षपाती भएका छन् र अक्षतापाती भेटेसम्मन् बुद्धि-विवेक मेटेका छन् । अब हेर्नोस्, भ्रष्टाचारको भाइरस चारैतिर बढेपछि हास्यरस जोगाउन गाहो हुन्छ । हाँसो नै कतै देखिए पनि ती राक्षसी हाँसो हुन्छन् । मुस्कान हराउँछन् त्यसैले बेलाबखत हास्यव्यङ्ग्यकार प्रकट हुँदै जनताको निकट हुँदै विकट परिस्थितिको स्थिति बोधमा सचेत गराउन अचेत अवस्था हटाउन हास्यव्यङ्ग्य चटाउन औतार प्रकट हुन्छन् । सक्कली हास्यव्यङ्ग्यकार नक्कली नेतालाई भित्ता पुर्‍याउने व्यङ्ग्यको बम वर्षा गराउँछन् । हाँसोमा उडाउँछन् । आज बिगार्नेलाई सात पुस्ता थला पार्छन् । देखिदेखि तिनका सेखी झार्छन् । कालोको जालो लागेको समयमा पनि जब जब ग्लानी हुन्छ कलमले मल्हम लगाउन कस्सिन्छन् र हास्यव्यङ्ग्यको झिल्काको राँकोले झोसेर तिनका झाँको झार्छन् । यस्तो काममा नयाँ नाम बुर्कुसी मारेर आएका छन् देवीप्रसाद चापागाई । यिनले यात्रा त ६ वर्षअघि नै गरे पनि सातौं वर्षमा नवीकरण गर्न आइपुगेका छन् । आउन नपाई चिन्नु न जान्नु उपरखुट्टी लाएर गजधम्म बसे । स्रस्टालाई सर्वश्रेष्ठ मान्ने भएर बचे नत्र त्रिखुट्टीमा राखेर फाइँफुट्टीलाई लखेटे जस्तो ठाडै लगार्थे ।

सिर्जनामा नै सबै घुम्छ । त्यसमाथि हास्यव्यङ्ग्य एक हातले तानी बज्दैन भन्छन् तर मैले उनको हात तानेर उनको एक हात र आफ्नो एक हात मिलाएर काम तमाम पारे । पहिले नै उनको ‘खित्का’ हेरेपछि हास्यको हुलमा हास्यको मूल भेटेपछि कुल बढ्ने देखि मैले पनि उनको पाण्डुलिपि पाएर छुट्टी नभए पनि उपरखुट्टी लाएर पढ़ें ।

यी कस्ता व्यक्ति हुन् ? आफूलाई अत्तोपत्तो छैन । यी कुन ड्याङका मुला हुन् ? कतै कुनै ग्याङका ठूला हुन् कि नाना रङका शङ्का उपशंका हुँदाहुँदै पढेपछि विश्वास गरेँ पक्का हास्यव्यङ्ग्यकार रैछन् । भित्र राम हुन्छ हास्यव्यङ्ग्यकारको र हरामलाई हान्छन् । त्यसैले रामकहाँ कामका लागि आएका रैछन् ।

हेर्नोस्, धेरैले धेरै किसिमको पसल थापेका छन् । को कसलाई ठग्न सकिन्छ नापेका छन् । सक्कलीमा नक्कली मिसाएर बेच्ने गर्छन् । हेर्नोस्, आज भोलि लुरेलाम्रे पनि कुस्ती सिक्न आउँछन् र सिकेपछि गुरुलाई नै हाल्न सिक हाल्न पछि पर्दैनन् । कमसेकममा हास्यव्यङ्ग्यकार यसमा सचेत हुनुपर्ने हो तर कोही कोही विचेत भएर कसैलाई ठोक्छन्, कसैलाई कुकुरै भएर टोक्छन् । मालिक देखे बोक्छन् र पुच्छर हल्लाउँछन् ।

त्यसैले जान्नेले चेलाको फेला नपर्ने हो भने सबै सिकाउन हुन्न भन्दा रछन् । हुन पनि एउटा कुस्तीबाज गुरुले राम्ररी सिकाएपछि ठूलो भिडन्तमा भाग लिएर आफ्नो कौशल देखाउन गुरुलाई पनि बोलाएछन् । असल गुरुको दाउ सिकेर सबलाई हराएर बिचेत पारेपछि मञ्चबाट हुंकार गर्दै यहाँ उपस्थित कोही मर्द छ मलाई जित्ने ? भन्दै हुंकारमा तिघ्रा ठटाउन लागेछन् । ठूलो हाँक भएपछि गुरुले पनि मञ्चमा पुग्नेबित्तिकै हाँक दिने चेलोलाई एकैपल्ट पल्टाएर चेत पारेछन् । पछि चेलो उठेर गुरु तपाईंले सबै दाउ सिकाउनुभयो तर यो दाउ सिकाउनुभएन भनेपछि गुरुले भनेछन् तैँ जस्तो गुरुलाई हाँक दिने मूर्खको नाक भाँच्नलाई यो बाँकी राखेको हुँ । हेर्नोस्, जसलाई सिकायो उही ठालु सिकाउने आलु अनि तालु तातेर यस्ता चालु भालुलाई फालू भन्नेतिर नलागी भो ? हेनोस्, भालुभुत्तेलाई भुत्ते कर्द नदेखाए मर्दको दर्द कसरी ठीक होला । यो लेख्दा समाचार आइरहेको थियो, पुराना पुस्तक नष्ट हुँदै छ रे ! मूर्खलाई ज्ञानमा कहाँ ध्यान जान्छ ? गाई- गधा बराबर, गधा धोएर गाई र शत्रुलाई मलेर भाइ हुने हैन । हुन त एकपल्टको चोर सधैको चोर भनेझैँ एकपल्ट एउटाले एउटालाई महामहिम कवि भने, मरेपछि पनि अर्को महामहिम बनाएको देखिन्न । सरकारी पद र पदवी समयअनुसार सर्दै जानुपर्ने हो । नत्र नेपालमा अरू कोही महाकवि, कविशिरोमणि हुने भएनन् न त उपन्यासकार राष्ट्र उपन्यासकार हुने भए । मान्छेलाई मूर्ख बनाएको पत्तै छैन मरेका प्रधानमन्त्रीलाई प्रधानमन्त्री नै भने पनि शासन गर्नेलाई पदवी सर्ने गरेकै छ भने कविमा मात्र यो पेवा हो र ? उबेला महाकवि भए अहिलेको महाकवि कहाँ गए ?

हेर्नोस्, देवीप्रसादजी महाकविको त यो हालत छ भने हास्यव्यङ्ग्यकारको कुरै नगर्नोस् । पगरी सर्ने आसै नगर्नोस् । जति गर्नोस्, न तपाई महाहास्यव्यङ्ग्यकार, न हास्य शिरोमणी, न त राष्ट्र हास्यव्यङ्ग्यकार । हेर्नोस, जेठा दाइको त धोती न टोपी, कान्छा भाइको के गति ? न केशवराजले राज गरे, न भैरवले भुँडी भरे । पद्दुले पदवी पाए हास्यव्यङ्ग्यकार हेरेको हेर्‍यै नै भए । रोलक्रममा तपाईं पुच्छरतिर पुग्नुहोला । म त कसैलाई गन्नेवाला हैन किनकि आफैलाई म गन्दिनँ । म त भन्छु तपाईंसँग जुन विशेषता र मौलिकता छ अरूसँग हुँदैन । भन्नेले हियाएर फलानाको जस्तो हुन सकेको छैन वा फलानोलाई भेट्ने कोही जन्मेन भन्लान् । यी सब हचुवामा भन्ने हुन् । यति नभए तपाईंको भूमिका हेरेर कुन तहको गन्ने हुन् । त्यसैले म भन्छु – भूमिकाले लेखकलाई सीमित गर्छ । त्यही हेरेर तपाईंलाई टाँचा लगाउने कुरा साँचा हुन् । यसलाई परीक्षण गर्ने मन छ भने अर्काको रचनामा आफ्नो नाम र आफ्नो रचनामा अर्काको नाम राखेर कुन राम्रो छ सोध्नोस् । नाम हेरेर तोक लाग्नेछ ।

कोही प्रशंसा गरेर उफार्छन् । कोही अन्टसन्ट कुरा गरेर झार्छन् । म तपाईंको हुँदै नभएको प्रशंसा गर्ने वाला छैन । न त सत्तोसराप गरेर झार्ने, न त हुँदै नभाको कुरा गरेर उफार्ने । त्यसैले गाली र तालीको भर नगर्नुस् । आफ्नो ब्रह्मले देखेको लेख्नोस् । आफूभन्दा कान्छाको कुरा र ग्राजुयटले मास्टरको पाठ्यक्रम बनाए जस्तो अथवा हबल्दारले हाकिमलाई तालिम गरेर फुली लगाएपछि स्यालुट ठोक्छ भन्ने नठान्नुहोस् । कोही ठेकेदार भएर तपाईंको स्तर निर्धारण गर्ने, कोही ज्योतिषजस्तो भविष्य प्रखर हुने प्रबल सम्भावना छ भन्ने, कोही अगाडि फुर्काउने पछाडि सुर्काउने गर्लान् । अचेल राजनीतिको किचडमा राजाको राजकीय शब्द भालुभुत्तेलाई प्रयोग गर्ने र सम्मानित व्यक्तिलाई तँ तँ म म गर्ने कति छन् कति, गति नै पर्ने हो भने बिग्रेका मतिको सती जान सकिदैन । यस्ता जालझेलबाट तपाईं बुर्कुसी मात्र हैन छार्तोस ठोकेर आफ्नै बाटोमा हिंडे मात्र टाउको ठाडो होला नत्र हास्यव्यङ्ग्यका क्षेत्रवाट पुच्छर ठाडो पारेर दमपच भए हुन्छ ।

हास्यव्यङ्ग्यमा वक्रोक्तिको विशेष महत्त्व छ । अतिसयोक्ति मात्र न घुमौरो भाषा मात्र पनि हैन भनाइमा वक्रदृष्टिले सिर्जना हुने अर्थमा हुनैपर्छ । अब हेर्नोस्, खानुको अनेकार्थी वा समानार्थी कति छन् ? घुस घिच्नुभन्दा घुस ज्युनार होस् भन्दा के फरक छ ? घुस र ज्युनार, घुस र घिच्नु अथवा घुस र ज्युनारमा के छ ? हास्यव्यङ्ग्य भनेपछि शीर्षकदेखि वाक्य बनोट र शब्दको चोट हेर्नुपर्छ । तपाईंको भाषामा लर्काउने, मर्काउने, फर्काउने, चर्काउने, सर्काउने मात्र हैन व्यङ्ग्य दर्काउने नै छ । तर अनुप्रासमा धेरै नक्कली र नमिल्दा राख्दा घिउमा बोसो मिलाए झंै हुन बेर हुन्न अलि सरल र तरल मिलाएकै हुन बेर हुन्न । अर्को आफ्नो रचना पच्चीस वर्षपछि पढ्दा कुन रूपको देखिएला ? अलि शाश्वत चिन्तन, प्रवृत्तिजन्य व्यङ्ग्य र सुधारसापेक्ष चिन्तन अझ व्यापक प्रभावका विषय निस्पक्ष हैन सपक्ष चुरोमा कुरो व्याप्ति भयो भने तपाईंको समाप्ति हैन केही सन्तोष प्राप्ति हुनेछ ।

फलदायी, कालजयी र सक्कली चिन्तनमा नडुबी कहाँ मोती मिल्छ । हैन लाखापाखा लागेर, अहिलेको लठुवा र भतुवा, भालुभुत्तेको पछि लाग्नुभयो भने के जाति साढेको पछि लागेको स्यालको कथाको आधुनिक संस्करण हुनेछ । अहिले केही पाए पनि वा केही खाए पनि त्यो के जातिको न्यानो भैजाला । तपाईमा शीर्षक राख्ने सीप धेरै हदमा हास्यव्यङ्ग्य रङकै छन् । खित्का, फेसबुक पेज, कस्तो फसाद, लुतो, उपरखुट्टी, हैत, हास्यव्यङ्ग्य गोष्ठी के जाति शीर्षक हास्यव्यङ्ग्य देखिन्छ भने सोझो शीर्षकमा उपचार, अन्तर्वार्ता, बोली, ताली, संशोधन, पत्राचार, समय, खाँचो, पलेटी, पहिचान बुझिन्छ । उपचार मात्र भन्नुभन्दा उपबुज्रकको उपचार, अन्तर्वार्ता मात्र भन्नुभन्दा अन्तरकुन्तर वार्ता, बोली मात्र हैन बोलीको गोली, ताली नभनी तालिमान, संशोधनभन्दा विधाताको संशोधन, पत्राचार मात्र नभनी स्वर्गवासीसँग पत्राचार, समय मात्र हैन कालको कमाल, खाँचो नभनी आआफ्नो खाँचो, पलेंटी बसाइ, कैची कसाइ, पहिचानको रङको यस्तै उस्तै दुरुस्तै हैन । पढ्नचाहिँ पढूँ पढूँ लाग्ने । सुरु गरेपछि छोड्न मन नलाग्ने । केही न केही आकर्षण छ देवीको हास्यव्यङ्ग्यमा । भर्खर भित्र्याएकी नववधु, केही न केही आकर्षण छ । कि कसो ?

काठमाडौको काटदेखि पर पाखातिर हाइजम्प गरेको गाउँठाउँ पूर्वकाको पादव खरेल, सिन्धुको देवी चापागाई, धनुषाका माधव, सङ्खुवासभाका ताराबहादुरको भूमिका लेख्दै पूर्व विस्तार, ललितपुरका बसन्त, काठमाडौंका हृदयप्रसादको भूमिका, उता पश्चिम नुवाकोटका वासुदेव, मकवानपुरका आर.सी. धादिङका शैलेन्द्र सिम्खडा, तनहुँका विष्णुलाल, कास्कीका विश्व, प्युठानका भूपेन्द्र र बाहिरकै कुरा गर्दा भुटानका गाम्नागे हास्यव्यङ्ग्य विस्तार गरी प्रमाणिकरणको प्रमाणपत्र दिए पनि रिन्यु गर्ने काम कमै भएका छन् । नक्कलीको दरखास्त खारेज गरेर सक्कलीलाई उफारेर जाने नीतिअनुसार हास्यव्यङ्ग्य सिस्नो भएर उम्रे पनि लिस्नो चढेर उक्लने आलुको सिला खोजेकै छ ।

नयाँ नयाँ हास्य नेता फाट्टफुट्ट भए पनि चन्द्रमाको उज्यालो देखिन्छ । प्रत्येक हास्यव्यङ्ग्यकार पूणर्िमाको चन्द्रजस्तै देदीप्यमान, नेतालाई झोले सम्मान लेखकलाई युगयुगसम्म मान किनकि हरसमयका बेइमानलाई व्यङ्ग्यको बम हान्ने र सोझासाधा जनतालाई हास्यको हलुवा ख्वाउने भएरै नेपाली हास्यव्यङ्ग्यमा जून लागिरहेछ । एउटा जून देवी हुन् । केही जून खून लागेर दागी भएर भागिसके । देवीका अठार निबन्धमा अठार पुराण लगाउने र बीच बीचमा गाउने गरेर पाठक भगाउने पक्षमा छैन म । यसमा के छ, के के छ समुद्रमा पुग्नेले भाँडोअनुसार भर्ने छन् । सुधार्ने बिगार्ने तपाईकै हात । खार्न र तिखार्न सके निखार्न सकिन्छ । धेरैको पढ्नोस्, धेरै लेख्नोस् । देवी देवीजस्तै हुनोस् । दुवै हातमा मेरो तर्फबाट बधाई र शुभकामना ।

हेर्नोस्, पक्का हास्यव्यङ्ग्यकार आफैलाई पनि उडाउँछन् । माथि उठेर लेखनी बढाउँछन् । पढ्नेले स्वाद लिन्छ । लेखकलाई धन्यवाद दिन्छ । म तपाईंको उपरखुट्टीको ताल हेरेर यो सक्कली माल भन्न सक्छु । म यति भन्न सक्छु तपाईंका हास्यव्यङ्ग्ग्य काँचा छैनन्, साँचा भएकाले पाठकलाई भन्छु उपरखुट्टी लाएर फाँचा हाले हुन्छ । यो ढाँचाको लेखन साँचा हास्यव्यङ्ग्य भएको बेहोरा साँचा हुन् भनी श्री पाँडेको सरकारले टाँचा लगाएको छ ।

श्री पाडेको सरकार राक्षसी राज, २१७४ वैशाखको बैसाखी टेकेको बेला

प्रमुख
रामकुमार

०००
देवीप्रसाद चापागाईंको ‘उपरखुट्टी’ (२०७४) माथि भूमिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x