गोविन्दबाबु तिवारीकाठमाण्डू
त्यसैले काठमाण्डू सिंहदरवार मार्फत लिलाममा चढेको तुच्छ वस्तुजस्तो भएर बाँचेको छ ।

मुलुकको नग्नतामा स्तब्ध भएर टोलाइरहेको स्वयम्भू
हरेक परिवर्तन पश्चातका परिवर्तनमा भएको
भ्रष्टाचारको मूकदर्शक भएर उभिइरहेको धरहरा
टिमुर्याएर समयलाई कैद गर्ने दुःस्वप्नमा उङिरहेको घण्टाघर
यिनै कुराहरूलाई वैभवको रूपमा छातीमा टाँसेर सुतिरहने काठमाण्डू ।
जबजब यसले प्रजातन्त्रमाथि समाजवादको कल्की पनि चढाउँछ
तबतब सिंहदरवार मार्फत लिलाममा चढेको
तुच्छ वस्तुजस्तो हुने गर्छ काठमाण्डू ।
तैपनि यो काठमाण्डू
सिकारू कारिगरले बनाई ठड्याएको ढोका झैँ
नेपालको ढोका बनेर
आफैलाई नेपाल घोषित गरिरहेछ
थाहा छैन, यसले नेपालको कति प्रतिशतको प्रतिनिधित्व गर्दछ
तर के गर्नु र !
जनताको सारांश यही काठमाण्डू खाल्डोमा छ
खाल्डोमा छ
त्यसैले रछ्यानमा पुरिएको छ
थाहै छ, रछ्यान दुर्गन्धयुक्त हुन्छ
र त, कहिले त्यहाँ टनकपुर गन्हाउँछ
कहिले नागरिकहरूको जिउँदो मासु गन्हाउँछ
समग्रमा त्यहाँ राष्ट्रियता नै गन्हाउँछ ।
दुर्गन्ध, काठमाण्डूको पर्याय बनेको छ
दुर्गन्ध, यसको प्राथमिक महत्वको आयोजनाभित्र परेको छ
त्यसैले
कल्याणको लागि पशुपतिनाथलाई गुहारेर पो के गर्नु
जो सँधै पवित्र वागमतीको जल प्रवाहले
आँखा उघार्न नसकी
हावा सुँघ्न नसकी
स्वयंमै कैद परेर
“आफै त महादेव उत्तानो पर्, कस्ले देला वर” भन्दै
आफ्नै कल्याणको बाटो नदेखी
ब्रह्मनालमाथि ब्रह्मलीन अवस्थामा भेटिन्छन् ।
उता बूढानिलकण्ठ
सुदूर अतीतबाटै आजको काठमाण्डूलाई देखेर
भाङ् र धतुरोको नशामा बेहोश पल्टिरहेछन्
चार किल्लाका चारै नारायण पनि
नगद नारायणबाट दबिएर र हेपिएर अलपत्र परिरहेका छन् ।
यी सबै परिप्रेक्ष्यमा
नेपाल बनेर काठमाण्डू
एउटा नाममा मात्र टाँगिएको छ
यसले न केही साँचेको छ
न कहिल्यै हाँसेको छ
नेपालको “नेपाल” फगत् एउटा रछ्यान् बनेर बाँचेको छ
र अब त झन्
यो नेपालको “नेपाल”
थाहा छैन, कसरी र कतिन्जेलको लागि बाँचेको छ
किनकि
यहाँका सत्तासीनहरूलाई नै थाहा हुने गर्दैन
कि,
देश कसले हाँकेको छ
त्यसैले काठमाण्डू
सिंहदरवार मार्फत लिलाममा चढेको
तुच्छ वस्तुजस्तो भएर बाँचेको छ ।
२०५० चैत्र
Subscribe
Login
0 Comments
Oldest







































