गोविन्दबाबु तिवारीलौरो
उसलाई त “देउ वा” भन्न मात्र पर्छ, आँखा चिम्लेर दिन्छ “लाउ वा” भन्न मात्र पर्छ, आँखा चिम्लेर लिन्छ आनाकानी गर्दैन फकाई फुलाई पर्दैन ।

एउटा यस्तो छोरो छ
न होचो छ, न गोरो छ
छक्का पञ्जा जान्दैन
शुद्ध एउटा लौरो छ ।
ऊ बोल्छ तर बोल्दैन
हिँड्छ तर हिँड्दैन
बिरोध गर्छ तर बिरोध गर्दैन
किनकि, ऊ निष्पृह छ ।
त्यसैले उसलाई,
“देउ वा” भन्न पर्छ, खुरुक्क दिन्छ
“लाउ वा” भन्न पर्छ खुरुक्क लिन्छ
एउटा यस्तो छोरो छ
न होचो छ, न गोरो छ
छक्का पञ्जा जान्दैन
शुद्ध एउटा लौरो छ ।
लौरो !
हो, लौरो ।
जसलाई आवश्यक पर्दा टेके नि हुन्छ
देखाएर त्यसैलाई, बस्तुभाउ छेके नि हुन्छ
जङ् चल्दा फाल्दिए नि हुन्छ
खाँचो पर्दा
कपास झैँ उठाएर घरको दलिन् हाल्दिए नि हुन्छ
अरू त अरू
त्यसैको टेको लगाएर
उँट्को बिहेमा गधा जन्ती भाको दृष्य हेरे नि हुन्छ ।
एउटा यस्तो छोरो छ
न होचो छ, न गोरो छ
छक्का पञ्जा जान्दैन
शुद्ध एउटा लौरो छ ।
ऊ ज्ञानी छ, दानी छ
त्यसैले त आँखाको नानी छ
उसलाई त
“देउ वा” भन्न मात्र पर्छ, आँखा चिम्लेर दिन्छ
“लाउ वा” भन्न मात्र पर्छ, आँखा चिम्लेर लिन्छ
आनाकानी गर्दैन
फकाई फुलाई पर्दैन ।
एउटा यस्तो छोरो छ
न होचो छ, न गोरो छ
छम्का पञ्जा जान्दैन
शुद्ध एउटा लौरो छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































