फित्काैली डटकमहास्यव्यङ्ग्यमा अर्काे कृति ‘व्यङ्ग्यविनाेदी कथाहरू’ प्रकाशित
कृतिभित्र समेटिएका कथाहरू, पाठकलाई भरपूर मनाेरञ्जन प्रदान गर्नुका साथै समाजका विकृति र विसङ्गति उजागर गरेर साेचमग्न बनाउन सफल देखिन्छन् ।

काठमाडाैं, २०८२ जेठ ६ । व्यङ्ग्यविनाेदी कथाहरू नामक २१६ पेजकाे पुस्तक भुँडीपुराण प्रकाशनले हालै बजारमा ल्याएको छ । यस पुस्तकका सङ्कलक/सम्पादक माणिकरत्न शाक्य हुन् भने भाषा सम्पादन साहित्यकार सानुराजा श्रेष्ठ “अन्जान” ले गरेका छन् ।
हास्यव्यङ्ग्य विधाकाे यस कृति भित्र कृष्णप्रसाद चापागाईं, केशवराज पिंडाली, रमेश विकल, शंकर काेइराला, श्रीधर खनाल, भैरव अर्याल, माेहनराज शर्मा, माेदनाथ प्रश्रित, भाउपन्थी, रामकुमार पाँडे, विमल निभा, चट्याङ मास्टर, मुन पाैडेल, पिंडालु पण्डित, नरनाथ लुइँटेल, विमल भाैकाजी, लक्ष्मण गाम्नागे, उमेश गुइँठे, माणिकरत्न शाक्य, गायत्री लम्साल लगायत अग्रजदेखि पछिल्ला पुस्तासम्मका ४९ जना चर्चित हास्यव्यङ्ग्यकारका हास्यपरक कथाहरू सङ्कलन गरिएकाे छ ।
यस अघि विभिन्न पुस्तक तथा पत्रपत्रिकामा प्रकाशित एक-एकवटा चर्चित कथालाई अहिले यस सङ्ग्रहमा समावेश गरिएको हाे ।
हास्यव्यङ्ग्य साहित्यकाे निकै महत्त्वपूर्ण विधा हाे । जसमा लेखकले समाजका विकृति र विसङ्गतिपूर्ण गतिविधिलाई हास्यको माध्यमबाट तिखो व्यङ्ग्यबाण प्रहार गर्छ, जसले पाठकलाई हँसाउनुका साथै ती खराबीहरूबारे सोच्न बाध्य बनाउँछ । अर्थात् हास्व्यङ्ग्यको उद्देश्य केवल हाँस्ने मात्रै होइन कि सम्वद्ध पक्षलाई सचेत गराइ समाजलाई सुधार्नु पनि हो । कृतिभित्र समेटिएका कथाहरू, पाठकलाई भरपूर मनाेरञ्जन प्रदान गर्नुका साथै समाजका विकृति र विसङ्गति उजागर गरेर साेचमग्न बनाउन सफल देखिन्छन् ।
साहित्यिक फाँटमा अन्य विधाकाे तुलनामा हास्यव्यङ्ग्य कथा कृतिकाे खडेरी नै परेको छ भन्दा पनि हुन्छ ! जुन कुरालाई पुस्तकका सम्पादक माणिकरत्न (जाे आफैं सक्रिय हास्यव्यङ्ग्यकार हुन्) ले लेखेको सम्पादकीय “वि.सं. २००८ देखि वि.सं. २०८१ सम्म अर्थात् ७३ वर्षको इतिहासमा हास्यकथा भनेर तोकिएको सिङ्गो कृतिको रूपमा जम्मा आठजना स्रष्टाकाे मात्र पुस्तक प्रकाशित भएको छ ।” ले पनि पुष्टि गर्छ ।
यस अर्थमा, प्रस्तुत कृतिले हास्यव्यङ्ग्य साहित्यकाे फाँटमा महत्त्वपूर्ण याेगदान पुर्याएकाे छ भन्नुमा शायद कुनै अत्युक्ति नहाेला । एउटा थप महत्त्वपूर्ण कृतिका लागि सङ्कलक/सम्पादक माणिकरत्न शाक्यलाई धेरै धेरै बधाई तथा शुभकामना ।
०००
– मुरारीराज मिश्रकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































