कल्पना अधिकारीवसन्तले भुलाउँदा
कुञ्जमा निकुञ्जमा पहाडका कुना कुना छन् झपक्क वृक्षमा जताततै टुसा मुना दृश्यमा अनेकता स्वभावमा छ एकता वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।

कल्पना अधिकारी :
शीत उष्णता दुवै समान भै मिलाइदे
वृद्धमा वसन्तको बहार शीघ्र आइदे
कोपिला नयाँ नयाँ वसन्तमा टुसाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।१।
कोइली तँ आइदे कथा मिठा सुनाइदे
वृद्ध हुन् खुसी भनी बुझेर गीत गाइदे
लालिमा गुराँसको जताततै फिजारिँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।२।
ए ! हवा तँ आइदे लिएर मन्द बासना
चेतना खुलाइदे दिएर जा सुशासन
सूर्यको प्रभा सँगै हिमाल मुस्कुराउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।३।
रूपमा छ माधुरी अपार बान्किलो छटा
वृद्धमा प्रसन्नता बढोस् कुरा गरून् मिठा
सिर्जना नयाँ गरी वसुन्धरा उदाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।४।
कुञ्जमा निकुञ्जमा पहाडका कुना कुना
छन् झपक्क वृक्षमा जताततै टुसा मुना
दृश्यमा अनेकता स्वभावमा छ एकता
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।५।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































