कविराज घिमिरेबुढ्यौली (काव्यांश) -२
आफ्ना बाबु समान पुग्नु कसरी ती उच्च धौलागिरी, आमाको परिकल्पना गर, तिमी भेट्छौ त्यहाँ ईश्वरी, होलान् जीवित यी छु धन्य मभनी गर्दै गरे चाकर, छैनन् साथ अवश्य ती यदिभने आज्ञा नभुल्ने गर ।
पाका व्यक्ति चलाउँछन् गजबले आयोगका मुख्य भै
हेर्छन् न्याय प्रधान भै कतिजना डग्दै नडग्ने कबै
छन् कार्यालयमा विशिष्ट पदमा पाकाहरू अब्बल
बढ्छन् नित्य यिनै सुयोग्य मनले त्यागेर उच्छृङ्खल
॥ ९ ॥
मेरो यो वयले समाल्छ सजिलै भारी उचाल्दा भयो
चुक्ने छैन कदापि राष्ट्र हितमा यो जिन्दगीको मियो
उर्लिन्छन् कति सूक्ष्म भाव लहरी कर्तव्यका साथमा
सिक्ता भो अब ज्येष्ठ नागरिकका मूर्धन्य यी प्रेरणा
॥ १० ॥
भोको राख्नु हुँदैन राष्ट्र जहिल्यै पार्ने गरौं उर्वरा
त्यो सामर्थ्य छ वृद्धमा श्रम गरी मौलाउँछन् आँकुरा
पाई हिम्मत पोख्त हुन् अब युवा यो देश सम्याउन
लाचारी नबनुन् शिरा अब चलुन् हुन् रक्तले सेचन
॥ ११ ॥
हाम्रा वृद्ध विशिष्ट छन् कतिजना यो राष्ट्रका सेवक
घाटा हुन्छ विदाइले मनन होस् यी हुन् ठुला साधक
अन्ठाउन्न हुँदै निवृत्त गरिंदा सिद्धिन्छ है दक्षता
पैंसट्ठी ठिक हुन्छ हेर दुनियाँ यो देशको शिष्टता
॥ १२ ॥
लेख्छन् काव्य मिठा विशिष्ट तहका सत् मार्गका ज्ञानका
भावी सन्ततिले पढुन् मन दिँदै ज्ञानी बनुन् सर्वदा
खोज्छन् शासक बुद्धि ज्येष्ठ जनका पर्छन् यिनैका भर
दिन्छन् शुद्ध विचार राज्य तहमा मानुन् नमानुन् तर
॥ १३ ॥
आफ्ना बाबु समान पुग्नु कसरी ती उच्च धौलागिरी
आमाको परिकल्पना गर तिमी भेट्छौ त्यहाँ ईश्वरी
होलान् जीवित यी छु धन्य मभनी गर्दै गरे चाकर
छैनन् साथ अवश्य ती यदिभने आज्ञा नभुल्ने गर
॥ १४ ॥
देखिन्छन् अनुहारमा विगतका रेखाहरू कर्मका
भेटिन्छन् तिनका सजीव सपना आख्यान जो मर्मका
लेखिन्छन् सुख दुःखका कथन जो सच्चाइ भोग्दै थिए
छेकिन्छन् कति वेदना हृदयका सौता बनेका थिए
॥ १५ ॥
मेलापात गरेर व्यस्त उति छन् ती खेतबारीहुँदि
काट्ता घाँस कर्याप्प जाँगर हुने पाखापखेराहुदि
गाई गोठ यता उता पनि उसै भैंसीहरू गोठमा
डाले घाँस चपाउदै बसिरहे बाखाहरू खोरमा ।
॥ १६ ॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































