साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानमा तेल

नपत्याए एकपल्ट् कानमा तेल हालिहेर्नोस्, तपाईं हाइसन्चोमा पर्नु हुनेछ । यस्तो अवस्थामा धेरैले कानको तेल खोज्ने हुँदा सम्बद्ध नेताले कुकुरको पछि लाग्नुहोला, शुद्ध तेल नपाए पनि खाँचो टर्नेछ ।

Nepal Telecom ad

रामकुमार पाँडे :

एका बिहाने समाचार सुने सिंहदरवारको कुकुर व्यवस्थापन आजदेखि । कुकुरका छाउरा बढे रे । यसो हेर्छ कर्मचारी सबै विवाहित छन् । कुनै कुनै नेताले पालेको भए देव जानुन । उनीहरू रातको बा बजे सम्म बस्ने । उनीहरूलाई सुरक्षा चाहिने। कहाली लाग्दो बात ल्याए वा आए । कसैलाई पत्ता छैन वेपत्ता छ । त्यसमाथि सुरक्षा घेरा कड़ा। बांदर भए पखाल चढेर गए भन्नु । तर कुकुर छ्यापछ्याप्ति । अचम्म हैन ?

सिंहदरबारमा त सिंहका डमरु पो देखिन पर्ने । सिंहको छालामा स्यालको दाई भने झैं कुकुरले सिंहदरबार ढाक्या क्या गज्जब । त्यसमा पनि चानचुने दरबार हो र ? सिंहदरबार । यसको मतलब घेराउमा सिंह पन्यो । कुकुरलाई बन्ध्याकरण गर्ने कि सिंहलाई स्थानान्तरण गर्ने ? कहीं नभाको जात्रा यहीं हुने रहिछ । सिहदरवार नै सारा कुकुरको राजमा कुकुर नै सार्न पनि टोक्ला भन्ने डर । कुकुरको व्यवस्था गर्न नेताको व्यवस्था मिलाउन मैं गाह्रो छ । रिस उठे टोकिदेला भन्ने पिर । रोग लागे बहुलाउला भन्ने डर । हुन त मालिकको सेवा गर्न यी सिपालु हुन्छन् । पुच्छर हल्लाएर मालिकको पुच्छर लागेपछि खाना दाना पाइने ।

तर कुकुर पनि हेर्नाका छन् । गाउँ र गल्लीका हुन र पाखा पखेरा र घरबारका हुन र कुकुर परे दरबारका । त्यसमाथि नाम सुन्दै थर्कमान । भोटे कुकुर त भई नै हाले, गल्लीका लुते कुकुर पनि घुकेर न सुत्न दिन्छन् न खम्बाछेउ उठ्न । सिंहसँग आँखा जुधाउने मात्र हैन पाए टाउकैमा झम्टने । अनौठामा पनि हद अनौठो । कतैबाट धाँधली भएकै हुनुपर्छ । सिंहदरबारमा कुकुरको जनसंख्या बढ्यो । परेन फसाद । न कसैले कुनै आवाज निकाल्छ न नारा र जुलुस । मान्छे पनि के भाका आफ्नो तालमेलमा धक्का परे विरोधको नारा घन्कन्छ,

सत्कन्छ र रन्कन्छ । सह ठानेको सिधा मान्छे पनि सन्कन्छ, नभए सव चुपचाप । हुन त हाम्रो तालमेल नै गज्जब छ कोही हातमा दही जमाउने कोही कानमा तेल हाल्ने । नढाँटी भन्ने हो भने । संसारमा सबभन्दा बढिरहेका कानमा तेल हाल्नेको जनगणना गर्ने हो भने हाम्रे वरिपरि घुमे हुन्छ । हनोस, कानको तेल पनि अरू जस्तो हो र ? अचम्मै छ । बोर्डर बन्दले गाडीको तेल नभएर के भयो ? विहे वर्तमान सेल पकाउन तेल नभएर के भयो ? घिउ न तेल पकाउ बूढी सेलबाट राजनीतिको जालभेल सम्म आइपुग्दा पनि तेलका बारे चाइंच्ई छैन । बरु मट्टीतेल नपाए कांचो दाउरामा चुइचुइ गर्दै पकाए भयो । ग्यास नआए सास जाने रैनछ । यो सब कानमा हालेको तेलकै करामत हो भन्ने कुरामा मत वा अभिमत सबैको नहुने हैन ।

कानभरि तेल हालेर बसेपछि आनन्दै । अझ हातमा दही जमाएको देखिएपछि त भुसुनाले लात हान्दा र भिडाले पाखुरा सुकिंदा कुनै कुरोको अत्तोपत्तो हुन्न । नपत्याए कानमा तेल हालेर हेर्नोस्, सबै कुरा मिल्छ । राजनीतिमा जसरी विवादलाई संवादका माध्यमबाट मिलाउने भने पनि मिल्ने बेलामा डलरको कलर मिल्छ र कानमा तेल हाल्दाको हाइसन्चो हुन्छ । कानमा तेल नहाल्नेले पो दुनियाँभरका मान्छेको कुरा सुन्छ । सुनेपछि चित्त दुख्छ । चित्त दुखेपछि असन्तुष्टिको पित्त निस्कन्छ । त्यसैले कानमा टन्न तेल हालेर बसेपछि कसैले कसैलाई कुटोस कि पिटोस् अथवा चुटोस् कि लुटोस, अझै रीसले कम्परा तातेर खलखलि पसिना छुटोस, के मतलब । कानमा तेल हालेका देखिएपछि कसैले फेल भनोस् कि झेल गर्नेको खेल चलोस्, केही अत्तोपत्तो हुन्न । त्यसैले नेता भनाउँदाले भाषण पिटेर जनताको कानमा कुरा कोच्नसम्म कोच्छन् । ताकि कानले के सुनेन भन्ने पत्तै नपाओस् । कानै खाने गरी चिच्याएर कान भर्ने एक मात्र उद्देश्यले भाषण गर्ने नेता जनताले सुन्नै छाडेको अत्तोपत्तो पाउन्न ।

पहिले पहिले मर्तेलमा एक मोहर बढाउँदा आगो बाल्थे अहिले जति बढाए पनि खति नहुने ठानी ठेकेदार चाइंचुई गर्दैनन् । किनकि

जनतामा कैयनले कानमा तेल भरिसकेका छन् । मलाई लाग्छ । कानमा तेल हालेपछि नै सबै समस्या समाधान हुन्छ । त्यसैले कानको तेलको अनुसन्धान गर्नु जरुरि छ । मान्छे भए त कुनै दलको दलाल नबनेर घरवालिले तेल नपाउँदा पोखेको दुखेसो सुनेर मन्त्रीको कठालो समाउन पुग्थे । जाने बुझेका युवा त ड्रममा पेट्रोल भरेपछि कानमा तेल हालेर निदाउँछन् । ती न जनताको कुरा सुन्छन् न पीर मर्का सुनेर ढडेसो खुस्कने गरी कालोबजारे व्यापारीलाई हनुमान्को गदाले ढाडमा ढोलक बजाउँछन् । कानमा तेल हालनेले सन्चो ठान्छन् । त्यसैले जुनकुनै तेल मर्तेल भन्दा कानको तेल विशिष्ट छ । नपत्याए एकपल्ट् कानमा तेल हालिहेर्नोस्, तपाईं हाइसन्चोमा पर्नु हुनेछ । यस्तो अवस्थामा धेरैले कानको तेल खोज्ने हुँदा सम्बद्ध नेताले कुकुरको पछि लाग्नुहोला, शुद्ध तेल नपाए पनि खाँचो टर्नेछ ।

०००
जोकतन्त्र जिन्दावाद (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x