पुण्यप्रसाद खरेलउम्मेद्वार महोदय !!
अभ्यास गर ! रिहर्सल गर !! अरब-खरब कमाउन सजिलो छैन ठाउँठाउँमा महलहरू जख्न सजिलो छैन ।

ए उम्मेदवार महोदय !
बढेमानको ऐनाअगाडि उभिएर
कपाल कस्तो पार्दा चिटिक्क हुन्छ
लुगा कस्तो लगाउँदा खुल्छ
नयाँ दामी लगाउँदा राम्रो हुन्छ ?
कि पुराना सस्ता लगाउँदा राम्रो ?
सोच ! विचार !!
भाषण गर्दा कुम कसरी हल्लाउने ?
कसरी दायाँवायाँ ढलक्-ढलक् गर्ने ?
अभ्यास गर ! रिहर्सल गर !!
अरब-खरब कमाउन सजिलो छैन
ठाउँठाउँमा महलहरू जख्न सजिलो छैन ।
ए उम्मेदवार महोदय !
कुराहरू कथ !
शब्दहरू खिप !
होशियार होऊ !
बोलीमा लोली मिलोस् !
स्वरमा मधुरता घुलोस् !
भाषण काइदाको होस् !
बेला छँदै, ए उम्मेदवार महोदय !
छान शब्दकोषबाट मिठामिठा शब्दहरू
इन्साइक्लोपेडियाबाट मोहित पार्ने विषयहरू
खोज जनता लट्टिने-एकोहोरिने कुराहरू !
पत्ता लगाऊ छाँट पारेर काइदासँग बखान गर्ने कुरा !
नेपालीहरू सारै सोझा छँदैछन्
सोझाहरूलाई छक्याउन सजिलै छ
रामले भए पनि छक्याउने नै हो
श्यामले भए पनि छक्याउने नै हो
छक्याएको हुँदै होइन झैं गरी छक्याउन
एकदम वचनवद्ध झैं गरी थाङ्नामा सुताउन
तिमीले काइदा पुर्याउनु पर्छ
अभ्यास गर ! रिहर्सल गर !!
तिमी आफू त आफू होइनौ जस्तै होऊ !
हलुङ्गे जस्तो छौ भने पनि सिसाजस्तो होऊ
फित्कौली जस्तो छौ भने पनि तोप जस्तो होऊ
रुखो र टर्रो छौ भने पनि रसिलो र मह जस्तो होऊ
पटमूर्ख छौ भने पनि ज्ञानी जस्तो होऊ
अभिनयमा त साँच्चैको जनप्रिय होऊ !
कतिको जानेको छौ ?
लङ्गडाका देशमा जाँदा खुट्टो खोच्याउन ?
अन्धाका देशमा जाँदा आँखा चिम्लिन ?
थाहा राख !
नेपालमा अनेक जातजाति छन्
तिनका पहिरनअनुसार सजिन अभ्यास गर !
केही ठेट शब्द सिक !
अरब-खरब कमाउन सजिलो छैन
ठाउँठाउँमा महलहरू जख्न सजिलो छैन ।
आखिर गर्नुपर्ने त तिमीले केही होइन नै
चुनिऊ मात्रै
सानो छँदा गुरुले हात समाएर लेख्न सिकाए जस्तो
तिमीलाई सिकाउने अनेक हुन्छन्
अन्धालाई डोर्याए जस्तो डोर्याउने अनेक हुन्छन्
एकदम ढुक्क होऊ !
अहिले फिक्री चुनिनुको मात्रै हो
त्यसमा तिमी सफल होऊ ।
मेचीनगर, झापा
Subscribe
Login
0 Comments
Oldest






































