सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दस दनक

यी भुँडी जोडिएका जरखट्टे जुम्रालाई छुट्ट्याउने अपरेसन गर्ने डाक्टरको आवश्यकता पूरा नभएसम्म यी जोरभुँडी जोरिएका अपाङ्ग चोरले खाएरै सक्ने देखिन्छ । यस चिडियाघरमा राख्नका लागि नमुना-नमुनाका चोर-अपाङ्ग-नेता ल्याएमा प्रतिनेता ४ सय २० बुझाइनेछ ।

Nepal Telecom ad

रामकुमार पाँडे :

बेइमानको बदमासीले विकृति विकारको बाढी बढ्यो । लुरे, लाम्रे, ल्वाङे, ल्वाँदे, लम्पट भई लडे । क्षुद्र, हुल्याहा, छाडा, छलकपटका छनकमनक छापाले छचालव्याल पार्दै छापे । नेता निकम्मा नपुंसकझै नकचरो नराधम नटखटमा निर्विचारी भए । बदमासहरू विकारले वेसरम बेकम्मा बने । मानवअधिकारको मिसनको मिसिलमा मिसावट गरी मनोमानी चल्यो । मानव कर्तव्यविना कलहले कर्मेन्द्रिय कामै कलुषित कपटी भयो । मानवअधिकारको विकारको सिकारले सज्जनको सहार गरेकाले जिउँदा भनाउँदा मरेकाले मानव कर्तव्य आयोगद्वारा कर्मअनुसार फल कोच्याउन कस्सिँदै यो जरुरी जानकारी जारी गरिएको छ ।

जङ्गली जनावरका लागि जालीमा हाली जीवनभक्षी जीवजन्तु जाकेझैँ चिडियाखानामा चकचके चतुर चम्चेलाई चलचित्रझैँ चालामाला हेर्न चाँडै चारपाटे मुडेर चर्पी चटाउँदै चखाउनुपर्छ नर्क चम्बु चम्चे चटकी चोरलाई । मान्छेको महत्त्वपूणर् महल म्युजियमको माहोलकै चोरलाई चिडियाखाना चाहिने चिन्तन गरी मानव कर्तव्यमा करतुत गर्ने कुलत लागेको कुलटा, कुम्लो, कुटुरो साथ कोक्रे कोठामा कोच्ने करामतका लागि सहयोग सम्मतिसाथ यो सूचना सारी जारी गर्ने जमर्को गरिएको छ । देखे- जाने-सुनेसम्मका पशुप्रवृत्तिका पामर, पुत्ले, पाङ्ग्रे, भुत्ले, भाङ्ग्रेका प्रतिकृति परिचयसाथ पाइखानामा राखी प्रचार-प्रसार गरिने हुँदा पिट्ठू पङ्गु, पातकी पक्ष लगाई पेस गर्ने प्रचेष्टासाथ प्रचार गरिन्छ ।

१. भताभुङ्ग पार्ने भूतपूर्व भाँड पामर गिरेका गोरु कुर्सीका लागि कुस्ती खेल्न कस्सिएकाले तिनलाई पक्डी प्रतिकार गर्दै कुहीगन्धी कोठामा कोचिएको छ । पियन जति पनि नपढेका, कीर्ते काम गर्ने, विदेशी बारीमा चर्ने चोर चौपाया कुकर्मी कुलतले हवाईजहाज हजम पारी सन्तानलाई सम्पत्ति पोस्दै झुर झम्पाट कुरा झोस्दै हिँड्ने हरुवा यी गिदर अनुहारका गद्दार गधालाई मानव कर्तव्य आयोगमा जनताले बुझाउन ल्याएकाले कुहिएको केरा दिएर कोठामा कोचिएको छ । कुलतीको कुकर्म हेर्दै जनता हाँस्दै मजा लुट्दै गाईजात्रा मस्तीसँग मनाउँदैछन् ।

२. प्रतिपक्षका पुच्छर बनेका दुच्छर बेलाबेला बारबारी बेकम्मा बनाइने बेइमान बाँदरजस्तै बकबास बोल्ने यी बिटुला नेता नामका कक्कड अभिनेताले अख्तियारको अधिकर्षण गरे। बकबास गर्ने बेइमान बहुलाले बेहाल पार्दै परिपक्व पारदर्शी पराक्रम नगरी पीडादायक परिवेश प्रशस्त पारेकाले पकडिएको हो । यिनको पर्लक्क पल्टने जिब्रो जङ्गी भुडीको भार र नाङ्गो नाकको चालढाल हेर्दा गजबकै माल भएकाले मजा मानी दर्शक यी पागल पथप्रदर्शक रमाइरहेका छन् ।

३. रौँ नै रौले रौनकविना रङ्गले राँकिएका रौरवमा गौरव गर्ने रिपुले रेटेझैँ रेट्दै रङ्गरमिता रित्तो पार्ने रिपोर्ट आई रिङ्गटा खेलाएकाले खोरमा खोकासाथ बोका बनाएर रूपरङ्ग फेर्दै रुगरुग गर्ने यी जब्बर ढेडुझैँ लागेका जङ्गली जन्तुका मुहार नबनेसम्म सदर-जनचिडिया घरमा विनाडर राख्न सदर गरिएको छ । यिनको खोरनजिक जाँदा उत्पात हुने डरले टाढै बसी पलँटी कसी ताली पिटी सिठी बजाई मजा मानिरहेछन् सबै दर्शक ।

४. यहाँ ल्याइएका यी नाके नाङ्गा हुन् । चम्चागिरी गरी चुलीमा छिरी दलको दलाली गर्ने दलीय बुद्धिजीवीको बुद्धिबङ्गारा भाचिएकाले बिग्रिएको रूपलाई धूप हाल्दै भूतपूर्व भिसी र जाँडको सिसीसँगै रित्तो दिमागका राजदूत र पदच्युतपछि पागल बनेका अर्धबुद्धिजीवीको अपाङ्ग लुते लेखक, पीत पत्रकार सबैमा स्वाहा पार्ने रोगको योग गरेकाले तिनलाई चिडियाखानाको चर्पीमा धुन्न सिफारिस गरिएको छ । नजिक पुग्न नसकिने दुर्गन्धी दुनियाँ एकै ठाउँमा कोच्दा कुहीगन्ध बन्द हुने विश्वास बढेको छ ।

५. भन्सारका भाते भुडुवा लुट्दा भरिएको भुँडीले अद्भूत जीवजस्तो रूप कुरूप बनिसकेको हुँदा यी हेर्न लायक लुटाहालाई व्याइएको छ। भन्सारको माल र यिनका स्वास्नीको ताललाई जालमा पार्न जमर्को गर्दा-गर्दा जसोतसो पर्दा हिस्याउँदै घिस्याउँदै ढलका मल सफा गर्ने जन्तुका रूपमा राखिएको छ ।

हालसम्म हुलिएका दानव स्वभावका मानवहरू कर्तव्य नगरी कुकर्मले भरी चार हात-खुट्टा टेक्ने अवस्थाले चिडियाखानामा कोच्नुपर्ने विवशता आएको हो । थप नराधमका लागि खोर बनाइएकाले जनतालाई बोर नहुने मानव कर्तव्य आयोगले ठानेको छ ।

१. रक्सी र बोक्सीका लागि गालामा खाग्सी दलेर चिल्लाचाप्ला बनेका यी लम्पट अनुहारको खोरभरि खाली सिसी र एउटी हस्तिनी तिघ्रिनी राखिएको छ । विचरणका लागि यिनलाई कहिलेकहीँ आनन्द वनमा मन डुलाउन र आफ्नो करतुत भुलाउन मौका दिएकाले यिनको नाक लठचौराको तेस्रो तिघ्राजस्तो भएको छ ।

२. महाभियोग लागेका अहिलेका उल्का अजबका जीव भागेकाले यो खोरमा असक्षम लुतेलाई पुनर्स्थापना गरिएको छ । बाँदर्नी मैयाँसँग राखिएकाले लुते-लठेब्रे डेब्रेको हात बेला-बेला पुरानो कुर्सी तान्न तन्किने र आफ्नो नयाँ घर हेरेर सन्किने भएकाले यिनलाई यहाँ ल्याइएको हो ।

३. जिन्दगीभर जम्ने जमर्को गर्ने सचिव सुइँकिएर पाताल पुगेको देख्दादेख्दै बुद्धिसुद्धी बिग्रिएर अझै फटाहा लुटाहाको भर पर्ने, गाई गधा छुट्ट्याउन नसक्ने पदक र पदको तातोले सधैं रातो हुने, रिस पाल्ने एकोहोरो शङ्ख फुक्ने यिनको बुद्धि सत्यतिर नफिरेसम्म प्रयोगका लागि यहाँ ल्याइएको हो । यी बेसै भए पनि केसै नबुझी मन कुँडाएर कक्रिएको अवस्थामा पक्रिएकाले यिनलाई प्रतिस्थापनका लागि कुरोको चुरो बुझी कामको करामत देखाउन उच्चासन प्रदान गरिएको छ ।

४. किताब देख्यो कि बहुलाउने, सर्टिफिकेट पाए पुग्ने, मौका परे गुरुलाई ठोक्ने, लुटको सामान बोक्ने, भात खान भाते सङ्गठन खोल्ने, ठाउँ- कुठाउँ मनपरी बोल्ने, पाएदेखि छापा, छापाखाना, पुस्तक, पुस्तकालय, कोठा, चोटा छोटामोटा सबै पोल्ने, यिनको मन कहिले नपोल्ने अनौठो जीवको पागलपन आएकाले यिनलाई पनि चिडियाको खोरमा ल्याइएको हो ।

५‍‍. यो काले ढेडु मान्छेको बस्तीमा पस्न खोजेको र आफ्नो बलले तहसनहस पार्न ताल-बेतालका नरपशु अघिपछि लगाई घरको छाना उधार्न कस्सिएकाले यसबाट होसियारी रहन एउटा पुत्ला प्रतिकृति राखिएको छ । यसको अनुहारको अभिनय अनौठो छ । कहिले साधु वेश, कहिले भालुको केश राखेर अनेक डिजाइनको खेल देखाउने यो ढेडु बल्ल फेला परेको छ । यसलाई पकडेर राख्न नसके पनि होसियार रहन यसको पुत्ला दुरुस्त बुख्याँचा बनाएर ठडाइएको हो ।

यस मानव कर्तव्य आयोगको भव्य भवनमा राखिएको जीवित मानव कुकृत्यका अनेक सानातिना नमुनामा जङ्गली ढेडुझै लाग्ने रोबोटमा मान्छेको मुटु र मस्तिष्क नहाली, घरभरिको फोहोर नफाली कुनै लछारपाटो नलाग्ने हुँदा सर्वप्रथम पर्खाल चढुवा ढेडु, हाइज्याके ज्याकल, नर्स पकडदास र लाउडा-चेज जुम्ल्याहा जरखट्टे ढेडु छन् । यी भुँडी जोडिएका जरखट्टे जुम्रालाई छुट्ट्याउने अपरेसन गर्ने डाक्टरको आवश्यकता पूरा नभएसम्म यी जोरभुँडी जोरिएका अपाङ्ग चोरले खाएरै सक्ने देखिन्छ । यस चिडियाघरमा राख्नका लागि नमुना-नमुनाका चोर-अपाङ्ग-नेता ल्याएमा प्रतिनेता ४ सय २० बुझाइनेछ । चारखुट्टे चोरलाई चिडियाखानाको खोरमा राख्न मानव कर्तव्य आयोगले यो जरुरी सूचना सोझासाझा जनताका माझ आजैदेखि लागू हुने गरी जारी गरेको छ ।

०००
ललितपुर
‘श्री पाँडेको सरकार’ (२०६४)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे
टाउकाको खेल

टाउकाको खेल

रामकुमार पाँडे
कानमा तेल

कानमा तेल

रामकुमार पाँडे
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी