हरिशंकर परसाईंअयोध्यामा बहीखाता
रामचन्द्रलाई प्रतिवेदन दिइयो- अयोध्याका व्यापारी बडो इमानदार छन् । उनीहरूको हिसाब एकदमै ठीक छ । हनुमान् विश्वका प्रथम साम्यवादी थिए । सर्वहाराका नेता थिए । उनकै ‘रातो रङ्ग’ आजका साम्यवादीले लिएका छन् ।

अनुवाद : आर.सी. रिजाल
शास्त्रमा लेखिएको छ- जुन दिन राम रावणलाई परास्त गरेर अयोध्या आए, सारा सहर बत्तीले झलमल्ल भयो । यो दीपावली पर्व अनन्तकालसम्म मनाइनेछ । तर यही चाडमा व्यापारीले बहीखाता बदल्छन् र खातापाता रातो कपडाले बाँध्छन् ।
प्रश्न छ- राम अयोध्या आउनु र बहीखाता बदल्नुसँग के सम्बन्ध छ ? र बहीखाता रातो कपडाले किन बाँधिन्छ ?
कुरा यस्तो छ- जब राम आउने समाचार आयो व्यापारी वर्गमा खलबल मच्चियो । उनीहरू भन्न लागे- “सेठजी अब ठूलो आपत आउँछ । भरतको राजमा त केही पोल खुलेन । तर राम त मर्यादापुरुषोत्तम हुन् । उनले कर छल्नेलाई छाड्दैनन् । उनले हाम्रो खातापाता जाँच गर्छन् र हामीलाई सजाय हुन्छ ।”
एउटा व्यापारीले भन्यो- “भाइ । त्यसो भए हाम्रो दुई नम्बरको मामला पनि समातिन्छ ।”
अयोध्याका नरनारी रामको स्वागतको तयारीमा जुटेका थिए । तर व्यापारीवर्ग डराइरहेका थिए ।
अयोध्या पुग्नुअगाडि नै रामलाई थाहा भइसकेको थियो त्यहाँ ठूलो गडबड छ । रामले हनुमान्लाई बोलाएर भने- “सुन पवनपुत्र । लङ्काको युद्ध त हामीले जित्यौं, तर अयोध्यामा हामीले रावणभन्दा ठूलो शत्रुको सामना गर्नुपर्ने हुन्छ त्यो हो व्यापारीवर्गको कालो बजार । ठूलाठूला वीरहरू व्यापारीको अगाडि झुक्दछन् । तिमी असीमित बलबुद्धिले परिपूणर् छौ । तिमीलाई म इनफोर्समेन्ट ब्रान्चको डाइरेक्टरमा नियुक्ति गर्छु । तिमी अयोध्या पुगेपछि व्यापारीको बहीखाता जाँच गर । नक्कली हिसाब राख्नेलाई समात र कडाभन्दा कडा सजाय देऊ ।”
यता व्यापारीबीच हङ्गामा मच्चियो । भन्न लागे- “हेर भाइ, अब त मरियो । हनुमानजी इनफोर्समेन्ट ब्रान्चको डाइरेक्टरमा नियुक्त भएका छन् । बढो कठोर छन्, विवाह पनि गरेका छैनन् । न बालबच्चा । घुस पनि लिँदैनन् ।”
व्यापारीहरूका कानुनी सल्लाहकार जम्मा भएर विचार गर्न लागे । उनीहरूले निणर्य गरे- बहीखाता बदल्नै पर्छ । देशभर ‘चेम्बर अफ कमर्स’ को तर्फबाट आदेश गरियो कि दीप उत्सवमा बहीखाता बदल्दिनू ।
तापनि व्यापारीवर्ग निश्चिन्त भएनन् । हनुमानलाई धोका दिनु सामान्य कुरा थिएन । उनी अलौकिक बुद्धिसम्पन्न थिए । उनलाई कसरी खुसी पार्ने भन्ने विषयमा छलफल सुरु भयो ।
– केही घुस दिएर काम चल्दैन ? – उनी एक पैसा पनि लिँदैनन् ।
-उनले नलियून् तर मेमसाहेब ?
– उनकी मेमसाहेब नै छैनन् । साहेबले विवाह गर्ने भ्याएनन् । जवानी लडाइँमै बिताए ।
– केही अरू सोख त होला ? रक्सी र बाँकी सबैथोक ?
– उनी बालब्रह्मचारी हुन् । कलगर्ललाई त गाला चड्काएर लखेट्छन् । केही लत पनि छैन ।
– उनी संयमी छन् ।
– त्यसो भए के गर्ने ?
– तिमी नै भन, के गर्ने ? एउटा चतुर वकिलले सल्लाह दिए- “जो जति ठूलो पदमा हुन्छ उत्ति नै चापलुसी मन पराउँछ । हनुमानलाई कुनै चीजप्रति माया छैन । उनी शरीरमा अबिर दल्छन् र रातो कपडाको लंगौटी लगाउँछन् । उनलाई खुसी पार्न सजिलो छ । व्यापारीको खाता रातो कपडाले बाँधेर राख्ने ।”
रातारात बहीखाता बदलियो त्यसलाई रातो कपडामा बेरेर राखे ।
भोलिपल्ट हनुमान् केही प्रहरीसाथ अयोध्या नगरमा निसि पहिलो व्यापारीकहाँ पुगेर भने- “बहीखाता निकाल, जाँच गर्नुपर्यो ।” व्यापारीले रातो कपडाले बेरेको खाता अगाडि राखिदिए । हनुमान् आफ्नो लंगौँटी र खाताको कपडा एउटै देखेर खुसी भए ।
हनुमान्ले सोधे- “किन मेरो लंगौटीको रङसँग मिल्ने कपडाले बहीखाता बाँधेको ?”
व्यापारीले भन्यो- हजुर, हे बलबुद्धिनिधान, हामी तपाईंका भक्त हौंं । तपाईंकै पदचिन्हमा हिँड्छौं । तपाईंकै पूजा गछौँ ।”
हनुमान् गद्गद भए ।
व्यापारीले भन्यो- “बहिखाता खोलौं ? जाँच गर्नोस् ।”
हनुमानले भने- “पर्दैन खोल्न, मेरो भक्त बेइमान हुनै सक्दैन ।”
हनुमान् जहाँजहाँ गए त्यहाँ रातो कपडाले बहीखाता बाँधेको देखे । उनी धेरै खुसी भए । उनले कहीं पनि हिसाबको जाँच गरेनन् ।
रामचन्द्रलाई प्रतिवेदन दिइयो- अयोध्याका व्यापारी बडो इमानदार छन् । उनीहरूको हिसाब एकदमै ठीक छ । हनुमान् विश्वका प्रथम साम्यवादी थिए । सर्वहाराका नेता थिए । उनकै ‘रातो रङ्ग’ आजका साम्यवादीले लिएका छन् ।
तर सर्वहाराको नेता सावधान रहनुपर्छ- कतै उनको लंगौटीबाट बुर्जुवाले खातापाता नर्बांधून् ।
अनुदित हास्यव्यङ्ग्य सङ्ग्रह ‘भोलारामको आत्मा’ २०६६ बाट
Subscribe
Login
0 Comments
Oldest

































