गोविन्दबाबु तिवारीगम्भीर अपिल
कमरेडको मृत्यु कमरेडको आफ्नै नाममा का.जि.मा.पो.का. मा दर्ता रहेको ३ रोपनी, ३ आना ३ पैसा जग्गामा बनेको पक्की घरको तेस्रो तल्लाको तीन नम्बर बाथरुममा लगाइएको मार्वलमा चिप्लिएर लड्दा हुन गएको तथ्य खुल्न आयो ।

अकस्मात आएको कमरेडको मत्युको सूचनाले राजधानीमा भुँइचालो नै ल्याइदियो । सर्वहारावादी आन्दोलनका महान नायकको यो आकस्मिक निधनले विश्व सर्वहारा आन्दोलनको भविष्य नै जोखिममा पर्न पुगेको स्पष्ट अभिव्यक्तिको ओइरो समेत लाग्न थाल्यो । साथसाथै, कमरेडको मृत्यु सहज नभएर त्यहाँ कुनै षडयन्त्र भएको आशंकाले पनि तिव्र वेग लिन थाल्यो ।
आशंका, आशंकाको वेग र वेगको तिव्रतम गति । बस्,के थियो ! भाँतिभाँतिका नारा र ब्यानर सहितका जुलुश धमाधम निस्कन थाले । परिस्थिति अनियन्त्रित हुन थाल्यो । आगजनी र तोड्फोड्का घटनाले प्रतिष्पर्धा गर्न थाले । सरकार असमन्जसमा पर्यो । जुलुश नियन्त्रणको प्रयास नगर्दा उपलव्ध दमकलको क्षमताले नभ्याउने, गर्दा त्यो अरू बढि उत्तेजित हुने सम्भावना स्पष्ट देखिन्थ्यो । त्यसैले सरकारका तर्फबाट पार्टीका महासचिवलाई नै कुनै उपयुक्त उपायको निकाश दिन अनुरोध गरियो ।
सरकारको अनुरोध र परिस्थितिको गम्भीरतालाई विचार गरि पार्टीका महासचिवले पनि तत्काल उपलब्ध केन्द्रीय सदस्यहरूको आपतकालिन बैठक बोलाए । बैठकले दिवङ्गत कमरेडलाई तुरुन्तै शहीद घोषणा गरि उहाँको मृत्युमा उब्जिएको आशंकाको निवारणका लागि तीन दिनभित्र प्रतिवेदन पेश गर्ने गरि पार्टीकै तर्फबाट तीन सदस्यीय छानविन आयोग गठन गरिएको घोषणा सार्वजनिक गर्यो । यो घोषणााले बाहिरको वातावरण पनि शान्त भयो ।
आयोग तदारुकताका साथ काममा जुट्यो । आयोगका सदस्यहरूदले दिन/रात, चीसो/तातो, भोक/निद्रा, घरपरिवार, नातागोता, शिलान्यास, उदघाटन्, बैठक, भेटघाट सबै बिर्सिदिए । यो अनुपम प्रयासको फलस्वरूप तीन अध्यायमा समेटिएको, कूल तीन सय तीन पृष्ठको प्रतिवेदन कार्यारम्भ गरेको ठीक तेस्रो दिनको अपरान्ह तीन बजे पार्टीको आफ्नै स्वामित्वमा रहेको कार्यालय भवनको तेस्रो तल्लामा रहेको तीन नम्वर सभाकक्षमा आयोजित एउटा समारोह बीच पार्टीका महासचिवलाई पेश गर्यो । समारोहमा उपस्थित पार्टीका सदस्यहरू, मानवअधिकारवादी, नागरिक समाजका प्रतिनिधि, प्राध्यापक, बुद्धिजीवि र पत्रकारहरूका लागि आयोगको तर्फबाट सार सुझाव सहितको निम्न ब्यहोराको अपिल उपलब्ध गराइयो :
“… गहिराइमा पुगेर गरिएको हाम्रो अध्ययन, अनुसन्धान र छानबिन पश्चात् हाम्रा महान् कमरेडको मृत्यु कमरेडको आफ्नै नाममा का.जि.मा.पो.का. मा दर्ता रहेको ३ रोपनी, ३ आना ३ पैसा जग्गामा बनेको पक्की घरको तेस्रो तल्लाको तीन नम्बर बाथरुममा लगाइएको मार्वलमा चिप्लिएर लड्दा हुन गएको तथ्य खुल्न आयो ।
मृत्यु अवश्यम्भावी कुरा हो तापनि दिवङ्गत कमरेडले आफ्नो भूमिगत जीवनकालमा क्रान्तिको मोर्चाको अग्रपंक्तिमा रहेर कार्य गर्दा अनेकौँ पटक् आफ्ना दुश्मनलाई छक्याउँदै मृत्युलाई परास्त गर्न सक्षम हुनुभएको वस्तुगत तथ्यलाई यहाँ बिर्सन सकिएन ।
फलतः, यस्तो महान् ऐतिहासिक पृष्ठभूमिका हाम्रा कमरेडको मृत्यु उहाँको आफ्नै शौचालयमा लगाएको मार्वलमा चिप्लिएर हुनुलाई मात्र एउटा संयोग वा भवितव्यको रूपमा लिन मिल्ने देखिएन ।
अतः यो आयोगले त्यो मार्वलको एउटा टुक्रा लगेर परीक्षण गराउँदा सो मार्वल साम्राज्यवादको पृष्ठपोषक राष्ट्रमा बनेको तथ्य खुल्न आएकोले कमरेडको मृत्युमा साम्राज्यवादीहरूको लामो समयदेखिको षड्यन्त्रको पर्दाफास हुन पुगेको छ ।
यो षडयन्त्र सोही बान्की र शैलीमा बनेका हाम्रा अन्य सयौँ महान् कमरेडहरूको घरका हरेक चोटा, कोठा र बाथरुममा छिरिसकेको तथ्यलाई हृदयङ्गम गर्दै उहाँहरूको व्यक्तिगत सुरक्षा र यस धरतीबाट साम्राज्यवादको समुल उन्मुलनका लागि, हाम्रो पार्टीको हरेक आव्हानमा अझ बढि दृढतापूर्वक भाग लिइदिनुहुन हामी यस मुलुकका शोषित, पीडित, उत्पीडित, श्रमजीवि, जाति, जनजाति एवं समस्त तह र तप्कामा रहेका न्यायप्रेमी जनसाधारणमा अपिल गर्दछौँ ।
धन्यवाद । क्रान्तिकारी लाल सलाम् ।
नोटः-
यो अपिल सुखानीको जङ्गलमा २०२९ फाल्गुन २१ गते मारिएका तत्कालिन झापा आन्दोलनका योद्धाहरूमा पनि प्रेषित गरिन्छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































