गोविन्दबाबु तिवारीप्रमुख अतिथिको जुत्ता
'साथीहरू, चिन्ता लिन पर्दैन । त्यो कुकुरको मुखबाट हाम्रो अतिथिज्यूको दाहिने जुत्तो सजिलैसँग झिक्न सकिने उपाय मैले सोची सकेको छु ।'

गोविन्दबाबु तिवारी :
एउटा समारोहको समापन पश्चात फर्कने क्रममा प्रमुख अतिथिज्यू आफ्नो जुत्ता लगाउन जानुभयो । तर त्यहाँ उहाँका जोर जुत्ता थिएन अर्थात् त्यहाँ उहाँको एउटा मात्र जुत्ता थियो। उहाँले त्यहाँ उभिएरै तल, माथि, दायाँ, बायाँ सबैतिर आँखा डुलाउनु भयो । तर आफ्नो एउटा जुत्ता कतै देख्नुभएन । यसरी उहाँ अलमलिनु भएको देखेर आयोजकहरू हस्याङ् र फस्याङ् गर्दै उहाँ छेउ पुगेर बडो आतुर भावले सोध्न थाले- ‘के भयो हजुर ?’
‘मेरो एउटा जुत्तै छैन ।’
कसैले सोध्यो- ‘कुन चाहिँ हजुर ? अर्थात् दाहिने कि देब्रे ?’
प्रमुख अतिथिज्यू अलमलिनु भयो । वास्तवमा उहाँलाई हराएको जुत्ता दाहिने हो वा देब्रे भन्ने कुराको हेक्का रहेन । त्यसैले उहाँले ‘एक्कै छिन है’ भनेर जुत्ता हेर्न थाल्नुभयो ।
आश्चर्य अहिले त त्यहाँ त्यही एकछिन अघिसम्म रहेको त्यै एउटा जुत्ता पनि थिएन ।
यस पटक उहाँले केही क्रोध मिश्रित स्वरमा भन्नुभयो- ‘त्यै जुत्ता पनि छैन ।’
भएको के थियो भने प्रमुख अतिथिज्यूले पहिलोपटक आफ्नो एउटा जुत्ता हराएको कुरा गर्ने वित्तिकै आयोजकहरू तँछाड मछाड गर्दै जुत्ताको खात् वल्टाई पल्टाई गर्न पुगेका थिए। यद्यपि उनीहरूमध्ये कसैलाई पनि यो कुरा पटक्कै थाहा थिएन कि प्रमुख अतिथिज्यूको जुत्ता कस्तो थियो अर्थात् त्यसको रङ्ग, नापो, तनावाला कि आध्काने आदि । तै पनि उनीहरू त्यो जुत्ता खोज्न युद्धस्तरमै जुटेका थिए । त्यसैले त्यहाँको दृश्य पनि भर्खर युद्ध थामिएको कुनै युद्ध मैदानकै जस्तो थियो । कुनै जुत्ता उल्टिएका थिए त कुनै सुल्टिएकै अवस्थामा । कतै जुत्ता माथि जुत्तै खप्टिएका थिए भने कतै जुत्ताका सुतलीमात्र देखिन्थे ।
आयोजकहरू फेरि जुत्ता मिलाउन युद्धस्तरमै जुटे । जुत्ताको अघिको अवस्थालाई व्यथस्थित गरियो । अर्थात् छरिएका ती सबै जुत्तालाई परेडको तयारीमा लहरै उभिएका सैनिकझै हारबद्ध गरिएको थियो । आयोजक मध्येको कुनै एउटाले बडो विनित भाव र मुद्रामा प्रमुख अतिथिज्यूलाई जुत्तामा नजर कष्ट गरि दिन अनुरोध गर्यो । प्रमुख अतिथिज्यूले पनि सलामी ग्रहण गर्न गइरहेको कुनै नायक झै जुत्ताको लहरमा विस्तारै विस्तारै एक एक जुत्तामाथि नजर लगाउँदै अघि बढ्न थाल्नुभयो र अन्तिम जुत्तालाई हेरेर पछि भन्नुभयो-‘हो ! ल ठ्याक्कै यही हो मेरो एउटा जुत्ता । अनि अर्को जुत्ता ?’
उहाँका निधारमा गाँठा परे ।
आयोजकका गर्धनका पाइप तन्किन थाले । तर त्यो जुत्तो, कता भूमिगत भयो भयो । कसैले पनि अनुमान गर्न सकेन ।
यस्तैमा आयोजक मध्येको कुनै एकले प्रमुख अतिथिज्यूलाई सोध्यो- ‘कुन चाहिँ जुत्तो हराएको रहेछ हजुर ?’
‘दाहिने ।’
उसले विषाद गर्याे- ‘अहो। दाहिनै नै हराएछ हगी हजुर ।’
‘हो ।’
अब के गर्ने ? आयोजकहरू अलमलमा परे । त्यतिनै बेला तिनै आयोजक मध्येको कुनै एउटाले माइकबाट सूचना प्रसारित गर्न थाल्यो हाम्रा प्रमुख अतिथिज्यूको एउटा जुत्ता यही समारोहस्थलबाट हराएको छ । कसैले पाउनु भएको भए कृपया सो जुत्ता मञ्चमा ल्याइदिनुहुन अनुरोध छ । सो जुत्ता पाउने व्यक्तिलाई पुरस्कार स्वरूप निजकै हातबाट प्रमुख अतिथिका चरणमा जुता पहिराइदिने अवसर दिइने छ ।’
वास्तवमा एउटा कुकुरले त्यो जुत्तालाई मुखमा च्यापेर हिडिरहेको छ रे।
फेरि सम्वेत स्वर निस्कियो ।
‘उसो भए त्यो कुकुरको मुखबाट अब त्यो जुत्ता कसरी निकाल्ने त ?’ उसले सबैलाई शान्त हुन इसारा गन्यो। पूर्ववत् पानी पियो र एउटा चुरोट सल्कायो । एकछिन निकै सोचमग्न भयो र बडो उत्तेजित हुँदै भन्यो-
‘साथीहरू, चिन्ता लिन पर्दैन । त्यो कुकुरको मुखबाट हाम्रो अतिथिज्यूको दाहिने जुत्तो सजिलैसँग झिक्न सकिने उपाय मैले सोची सकेको छु ।’
फेरि सबै कराए- ‘के हो त्यो उपाय भन्नुस्, भन्नुस् छिटो भन्नुस् ।’
बडो आरामको भावमा उसले चुरोटको एक सर्को तान्यो र भन्न थाल्यो- ‘सुन्नुहोस् मित्र हो । मासु भनेपछि कुकुर भुतुक्कै हुन्छ । हो कि होइन ?’
‘हो हो।’
‘त्यसैले दक्षिणबाट तुरुन्तै दुई किलो फल मासु ल्याएर कवाफ बनाउँ र त्यो कुकुरलाई खानदिउँ । मासु देखेपछि उसले मुखको जुत्ता छोडिहाल्छ । त्यही मौकामा हामी त्यो जुत्ता टिप्नेछौं ।’
उसको यो जुक्तिको सबैले प्रशंसा गरे र ती मध्ये एकजना मासु किन्न भनेर दक्षिण हाटतर्फ हान्नियो पनि ।
सीप लगाएर मासु पकाइयो र अब कुकुरलाई मासु दिने सम्पूर्ण तयारी अर्थात् कुकुरलाई कहाँ राख्ने, मासु कसले दिने, जुत्ता कसले टिप्ने आदिको पूर्वाभ्यास पनि गरियो । अनि ती मध्ये कोही एउटाले प्रश्न गर्यो ‘अनि कुकुर चाहिँ खोई त ? खोई कुकुर ?’
परम्परामा सबैले त्यही प्रश्न गरिरहे- ‘खोई त कुकुर ? खोई त कुकुर ? खोई त कुकुर ?’
सबैका प्रश्नको छिनोफानो गर्दै उसले एक टुक्रा मासु क्वाप्प मुखमा हाल्यो र भन्यो- ‘त्यो त त्यही बटुवालाई था’ होला। मैले त ऊसँग यो कुरा अर्थात् कुकुर कहाँ छ भन्ने कुरा सोध्नै बिर्सिएछु ।’
उसको यो जवाफको लगत्तै ती सम्पूर्ण आयोजकहरू भाँडोमा रहेको मासु निखार्न युद्धस्तरमा लागे ।
श्रृंगार गाईजात्रा विशेष / २०६१
०००
व्यङ्ग्यविनोदी कथाहरू (२०८२)
Subscribe
Login
0 Comments
Oldest







































