सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

मुलुकको २०४०-५०को दशकको प्रस्ट ऐना हुने यो असर्फीजस्ता निबन्ध सङ्ग्रहको ठेली हामीलाई दिनुभएकोमा। थक्थकी खालि एउटै कुरामा छ कि पूरा आयु बाँच्न पाउनुभएको भए ।

Nepal Telecom ad

पुण्यप्रसाद खरेल :

विक्रम सम्वत् २००१ भाद्र १८मा पाँचथर जिल्लाको च्याङथापूमा माता राममाया र पिता देवीचरण खरेलका ३ छोरा र ३ छोरीसहित ६ जना सन्तानमध्ये कान्छो छोराको रूपमा जन्मनुभएका रुद्र खरेल दुःख, कष्ट, हन्डरको प्रतिमूर्तिको खोसिनुभयो रूपमा बाँच्नुभएर २०६५ असार ८ मा हामी सबैबाट । चार वर्षको उमेरदेखि जन्मथलोबाट बसाइँ लाग्न थाल्नुभएको उहाँ दर्जनौं ठाउँ सरेर अन्त्यमा काठमाडौं महानगरपालिका, कोटेश्वरमा ठेकान लाग्नुभएको थियो ।

नेपालको साहित्यिक जगत्का व्यङ्ग्यनिबन्ध विधाको शिखर व्यक्तित्व, नेपाली साहित्य तथा संस्कृतिको गम्भीर अध्येता, औसत नेपालीको मनोविज्ञानको जानकार व्यक्ति असमयमै बित्नुभयो । शालिग्रामजस्ता खारिएका, माझिएका व्यङ्ग्य निबन्धका ६ वटा सङ्ग्रहहरू उहाँका प्रकाशित छन् । तीमध्ये २०४९को घटस्थापनामा प्रकाशित ‘तपाईंको नाम के हो ?’ नै यस लेखको चर्चाको विषय हो । यसपछि क्रमशः २०५२मा ‘तोरीलाहुरे चोकमा एकछिन्’ २०५७ मा बिर्सिस्यो कि । २०५९ मा ‘अषाढस्य प्रथम दिवसे’ २०६१मा ‘तेस्रो आँखा’ र २०६४मा ‘शब्दको भ्वाङ’ प्रकाशित छन् । २०४७ मै प्रकाशित “छोरीलाई” काव्यसहित कृतिका कृतिकार उहाँ अनेकन फुटकर रचनाका लेखकसमेत हुनुहुन्छ । अभाव र सधैंको अभावमा जीवन घिसार्न बाध्य उहाँको जीवनको एकदमै उत्तरार्द्धमा मात्र उहाँ दुई छाक रुखोसुखो खान पुऱ्याउन सक्ने हुनुभयो । अन्यथा सालाखाला सर्वहाराको जीवन नै उहाँको जीवन भन्दा हुने जीवन बाँच्नुभयो । ‘अन्तर्मनको यात्रा’का लेखकले झैँ उपचार सुविधा पाउनुहुन्थ्यो भने या ‘सोच’का लेखकले झैँ अकुत सम्पत्तिको स्वामीत्व पाउनुहुन्थ्यो भने उहाँ हामीबीच आजपर्यन्त रहनुहुन्थ्यो जस्तो लाग्छ मलाई ।

सामान्य आवरण र निम्नस्तरकै कागजमा पाठ्य सामग्री प्रकाशन बागबजारले प्रकाशन गरेको लगभग १२ प्वाइन्टका अक्षरमा ७० पृष्ठको यो पोस्तक प्रकाशन खर्चका दृष्टिले हेर्दा ठीकठीकैको तर अमूल्य सृजना छापिएका कारण मूल्यवान् बनेको यो “तपाईंको नाम के हो ?” लाई सम्झना प्रेस, ठमेलले मुद्रण गरेको छ ।

“दुई शब्दबारे दुई शब्द” अर्थात् लेखकको आफ्नो भनाइकै निबन्धसमेत १७ वटा निबन्ध यस सङ्ग्रहमा छन् । छोटा-छोटा, पढाैँ-पढ़ौँ लाग्दा निबन्धहरू, झर्रा र जनजिब्रोका शब्द, उखान टुक्का आदिसँग मिसिएर लेखिएका व्यङ्ग्य निबन्धकारका यी निबन्धहरू पढेर निबन्ध मात्र होइन हामी हाम्रो देश, हाम्रो व्यवस्था, हाम्रो सरसङ्गत, हाम्रा बजार, हाम्रा शैक्षिक संस्था, हामी बुद्धिजीवीहरू सबैलाई चिन्छौँ, दल चिन्छौ, नेता चिन्छौँ र सबैभन्दा वढी त रुद्र खरेललाई चिन्छौँ । रुद्र खरेलको आदर्श, उनको जीवन, उनको उभ्याइ, पञ्चायती व्यवस्थाले उनलाई दिएको यातना र तत्कालीन दलहरू आदिबारे हाम्रो मनमा एउटा चित्र खिच्न यस कृतिका निबन्धहरू सक्षम छन् । सबै निबन्धहरूबारे संक्षिप्तमा चर्चा गर्नु वाञ्छनीय होला ।

पहिलो निबन्ध छ – दुई शब्दबारे दुई शब्द। दुई शब्द बोल्न दिँदा र दुई शब्द लेखिदिन आग्रह गर्दा दुई शब्दका ठाउँमा दुई हजार शब्द ओकल्ने चलनविरुद्ध व्यङ्ग्यको झटारो हानिएको छ यस निबन्धमा । अझ भूमिका वा दुई शब्दका नाममा कृतिको उचित मूल्याड्कन नगर्ने कुराबारे यहाँ आन्द्राभुँडी केलाउँदै लेखक भन्नुहुन्छ- “कुनै पनि कृतिले विद्रूपता र विसङ्गतिपूर्ण आजको यथार्थ समूल परिवर्तन गर्ने खाले स्पष्ट जीवनदृष्टि वा सशक्त द्वन्द्वात्मक चेत प्रदान गर्यो वा गरेन त्यो मात्र महत्त्वपूर्ण प्रश्न हो । तर यस कुरालाई दृष्टिगत नगरी कृतिकारका पद, अधिकार, प्रभाव, सम्बन्ध र स्थानजस्ता साहित्येतर कुरालाई मनोग्रन्थीको आन्तरिक तहमा चुरो बनाई समीक्षाको आवरण र ढाँचामा प्रस्तुत गर्ने जमर्काहरू पनि कहिले-कहिले भए घटेका छन् ।”

दोस्रो निबन्ध छ- भाषण र ताली । मुलुक टाट पल्टिसकेको अवस्थामा, मुलुक माटो, पानी सकिएर जर्जर भैसक्तासम्म र गरिबी र अभावले च्यापिएर यहाँका जनता हुरुक्क हुँदासम्म यहाँका नेतावर्ग भाषण र तालीमै मस्त, भाषण बेचेर खानमै तल्लीन हुनेको उछित्तो काड्छ यस निबन्धले । देशलाई पञ्चायतले पञ्चट पारेको स्थितिलाई व्यक्त्याउन, कुरा र भाषणमा मात्र देखिएको विकास र तस्करी र लागुपदार्थको ओसार-पसारमा देश नै बदनाम भएको कुरा प्रस्ट्याउन यो निबन्ध अनुपम छ । एउटा अनुच्छेद हेरौँ – “अहिले पश्चिमी मुलुकमा भनिने गर्छ- ‘नेपालीको गुप्ताङ्ग शङ्कास्पद हुन्छ, त्यसमा अवैध वस्तु राखिएको हुन सक्छ’ नेपाली भाषणमा पश्चिमाहरू लहठ्ठिन थालेपछि ती मुलुकका सरकारले यस्तो चरेस, हेरोइन, स्म्याक र दुर्गन्धले ककटेल भएको धतुरे भाषणमा प्रतिबन्ध लगाएपछि पनि त्यसकाे मागचाहिँ बढि नै रहने छ । बरु उनीहरू यसो भन्न थाल्नेछन्- नेपालीहरूका गुप्ताङ्गमा पनि भाषण हुन्छ’ । गुप्ताङ्गमा भाषण भएपछि टाउकालाई सोच्ने लन्ठै परेन । आवश्यक पर्नासाथ कट्टु खोले भैहाल्यो ।” यो एउटा अनुच्छेद- अंशले नै नेपालीलाई कुन अवस्थामा पुऱ्याएको छ, हाम्रो स्वाभिमानको हविगत के भएको छ, छर्लङ्ग हुन्छ ।

तेस्रो निबन्ध छ- लघुशङ्का । यस निबन्धमा निबन्धकारले नेपाली जनताको सोझोपनलाई प्रस्ट्याएका छन् । जनताका नेता हौं भन्नेहरू, सुकमा नेता भइखाएकाहरू, जनतालाई हुस्सु पारेर उनीहरूका ‘धोती’ मा बाफ लघुशङ्का गर्न भ्याउदै आफ्नो सत्र पल्टाएका पल्टाएकै छन्, ऐश्वर्य गमर्क्याएकाे गमर्क्याएकै छन् । जनता जागिसकेपछि र जनसङ्घर्ष उर्लिएपछि ती भुइँफुट्टा नेताहरू आफ्नै धोतीमा लघुशङ्का गर्न वाध्य हुनेछन् भन्नेकुरा यस निबन्धले देखाउछ ।

चौथो निबन्ध छ- डाक्टर बन्ने धोको । यस सङ्ग्रहमा परेको गत्त्वपूर्ण मध्येको एउटा महत्त्वपूर्ण निबन्ध हो यो । यसमा विद्यावारिधि (डाक्टर) गर्नका निमित्त गरिने मेहनत, त्यसमा गर्नुपर्ने ‘खोदा पहाड निकला चुहा जस्ता काम, त्यस वापतमा लगाइने गरेका अनावश्यक लन्ठा, डाक्टर हुनुपर्ने र डाक्टर बन्न गाइडको निर्देशन पालना गर्नुपर्ने झन्झटको विस्तृति, डाक्टर बन्ने र बनाउनेका रत्यौलीहरूको राम्रो चित्रण छ । ‘विद्यावारिधि’ र विद्यावारिधिको चर्चा राम्रो छ। डाक्टर बनेपछिको त्यो घमन्ड र कर्तव्यहीनताको पनि चर्चा छ । ‘एउटा तीरले दुईटा शिकार’ भन्छन् मान्छेहरु तर यसमा निबन्धकार एउटा तीरले अनेक शिकार मार्न सफल छन्। सरकारको, प्राज्ञको, डाक्टरको, प्रशासकको पैसामा डिग्री बेच्नेकोहरूकाे यथोचित शिकार भएको छ यसमा । फारसी र पालसी कुराका कुरा, खुराको फिलो’मा पूर्वतिरको रक्सीलाई भनिने ‘सोफी’ मिसिएर दिलोसोफी भएको कुरा, डाक्टरको गाइडले आफ्नो शिष्यलाई गरेको कुरा अत्यन्त राम्रो गरी यहाँ व्यक्तिएको छ ।

पाँचौ निबन्ध छ- हातको गेली प्रुफ र जोकरबाजेको उल्टो कोट: यस निबन्धमा निबन्धकारले मुलुकको हालीमुहाली गरेर लुट्नेहरूको सग्लो चित्र प्रस्तुत गर्नुभएको छ । सपनामा प्रुफ हेर्दा ती प्रुफका शब्द र अक्षरहरूमा भएका अशुद्धिहरूले अर्थको अनर्थ भएका निबन्धकार मुलुकको विसगत र बिब्ल्याँटो स्थितिलाई प्रस्ट्याउँछन् । प्रुफमा ‘शान्ति’को ‘श’ नै गायव हुने बरु त्यहा ‘भ्रा’ आएको स्थिति र ‘दलाल’को ‘द’ छुटेर ‘लाल’ मात्र आएर अनर्थ भएको, कुनै कुनै अक्षरहरू बार प्वाइन्टको लाइटफेनमा हुनुपर्नेमा सोह्र प्वाइन्टका बोल्डफेसमा आएर बर्बाद गरेको कुरालाई ‘तस्करको नाइके’ जस्तो देखिएको व्यङ्ग्य गरिएको छ। प्रुफ हेर्दा यसबाट मुलुक हेरेको बुझाउन सफल छ निबन्ध ।

छैठौं निबन्ध छ- नामको बाम: यस निबन्धमा अचेल नाम रास्ता अपनाइने गरेका विभिन्न कार्यहरूउपर विशद चर्चा गरिएको छ । देशका विभिन्न जातजातिमा नाम राख्ने प्रचलनको रसिकतापूर्ण चर्चा गर्दै सोझासाधा र अल्प शिक्षित कुनाकाप्चा गाउँवासीहरूलाई पुराना जडौरी नाम छाडेर राम्रा, आधुनिक, अझ क्रिस्चियन नाम र केके केके नामहरू राख्ने तर प्रतिभा, साधना तथा इमान्दारिताको दिउल नभएका हाटहुटे हुनेहरूको छाला काडिएको छ ।

सातौ निबन्ध छ- विश्वास घात: यस निबन्धमा कुकुरको र कुकुरका हुलको विशद चर्चा छ साथै यसमा ‘कुकुर’ पञ्चायतकालको ‘प्रहरी’ वा पञ्चायतले पाले-पोसेका मन्डलेहरूको प्रतीकको रूपमा चर्चा छ । ‘कुकुरको दल हुँदैन, हुल हुन्छ। निर्दलीयता श्वानसंस्कृति हो’ भनेर एक टुक्रा हाडका लागि वा पाङ्ग्री कुकुर्नीसँग प्रजातन्त्र मनाउन टोकाटोक बा लुछाचुँडी गर्ने’ कुराको व्याख्या छ । तर यसरी पालेका कुकुरहरूउपर २०४६को चैत २६मा विश्वासघात भयो भनेर देखाइएको छ ।

आठौ निबन्ध छ आफन्तहरू । यस निबन्धमा आफन्तहरू सबैजसो लुट खसोट, तस्करी, घुसखोरी, कमिसनखोरी, अनेकखोरी गरेर मोटाएका छन्, गिद्धका भै पखेटा लिएर वेगिएका छन् भने फिस्टाका जस्ता पखेटा भएको आफू तिनीहरूकामा जी-हजूरी गर्न नधाउँदा उनीहरूले औपचारिकतावश “तपाईंसंग त भेटघाट पनि हरायो’ भन्ने भनाइको प्रस्टीकरणका रूपमा देश लुट्ने लुटाहा र धुत्ने धुताहाहरूको बडो मिठासपूर्ण परिचर्चा छ। भेटघाट भन्ने शब्दलाई भेट’ र ‘घाटमा च्यातेर वडो रसपूर्ण तरिकाबाट चर्चा गर्दै आफन्तहरूसंग तर्किरहेको कुरा लेख्नुभएको छ ।

“नवाैं निबन्ध छ- जूनकीरी र गुहेकीरो: जूनकीरी र गृहेकीरालाई प्रतीक बनाएर यस निबन्धमा निबन्धकारले हाम्रो समाजमा भएका मौजूदा अन्तरसङ्घर्षलाई व्यक्त्याउनुभएको छ । जूनकीरीले समाजलाई प्रगतितिर उन्नतितिर र सभ्यतातिर बदल्न चाहने उज्यालोको प्रतिनिधित्व गरेको छ भने गृहेकीराले त्यस जूनकीरीको हत्या गर्ने, त्यसलाई मास्ने र यो फोहोर कालो असभ्य साम्राज्य कायम राखिरहन खोज्नेको प्रतिनिधित्व गर्दछ । निबन्धकार प्रस्टसँग उदघोष गर्नुहुन्छ- “सन्सार बदल्न चाहनेले पहिला आफूलाई बदल्नुपर्छ । त्यसकारण म आफ्नो पुननिर्माण र पुनःसंस्करण चाहन्छु । नव निर्माणका लागि एकचोटि भत्कन म राजी छु ।

दशौं निबन्ध छ फोस्ला : देशका विभिन्न राजनीतिक दलहरूले देश र जनताका निमित्त गतिला काम नगरिरहेको तथा च्याउसरि अनेकन पार्टी खुलिरहेको परिवेशमा क्याम्पसका भित्ताभित्तामा बाटाहुँदी निबन्धकारका दृष्टिमा फोस्ला (FOSLA) पनि पर्छ । पारिजातको कथा मैले नजन्माएको छोरोमा फोस्लाबारे उहाँका मनमा अनेक तर्कता र अनुमानहरू आउँछन् । तिनै तर्कनाहरू र अनुमानभित्र निबन्धकार वर्तमान नेपालको विकृत र व्यङ्ग्यपूर्ण चित्रलाई सङ्ल्याउने कामना गर्नुहुन्छ तर आखिरमा फोस्लाको विस्तारित रूप Free One Sided Lover’s Association ठम्याउनुहुन्छ र मुलुकको सरकारलाई र सरकारको योजनालाई फोस्ला देखेर निराश हुनुहुन्छ ।

एघारौ निबन्ध छ प्रेमप्रसाद : प्रेमप्रसादलाई एउटा अद्वितीय चाकरीबाज, सुराकी, औसरवादीको नमुना देखाएर त्यो जुनसुकै व्यवस्थामा जीवित रहने र त्यो जीवित छउन्जेल इमान्दार, देशभक्त र सोझा-साधा मानिसहरूको जीवन त्यस्ताको त्यस्तै कष्टयुक्त, अभावग्रस्त नै रहने र उनीहरूले एउटा टीभीसम्म किनेर छोरीको माग पूरा गर्न नसक्ने यथार्थ छर्ल्याङ्ग्याउनुभएको छ ।

बाह्रौं निबन्ध छ- राजनीतिभित्रको पोलिटिक्स : यस निबन्धमा राजनीतिलाई मूल्य र मान्यतायुक्त राजनीति र पोलिटिक्सलाई मूल्यहीन, नैतिकताहीन, छलछामयुक्त, क्षणिक, फाइदामुखी, ढाट्ने, धोका दिने तथा
वनभोजलाई पाल्सी कुरा गर्नेहरूको सस्तो खेलको रूपमा चित्रण गरिएको छ। यसलाई प्रस्ट पार्न ‘वनभोज’ र ‘पिकनिक को पनि चर्चा गरिएको छ । परम्परागत मनोरञ्जन र प्रकृतिको संरक्षणको उपाय भनिएको छ भने पिकनिकलाई चाहिँ पिक को अर्थ टिप्ने हो भन्दै आफ्ना र आफ्नीलाई टिपेर जङ्गलतिर कुद्नु तथा उन्मुक्त कामुकताको भाव व्यक्त गर्ने बेसुर क्यासेट घन्काउदै वनको मुटुमा छुरा प्रहार गर्नु, छाद्नु, फोहोर गर्नु’ गर्ने भनिएको छ ।

तेह्राैं निबन्ध छ : एउटा दुइटा लिखा त जसका पनि टाउकामा हुन्छन् । यो अत्यन्त राम्रो निबन्ध छ । जुम्रा र लिखाका वारेमा लेखिएको यस निबन्धले नेपाली गरिब जनता र तिनका शरीरमा मौलाउने ढाडी तथा लिखाको चर्चा गरेर जुम्रालाई साँच्चो चुसाहाको रूपमा प्रस्ट पार्दै गरिबका शरीरबाहिर मात्र होइन टाउकाभित्र पनि हुन्छन् जुम्राहरू भनेर संस्कार पनि सामन्तवादी बोकेका हामीउपर कलात्मक व्यङ्ग्य गरिएको छ ।

चौधौं निबन्ध छ घर: एउटा निम्नमध्यम आर्थिक अवस्थाको परिवारका लागि, एउटा स्वाभिमान निम्न वेतनभोगी पेशाकर्मीका लागि घर बनाउने कुरा कतिको पीडादायी हुन्छ ? कतिको दर्दनाक र जिउन नै कठिन हुने हुन्छ ? भन्नेकुराको सग्लो वर्णन र सम्वेदनशील चित्रण छ यसमा । साँच्चै घर बनाउँदा भोगेका पीडा व्यक्तिएकाले यो एउटा मार्मिक, चित्त काटिने व्यङ्ग्य बनेको छ । निबन्धको एउटा वाक्य यस्तो छ : गृह निर्माणको यस यात्रामा दन्त्यकथाका लोहासुर राक्षस मात्र होइन ईटासुर, सिमेन्टासुर, काष्ठासुर र ढुङ्गासुरजस्ता पृथ्वीका तहल्का मच्चाउदै आएका नरभक्षी दैत्य र तिनका लाड्रीहरूसँग ठाडै भिडन्त पर्छ । म तिनीहरूको मायावी फन्दाबाट एक प्रकारले उम्किसकेको छु । तिनीहरूले दारेका र चिथोरेका घाउको पीडावोधसँगै ।

पन्धौ निबन्ध छ – तपाईंको नाम के हो ? : यो यस कृतिको शीर्षक निबन्ध हो। यसमा निबन्धकारलाई कसैले तपाईंको नाम के हो ? भनेर सोध्दा अघुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सेझैँ पुलिसको ‘वारेन्ट’ वा डाक्टरको प्रिस्क्रिप्सनको त्रासबाट झसङ्ग भएझैँ भएकोबाट सुरु भएको निबन्ध आफ्नो नाम र मुलुकका अन्य नामहरूको तुलना गर्न पुग्छ। २०१७ सालपछिको शासनमा वडाहाकिम हुने नामदेखि वर्तमानको नेपालका नेता, मन्त्री, उच्चपदका कर्मचारीदेखि ठूला ठेकदार, ठूला तस्कर, ठूला व्यापारी, ठूला गुन्डा, ठूला ग्याङको नाइके कसैको नाम आफ्नो नभएकाले त्यसरी तपाईंको नाम के हो ? भनेर सोध्नुको कुनै सार्थकता छैन भनेर पुष्टि गर्नपुग्छ । निबन्धकारले आफ्नो नामलाई एउटा सज्जन, सोझाेसाधो साहित्यिक व्यक्ति, निर्धाे विद्वान् बुद्धिजीवीको नाम सोध्नुको के उपयोगिता रहन्छ र ? भन्ने व्यङ्ग्य कस्नुभएको छ । अन्त्यमा भने गर्वसाथ आफ्नो नामलाई असङ्ख्य जिब्राहरूको प्यारो नाम भएको देखाउनु भएको छ ।

सोहौं निबन्ध छ नेताको कोशगत अर्थ : यस निबन्धमा हाम्रो देशका नेताहरूको गुण, विशेषगरी नकारात्मक गुण सकलन गरी विशेषणयुक्त, अझ क्रियाविशेषणयुक्त अर्थहरूको सङ्कलन गरी प्रस्तुत गरिएको छ। नेताहरूले यस निबन्धबाट आमजनसमुदायमा आफ्नो कस्तो प्रभाव परेको छ त ? भन्नेबारे थाहा पाउछन् । अलिकति उदाहरण प्रस्तुत गरु- शहिदको रगतमा सिलबन्दी टेन्डर हाल्ने इजाजतप्राप्त ठेकदार, भविष्य र वर्तमानबाट विमुख अतीतमुखी मान्छे, मञ्च पाएपछि रहस्यमय व्यक्तित्व धारण गर्ने वनझाँक्री, लठैतहरूको बोस, डाकाहरूबाट लेभी उठाएर मन्दिर निर्माण गर्ने समाजसेवी इत्यादि ।

आखिरी निबन्ध छ – शिशु प्रजातन्त्र : शिशु प्रतिगामी यस निबन्धमा निबन्धकारले आफूले खोरमा पालेका खरायोहरूलाई खोरको दैलो एक छिन खोलेर खेल्न दिँदा ती खरायोहरू उफ्रिएको, दौडिएको, फूर्ति देखाएकोलाई तत्कालीन प्रजातन्त्रसँग तुलना गर्दै व्यङ्ग्ग्य कस्नुभएको छ । आफूसँग रहेको जगे कुकुर त्यसबेला खरायोउपर रोब जमाउन कान ठाडा पारेर बसेको छ। कुकुर र खरायोहरूको आफ्ना अगाडिको त्यो लोकतन्त्रलाई आफूले आफ्नो इच्छाअनुसार बक्स भए मौजूदा लोकतन्त्रलाई उहाँ बक्सनेको अधीनको भएको प्रस्ट्याउनुहुन्छ । यस पोस्तकका १७ निबन्धमध्ये मेरा दृष्टिमा रोल नं १ हुन पाउने यो व्यङ्ग्य निबन्ध हो। साँच्चैको ०५०- ५२तिर शिशु प्रजातन्त्र र प्रतिगामी पुनः उत्थानवादीको बाक्लो चर्चा हुन्थ्यो । यस निबन्धले त्यस चर्चाको उछित्तो काड्न सकेको छ ।

यसरी यस पोस्तकका १७ वटा निबन्धहरूमध्ये निबन्धकारले धेरैजसो निबन्ध पञ्चायतकालमा नै लेख्नुभएको बोध हुन्छ भने कुनैकुनै पञ्चायतलाई फाल्ने आन्दोलनकालमा र कुनैकुनै कथित प्रजातन्त्रकालमा लेखिएका छन् । फोस्ला, प्रेमप्रसाद, राजनीतिभित्रको पोलिटिक्स, घर, तपाईंको नाम के हो ? नेताको कोशगत अर्थ, शिशुप्रजातन्त्र : शिशुप्रतिगामी २०४६ पछिका जस्ता लाग्छन् भने विश्वासघात आन्दोलनताका लेखिएको र अन्य पञ्चायतकालका लाग्छन्। सबैजसो निबन्धमा पञ्चायती सामाजिक परिवेशको छनक आउँछ । दुइ शब्दवारे दुई शब्दचाहिँ २०४९ मा पोस्तक प्रकाशनताका लेखिएको छ ।

समग्रमा भन्नुपर्दा निबन्धकार रुद्र खरेलको यो निबन्धसङालो प्रथम निबन्ध कृति भएर पनि प्रथमजस्तो छैन । बरु यो त निबन्धकारले निबन्धहरू लेख्तालेख्ता लेखाइमा पूर्ण वयस्कता प्राप्त गरेपछिका निबन्धहरू प्रकाशन गर्नुभएजस्ता छन् । अत्यन्त सरल भाषामा नेपाली भाषी जोसुकैले सहजै बुझ्न सक्नेगरी लेखिएका, प्रतीक र विम्बहरू पनि सर्वसाधारणका घर-आँगनबाट टिपेर ल्याई प्रयोग गरिएका छ्याङ्ङ बुझिने छन् । झरा, ठेट र खाटी नेपाली शब्दहरूको प्रयोग गर्नु, नेपाली उखान र टुक्काहरूको त्यसरी नै छनौट गरी व्यङ्ग्यात्मक रूपमा प्रयोग गर्नु र अभीष्ट अनुसार निबन्ध लेखाइ सफल पार्नु उनको विशेषता नै हो । पूर्वीय दर्शन, पुराण र उपनिषद्को ज्ञान, इतिहास- राजनीतिको ज्ञान, सांस्कृतिक परम्परा र विधिविधान नियम कानूनसम्बन्धी पनि ज्ञान भएर मात्र यस्ता निबन्धको सृजना हुनसक्छ। सहजै बुझ्न सकिने गरी यतिधेर लालगेडीजस्ता, शालीग्रामजस्ता कुँदेर लेख्नसक्नु साँच्चै निबन्धकारको विलक्षणता हो ।

म कुनै पोस्तक पढ्दा आफ्नो घतमा जानेगरी लेखिएका वाक्यहरूलाई र महत्त्वपूर्ण वाक्यलाई अन्जानमै अन्डरलाईन गर्न पुग्छु । खरेलका निबन्ध पढ्दा भने त्यस आदतले मलाई सङ्कटमा भासिएको भासिएकै पारेको छ। सुरुको वाक्यबाट अन्डरलाइन गर्न थालेको सबै पुग्छ । वाक्यहरू अन्डरलाईनमा पर्ने गर्छन् । अनि म दायाँ किनार वा वायाँ किनारमा ठाडो रेखा कोरेर त्यो घतलाग्दो वा महत्त्वपूर्ण अंश सङ्केत गर्न थाल्छु । त्यसो गर्दागर्दै किताबको सबै पन्नाका किनारमा ठाडो रेखा कोर्नु पर्नेमा पुग्छ म । कति कुँदेर, कति बान्की मिलाएर । कति राम्ररी शब्दहरू छानेर लेख्न सकेको ! म आश्चर्यमा पर्छु। मैले त रुद्र खरेललाई व्यङ्ग्य निबन्धमा नेपाली साहित्यकार जगत्मा त रोल नं. १ मानें।

“नीलो पानीमा सिकार र सुरक्षाका सतर्क आँखा फ्याँक्तै- झन्नै स्थीरजस्तो देखिने गरी पौरिरहेको सार्क माछाझैँ म पनि त्यसबेला स्थीर भएँ जब उनका एक-एक आञ्चलिक र अन्य बहुप्रचलित उखान र टुक्काहरू मैले आफ्नो प्रयोग सामर्थ्य बढाउन कापीमा टिप्न थालेँ। मैले दुई सयभन्दा बढी नै यस्ता टुक्काहरूर उखानहरू टिपें, तिनीहरूको कुशल प्रयोगको चमत्कारबारे घोत्लिएँ, इर्ष्या गरेँ- मेरिवास्सै ! गद्य होस् त यस्तो होस् न ।’ -दोसाँधको घाम उपन्यासको भूमिकामा उहाँले व्यक्त गर्नुभएको यो कुरो सम्झे । ओहो ! एउटा सफल लेखक बन्न कति प्रयत्न गर्नुपर्ने रहेछ । त्यही प्रयासको निरन्तरताका परिणाम हुन् यस्ता मोतीजस्ता निबन्धहरूको सृजना ।

गतिलो निबन्ध लेख्न कति कठिन पर्छ भन्नेबारे म कक्षा दस पद्दढ्दाका्र बदरीनाथ भट्टराईको चिठ्ठी सम्झन्छु । अझ कतिवटा परिकारको आवश्यक पर्छ गतिलो निबन्ध लेख्न । देश-देशावरको ज्ञान मात्रले हुँदैन, हाम्रो संस्कृति र परम्पराको विस्तृत ज्ञान मात्रले हुँदैन, हाम्रो पूर्वीय दर्शन, पुराण र उपनिषदबारे जानेर मात्र हुँदैन, रामायण र महाभारतजस्ता धर्मग्रन्थ जानेर मात्र पुग्दैन, राजनीति र प्रशासनबारे जानेर मात्र पुग्दैन, विधिविधान र कानूनबारेको ज्ञान भएर मात्र पनि पुग्दैन । अर्थात् सफल निबन्धकार बन्न झन्नै झन्नै सर्वज्ञ, सर्वव्यापी ज्ञानको ज्ञानी हुनुपर्छ।

वाफरे ! सारा सन्सारको विश्वब्रह्माण्डको, भूत वर्तमान र साराका सारा विषयमा ज्ञान भरेको टाउको नबोकी लेख्न बस्ता कहाँ राम्रो निबन्ध बन्छ र ! ती उहिलेदेखि अहिलेसम्मका ज्ञानका पोथाहरूको सपिउँ-विपिउँ नकेलाईकन कहाँ गतिलो निबन्ध तयार हुन्छ र ! धन्य रुद्र खरेल । मुलुकको २०४०-५०को दशकको प्रस्ट ऐना हुने यो असर्फीजस्ता निबन्ध सङ्ग्रहको ठेली हामीलाई दिनुभएकोमा। थक्थकी खालि एउटै कुरामा छ कि पूरा आयु बाँच्न पाउनुभएको भए ।

२०६५ । १० । ७

०००
धारा धाराका धार (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
फलानो डाक्टर

फलानो डाक्टर

पुण्यप्रसाद खरेल
उम्मेद्वार महोदय !!

उम्मेद्वार महोदय !!

पुण्यप्रसाद खरेल
उहाँ हजुर !

उहाँ हजुर !

पुण्यप्रसाद खरेल
बुढ्यौली

बुढ्यौली

पुण्यप्रसाद खरेल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे