हरि खनालबहुपत्नीवालाको भेला
कान्छी बजारको बीचभागमा भएको कार्यक्रममा बहुपत्नी प्रतिभाहरूले एकआपसमा कुराकानी साटे । प्रश्न एउटै थियो तपाइँ कसरी कान्छी ल्याउनुहुन्छ ?

बिहानको सामान्य हिंडाइको सिलसिलामा मेरा एकजना साहित्यकार मित्र भेटिए । उनीसँग एकजना सुन्दरी पनि थिइन् । उनको र ती सुन्दरीबीचको उमेरको अन्तर दोब्बर भन्दा बढी हुनुपर्छ मैले अनुमान गरें । कुराकानीको प्रसङ्ग मिलाउँदै सुन्दरीतिर इसारा गरें । साहित्यकार मित्र रामकुमार बोलिहाले “उनी त मेरी कान्छी हुन्, हाम्रो विवाह भएको एक महिनाजति भयो । तपाइसँग भेट नभएकाले यी कुरा थाहा दिन सकिएन । भर्खर विहे भएकोले उनलाई कान्छी त भन्नै पर्यो । तर म उनलाई सधै यस्तो कनिष्ठ पदमा कहाँ बस्न दिन्छु र ? वास्तवमा मेरा सबै पत्नीहरू छिटो छिटो प्रमोशन हुने गरेका छन् । तिम्री जेठी भाउजूकै कुरा गरौं न, उनी अहिले सबैभन्दा वरिष्ठ । हाम्री यिनीचाहिँ अहिले सबैभन्दा कनिष्ठ ।”
“हजुर पनि के के भनिसिन्छ भनिसिन्छ । यस्तो पनि प्रमोशन हुन्छ ? मलाई त यस्तो प्रमोशन चाहिन्न, भन्दिएको छु है” उनले चोर औंला ठड्याइन् मेरा साहित्यकार मित्र रामकुमारतिर । उनी मुसुमुसु हा“सिरहे केहीबेरसम्म ।
“हैन हो डार्लिङ, म तिमीलाई निजामती प्रशासनको २४ घ १ को जस्तो प्रमोशन दिने कुरा गरिरहेको छैन क्या । मैले दिने प्रमोशनमा त काम पनि, नाम पनि पाइन्छ । एक महिना अघिसम्म कान्छी थिइन् उर्मिला, यी डार्लिङ आएपछि उनी दोस्रो दर्जामा प्रमोशन भइहालिन् । जेठी त फस्ट क्लास मैं पुगिन् हो कि होइन ? रामकुमार खितखित हा“से । यी मातिएका र पात्तिएका जोडीहरूको लफडामा बसिरहनु भन्दा हिंड्नु जाती लाग्यो । अलि पर के पुगेको थिएँ अर्का मानवअधिकारवादी भेटिए । उनी पनि नयाँ दुलहीस“ग थिए । हँ सबैजना नयाँ दुलहीस“ग ? म झस्किएँ । आफ्नो त सेकेण्ड डिभिजनपछि नयाँ दुलही बन्द भएको छ । दुईवटीले दुईतिर तान्दा तान्दा र केशका रौं केलाउ“दा केलाउ“दा टाउको नै चिण्डे भइसकेकाले होला अर्की ल्याउने सपना दुई वर्ष अघिदेखि नै ठामको ठामैमा ठहरै भएको छ । यी रामकुमारका तीनवटी भइसके र मानवअधिकारकर्मी सेवकका दुईवटी । कसरी चलाउँछन् यी जीवनगाडी ? मभित्र एक प्रकारको इर्ष्या भाव पनि जाग्यो । वहुपत्नीवालाहरूसँग परामर्श गरेर एउटा भेला नै आयोजना गर्ने सल्लाह भयो । वहुपत्नी सेवा संघको संयोजक साहित्यकार मित्र भए । सेवा संघले वहुपत्नी प्रतिभा पुरस्कार दिने र अन्तरसंवाद चलाउने निणर्य गर्यो । कार्यक्रममा श्रीश्रीश्री १०८का स्वामी वहुपत्निश्वर परमवंश परमप्रतापी मोहिनीप्रसाद लभ्लु प्रमुख अतिथिका रुपमा आमन्त्रित हुने भए भने कार्यक्रमस्थलचाहिँ कान्छीबजार भयो ।
निर्धारित मितिमा वहुपत्नी सेवा संघले भेला आयोजना गर्यो । कलाकारहरूले थपडी ठोकेर मौलिक गान गाए
एक होइन दुई होइन तीन होइन चार ।
सक्छौ भने श्रीमती पुर्याउनु हजार ।।
हुन्छ भन सबै कुरा हुन्न नभन ।
आयो वहुपत्नी संघ डर नमान ।।
गीतको जोसले सबैको होस हल्लाएको थियो । तीन वर्षमा पाँचवटी जोड्न र पन्ध्रवटीलाई मोड्न र छोड्न सफल भएको प्रमाणपत्र पेश गरेका वरिष्ठ पत्नीसाधक मुस्कान प्रवीण कन्याकुमारलाई वहुपत्नी प्रतिभा पुरस्कारले सम्मान गर्दै श्रीश्रीश्री स्वामी वहुपत्निश्वर महोदयले दोसल्ला ओढाए । पुरष्कृत व्यक्तित्व कन्याकुमारले भाषण ठोके । कान्छी बजारको बीचभागमा भएको कार्यक्रममा बहुपत्नी प्रतिभाहरूले एकआपसमा कुराकानी साटे । प्रश्न एउटै थियो तपाइँ कसरी कान्छी ल्याउनुहुन्छ ?
“मेरो त तरिका नै अर्कै छ । म महिलाहरूलाई ज्यादै सम्मान गर्छु । जसलाइै देखे पनि आफ्नै जस्तो लाग्छ । त्यसो त म स्वयम् महिलाअधिकारवादी हुँ । महिला होस् वा पुरुष सबैलाई समान अधिकार चाहिन्छ । नयाँ जोड्न पनि पाउनुपर्छ र पुरानो छोड्न पनि पाउनुपर्छ भन्ने मेरो मान्यतालाई धेरैले स्वीकार गरे । फेरि आफू त पार्टीको मान्छे । खै कसैकसैले त तपाइँको बोली नै मोहनी लाग्ने खालको छ भन्छन् त्यसैले हो कि घरमा छिन् त नानु भनेपनि पछि लाग्छन् । कसैको मन दुखाउन पनि त भएन हैन त ?” एकजना राजनीतिज्ञले आफ्नो अनुभव सुनाए ।
“म त कर्मचारी हुँ । मैले कुनै पनि कुरा हुन्न भन्न जानेकै छैन । कसैले जागीर खोजिदेऊ न भन्छन् । हुन्छ आउ“दै गर्नुस् भन्छु । आउँदै गर्दा माया लाग्दै जाने रहेछ । माया लाग्दै गएपछि छाया लाग्दै जाँदो रहेछ” कर्मचारीले भने ।
“म त एकजना शिक्षक । खै सबैले मलाई कन्याराशीवाला भन्दा रहेछन् । म कक्षाभित्र पढाउन पस्दा छात्राको छेउमा जान्छु । मन परेकी छात्राको नजिक पुग्नु र आँखा चम्काउनु मेरो विशेषता नै हो । मेरो आँखा नाचेपछि मनको ढोका खुल्छ रे मनको ढोका खुलेपछि चाहने मान्छे त भित्र पस्ने नै भयो । फुतुफुतु पस्दा रहेछन् । पढाए पनि हुने नपढाए पनि हुने जागिर, कहिले लिएर सरर नगरकोट त कहिले बालकोट । यसै गर्दा गर्दै मेरा त तीनवटी भइसके छन् ।” शिक्षक साथीले जबाफ दिए ।
“म त पण्डित मान्छे, पुराण भन्ने हो, कथा सुनाउने हो । कथा त सति सावित्रीको सुनाउँछु । ध्यान दिएर सुन्छन् । मेरो आँखा अलि चञ्चले छ, धेरैजसो सुन्दरीकै वरिपरि घुम्छ । कतिखेर के हुन्छ कुनि, नजिकिन्छन् सुन्दरीहरू । कसैले नजिकै आएर मुसुक्क हा“से पनि भुतुक्कै हुने आफ्नो वानी । बटुल्दाबटुल्दै पाँचवटी भएछन ।”
अनुभव आदान प्रदान चलिरहेकै बेलामा एक हुल महिलाहरू मसाल बोकेर आए । उनीहरू चिच्याए “वहुपत्नीवालालाई मसाल कार्वाही गरौं । भ्रष्ट पतिहरू वृन्दावन जाऊ ।” मेरा वहुपत्नीवाला साथीहरू भने तिनै नारा लगाउन आउनेहरूमध्ये को जोडदार छन् भनेर आँखा गाड्न थाले । म चाहिँ सभास्थलबाट कुलेलम ठोकें । कसले के कस्तो कीर्तिमानी खडा गरे अर्को दिन सुटुक्क भन्छु है ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































