पुण्यप्रसाद खरेलफलानो डाक्टर
सृजनात्मकता नफले पनि मौलिकता नउब्जिए पनि ‘स्यालहुइँयाँ’ अरुलेभन्दा धेरै फलाएका छौ ।

ए गालीमहात्म्यका पण्डित !
ए गालीका, छेडखानीका, तुच्छ-अतितुच्छ शब्दसंज्ञाका गुरु
मैले तिमीलाई अर्को विद्यावारिधी यसै विषयमा दिएँ
‘मानार्थ विद्यावारिधी’
तिमी त मानार्थ विद्यावारिधीका योग्य हौ
डाक्टर फलानो हौ,
नेपालको राजनीतिक जगतमा गाली सिकाउँछौ
अपमान, छेडखान, दुर्वचन, कटुवचन बोल्न निपुण पार्छौ
यस्ता कुराहरूका खानी नै हौ ।
तिमी हरेक दिन, हरेक घण्टा
केही न केही नयाँ दुर्वचन उकेली रहेका छौ
सुनाइरहेका छौ भक्तहरूलाई तिम्रा मन्दिरका उपदेशहरूमा
‘उपदेश’कै चिरहरण हुनेगरी कटुवचन श्रवण गराइरहेका छौ
लठ्ठ छन् भक्तहरू
कान पवित्र पारिरहेका छन्
केही दासहरूलाई फालिम लगाएर कारखानाबाहिर
मानौ तिमी ‘कासन’ दिइरहेका छौ
केही स्वार्थका कामदारहरूलाई जम्मा गरेर आफ्ना अगाडि
वडो मच्चीमच्चीकन अपमान र छेडखान सुनाइरहेका छौ
र ती तिम्रा सबकासब स्रोताहरू
‘गोपी कृष्ण कहू’ ‘गोपी कृष्ण कहू’ भन्दै ताली ठोकिरहेका छन् ।
टाउको नभएका ती ‘शौनकादी’ तिम्रा भक्तहरू
ती धेरै पुराना भक्तहरू, दासहरू, स्वार्थकर्मीहरू
मानौ ती कठपुतलीहरू हुन्,
तिमी नचाइरहेका छौ
केही नयाँ रिक्रुट भक्तहरू पनि
कुनै नृत्यका सिकारु कलाकारझैं
घरि तिम्रो अभिनय हेरेर,
घरि पुराना भक्तहरूको चाल हेरेर
उही कटुवाणीहरू, उही दुर्वचनहरूको अभिनय सिक्तैछन्
सिक्तैछन्, जान्दैछन् र तिमी स्यावासी पाइरहेछौ ।
मैले पनि कुनै दिन तिम्रो प्रवचनमा कान लाएँथें
त्यसबेला तिमीले ठिकै बोलेको जस्तै लाग्याथ्यो
तिमी हलेदो भएपनि गुलियै लागेका थियौ
जस्तो अहिले तिम्रा भक्तहरूलाई लागिरहेको छ ।
सृजनात्मकता फल्ने धर्ती उजाड छ
मौलिकता फल्ने बेंसी जर्जर छ
यो धर्तीलाई उब्जाउ बनाउन
यो बेंसी मलिलो पार्न
धेरै मिहिनेत चाहिन्छ, कठिन छ
तर सजिलो छ सराप्न,
सजिलो छ दुुर्वचन बोल्न
सजिलै भए पनि छन्द पुर्याएर सराप्न सक्छौ तिमी
नयाँनयाँ दुर्वचनहरू बोलेर स्याबासी पाउन सक्छौ तिमी
ए फलाना डाक्टर !
सृजनात्मकता नफले पनि
मौलिकता नउब्जिए पनि
‘स्यालहुइँयाँ’ अरुलेभन्दा धेरै फलाएका छौ
‘हो हो पाडरी हो पाडरी’ धेरै उब्जाएका छौ
यो पनि एउटा विलक्षणता नै हो
तिमीलाई धेरैधेरै बधाई छ !
मेचीनगर, झापा
Subscribe
Login
0 Comments
Oldest






































