कल्पना अधिकारीसन्तान हो उत्तम
आमा स्नेहमयी भनौँ कि गुरुमा लक्ष्मी, सती, पार्वती यात्रा जीवनको सिकाउन उनी बन्छिन् स्वयं सारथी आमाका उपदेश पालन गरूँ कैल्यै नहोस् संभ्रम जो आमाप्रति भक्ति राख्तछ उही सन्तान हो उत्तम।

कल्पना अधिकारी :
आमा सृष्टि चलाउँछिन् र ममता भर्छिन् सबैमा उनी
आमा प्राण दिलाउँछिन् सकलमा कल्याण गर्छिन् उनी
बाँचुन्जेल गरौँ बुझेर महिमा श्रद्धा र सेवा नम:
जो आमाप्रति भक्ति राख्तछ उही सन्तान हो उत्तम ।१।
आमा शक्ति विधायिनी शिव शिवा सद्भाव सञ्चारिका
आमा जीवनदायिनी भुवनकी संस्कार संस्थापिका
सारा ध्यान लगाउँछिन् प्रगतिमा सन्तानकै हर्दम
जो आमाप्रति भक्ति राख्तछ उही सन्तान हो उत्तम ।२।
आमा बोल्न सिकाउने विनयका अर्ती दिने साधिका
आमा धर्म र कर्म शिक्षणमुखी सन्मार्ग उन्नायिका
बाल्छिन् दीप हटाउँछिन् हृदयको कालो र मैलो तम
जो आमाप्रति भक्ति राख्तछ उही सन्तान हो उत्तम ।३।
आमा शब्द अखण्ड कल्पसरि हाे कल्याणको द्योतक
आमा ज्ञानमयी गुणी, रस सुधा, वात्सल्य संपोषक
देवीकै अवतार हुन् विनयकी हुन् रूप सर्वोत्तम
जो आमाप्रति भक्ति राख्तछ उही सन्तान हो उत्तम ।४।
आमा स्नेहमयी भनौँ कि गुरुमा लक्ष्मी, सती, पार्वती
यात्रा जीवनको सिकाउन उनी बन्छिन् स्वयं सारथी
आमाका उपदेश पालन गरूँ कैल्यै नहोस् संभ्रम
जो आमाप्रति भक्ति राख्तछ उही सन्तान हो उत्तम।५।
०००
Subscribe
Login
0 Comments
Oldest






































